उत्पादनमुखी आत्मनिर्भर अर्थतन्त्रको रोडम्याप

कर्जा नीतिलाई धितोमा सीमित नगरी सम्भावनामा आधारित बनाउँदै नवप्रवर्तनशील र उत्पादनमुखी परियोजनाहरूमा लगानी प्रवाह बढाउनुपर्छ ।

वैशाख २०, २०८३

जश श्रेष्ठ

Roadmap to a production-oriented self-reliant economy

What you should know

नेपालमा दशकौंदेखि राजनीतिक परिवर्तन भए, नीति बने, योजना आए तर अपेक्षित परिणाम आएनन् । अब देशलाई दृष्टि, दृढ संकल्प र प्रभावकारी कार्यान्वयनले अघि बढाउनुपर्ने समय आएको छ । समृद्ध नेपालको सपना अब केवल कल्पना होइन, व्यवहारमा उतार्नुपर्ने राष्ट्रिय जिम्मेवारी हो । यस यात्रामा कृषि, ऊर्जा र पर्यटन आधारस्तम्भ हुन्, जसको समन्वित विकासले नेपाललाई उत्पादनमुखी, आत्मनिर्भर र दिगो अर्थतन्त्रतर्फ डोर्‍याउन सक्छ ।

नेपाललाई कृषिप्रधान देश भनेर चिनिन्छ, यथार्थमा कृषि क्षेत्र निरन्तर कमजोर बन्दै गएको छ । हजारौं हेक्टर जमिन बाँझो छ, गाउँ खाली हुँदै छन् र युवाशक्ति अवसरको खोजीमा विदेशिन बाध्य छ । हाम्रो अर्थतन्त्र उत्पादनभन्दा उपभोगतर्फ असन्तुलित रूपमा ढल्किएको छ । तैपनि नेपालको भूमि, जलवायु र जैविक विविधता विश्वमै अद्वितीय छन् । हिमालदेखि तराईसम्मको विविध हावापानीले बहुमूल्य कृषि उत्पादन सम्भव बनाउँछ । अबको आवश्यकता यस सम्भावनालाई वास्तविक उत्पादनमा रूपान्तरण गर्ने दृढ इच्छाशक्ति हो ।

कृषि क्षेत्रको पुनर्जागरणका लागि भूमिको प्रभावकारी उपयोग पहिलो सर्त हो । बाँझो जमिनलाई उत्पादनमा ल्याउन स्पष्ट नीति र प्रोत्साहन आवश्यक छ । सिँचाइको पहुँच विस्तार गर्दै वर्षामा निर्भर कृषिबाट बाहिर निस्कनुपर्छ । किसानले उत्पादन गरेपछि उचित मूल्य पाउने सुनिश्चितता हुनुपर्छ, जसका लागि बजार प्रणाली पारदर्शी र व्यवस्थित बनाउन आवश्यक छ । भण्डारण र प्रशोधन प्रविधिको अभावले ठूलो परिमाणमा उत्पादन खेर जाने अवस्था अन्त्य गर्न आधुनिक प्रविधिमा लगानी गर्नुपर्छ । साथै, सहुलियत कर्जा र प्रभावकारी बिमा प्रणालीमार्फत कृषिलाई सुरक्षित र आकर्षक बनाउन सकिन्छ ।

आजको कृषि परम्परागत हलो–कोदालोमा सीमित छैन । यो प्रविधि, नवप्रवर्तन र उद्यमशीलतासँग जोडिएको क्षेत्र हो । ड्रोन, स्मार्ट सिँचाइ, डेटा विश्लेषण, डिजिटल बजार र एग्री–टेकले कृषिलाई नयाँ उचाइमा पुर्‍याउन सक्छन् । यदि सरकारले कृषि स्टार्टअपलाई प्राथमिकता दिँदै तालिम, लगानी र बजार पहुँच सुनिश्चित गर्‍यो भने युवाहरू कृषितर्फ आकर्षित हुन सक्छन् । जडीबुटी, जैविक मल, उच्च मूल्यका बाली र निर्यातमुखी उत्पादनले ग्रामीण अर्थतन्त्रलाई सशक्त बनाउनेछन् ।

ऊर्जा नेपालको सबैभन्दा ठूलो सम्भावनाको क्षेत्र हो । नेपालसँग जलविद्युत् उत्पादनको अपार सम्भावना छ । सौर्य ऊर्जा पनि उत्तिकै महत्त्वपूर्ण विकल्प हो । विश्व नै हरित ऊर्जातर्फ उन्मुख भइरहेका बेला नेपालले यस अवसरलाई सदुपयोग गर्न सके ऊर्जा आत्मनिर्भरता मात्र होइन, निर्यातमार्फत आर्थिक समृद्धि हासिल गर्न सक्छ । ‘पानीलाई पैसा’ मा रूपान्तरण गर्ने सपना अब यथार्थ बन्न सक्छ । जटिल अनुमति प्रक्रिया, प्रसारण लाइनको अभाव, लगानीको कमी, नीति अस्थिरता र प्रशासनिक ढिलासुस्तीले ऊर्जा क्षेत्रको विकासलाई अवरुद्ध गरिरहेका छन् । जलविद्युत् र सौर्य परियोजनाहरूका लागि लाइसेन्सिङ, पीपीए, ईआईए जग्गा अधिग्रहण र वित्तीय पहुँचलाई सरल बनाउनु आवश्यक छ । निजी क्षेत्रलाई प्रोत्साहन गर्दै अन्तर्राष्ट्रिय साझेदारीमार्फत पुँजी र प्रविधि भित्र्याउनुपर्छ । शून्य कार्बन उत्सर्जन गर्ने उद्योगहरूलाई प्राथमिकता दिँदै कार्बन ट्रेडिङ जस्ता नयाँ अवधारणालाई व्यवहारमा ल्याउन सकिन्छ । साथै, विद्युतीय सवारी र स्वच्छ ऊर्जाको प्रयोगलाई व्यापक बनाउँदै दिगो विकासतर्फ अघि बढ्नुपर्छ ।

पर्यटन नेपालको खुला सम्भावनाको क्षेत्र हो, जहाँ प्रकृति, संस्कृति र आध्यात्मिकता एकै ठाउँमा भेटिन्छन् । तर पर्यटनलाई अझै संख्यामा मात्र मापन गर्ने प्रवृत्ति हाबी छ, जबकि वास्तविक लाभ गुणस्तरमा निर्भर हुन्छ । पर्यटनको दिगो विकासका लागि आन्तरिक पर्यटनको प्रवर्द्धन आवश्यक छ । नेपालीले आफ्नै देश चिन्ने र घुम्ने संस्कृतिको विकास गर्नुपर्छ । ग्रामीण पर्यटन, होमस्टे, कृषि पर्यटन र सांस्कृतिक पर्यटनमार्फत स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउन सकिन्छ । स्थानीय खाना, परम्परा, कला र पर्वलाई पर्यटनसँग जोड्दा अर्थतन्त्रसँगै पहिचान पनि सुदृढ हुन्छ । डिजिटल प्रवर्द्धन र अन्तर्राष्ट्रिय ब्रान्डिङले नेपाललाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सक्छ ।

आजको कृषि परम्परागत हलो–कोदालोमा सीमित छैन । यो प्रविधि, नवप्रवर्तन र उद्यमशीलतासँग जोडिएको क्षेत्र हो । ड्रोन, स्मार्ट सिँचाइ, डेटा विश्लेषण, डिजिटल बजार र एग्री–टेकले कृषिलाई नयाँ उचाइमा पुर्‍याउन सक्छन् । यी तीन क्षेत्रको समन्वित विकासका लागि सशक्त आर्थिक र नीतिगत सुधार अपरिहार्य छ । सबैभन्दा पहिले बजेटको शतप्रतिशत कार्यान्वयन सुनिश्चित गरिनुपर्छ । केवल कर र अनुदानमा निर्भर रहने परम्परा तोड्दै सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत ऊर्जा, कृषि, प्रविधि, उत्पादन र पर्यटन क्षेत्रमा ठूला परियोजनाहरू अघि बढाउनुपर्छ । कर्जा नीतिलाई धितोमा सीमित नगरी सम्भावनामा आधारित बनाउँदै नवप्रवर्तनशील र उत्पादनमुखी परियोजनाहरूमा लगानी प्रवाह बढाउनुपर्छ ।

आर्थिक गतिविधि विस्तार गर्न मौद्रिक नीतिलाई लचिलो बनाउँदै ब्याजदर न्यून राख्नुपर्छ र नगद प्रवाह सहज बनाउनुपर्छ । विदेशी लगानी नीति सरल र आकर्षक बनाउँदै संयुक्त उद्यममार्फत ठूलो पुँजी भित्र्याउनुपर्छ । पुँजी बजारलाई सशक्त बनाउन विदेशी लगानीकर्ताका लागि खुला गर्दै आधुनिक ट्रेडिङ प्रणाली लागू गर्न सकिन्छ । स्टार्टअपलाई प्राथमिकतामा राख्दै नवप्रवर्तन, रोजगारी सिर्जना र आर्थिक गतिशीलता बढाउन सकिन्छ ।

औद्योगिक विकासका लागि उत्पादनमुखी उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्छ । ‘मेड इन नेपाल’ अभियानलाई सशक्त बनाउँदै कपडा, हस्तकला, खाद्य, कस्मेटिक्स, इलेक्ट्रोनिक्स र सफ्टवेयर उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन आवश्यक छ । नेपाली जडीबुटी, प्राकृतिक स्रोत र खनिजहरूको दिगो उपयोगले अर्थतन्त्रलाई थप बलियो बनाउन सक्छ । प्राकृतिक मुहानको खनिजयुक्त पानी निर्यात जस्ता नयाँ सम्भावनाहरू पनि खोज्न सकिन्छ ।

सामाजिक क्षेत्रको सुदृढीकरणबिना दिगो विकास सम्भव छैन । गुणस्तरीय र व्यावहारिक शिक्षा प्रणालीले दक्ष जनशक्ति उत्पादन गर्छ भने प्रभावकारी स्वास्थ्य सेवाले नागरिकको जीवनस्तर उकास्छ । स्वास्थ्य बिमा प्रणालीलाई सुदृढ बनाउँदै सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्छ । हानिकारक वस्तुको आयातलाई निरुत्साहित गर्दै स्वस्थ समाज निर्माणतर्फ ध्यान दिनुपर्छ । नेपालको भौगोलिक अवस्थालाई कमजोरी होइन, अवसरका रूपमा लिनुपर्छ । भारत र चीनबीचको आर्थिक पुलका रूपमा नेपालले व्यापार, पारवहन र कूटनीतिक सम्बन्ध विस्तार गर्न सक्छ । यसले नेपाललाई क्षेत्रीय अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्न सक्षम बनाउनेछ ।

मुख्य विषय भनेको सुशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कडाइका साथ लागू नगरी कुनै पनि योजना सफल हुन सक्दैन । पारदर्शिता, उत्तरदायित्व र प्रविधिमा आधारित प्रशासनिक प्रणालीमार्फत जनविश्वास पुनःस्थापित गर्नुपर्छ । युवाको वैदेशिक पलायन रोक्न रोजगारी सिर्जना, सीप विकास र निजी क्षेत्रसँग सहकार्य अनिवार्य छ । नेपालको समृद्धि कुनै एक क्षेत्र, एक नीति वा एक संस्थाबाट सम्भव हुँदैन । यो साझा प्रयास, साझा दृष्टि र साझा जिम्मेवारीको परिणाम हो । कृषि, ऊर्जा र पर्यटनलाई केन्द्रमा राख्दै उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढ्नु नै नेपालको दीर्घकालीन समाधान हो । अबको समय बाँझो जमिनलाई हरियालीमा बदल्ने, पानीलाई ऊर्जा र आम्दानीमा रूपान्तरण गर्ने र प्राकृतिक सम्पदालाई समृद्धिको आधार बनाउने । यदि हामी सबै एउटै लक्ष्यतर्फ प्रतिबद्ध भएर अघि बढ्यौं भने समृद्ध नेपाल केवल सपना रहने छैन, यथार्थ बन्नेछ ।
(श्रेष्ठ उद्यमी हुन्)

जश

Link copied successfully