किन बनाउनुपर्छ नेपालले सार्वभौम ‘एआई फ्याक्ट्री’ ?

नेपालले आर्थिक विकासको आधारभूत पूर्वाधारका रूपमा एआई कम्प्युट निर्माण गर्नुपर्छ । यसले घरेलु एआई अनुसन्धान र उद्यमशीलतालाई सघाउने मात्रै होइन, एआई–नियन्त्रित विश्वमा नेपालको प्राविधिक सार्वभौमिकता पनि स्थापित गर्नेछ ।

जेष्ठ ११, २०८३

समीर मास्के

Why should Nepal build a sovereign 'AI factory'?

What you should know

 

विश्वमा ‘एआई फ्याक्ट्री’ मा उत्पादित डिजिटल बुद्धिमत्ता निर्यात गर्ने दौड चलिरहेको छ । २१ औं शताब्दीको निर्णायक प्रविधि प्लाटफर्मका रूपमा तीव्र गतिमा विकास भइरहेको छ– कृत्रिम बुद्धिमत्ता (एआई) ।

शिक्षा, स्वास्थ्य, कृषि, वित्त, शासन सञ्चालन, सुरक्षा, नवप्रवर्तन र राष्ट्रहरूबीचको प्रतिस्पर्धामा एआई महत्त्वपूर्ण रूपमा प्रयोग भइरहेको छ । प्रत्येक ठूला एआईको सफलतापछाडि ‘कम्प्युट पूर्वाधार’ महत्त्वपूर्ण स्रोतका रूपमा रहन्छन् । 

एआई मोडलहरूलाई तालिम दिन र सञ्चालन गर्न आवश्यक पर्ने ठूलो परिमाणको प्रोसेसिङ पावर हो, कम्प्युट । आज यो पूर्वाधार रणनीतिक रूपमा बिजुली, सडक वा इन्टरनेट पूर्वाधारजत्तिकै महत्त्वपूर्ण बनेको छ । विश्वका ठूला र विकसित राष्ट्रहरूले उन्नत एआई कम्प्युट सेन्टरमा अर्बौं डलर लगानी गरिरहेका छन् । जसले कम्प्युट नियन्त्रण गर्छ, उसले भविष्यको डिजिटल अर्थतन्त्रलाई आकार दिनेछ भन्ने उनीहरूको बुझाइ छ । 

‘एआई फ्याक्ट्री’ भनेर चिनिने नयाँ पुस्ताका यी पर््वूाधाहरू परम्परागत डेटा सेन्टरभन्दा बिलकुल फरक छन् । परम्परागत डेटा सेन्टरहरूले मुख्यतया डेटाबेस, एप्लिकेसन र इन्टरप्राइज सफ्टवेयर भण्डारण गर्छन् । अर्कोतर्फ, कम्प्युट पूर्वाधारले विद्युत्, डाटा र जीपीयूहरूलाई एआई मोडल, एआई सेवा र डिजिटल बुद्धिमत्तामा रूपान्तरण गरेर ठूलो मात्रामा ‘इन्टेलिजेन्स’ उत्पादन गर्छन् । उदीयमान एआई अर्थतन्त्रमा धेरै कोणबाट यी पूर्वाधार औद्योगिक इन्जिन बन्दै छन् । नेपालले यसलाई बुझेर निर्णायक कदम चाल्नुपर्छ । 

नेपालले आगामी चरणको आर्थिक विकासको आधारभूत पूर्वाधारका रूपमा एआई कम्प्युट निर्माण गर्नु आवश्यक छ । यस्तो पूर्वाधारले घरेलु एआई अनुसन्धान र उद्यमशीलतालाई सघाउने मात्रै होइन, एआई–नियन्त्रित विश्वमा नेपालको प्राविधिक सार्वभौमिकता पनि स्थापित गर्नेछ । 

आज नेपालमा प्रयोग भइरहेका अधिकांश एआई प्रणाली विदेशी पूर्वाधार, मोडल र क्लाउड प्रदायकमा निर्भर छन् । यसले एआई प्रविधिमा पहुँच सहज बनाएको भए पनि डेटाको सुरक्षा, गोपनीयता, विश्वसनीयता र राष्ट्रिय नियन्त्रणका सवालमा ठूला चुनौती खडा गरेको छ ।

नेपालले आगामी चरणको आर्थिक विकासको आधारभूत पूर्वाधारका रूपमा एआई कम्प्युट निर्माण गर्नु आवश्यक छ । नेपालका संस्थाहरूले थप एआई प्रणाली अवलम्बन गर्दै जाँदा घरेलु कम्प्युट पूर्वाधार, स्थानीय एआई मोडल, सुरक्षित डेटा वातावरण र राष्ट्रिय नियमनसहितको ‘सार्वभौम एआई स्ट्याक’ निर्माण अब वैकल्पिक होइन, अनिवार्य विषय बनिसक्यो । 

संवेदनशील डेटामा नियन्त्रण कायम राख्ने, प्राविधिक लचिलोपन बलियो बनाउने र एआई शासनलाई नेपालको आफ्नै प्राथमिकताअनुसार अघि बढाउने यो एक मात्रै बाटो हो । राष्ट्रिय एआई कम्प्युट सेन्टरले एउटा यस्तो आधारभूत प्लाटफर्म सिर्जना गर्नेछ, जहाँ नेपाली उद्यमी, स्टार्टअप, अनुसन्धानकर्ता र संस्थाहरूले नवप्रवर्तन गर्न सक्नेछन् । आज विश्वभरै एआई स्टार्टअपहरूले सामना गरिरहेको सबैभन्दा ठूलो बाधा नै कम्प्युट स्रोतको उच्च लागत हो । जीपीयू र एआई क्लाउड पूर्वाधारमा पहुँच अझै पनि महँगो र केही सीमित देश तथा संस्थानको नियन्त्रणमै छ ।

यस्तो परिस्थितिमा घरेलु कम्प्युट पूर्वाधार निर्माण हुँदा नेपाली नवप्रवर्तकले सामना गरिरहेका अवरोध उल्लेखनीय रूपमा घटेर जानेछन् । नेपाली विद्यार्थी, नवउद्यमी, विश्वविद्यालय र कम्पनीहरू विदेशी क्लाउड प्रदायकप्रतिको निर्भरता घटाएर स्थानीय रूपमै एआई उत्पादन निर्माण गर्न सक्षम हुनेछन् ।

यहाँ नेपालसँग एउटा अद्वितीय रणनीतिक लाभ छ । एआई कम्प्युट/डेटा सेन्टर सञ्चालन गर्दा लाग्ने सबैभन्दा ठूलो खर्च बिजुली हो । नेपालसँग सस्तो नवीकरणीय बिजुली उत्पादन गर्न सक्ने जलविद्युत् स्रोत प्रशस्तै छ ।

अमेरिकामा बिजुलीको मूल्य सामान्यतया १० देखि ३० सेन्ट प्रतिकिलोवाट घण्टा पर्न जान्छ । युरोपमा १५ देखि ४० सेन्टसम्म पर्छ । तर, नेपालमा ५ देखि ८ सेन्टमै प्रतिकिलोवाट घण्टामै कम्प्युट पूर्वाधार सञ्चालन हुन सक्छ । यो, विश्वमै सबैभन्दा कम दरमध्ये एक हो । यो कम खर्चले नेपालमा सफा तथा प्रशस्त जलविद्युत्मा आधारित एआई पूर्वाधारका लागि शक्तिशाली आर्थिक लाभको अवसर सिर्जना गर्छ ।

विश्वव्यापी रूपमा कारोबार हुने डिजिटल वस्तु बनिरहेको छ– एआई कम्प्युट । सस्तो ऊर्जाको प्रचुरता भएका देशहरू ‘नेक्स्ट जेनेरेसन’ एआई पूर्वाधारका लागि अत्यन्तै आकर्षक गन्तव्यका रूपमा उदाउँदै छन् । नवीकरणीय जलविद्युत्बाट सञ्चालित सस्तो र सफा एआई कम्प्युटको क्षेत्रीय तथा विश्वव्यापी प्रदायक बन्न सक्षम छ नेपाल ।

प्रायः २ हजारदेखि ४ हजार जीपीयू क्षमताको १० मेगावाटको कुलिङ सिस्टम, पावर पूर्वाधार र उच्च गतिको नेटवर्किङसमेत समावेश भएको एआई कम्प्युट पूर्वाधार निर्माण गर्न १६ अर्बदेखि ३० अर्ब लगानी लाग्छ । पश्चिमी बजारको तुलनामा नेपालको सस्तो श्रम लागत, उच्च भूभागका कारण प्राप्त हुने प्राकृतिक कुलिङको सुविधा र जलविद्युत्मा प्रत्यक्ष पहुँचले जीपीयूबाहेकका अन्य लागतलाई उल्लेखनीय रूपमा घटाउन सक्छ । जबकि पश्चिमी मुलुकहरूमा यस्तै सुविधा निर्माण गर्दा निकै ठूलो खर्च लाग्छ । 

यस्तो पूर्वाधारले वार्षिक रूपमा ५ अर्बदेखि १२ अर्बसम्म कम्प्युट राजस्व आर्जन हुन सक्छ । यदि १०० मेगावाट क्षमता र २० हजारदेखि ४० हजार जीपीयूसहितको जीपीयू पूर्वधार स्थापना गरियो भने प्रयोगको दर, जीपीयूको मूल्य र बजार माग हेरेर वार्षिक कम्प्युट राजस्व करोडौं डलरसम्म पुग्न सक्छ । बजारमा कम्प्युट क्षमता उपलब्ध गराएर जलविद्युत्को बहुआयामिक उपयोगमार्फत नेपालले धेरै लाभ हासिल गर्ने परिस्थिति बनाउनेछ । जलविद्युत्को विस्तार र ठूला स्तरको ऊर्जा–खपत गर्ने पूर्वाधार निर्माण गर्दा वातावरणीय प्रभाव कम गर्ने योजना बनाउन भने आवश्यक हुनेछ ।

स्थानीय रूपमै डेटा प्रोसेसिङ गर्दा नेपालले इन्टरनेटमार्फत डिजिटल बुद्धिमत्तालाई विश्वव्यापी वस्तुका रूपमा निर्यात गर्न सक्छ । यसले परम्परागत विद्युत् प्रसारण ग्रिडका भौतिक सीमाहरूलाई समेत बाइपास गर्नेछ । 

नेपालका लागि यो एउटा प्राविधिक परियोजना मात्रै होइन– एउटा राष्ट्रिय विकास रणनीति पनि हो । अघिल्लो पुस्ताले सडक, विमानस्थल, विद्युत् ग्रिड र दूरसञ्चार सञ्जालमा लगानी गरेजसरी यो पुस्ताले एआई पूर्वाधारमा लगानी गर्नैपर्छ ।

सरकारहरूले तुरुन्तै नाफा कमाउन सडक बनाउने होइनन् । सडकले अर्थतन्त्रलाई चलायमान बनाउने भएकाले यसको निर्माणमा जोड दिने हुन् । अब एआई कम्प्युट पूर्वाधारलाई पनि त्यही दृष्टि र अझै प्राथमिकतासाथ हेर्नु जरुरी छ । 

दीर्घकालीन दृष्टि र पूर्वाधार निर्माणका हिसाबले देशकै पहिलो ठूलो एआई फ्याक्ट्री निर्माण गर्नु निजी क्षेत्र एक्लैका लागि कठिन हुनेछ । आधारभूत राष्ट्रिय कम्प्युट क्षमता स्थापना गर्न नेपाललाई सुरुमा ठूलो स्तरको सरकारी लगानी आवश्यकता छ । त्यसपछि निजी क्षेत्रले एआई कम्प्युट सेन्टर र एआई फ्याक्ट्रीहरूमा लगानी बढाउनेछन् । यस्तो एआई फ्याक्ट्रीले सरकारी डिजिटलाइजेसन, विश्वविद्यालय, स्टार्टअप र अनुसन्धान संस्थालाई सघाउ पुर्‍याउँछ । र, विश्व बजारमा कम्प्युट क्षमता उपलब्ध गराएर जलविद्युत्को बहुआयामिक उपयोगमार्फत नेपालले धेरै लाभ हासिल गर्ने परिस्थिति बन्नेछ । जलविद्युत्को विस्तार र ठूला स्तरको ऊर्जा–खपत गर्ने पूर्वाधार निर्माण गर्दा वातावरणीय प्रभाव कम गर्ने योजना बनाउन भने आवश्यक हुनेछ । 

दीर्घकालीन दृष्टि र पूर्वाधार निर्माणका हिसाबले देशकै पहिलो ठूलो एआई फ्याक्ट्री निर्माण गर्नु निजी क्षेत्र एक्लैका लागि कठिन हुनेछ । यस्तोमा सरकारको अग्रसरतामा स्थापना हुने राष्ट्रिय एआई कम्प्युट सेन्टरले आधारभूत पूर्वाधार सिर्जना गर्ने, प्रतिभा आकर्षित गर्ने, स्टार्टअप र अनुसन्धान संस्थाहरूलाई सघाउने तथा नेपाललाई एआई पूर्वाधारको एउटा गम्भीर गन्तव्यका रूपमा स्थापित गरेर सम्पूर्ण पारिस्थितिक प्रणालीलाई उत्प्रेरित गर्ने काम गर्न सक्छ ।

एक पटक यस्तो आधार स्थापित भएपछि यसले उत्पन्न गराउने ‘गुण–प्रभाव’ ले  थप निजी पुँजी, विश्वव्यापी साझेदारी र देशैभर अन्य थप कम्प्युट सेन्टर तथा एआई फ्याक्ट्रीहरूमा लगानी आकर्षित गर्न सक्नेछ ।

यो एउटा सामान्य आईटी परियोजनाभन्दा धेरै माथि छ । यसले नेपाललाई एआई शताब्दीका लागि आवश्यक आर्थिक पूर्वाधारले सुसज्जित बनाउनेछ । जुन देशले समयमै कदम चाल्छन्– तिनले नवप्रवर्तन, प्रतिभा आकर्षण, उद्यमशीलता र डिजिटल प्रतिस्पर्धामा ठूलो अग्रता हासिल गर्नेछन् ।

नेपालसँग आफ्नो जलविद्युत्को लाभलाई विश्वव्यापी एआई क्रान्तिसँग जोडेर एउटा पूर्ण नयाँ आर्थिक क्षेत्र सिर्जना गर्ने दुर्लभ अवसर छ । भविष्य स्पष्ट छ– एआई पूर्वाधार सबैका लागि अनिवार्य हुनेछ । प्रश्न यति हो– के नेपालले अब आफ्नो एआई भविष्य निर्माण गर्न सुरु गर्नेछ ?

भविष्यको डिजिटल र एआई अर्थतन्त्र कम्प्युटमा चल्नेछ । यदि हामीसँग एआई पूर्वाधार छैन भने नेपाल केवल एआईको उपभोक्ता बन्नेछ । एआई पूर्वाधार निर्माणले हामी ‘इन्टेलिजेन्स’ (बुद्धिमत्ता) को सिर्जनाकर्ता र निर्यातकर्ता बन्नेछौं ।

समीर कोलम्बिया विश्वविद्यालयमा एट्जन्ट एसिस्टेन्ट प्रोफेसरका रूपमा कार्यरत मास्के फ्युजमसिन्स इन्कका संस्थापक र सीईओ हुन् ।

Link copied successfully