‘महिलाका लागि छुट्टै नीलो बस सञ्चालन गर्ने’ सरकारको घोषणाले पक्ष–विपक्षमा बहस निम्त्याएको छ । नीलो रङको अलग्गै सवारीसाधन मात्रै पर्याप्त होला त नेपाली समाजका कुण्ठित र विषाक्त पुरुषका क्रियाकलाप रोक्न ? नीलो बसले असलमा के परिवर्तन ल्याउँला ?
सरकारले महिलाका लागि राजधानी काठमाडौंमा निःशुल्क ‘ब्लु बस’ को प्रबन्ध मिलाउने विषय हाल चर्चामा छ । ‘महिलाका लागि छुट्टै नीलो बस सञ्चालन गर्ने’ सरकारको घोषणा सार्वजनिक भएसँगै यसको पक्ष–विपक्षमा बहस सुरु भएको छ । कसैले यसलाई महिलाको सुरक्षातर्फको सकारात्मक प्रयास भनेका छन् भने कसैले समस्या समाधानभन्दा पनि महिलालाई समस्याबाट अलग राख्ने अस्थायी उपायका रूपमा टिप्पणी गरेका छन् । तर, यो बहस बसको रङको मात्रै होइन, हाम्रो समाजले महिला–सुरक्षालाई कसरी बुझ्छ भन्ने सोचमाथिको गम्भीर प्रश्न हो ।
महिलालाई सुरक्षित राख्न उनीहरूका लागि छुट्टै बस चाहिन्छ भने आधारभूत प्रश्न उठ्छ नै– महिलाले अझै आफ्नो स्वतन्त्रता कुनै पिँजडामा कैद गरेर मात्रै सुरक्षा पाउनुपर्ने हो ? कि विभेद र हिंसा जन्माउने सामाजिक मानसिकता परिवर्तन गर्नुपर्ने ? के महिलामाथि हुँदै आइरहेका विभेद, हिंसा, बलात्कार, अन्याय र अत्याचारका घटना बसभित्र मात्रै हुन्छन् ?
जगजाहेरै छ– महिलामाथिको हिंसा सार्वजनिक यातायातमा मात्रै सीमित छैन । उनीहरू घरभित्र, कार्यस्थलमा, विद्यालय, सडक, राजनीतिक वृत्त, सांस्कृतिक क्षेत्र र अहिले त डिजिटल संसारमा समेत व्यापक असुरक्षाको सामना गरिरहेका छन् । यस्तो अवस्थामा एउटा बस छुट्याएर महिलाको सुरक्षा सुनिश्चित हुन्छ भन्नु वास्तविक समस्याको गहिराइ नबुझ्नु हो ।
आज महिलामाथि हुने हिंसाको सबैभन्दा संगठित थलोमध्ये एक बनेको छ– सामाजिक सञ्जाल । कुनै महिला आफ्नो विचार राख्छिन्, अन्यायको विरोध गर्छिन्, समानताका आवाज सिर्जना गर्छिन् वा सार्वजनिक जीवनमा फरक र स्वतन्त्र तवरले बाँच्न खोज्छिन् या देखिन्छिन् भने उनको कर्म, प्रतिभा, क्षमता वा विचारबारे बहस कम हुन्छ । बरु त्यसको साटो उनको रूप, शरीर, अनुहार, कपडा, चरित्र र निजी जीवनमाथि आक्रमण धेरै हुन्छ । यदि महिलाले केही फरक गर्न खोजिन्, निर्बन्ध जिउन थालिन् वा आफूमाथिका विभेद–हिंसाका आवाज उठाइन् भने उनीमाथि अश्लील टिप्पणी, यौनजन्य संकेत, अपमान, संगठित ट्रोलिङ, बलात्कारको धम्की र चरित्र हत्याको बाढी नै आउँछ । यी सबैलाई धेरैले अझै पनि सामान्य ‘कमेन्ट’ मात्रै ठानिरहेका छन्, जबकि यिनै व्यवहार मानसिक हिंसाका गम्भीर रूप हुन् ।
महिलामाथिको हिंसाविरुद्ध आवाज उठाउने महिला कलाकार, पत्रकार, लेखक, अभियन्ता र सार्वजनिक व्यक्तित्व नै हिंसाको नयाँ निसाना बन्छन् । बलात्कार, लैंगिक विभेद वा सामाजिक अन्यायबारे बोलेपछि उनीहरूको तर्कको प्रतिवाद तर्कले गरिँदैन । बरु गाली, अश्लील सन्देश, योजनाबद्ध ट्रोलिङ, चरित्र हत्या र सार्वजनिक अपमानमार्फत उनीहरूलाई मौन बनाउन खोजिन्छ ।
पछिल्ला समय कतिपयले रातको समयमा अपरिचित नम्बरबाट बारम्बार फोन आउने, सामाजिक सञ्जालमार्फत व्यक्तिगत जानकारी खोजी उत्पीडन गर्ने, निरन्तर मानसिक दबाब सिर्जना गर्ने र सार्वजनिक रूपमा अपमानित हुने अवस्थासम्म भोगिरहेका छन् । यस्तो हिंसाले महिलालाई असहज मात्रै बनाएको छैन, उनीहरूभित्र स्थायी डरको बीजारोपण गरेको छ ।
त्यसको परिणामस्वरूप धेरै महिलाले आफ्ना अभिव्यक्ति सीमित राखेका छन् । कसैले टिप्पणी गर्नै बन्द गरेका छन्, कसैले सामाजिक सञ्जालमा बोल्नै छाडेका छन्, सार्वजनिक कार्यक्रममा सहभागी हुनै छाडेका छन् । कसैले त आफ्ना सिर्जना र विचार नै रोक्न थालेका छन् । अझ केही महिला सुरक्षाका कारण सार्वजनिक जीवनबाट पछि हट्न वा देशै छोड्न बाध्य भएका छन् ।
यो कुनै व्यक्तिगत समस्या मात्रै होइन– समाजको बौद्धिक क्षमता, लोकतान्त्रिक संस्कार र अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण हो । किनकि जब कुनै महिलालाई बोल्नुअघि सय पटक सोच्न बाध्य बनाइन्छ, तब एउटा व्यक्ति मात्रै मौन हुँदैन । समाजले एउटा स्वतन्त्र विचार पनि गुमाउँछ । आलोचनात्मक चेत खुम्चिन्छ र उसको आवाज खोसिन्छ ।
समय जति नै परिवर्तन होस्, समाज जति नै चेतनशील होस्, बलात्कारका घटना रोकिएका छैनन् । बालिकादेखि वृद्धासम्म, विद्यार्थीदेखि कलाकारसम्म, कर्मचारीदेखि गृहिणीसम्म– महिलाको कुनै पनि परिचयले उनलाई हिंसाबाट जोगाउन सकेको छैन । अझ दुःखद पक्ष के छ भने धेरै घटनामा अपराधीभन्दा पहिले पीडितको चरित्रमाथि नै प्रश्न उठाइन्छ । अपराधी किन हिंस्रक बन्यो भन्ने प्रश्न समाजले गरेन ।
यही कारण एउटा गम्भीर प्रश्न हाम्रोसामु उभिएको छ– के महिलाले महिला भएकै कारण आजको युगमा पनि विभेद, घृणा र हिंसाको सिकार भइरहनुपर्ने ? यसको दोषी कसलाई मान्ने ? यो समाज, राजनीति, संरचना वा व्यवस्था ?
यदि आज पनि कुनै महिलाले प्रतिभाभन्दा पहिले आफ्नो लिंगको मूल्य चुकाउनुपर्छ भने हामीले आधुनिकताको जति नै दाबी गरे पनि हाम्रो चेतना अझै पुरानै अन्धकारमा बाँचेको छ । महिलाले बोलेका कारण होइन, महिला भएर बोलेका कारण उनीमाथि आक्रमण हुन्छ । उसको सिर्जना, विचार वा योगदानमाथि बहस गरिँदैन, अस्तित्वमाथि नै प्रहार गरिन्छ ।
दिनभर सार्वजनिक समारोहमा न्याय र सद्भावका मन्तव्य दिएर, कार्यपत्र पेस गरेर मर्यादित अनि महिलामैत्री देखिने पुरुषको सक्कली अनुहार देखिन्छ साँझ ढलेपछि । अझ उदांगो बन्छ– रात्रिकालीन सन्देशमा । हामीले मानेका कथित सेलेब्रिटीदेखि समाजका ठूल्ठूला ओहदाका मानक साहेबसम्मका असली अनुहार मध्यरातमा सलबलाउँछन् ।
हालै बाटोमा हिँडिरहेकी एक महिलालाई एक पुरुषले आफ्नो गुप्ताङ देखाएको घटना चर्चामा छ । तर, त्यही पुरुषको बचाउमा साँढेझैं डुक्रिन्छन् कैयौं पुरुष– सामाजिक सञ्जालमा, सार्वजनिक थलोमा । नीलो रङको अलग सवारीसाधन मात्रै पर्याप्त होला त नेपाली समाजका कुण्ठित र विषाक्त पुरुषका क्रियाकलाप रोक्न ? यस्तो अवस्थामा नीलो बसले के परिवर्तन ल्याउँछ ?
सायद यसले केही महिलाका लागि सार्वजनिक यातायातमा तत्काललाई केही सहज वातावरण निर्माण गर्ला । त्यस अर्थमा यो व्यवस्थापकीय विकल्प हुन सक्छ । तर, विकल्प र समाधान एउटै विषय होइन । हिंसाको जरा पितृसत्तात्मक सोच, लैंगिक असमानता, दण्डहीनता र महिलाप्रतिको विभेदपूर्ण दृष्टिमा गाडिएको छ । त्यो जरा नउखेली बसको रङ फेरिए पनि महिलाको जीवन फेरिँदैन ।
हामीले वर्षौंदेखि महिलालाई नै सावधान हुन सिकायौं– बेलुका ननिस्क, यस्तो लुगा नलगाऊ, एक्लै नहिँड, छुट्टै बस चढ... । तर, पुरुषलाई सम्मानको भाषा, सहमतिको अर्थ, महिलालाई समान नागरिकका रूपमा स्वीकार गर्न र हिंस्रक व्यवहारको परिणाम सिकाउन सकेनौं ।
चुरो कुरो हो– परस्पर सम्मान र सहअस्तित्वभाव बढाउनु । अस्थायी राहतका रूपमा महिलाका लागि ल्याउन खोजिएको यो व्यवस्थाले त्यसको सम्बोधन हुँदैन । अलग्गै यस्तो व्यवस्थाले महिलालाई संरक्षणको निरीह पात्रमा मात्रै सीमित नगरौं । घर, शैक्षिक संस्था, कार्यालय तथा अन्य सार्वजनिक ठाउँमा हुने विभेद र यौनजन्य हिंसा कसरी घटाउने/हटाउने ? अब मजबुत र एकीकृत कार्ययोजनाको खाँचो छ ।
