विद्यार्थीलाई खुसी र सुखी बनाउने बहानामा औपचारिक शिक्षाको अधिक भार बोकाएर हामी दुःखी त बनाइरहेका छैनौं ?
What you should know
मूर्तिकारको छिनोको चोट नखाँदासम्म महत्त्वहीन भई लडिरहने एक ढुंगा निश्चित समय र प्रक्रियापछि मूर्तिमा रूपान्तरित हुन्छ । ढुंगा मूर्तिमा बदलिनु भनेको उसले आस्थाको आलोक र देवत्व प्राप्त गर्नु हो । एउटा ढुंगालाई मूर्ति बनाउन कलाकारले सीप, मिहिनेत र अमूल्य समयको ठूलो लगानी गरेको हुन्छ । त्यसैगरी हाम्रा बालबालिकाको भविष्य निर्माणमा बाबा–आमा, नातागोता, समाज, विद्यालय, शिक्षकलगायत धेरै व्यक्तिको मिहिनेत र समर्पणको अहम् भूमिका हुन्छ । यसो भनिरहँदा बालबालिकालाई एउटा ढुंगासँग दाँजेर उनीहरूको अनन्त क्षमतामाथि नजरअन्दाज गर्न खोजेर अन्य सम्बद्ध व्यक्तिको भूमिकालाई बढी महत्त्व दिन खोजिएको पक्कै होइन । यही कुरा विभिन्न परिवेश र व्यवहारमा झल्किन्छ पनि । हामी अभिभावक र शिक्षकले बालबालिकासँग गर्ने व्यवहारले ‘कतै हामी बालबालिकालाई ढुंगा बनाउनतिर उद्यत त छैनौं ?’ भन्ने प्रश्न उठ्छ । स्मरण रहोस्, बालबालिका निष्क्रिय ढुंगा नभएर सक्रिय आत्मा हुन्, चेतना हुन् ।
यो त एक उपमा हो, तुलना हो । भन्न खोजिएको के रहेछ भने एउटा ढुंगामा आएको रूपान्तरण जस्तै बालबालिकालाई पनि असल मान्छेमा रूपान्तरित गर्न तिनलाई जीवनका थुप्रै उतारचढाव अनुभव गराउनुपर्छ । तिनले थुप्रै हन्डर झेल्नुपर्छ र आमाबुबा, शिक्षक तथा अन्य अभिभावकले देखाएको बाटो हिँड्नुपर्छ, उहाँहरूको अर्ती सुन्नुपर्छ, मान्नुपर्छ ।
हो, हामी यो सत्यलाई नकार्न सक्दैनौं तर बिर्सिनै नहुने अर्को पाटो भनेको उनीहरूको भविष्य निर्माणमा वरपरको वातावरण र व्यक्तिको भन्दा मानसिकता र मनोसामाजिक अवस्थाको ज्यादा महत्त्व हुन्छ । बाल्यकाल र विद्यार्थी जीवन मानव जीवनको सबैभन्दा संवेदनशील र पूर्ण मानव निर्माणको चरण हो । यही समय हो, जहाँ व्यक्तिको सोच, चरित्र, मूल्य र भविष्यको दिशा तय हुन्छ । त्यसैले बालबालिकाको उज्ज्वल भविष्यका लागि वरपरको वातावरण निर्माणमा शिक्षक, अभिभावक र उनीहरू स्वम्को अहम् भूमिका रहन्छ । शिक्षक, अभिभावकले देखाएको बाटोमा हिँड्ने त उनीहरू आफैं हो । त्यसमा सहजीकरणको एक माध्यम हो औपचारिक शिक्षा ।
शिक्षा केवल ज्ञान हस्तान्तरण गर्ने प्रक्रिया होइन– यो त मूल्यमान्यता विकासको आधार हो, मानवतासहितको व्यक्तित्व विकास गर्ने माध्यम हो । शिक्षाले हाम्रा बालबालिकालाई मानवीय भावना बुझ्न सक्ने बनाओस् । हाम्रा छोराछोरीले विद्यालय शिक्षाबाट जीवनका विविधता, मानिसका स्वभाव, परिश्रमको मूल्य र आत्मविश्वासका साथै निडरतापूर्वक आफ्नो मार्गमा अघि बढेर जीवनका व्यावहारिक पक्ष सिक्नुपर्छ । समग्रमा, आम अभिभावकको अपेक्षा हुन्छ– शिक्षा जीवनोपयोगी सीप विकासको आधार बनोस् ।
त्यसैले आज औपचारिक शिक्षाबाट अपेक्षा बढी छ । र, उठिरहेका छन्– शिक्षालाई जीवनोपयोगी बनाउने सन्दर्भ अनि प्रश्नहरू । शिक्षाको इतिहास र महत्त्वको चर्चा यहाँ जरुरी छैन किनकि औपचारिक शिक्षाबिनाको मानव विकास हाम्रो कल्पनाको विषय रहेन । हामी सबै स्पष्ट छौं– विद्यालय शिक्षा मानव जातिलाई मानवतासहितको मानव बनाउने प्रक्रिया हुनुपर्छ । हाम्रो शिक्षा प्रणालीमा विविध प्रश्न उठ्नु योसँग जोडिएका विविध अपेक्षाको उपज नै हो ।
शिक्षाविद् लेभ भाइगोत्स्कीले सिकारु र सिकाइ सहजताका सम्बन्धमा ‘निकटतम विकासको क्षेत्र’ (जोन अफ प्रोक्सिमल डेभलपमेन्ट) नामको अवधारणा अघि सारेका छन् । बालबालिकामा प्रभावकारी सिकाइ र रचनात्मक सहयोग अभिवृद्धि गर्न यो सिद्धान्त सहायक हुने विश्वास गरिएको थियो । यस सिद्धान्तको मूल सार हो– बच्चाले सहायता पायो भने सोचेभन्दा बढी उपलब्धि हासिल गर्न सक्छ । भाइगोत्स्कीले भनेका छन्– विद्यार्थीहरू आफ्ना अभिभावक, गुरुवर्ग र साथीहरूको सहयोगमा थुप्रै चुनौतीपूर्ण तथा असम्भव देखिएका कार्य सहज तरिकाले सिक्न सक्छन् । त्यसैले अभिभावक र शिक्षकको भूमिका उनीहरूको क्षमतालाई कसरी गुणात्मक बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुनु आवश्यक छ ।
हामी शिक्षक–अभिभावकले बुझ्नुपर्छ, बालबालिकालाई दिइने वातावरण, हाम्रो व्यवहार र बोलिने शब्दले उनीहरूको मस्तिष्क अनि व्यक्तित्वमा गहिरो प्रभाव पार्छन् । त्यसैले त हाम्रा हरेक व्यवहारमा हामी संवेदनशील बन्न जरुरी छ । हामीले हाम्रा बालबालिकालाई दिने वातावरण, बोलीचाली र व्यवहारलाई उनीहरूबाट अपेक्षा गरेका गुण तथा क्षमता विकासमा हाम्रो भूमिका कति भन्ने प्रश्नसँग जोड्नु जरुरी छ ।
हामी अभिभावकले यो कुरा मनन गरौं– बालबालिकाका लागि हाम्रो निगरानी जरुरी छ तर अनावश्यक चियोचर्चो होइन । मार्गदर्शन जरुरी छ तर दबाब होइन ।तर, यथार्थमा अपेक्षित उपलब्धि हासिल गर्न शिक्षक, अभिभावकको भूमिका कस्तो रहनुपर्छ भन्नेतर्फ ध्यान कम गएको देखिन्छ । आफ्नो पाठयोजना निर्धारित समय सीमाभित्र सक्दैमा, गृहकार्य परीक्षण गर्दैमा, आफूले पढाउने विषयमा राम्रो नतिजा हासिल गर्दैमा एक शिक्षकको जिम्मेवारी पूरा नहुने रहेछ । बरु शिक्षक पुग्नु पर्दोरहेछ विद्यार्थीको अन्तरमनसम्म, पृष्ठभूमिसम्म, व्यक्तिगत जीवनका भोगाइसम्म र जीवनको सुगम लक्ष्यसम्म । बन्न सक्नु पर्दोरहेछ उनीहरूकै साथी, एक असल अभिभावक, अनि एक आदर्श व्यक्तित्व ।
त्यस्तै अभिभावकले पनि आफ्ना बालबच्चालाई झोला बोकाएर विद्यालय पठाउँदैमा, महिनावारी शुल्क तिर्दैमा वा उनीहरूले जे मागे सो कुरा किनिदिँदैमा अभिभावकको जिम्मेवारी पूरा भयो भन्ने बुझ्नु गलत हुनेरहेछ । आफ्ना नानीहरू चाहे छात्रावासमै किन नराखियोस् तर उनीहरूको चालढाल, आनीबानी, साथीसंगत, बोल्ने शैली, लामो बिदामा घर जाँदा उनीहरूले देखाएका व्यवहार आदि विषयमा शिक्षक–अभिभावक बसेर भलाकुसारी गर्ने वातावरण बनाउनैपर्ने रहेछ । बालबालिकालाई ‘मेरा बाबाआमा निकै व्यस्त हुनुहुन्छ’ भन्ने सन्देश दिनु निकै घातक देखिँदो रहेछ । त्योभन्दा गम्भीर विषय त के हुँदोरहेछ भने छोराछोरीलाई कुनै काम गर्नु हुँदैन भन्ने तर आफूले त्यही काम गर्ने ! उदाहरणका लागि उनीहरूलाई ‘मोबाइल नचलाऊ’ भन्ने, आफूचाहिँ त्यही मोबाइलमा मात्रै झुन्डिइरहने, उनीहरूलाई ‘चुरोट–रक्सीको बानी राम्रो होइन’ भन्ने अनि आफू भने त्यही बानी अँगाल्ने । साथै, उनीहरूलाई सम्झाउने नाममा ज्यादा कचकच मात्रै गरिरहने, ‘फलानाको छोराछोरी यस्तो’ भनेर तुलना गरिरहने । ‘झूटो बोल्नु हुँदैन’ भनेर पटक–पटक आफैं झूटो बोल्नेजस्ता बानी ज्यादै घातक हुने रहेछन् ।
हामी अभिभावकले यो कुरा मनन गरौं– बालबालिकाका लागि हाम्रो निगरानी जरुरी छ तर अनावश्यक चियोचर्चो होइन । मार्गदर्शन जरुरी छ तर दबाब होइन । अनुशासन जरुरी छ तर ज्यादा बन्धन होइन । उत्प्रेरक व्यक्तित्वहरू चिनाउनु जरुरी छ तर हेय भावको कसैसँग तुलना होइन ।
विद्यार्थी बाबुनानीले पनि आफ्ना जिम्मेवारी र क्षमताको आत्ममूल्यांकन गर्नु जरुरी छ । हजुरहरूको बालापन र विद्यालय जीवन अत्यन्तै मूल्यवान छ । यसलाई कम महत्त्व दिने वा कसैको लहैलहैमा लागेर यो अमूल्य क्षणलाई बर्बाद गर्नु हुँदैन । आफ्नो जीवन निर्माणको आधार बनाउने यो बेला दुर्व्यसनीमा लाग्ने, समय दुरुपयोग गर्ने, खराब संगत र खराब आदतको सिकार बन्ने गर्यो भने जीवन नै अन्धकार र अर्थहीन बन्छ । त्यसैले, समयमै असल बानी बसालौं, असल संगत रोजौं, असल चरित्र निर्माणमा निरन्तर लागौं, हाम्रा पितापुर्खाले निर्माण गरेका जीवन दर्शन र मूल्य मान्यता शिरोपर गरौं, सकारात्मक सोच राखौं । दिमागमा नकारात्मक सोचलाई ठाउँ दिनेजस्ता बानीले हामीलाई कहिल्यै जीवनको सपनासम्म पुर्याउँदैन ।
हो, एउटा विद्यार्थी अतुल्य सामर्थ्यले भरिएको, आफैं सोच्न सक्ने र परिवर्तन गर्न सक्ने चेतनशील सम्भावना हो । आफूभित्र रहेको चेतना र असीमित सक्षमता सही समयमा पहिचान गरी उचित मार्गमा अघि बढौं । आफ्नो भविष्य कसैले बनाएर दिन्छ भन्ने भ्रमबाट बाहिर निस्कौं । आफ्नो सक्षमता र रुचिको क्षेत्र त आफैंले खोज्ने हो । आफ्नो भविष्य निर्माण आफैं गर्ने हो । त्यसका लागि समयको सही सदुपयोग गरौं, देश, काल परिस्थिति बुझौं, अरूलाई सुनौं र आफ्नो लक्ष्यतर्फ निरन्तर अघि बढौं ।
जीवन लक्ष्य प्राप्तिको यात्रा हो । त्यसैले हामी सबै जिम्मेवार बनौं । अनुशासन र नियमका नाममा ढुंगाझैं जड बनेर बस्ने होइन, बरु फूलझैं कोमल, सुगन्धित, प्रेमिल र मनोहर बन्न कोसिस गरौं । जिम्मेवार समाज र जिम्मेवार विद्यालय, प्रेमिल तथा प्रेरक अभिभावक, समानुभूतिपूर्ण शिक्षक, अनुशासित विद्यार्थी एक व्यक्ति, परिवार, समाज र राष्ट्र निर्माणका आधार हुन् । हरेक ढुंगामा मूर्ति बन्ने सम्भावना हुन्छ भने हरेक मानवमा महामानव बन्ने सम्भावना पनि । तर, विद्यार्थी ढुंगा होइनन्, हरेक ढुंगालाई मूर्तिमा रूपान्तरण गर्न सक्ने सम्भावनाका सुवास हुन् ।
विचारणीय कुरो यो पनि छ कि विद्यार्थीलाई खुसी र सुखी बनाउने बहानामा औपचारिक शिक्षाको अधिक भार बोकाएर हामी दुःखी त बनाइरहेका छैनौं ?
