काठमाडौँ — बुधबार कान्तिपुरमा प्रकाशित ‘जोडिँदै संस्कृति र साइनो’ शीर्षक समाचारमा संस्कृतिविद् सत्यमोहन जोशीले गर्नुभएको ‘राजपत्तन’बाट अपभ्रंश भई ‘लाजिम्पाट’ बनेको र ‘लङचौर’बाट अपभ्रंश भई ‘लैनचौर’ बनेको दाबीमा मेरो असहमति छ । खासमा लाजिम्पाट ‘लाजिम’ र ‘पट’ मिलेर बनेको हो ।
‘लाजिम’ भनेको ‘राजा’ र ‘पट’ भनेको ‘दरबार’ हो । किरातकालमा ‘राजदरबार’ बुझाउन ‘लाजिमपट’ भन्दाभन्दै कालान्तरमा लाजिम्पाट भएको हो । अर्को कुरा, सेनाका ब्यारेकहरूलाई अहिले पनि ‘लाइन’ भनिन्छ । प्रधानमन्त्री जंगबहादुर राणाले भण्डारखाल पर्वपछि आफ्ना विरुद्ध लागे भनेर श्रीपाली बस्न्यात परिवारका रने (बाङ्ये) बस्न्यातका सन्तानको जग्गा खोसेर अंग्रेज कूटनीतिक मिसनलाई बसोबासका लागि दिए । त्यसपछि त्यहाँ ब्रिटिसहरूलाई सुरक्षा दिन आर्मी ब्यारेक अर्थात ‘लाइन’ बन्यो । त्यही चौरमा बनेको ब्यारेक (लाइन) का कारण ‘लाइनचौर’ भन्न थालियो र त्यहीपछि ‘लैनचौर’ भएको हो ।
– प्रेम सिंह बस्न्यात, बाँसबारी, काठमाडौं
