नेपालका शैक्षिक संस्थामा र्यागिङका घटना बर्सेनि बढिरहेका छन् । र्यागिङका मानसिक, शैक्षिक, पेसागत एवं सामाजिक असर हुन्छन्, जसले पीडितलाई गम्भीर डिप्रेसनसम्म पुर्याउन सक्छ ।
What you should know
केही महिनाअघि नेपालका मेडिकल कलेजहरूमा स्नातक तहका विद्यार्थीको नयाँ भर्ना प्रक्रिया सम्पन्न भयो । त्यसलगत्तै काठमाडौं एवं पूर्वाञ्चलको एउटा मेडिकल कलेजका केही दर्जन सिनियर मेडिकल विद्यार्थीलाई निलम्बन गरिएको समाचार प्रकाशमा आयो । त्यसैगरी काठमाडौं नजिककै मेडिकल स्कुलबाट पनि र्यागिङविरुद्ध सम्बन्धित विद्यार्थीलाई सचेतनामूलक कडा निर्देशन जारी भयो । पछिल्लो समय स्कुल, कलेजमा हुन थालेको र्यागिङकै गुनासाका कारण सायद नयाँ सरकार (शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय) ले पनि स्टुडेन्ट सेफ्टी एन्ड ह्यारेसमेन्ट रिपोर्टिङ फर्म (अनलाइन बुझाउन सकिने विद्यार्थी सुरक्षा एवं दुर्व्यवहार रिपोर्टिङ फाराम) जारी गरेको छ ।
तपाईंले आमिर खान अभिनीत हिन्दी फिल्म ‘थ्री इडियट्स’ हेर्नुभएको छ ? यदि छ भने त्यसमा नवआगन्तुक विद्यार्थीलाई सिनियर विद्यार्थीले कसरी सताउँछन् ? त्यो सपाट तवरमा देखाइएको छ । दुःखद विषय, मेडिकल कलेजको त्यो र्यागिङ कल्चर दक्षिणी राष्ट्रबाटै नेपालमा भित्रिएको हो । त्यसो त विगतमा नेपालका स्वनामधन्य एवं महँगा आवासीय विद्यालय (अझ बोर्डिङ स्कुल भन्नु उपयुक्त हुन्छ होला) हरूमा हुने गरेका र्यागिङ, शारीरिक एवं यौनिक दुर्व्यवहारबारे छिटपुट रूपमा सुनेको थिएँ । अहिलेसम्म विद्यार्थीको ज्यान नै जानेसम्मको दुर्घटना भइसकेको छैन, तर बेलैमा यसबारे आवश्यक कदम नचालेको खण्डमा दुष्परिणाम निस्किन धेरै समय लाग्ने छैन । अहिले पनि र्यागिङकै कारण मानसिक प्रताडना खेप्ने विद्यार्थीको संख्या कम छैन ।
पछिल्लो समय स्कुल, कलेजमा हुन थालेको र्यागिङकै गुनासाका कारण सायद नयाँ सरकारले पनि स्टुडेन्ट सेफ्टी एन्ड ह्यारेसमेन्ट रिपोर्टिङ फर्म जारी गरेको छ । र्यागिङ भन्नाले मुख्यतः शैक्षिक संस्थामा देखिने एक प्रकारको दुर्व्यवहार वा सुरुवाती अनैतिक कर्मकाण्ड जस्तै हो, जसमा सिनियर विद्यार्थीले नवआगन्तुक (जुनियर) विद्यार्थीलाई विभिन्न प्रकारले हैरानी, अपमान, मानसिक प्रताडना वा दबाब दिने गर्छन् । विगतमा यसलाई आपसी सम्बन्ध मजबुत बनाउने माध्यमका रूपमा हेर्ने गरिए पनि समय क्रममा यो शारीरिक, मानसिक तथा भावनात्मक हिंसाका रूपमा प्रतिस्थापित भएझैं देखिन्छ । अन्य विषय वा प्राविधिक कोर्सभन्दा चिकित्सा विषय त्यसमाथि पनि एमबीबीएस पढाइ अलि लामो हुन्छ । र, अथक मिहिनेत एवं सीप आर्जन गर्न दिन–रातको प्रयोगात्मक कक्षाका कारण आवासीय अध्ययन गर्नुको विकल्प हुँदैन । अनि खर्चका हिसाबले अधिकतर रूपमा होस्टेल नै उत्तम विकल्प हुन सक्छ । तर, समस्या यहीँबाट सुरु हुन्छ अर्थात् र्यागिङ ।
त्यसै पनि मेडिकल कलेजहरूका विद्यार्थीमा पहिले नै उच्च शैक्षिक दबाब हुन्छ । त्यसमाथि सुरुवाती अनुचित एवं कतिपय अवसरमा अमानवीय र्यागिङले प्रताडित विद्यार्थीलाई गम्भीर मानसिक असर पार्न सक्छ । नेपालमा चाहिँ र्यागिङको समस्या त्यति विकराल भइसकेको छैन अर्थात् यसको तीव्रता केही छिमेकी देशको तुलनामा यहाँ कम छ । तर, यो राम्रो अभ्यास नभएकाले यस विषयलाई समयमै उचित सम्बोधन गरी निराकरण एवं निर्मूल नै पार्नुपर्छ । किनकि अचेल सिनियर र जुनियर विद्यार्थीबीच सम्बन्ध स्थापनाका लागि निकै नवीनतम उपाय उपलब्ध भइसकेका छन् । त्यति मात्रै होइन, पछिल्ला वर्षमा विद्यार्थी अधिकार र मानसिक स्वास्थ्यप्रति बढ्दो सचेतनाका कारण यसलाई रोक्न संस्थागत तथा सरकारी प्रयास बढेका छन् । उदाहरणका लागि माथि उल्लेख गरेझैं मेडिकल कलेज एवं सरकारी निकायबाटै शून्य सहनशीलता अर्थात् ‘जिरो टोलेरेन्स’ का सचेतनामूलक सूचना प्रकाशनमा आएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस विषयमा अझ बढी स्पष्ट पारी भनेको छ, ‘शैक्षिक संस्थामा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणका विरुद्ध शून्य सहनशीलताको नीति अंगीकार गर्दै सम्बन्धित विद्यार्थीले कुनै पनि किसिमका उत्पीडन वा दुर्व्यवहारका घटनालाई गम्भीरतापूर्वक लिँदै त्यस्ता गुनासाहरू प्रत्यक्ष सम्बोधन गर्न तथा तत्काल कानुनी एवं प्रशासनिक कारबाही अगाडि बढाउन विशेष संयन्त्र सञ्चालनमा ल्याइएको छ ।’
जुनियर विद्यार्थीलाई शारीरिक, मानसिक, भावनात्मक रूपमा हानि पुर्याउने वा हानि हुने सम्भावना भएको कुनै पनि कार्यलाई र्यागिङका रूपमा परिभाषित गरिन्छ । गालीगलौज तथा अपमान गर्ने, जबर्जस्ती काम (अनुचित वा बाध्यात्मक) गराउने, शारीरिक दुर्व्यवहार, मानसिक डर र धम्की, सामाजिक भेदभाव (वर्ण, जात, स्थान, धर्म वा स्थान विशेषकै कारण) र्यागिङका विभिन्न स्वरूप हुन सक्छन् । अचेलको सन्दर्भमा अनलाइन दुर्व्यवहार, भेदभाव र दबाब सिर्जना गर्ने व्यवहार तथा सोसियल मिडियाजन्य टेक्स्ट वा म्याटरलाई पनि र्यागिङकै रूपमा लिइन थालेको छ ।
मेडिकल कलेजमै किन बढ्ता र्यागिङ ? एक, श्रेणीगत संरचना अर्थात् सिनियर जुनियर प्रणाली । लामो अवधिको पढाइ हुने तथा कतिपय कुरा वा सिकाइमा सिनियरमै भर पर्नुपर्ने बाध्यताका कारण चिकित्सा शिक्षामा वरिष्ठहरूले कनिष्ठमाथि अधिकार देखाउने प्रवृत्ति विकास भएको पाइन्छ । दोस्रो, होस्टेल जीवन अर्थात् माथि उल्लेख भएझैं चिकित्साजन्य अनुभव र सीप सिकाइले दिन–रात भन्दैन, अधिकतर होस्टेलमै बसेर पढ्नुपर्ने हुन्छ । अभिभावक र मेडिकल कलेज धनीहरूको पनि यही अपेक्षा हुन्छ । र, तुलनात्मक रूपमा होस्टेलमा निगरानीका कार्य अलि कम हुने हुनाले र्यागिङको सम्भावना बढी हुन्छ । तेस्रो, परम्परागत सोच अर्थात् कतिपय सिनियरले र्यागिङलाई परम्परा अनि यसको निरन्तरतालाई सम्बन्ध विकसित गर्ने माध्यमका रूपमा हेरेका हुन्छन् । यो एक प्रकारको अन्धविश्वास एवं गलत चलन हो । चौथो, डर र मौनता नै हो । जुनियर विद्यार्थीहरू प्रतिशोधको डरले गुनासो गर्न हिचकिचाउँछन् । अब गोप्य एवं सुरक्षित तवरमा गुनासो दर्ता गर्न मिल्ने भएपछि यसमा फरकपना आउने सम्भावना हुन्छ ।
नेपालमा र्यागिङको अवस्था, अस्तित्व र यसको गम्भीरता कति छ ? ठ्याक्कै अनुमान गर्न सकिँदैन । वास्तवमै न्यून भएर हो वा भएका जति रिपोर्टिङमा नआएर, देखावटी तवरमा सामान्यतः र्यागिङ कम नै छ । तर, बर्सेनि र्यागिङका घटना बढिरहेका छन् । केही रिपोर्टिङ वा भुक्तभोगीसँगको आपसी भलाकुसारीअनुसार, नेपालमा हल्का स्तरको र्यागिङ नै हुने गरेको छ । ‘अचानोको पीर खुकुरीले जान्दैन’ भनेझैं हाम्रो विश्लेषणमा हल्का भनेको प्रभावितका लागि गम्भीर खालको पनि हुन सक्छ । जस्तै– सिनियरमाझ पुनः परिचय गर्न लगाउने, गीत गाउन, नाच्न वा एक्टिङ गर्न लगाउने, काम गर्न लगाउने, जिस्क्याउने, शारीरिक कमेन्ट गर्ने, उपमा दिएर बोलाउने जस्ता गतिविधि हुने गरेका छन् । तर, कतिपय अवस्थामा गम्भीर दुर्व्यवहारका घटना हुँदै नभएको पूर्ण रूपमा नकार्न सकिँदैन । यति भन्दै गर्दा पछिल्लो समय सकारात्मक पक्ष के छ भने नयाँ पुस्तामाझ र्यागिङप्रति अस्वीकृति बढ्दै गएको छ ।
मानसिक, शैक्षिक, पेसागत एवं सामाजिक गरी र्यागिङका निकै प्रतिकूल असर हुन सक्छन् । र्यागिङले पीडितलाई चिन्ता, अवसाद (डिप्रेसन), आत्मसम्मानमा कमी तथा आत्महत्या सोचसम्म पुर्याउन सक्छ । त्यसैगरी यसको शैक्षिक असरमा विद्यार्थीले पढाइमा ध्यान दिन नसक्ने, कक्षा छुटाउने वा संस्थाप्रति डर विकसित हुने तथा कलेज नै छोड्ने सम्भावना हुन्छ । र्यागिङकै कारण सिनियर र जुनियरबीच भविष्यमा पनि अस्वस्थ प्रकारको सम्बन्ध कायम हुन सक्छ, जसले स्वास्थ्य सेवामै असर पार्न सक्छ । किनकि स्वास्थ्य क्षेत्रमा कालान्तरमा जुनियर वा आफ्नै शिष्य पनि आफूभन्दा उम्दाको हुन सक्छ । र्यागिङको सामाजिक असरमा प्रभावित भएका विद्यार्थी एक्लोपनमा जान सक्छन् भने पीडकमा झन् गलत तवरको आत्मविश्वास विकसित हुँदै जान सक्छ ।
नेपालमा र्यागिङको छुट्टै कानुन छैन तर कुनै घटना भइहाले प्रचलित कानुनअनुसारै सजाय गरिन्छ । कुटपिट, धम्की एवं शारीरिक दुर्व्यवहारलाई र्यागिङका गम्भीर अपराध मानिन्छन् भने आपराधिक कानुनअन्तर्गत कानुनी कारबाही हुन सक्छ । आचारसंहिता एवं निर्देशन, निर्देशिकामार्फत र्यागिङ नियन्त्रण एवं निषेधका लागि सम्बन्धित विश्वविद्यालय, मेडिकल कलेज र नियामक निकाय
(चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, स्टुडेन्ट काउन्सिल) को महत्त्वपूर्ण भूमिका हुन्छ । यस मामिलामा धेरैजसो मेडिकल कलेजले पनि शून्य सहनशीलतको नीति अपनाएका छन् । यसका लागि कलेजहरूमा भर्ना भएलगत्तै वा शैक्षिक सत्र सुरु भएलगत्तै अनुगमन कार्य, गोप्य उजुरी प्रणाली, विद्यार्थी
(विशेषतः नवआगन्तुक) लाई सुरक्षा अनुभूति दिलाउने प्रणाली, काउन्सेलिङ सुविधाको व्यवस्था हुनु जरुरी छ ।
र्यागिङ रोकथामका लागि शैक्षिक स्थलमा सार्वजनिक तवरमै कुनै पनि प्रकारको र्यागिङ पूर्ण रूपमा निषेध गरिएको सूचना बोर्डको व्यवस्था चाहिन्छ । विशेषतः सिनियर विद्यार्थी र तिनका अभिभावकलाई र्यागिङविरुद्ध सचेतना कार्यक्रम चलाउनुपर्छ । विद्यार्थीको काम, कर्तव्य र अधिकार, र्यागिङका परिणाम, उजुरी गर्ने तरिका, दण्ड सजायबारे संस्थागत जानकारी दिइनुपर्छ । त्यसैगरी निर्देशिकाअनुसारको नियम पालना भएको छ वा छैन ? त्योबारे होस्टेल तथा क्याम्पसमा नियमित एवं आकस्मिक निगरानीको व्यवस्था हुनुपर्छ । त्यसका लागि शिक्षकहरूको सक्रिय सहभागिता आवश्यक हुन्छ । र्यागिङमा संलग्न विद्यार्थीलाई गाम्भीर्यता हेरीकन केही समय निलम्बन गर्नेदेखि परीक्षा दिन रोक लगाउने, काउन्सेलिङ एवं व्यवहार सुधारका लागि साइकोथेरापीको सल्लाह दिलाउन लगाउने, होस्टेलबाट अलग राख्ने, अभिभावकलाई सचेत पार्ने, तिनीहरूको जिम्मा लगाउने, निकै गम्भीर खालको भए कलेजबाटै निष्कासन गर्ने तथा कानुनी कारबाही गर्नेसम्मको सजाय पनि हुन सक्छन् ।
र्यागिङका मामिलामा गम्भीर प्रकारका चुनौती नभएका होइनन् । विभिन्न कारण तथा सिनियरको डरकै कारण कम उजुरी पर्ने, भएका घटना जति उजागरमा नआउने, घटना गम्भीर नभएसम्म फ्ल्यासमा नआउने, कतिपय कलेजमा र्यागिङलाई सामान्य तवरमा लिइदिने, सम्बन्धित निकायबाट अनुगमन नै नगर्ने, उजुरी नै दिए पनि आवश्यक सम्बोधन नगर्ने, नीति भए पनि कार्यान्वयनमा कमजोर हुने तथा यससम्बन्धी छुट्टै कानुन र कानुनी एकरूपताको कमी छ । तर, समाधानका उपायस्वरूप कडा कानुनी व्यवस्था, कलेजहरूमा सकारात्मक एवं रोकथामजनक अन्तरक्रिया, मानसिक स्वास्थ्य सेवा, नीति कार्यान्वयनमा कडाइ, दोषीलाई तुरुन्त यथोचित कारबाही र र्यागिङबारे सोचमै परिवर्तन (र्यागिङ परम्परा नभई दुर्व्यवहार हो भन्ने) आवश्यक छ ।
नवआगन्तुक विद्यार्थीका लागि शैक्षिक थलो सुरक्षित, सम्मानजनक र सहयोगात्मक वातावरणको हुनुपर्छ । यसबाट मात्रै सक्षम र संवेदनशील जनशक्ति उत्पादन गर्न मद्दत पुग्छ । कलेजमा र्यागिङको अन्त्य गर्नु सम्बन्धित शैक्षिक निकायको नैतिक जिम्मेवारी पनि हो ।
