‘चिनियाँ कम्युनिस्ट पार्टी’ : सफलताका रहस्यहरू

हजारौं वर्षदेखि चिनियाँ जातिलाई पिरोल्दै आएको निरपेक्ष गरिबीको समस्या ‘चिनियाँ कम्युनिस्ट पार्टी’ कै नेतृत्वमा समाधान भयो । यो चिनियाँ जनताको स्वाभिमानको विषय हो । र, हो– मानव जातिको गरिबी–न्यूनीकरणको इतिहासमा एक गौरवशाली पृष्ठ ।

असार २३, २०८३

झाङ माओमिङ

'Chinese Communist Party': Secrets of Success

What you should know

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०५ औं वर्षको उपलक्ष्यमा सन् २०२६ जुलाई १ मा पेइचिङको पिपुल्स ग्रेट हलमा भव्य समारोह आयोजना गरिएको थियो । समारोहमा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव, चिनियाँ राष्ट्रपति, मिलिटरी कमिसनका अध्यक्ष सी चिनफिङले लामो समयदेखि विशिष्ट योगदान पुर्‍याएका आदर्श पार्टी सदस्यलाई ‘जुलाई १ पदक’ प्रदान गरी महत्त्वपूर्ण वक्तव्य दिएका थिए । वक्तव्यमा महासचिव सी चिनफिङले विगत १०५ वर्षदेखि कम्युनिस्ट पार्टीले चिनियाँ विभिन्न जातिका जनतालाई एकताबद्ध गरी महान् उपलब्धि हासिल गरेको स्मरण गरेका थिए । वक्तव्यमा सी चिनफिङले चिनियाँ कम्युनिस्ट पार्टीले किन र कसरी निरन्तर विशिष्ट स्वरूप कायम गरी प्रत्येक नयाँ विजय यात्रामा सम्पूर्ण पार्टी सदस्यको आत्मविश्वास र संघर्ष कायम राखी नयाँ ऐतिहासिक गौरव सिर्जना गर्न सफल भयो भन्ने विषयमा गहन व्याख्या पनि प्रस्तुत गरेका थिए । 

चिनियाँ कम्युनिस्ट पार्टीले १०५ वर्षदेखि चिनियाँको नेतृत्वसहित जनताले अन्तिम निर्णय गर्ने नयाँ चीन स्थापना गर्‍यो । त्यसपछि चिनियाँ विशेषतायुक्त समाजवादको सफल निर्माण र निरन्तर प्रयोग गरी केही दशकमै विकसित देशहरूले शताब्दी–समयमा गरेको औद्योगिकीकरण पूरा गर्‍यो । र, द्रुत गतिको आर्थिक विकास अनि दीर्घकालीन सामाजिक स्थिरतासहित चमत्कार गरेर विश्वलाई देखाउन सफल भयो । १०५ वर्षको अनवरत संघर्षद्वारा चिनियाँ जनताको भविष्य र भाग्यमा मूलभूत परिवर्तन आएको छ । अब चिनियाँ जातिको महान् पुनर्जागरणको सही मार्गप्रशस्त भएको छ । यसबाट मार्क्सवादको प्रबल जीवनशक्ति प्रदर्शित भएको छ । र, विश्वको ऐतिहासिक विकासमा गहन प्रभाव पारेको छ । 

स्थापनाकालमा जम्मा ५० जना मात्रै सदस्य भएको चिनियाँ कम्युनिस्ट पार्टी अहिले १० करोडभन्दा बढी सदस्यसहित विश्वव्यापी रूपमै प्रभावशाली र सबैभन्दा ठूलो सत्तासीन राजनीतिक पार्टी बनेको छ ।

चिनियाँ जनताको नेतृत्वसहित क्रान्ति गर्न, देश निर्माण गर्न, सुधार नीति लागू गर्न र नयाँ युगको महान् विकासमा चिनियाँ कम्युनिस्ट पार्टीले निरन्तर गौरवशाली उपलब्धि हासिल गर्न किन सफल भयो ? यस  प्रश्नको उत्तर एउटै छ– त्यो हो, चिनियाँ कम्युनिस्ट पार्टीमा रहेका असाधारण विशिष्टता ।  

हजारौं वर्षदेखि चिनियाँ जातिलाई पिरोल्दै आएको निरपेक्ष गरिबीको समस्या ‘चिनियाँ कम्युनिस्ट पार्टी’ कै नेतृत्वमा समाधान भयो । यो चिनियाँ जनताको स्वाभिमानको विषय हो । र, हो– मानव जातिको गरिबी–न्यूनीकरणको इतिहासमा एक गौरवशाली पृष्ठ ।पहिलो, सत्य–अन्वेषणको चाहना र सदैव सही लक्ष्य निर्धारण गर्न सफल हुनु । चिनियाँ कम्युनिस्ट पार्टीले मार्क्सवादका आधारभूत सिद्धान्तसँग चीनको वास्तविक अवस्था र उत्कृष्ट परम्परागत संस्कृति समायोजन गरी मार्क्सवादको चिनियाँकरण गर्‍यो । र, त्यसलाई युगानुकूलसहित माओ त्से तुङ विचारधारा, तेङ सीओ फिङ सिद्धान्त, चिनियाँ कम्युनिस्ट पार्टीका ‘तीन प्रतिनिधित्व’ सम्बन्धी महत्त्वपूर्ण विचारधारा, ‘वैज्ञानिक विकास’ को अवधारणा अनि ‘सी चिनफिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारा’ निर्माण गरेको छ । चिनियाँ विशेषतायुक्त समाजवादको जीवन्तताका सैद्धान्तिक चरित्र हुन्– चिनियाँ कम्युनिस्ट पार्टीको वैचारिक खुलापन, वास्तविक तथ्यबाट सत्यको अन्वेषण, आफूलाई युगानुकूल बनाउँदै लैजानु र सत्य–तथ्य तथा ठोस कार्यमा जोड दिनु । 

दोस्रो, सदैव जनतामा गहिरो र मजबुत आधार बनाउनु । चिनियाँ कम्युनिस्ट पार्टीले ‘साझा हितका निम्ति पार्टी स्थापना र जनताका लागि सुशासन’ भन्ने प्रतिबद्धतामा अडिग रही दिलो ज्यानले जनताको सेवा गर्नुलाई मूलभूत उद्देश्य बनाएको छ । जनताको सुन्दर जीवनप्रतिको चाहनालाई नै चिनियाँ कम्युनिस्ट पार्टीले संघर्षको लक्ष्य बनाएको छ ।

पार्टीले गरिबी निवारण कार्यलाई राज्य सञ्चालनको अति महत्त्वपूर्ण स्थानमा राखेको छ । सम्पूर्ण देशका समुदायलाई मध्यम आययुक्त बनाउने, जसमा कोही पनि नछुट्ने अवस्था निर्माण गर्ने अनि साझा समृद्धिको बाटोमा कोही पछि नपर्ने विषयमा चिनियाँ कम्युनिस्ट पार्टी दृढ छ । हजारौं वर्षदेखि चिनियाँ जातिलाई पिरोल्दै आएको निरपेक्ष गरिबीको समस्या चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा समाधान गर्‍यौं । यो चिनियाँ जनताको स्वाभिमानको विषय हो । र, हो– मानव जातिको गरिबी–न्यूनीकरणको इतिहासमा एक गौरवशाली पृष्ठ ।

तेस्रो, ऐतिहासिक जिम्मेवारी वहन गरी सदैव रणनीतिक रूपमा सक्रिय भूमिकामा रहनु । चिनियाँ कम्युनिस्ट पार्टीले साम्यवादको महान् आदर्शलाई हृदयमा राखी चिनियाँ जातिको हजारौं वर्षको महान् लक्ष्य हासिल गर्नुलाई प्रमुख कार्य सम्झेको छ । उसले चिनियाँ जनताको सुख–समृद्धि र चिनियाँ जातिको पुनर्जागरणका निम्ति संघर्ष गर्ने प्रारम्भिक लक्ष्य बिर्सेको छैन– आफ्नो मिसन सदैव सम्झिरहेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीले १०५ वर्षदेखि नै दीर्घकालीन लक्ष्य र चरणबद्ध लक्ष्यको सम्मिलनसहित समाजको प्रमुख समस्या अनि परिवर्तन अनुकूल तत्कालीन मुख्य कार्य निर्धारण गरेको छ । र, सही दिशानिर्देश तथा नीति निर्धारण अनि कार्यान्वयनसहित चिनियाँ जनतालाई स्वतन्त्र उभिन, समृद्ध बन्न, शक्तिशाली हुन नेतृत्व प्रदान गरेको छ । अहिले चीनमा चिनियाँ शैलीको आधुनिकीकरणका माध्यमबाट शक्तिशाली देश निर्माण र चिनियाँ जातिको महान् पुनर्जागरण प्रक्रिया अघि बढिरहेको छ ।

चौथो, विकास–धारको सही पहिचान गरी सदैव युगको अग्रपंक्तिमा उभिनु । मानव जातिको उन्नति, विश्व शान्ति र समानता पक्षधर चिनियाँ कम्युनिस्ट पार्टीले सधैं शान्ति, विकास, सहकार्य र सबै पक्षको जितको झन्डालाई उँचो राखी बीआरआईको उच्च गुणस्तरको साझा निर्माणलाई अघि बढाएको छ ।

पार्टीले सम्पूर्ण मानव जातिको साझा मूल्य–मान्यता विस्तार गरी वैश्विक विकास प्रस्तावना, वैश्विक सुरक्षा प्रस्तावना, वैश्विक सभ्यता प्रस्तावना, वैश्विक सुशासन प्रस्तावना प्रस्तुत गरेको छ । र, अघि बढाएको छ– मानव जातिको साझा भाग्यको समष्टि निर्माणलाई । उच्चस्तरीय ऐतिहासिक चेतना र वैश्विक दृष्टिकोणबाट देश अनि जनतालाई सही दिशातर्फ अग्रसर गराउँदै, युग–विकासको धारसँग मिल्दै विकास गर्न पनि निर्देशित गरेको छ । 

नयाँ युग प्रारम्भ भएयता चिनियाँ कम्युनिस्ट पार्टीले भ्रष्टाचारविरुद्ध अभूतपूर्व संघर्ष चालेको छ । सन् २०२५ मा चीनको ‘अनुशासन अनुगमन निकाय’ ले १० लाख १२ हजार उजुरीमाथि अनुसन्धान गरी ९ लाख ८३ हजारलाई अनुशासन–कारबाही गरेको छ ।पाँचौं, संघर्ष गर्ने साहस र कौशल अनि सदैव विजयी बन्ने आत्मविश्वास । संघर्ष गर्ने साहस चिनियाँ कम्युनिस्ट पार्टीको चारित्रिक विशेषता हो । चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना, जनवादी गणतन्त्र चीनको स्थापना, सुधार र खुलापन नीतिको कार्यान्वयन, नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवाद अवलम्बन– यी सबै संघर्षमै प्रारम्भदेखि संघर्षमै विकास भई संघर्षमै सबल–सक्षम भएका हुन् । सबै परिवर्तन तीव्र गतिमा भइरहेको यो समयमा प्रभुत्ववाद, एकलवाद, सुरक्षावाद आदि प्रबल रूपमा देखा परिरहेका छन् । यस्तो अवस्थामा चिनियाँ कम्युनिस्ट पार्टीले बाह्य शक्तिसँग भयभीत नभई चुनौतीमाथि विजय प्राप्तिको साहस गरेको छ । पार्टीले जतिसुकै आँधीबेहरी आए पनि आफू अडिग र अविचलित रही चिनियाँ जनताको नेतृत्वसहित उनीहरूलाई निरन्तर विजय र सफलतातिर लैजाँदै छ ।  

छैटौं, आफूलाई सबल र शक्तिशाली बनाई सधैं आफ्नो जीवनशक्ति कायम राख्नु । भविष्यमा आइपर्न सक्ने विपद् सम्झी आफूलाई सजग राख्न र आत्मक्रान्तिद्वारा आफ्नो परिमार्जन गर्न सक्षम छ– चिनियाँ कम्युनिस्ट पार्टी । यो पार्टी प्रगतिशीलता र विशुद्धतामा आँच आउन सक्ने सबै विषय हटाउन अनि स्वास्थ्यमा समस्या ल्याउन सक्ने सबै विषाणु निर्मूल पार्न पनि दृढ छ । नयाँ युग प्रारम्भ भएयता चिनियाँ कम्युनिस्ट पार्टीले भ्रष्टाचारविरुद्धको अभूतपूर्व संघर्ष चालेको छ । ‘केही हजारलाई कारबाही गरेर १ अर्ब ४० करोडप्रति जिम्मेवार बन्ने’ अभियान सुरु गरी ‘भ्रष्टाचार गर्न आँट नगर्ने, भ्रष्टाचार गर्न नसक्ने र भ्रष्टाचार गर्न मनै नलाग्ने’ अवस्था एकसाथ ल्याउने तत्परता देखाएको छ । सन् २०२५ मा चीनको अनुशासन अनुगमन निकायले १० लाख १२ हजार उजुरीमाथि अनुसन्धान गरी ९ लाख ८३ हजारलाई अनुशासन कारबाही गरेको छ । यसबाट पार्टीको भ्रष्टाचार नियन्त्रणको दृढता स्पष्ट हुन्छ । 

चिनियाँ कम्युनिस्ट पार्टीको १०५ वर्षको गौरवशाली इतिहास गर्व गर्न लायक छ । तर, चिनियाँ कम्युनिस्ट पार्टी सदस्यहरू घमण्डी भई अहिलेकै अवस्थामा सन्तुष्ट भइरहने छैनन् । कमरेड सी चिनफिङ केन्द्रीय नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीले कस्तो प्रकारको मार्क्सवादी सत्तासीन राजनीतिक पार्टी निर्माण गर्ने ? भन्ने युगीन प्रश्नमाथि नयाँ अवधारणा, विचार र रणनीति प्रस्तुत गरी ‘सी चिनफिङ पार्टी निर्माणसम्बन्धी विचारधारा’ निर्माण गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीले ‘सी चिनफिङ पार्टी निर्माणसम्बन्धी विचारधारा’ लाई नयाँ युगमा पार्टी निर्माणको आधारभूत नीति मानेको छ । र, चिनियाँ कम्युनिस्ट पार्टीको गौरवशाली चरित्र विस्तार गरी पार्टीलाई कुनै पनि हालतमा नबिग्रिने अनि सदैव सिर्जनशील, एकताबद्ध, शक्तियुक्त र संघर्षशील बनाइराख्नेछ । 

चीन–नेपाल नदी र पहाडले जोडिएका असल छिमेकी हुन् । पार्टी–पार्टीबीचको आदानप्रदान दुई देशको सम्बन्धको महत्त्वपूर्ण अंश हो । चिनियाँ कम्युनिस्ट पार्टी नेपालका विभिन्न राजनीतिक पार्टीसँग पार्टी सञ्चालन, राज्य सञ्चालन तथा सुशासनका अनुभव आदानप्रदान गर्न उत्सुक छ । यस्ता आदानप्रदानबाट दुई देशका नेताबीच महत्त्वपूर्ण सहमति भई ‘बीआरआई’ को उच्च गुणस्तरीय साझा निर्माणदेखि अन्य सेक्टरसम्मको सहकार्य बढ्नेछ । 

चीन–नेपालबीचको विकास र समृद्धितर्फ अघि बढ्ने युगौंयुगको मैत्रीपूर्ण रणनीतिक सहकार्यका सम्बन्धमा नयाँ अध्ययन थपिनेछ ।  दुई देशका जनताको सुख–समृद्धिमा वृद्धि हुनेछ । र, चीन–नेपाल साझा भाग्यको समष्टि निर्माण अघि बढ्नेछ ।

झाङ झाङ नेपालका लागि चिनियाँ राजदूत हुन् 

Link copied successfully