गौतम बुद्ध विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने हो भने करोडौं संख्यामा बुद्धमार्गी पर्यटक लुम्बिनी घुम्न आउनेछन्
What you should know
२०७१ मा सिद्धार्थनगर (भैरहवा) स्थित गौतम बुद्ध विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न शिलान्यास गरिएको थियो । त्यसको लक्ष्य थियो– शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटकीय विकास र प्रवर्द्धनमार्फत राष्ट्रको अर्थतन्त्र बलियो बनाउने । सरकारको यो कदमपछि लुम्बिनी क्षेत्रका मात्रै होइन, मुलुकभरिकै उद्यमी उत्साहित भए ।
भैरहवा–लुम्बिनी क्षेत्रमा खासगरी होटल तथा आतिथ्यता एवं पर्यटनमा लगानी वृद्धि भयो । होटल एसोसिएसन अफ नेपाल (हान) लुम्बिनी प्रदेश समितिको तथ्यांकअनुसार भैरहवा–लुम्बिनी क्षेत्रमा मात्रै अहिले ४ पाँचतारे होटल, ९ चारतारे होटल र १ तीनतारे होटल सञ्चालनमा छन् । गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएपछि पर्यटन उद्योग फस्टाउने अपेक्षाका साथ विमानस्थललाई लक्षित गरी यी होटल खुलेका हुन् । होटल व्यवसायमा मात्र भैरहवा–लुम्बिनी क्षेत्रमा एक खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । यो विमानस्थल बन्ने भएपछि ठूला तारे होटल मात्रै होइन, मझौला तथा साना होटल, रेस्टुरेन्ट पनि थपिए ।
यो विमानस्थललाई लक्षित गरी रूपन्देही अतिरिक्त बर्दिया र बाँके जिल्लामा पनि होटल व्यवसायमा ठूलो परिमाणमा रकम लगानी भएको छ । भैरहवा र नेपालगन्जमा पनि होटल व्यवसायमा ठूलो रकम लगानी भएको छ । लुम्बिनी प्रदेश क्षेत्रमा मात्रै साना–ठूला गरी २ हजारभन्दा बढी संख्यामा होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । यी सबैको लगानी जोड्ने हो भने खर्बौं रुपैयाँ भइसकेको छ । २ जेठ २०७९ मा विमानस्थलको उद्घाटन भएपछि उद्योगी–व्यवसायीमा हर्षको सीमा रहेन । नयाँले लगानी गर्न र पुरानाले लगानी थप्न हौसिए । हामीले देख्दादेख्दै भैरहवा–लुम्बिनी क्षेत्र पर्यटकीय पूर्वाधारले भरियो । र, पर्यटकीय पूर्वाधारको नगरी बन्यो भैरहवा–लुम्बिनी क्षेत्र । तर, उद्घाटन भएको ४ वर्ष बितिसक्दासम्म विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा नआएपछि अहिले यस क्षेत्रका उद्योगी–व्यवसायीहरू निराश र दुःखी छन् ।
यो विमानस्थललाई लक्षित गरी रूपन्देही अतिरिक्त बर्दिया र बाँके जिल्लामा पनि होटल व्यवसायमा ठूलो परिमाणमा रकम लगानी भएको छ । भैरहवा र नेपालगन्जमा पनि होटल व्यवसायमा ठूलो रकम लगानी भएको छ । सोसाइटी अफ ट्राभल एन्ड टुर अप्रेटर्स नेपाल (सोट्टो नेपाल) को लुम्बिनी प्रदेश समितिको तथ्यांकअनुसार, ट्राभल टुर क्षेत्रमा पनि झन्डै एक खर्ब रुपैयाँ लगानी भएको छ । लुम्बिनी प्रदेश क्षेत्रमा २ सय बढी यस्ता संस्था सञ्चालित छन् । सरकारको पनि पूर्वाधार क्षेत्रमा खर्बौं रुपैयाँ लगानी भइसकेको छ ।
विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा नआएपछि यो लगानी अहिले जोखिममा छ । उद्योगी व्यवसायीले यो विमानस्थल सञ्चालनका लागि सरकारसँग धेरै पटक माग राखे । दबाबमूलक कार्यक्रमहरू पनि सञ्चालन गरे तर विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन ।
नवगठित दुईतिहाइ बहुमतको सरकारसँग आफूहरूले ठूलो अपेक्षा राखेको यस क्षेत्रका व्यवसायीको भनाइ छ ।
अब यो सञ्चालनका लागि नयाँ सरकारले पहल गरोस् र समस्या समाधानको उपाय खोजोस् भन्ने चाहना व्यवसायीको छ । भारतका पर्यटकीय सहरहरूमा आवतजावतका लागि हवाई र रेलमार्गको सुविधा मिलाउनसमेत सरकारले यथाशीघ्र पहल गर्नुपर्छ । व्यवसायीहरूले माग गरेजस्तै श्रम, राहदानी, स्वास्थ्य परीक्षण र प्रवेशाज्ञाको सुविधा भैरहवाबाटै दिने व्यवस्था मिलाउन ठूलो कठिनाइ नहोला ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठको भनाइमा यो विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र सरकारको खर्बौं रुपैयाँ लगानी जोखिममा परेको छ । अतः सरकारले यसको सञ्चालनका लागि भारत सरकारसँग कूटनीतिक पहल गर्नुपर्छ । भैरहवादेखि भारतको दिल्ली उडानको व्यवस्था मिलाउनेबित्तिकै समस्या समाधानको वातावरण सिर्जना हुन्छ । यात्रुको समस्या छैन । गौतम बुद्ध विमानस्थल सञ्चालनको माग लुम्बिनी प्रदेश क्षेत्रको माग मात्रै होइन, नेपाल राष्ट्रकै माग हो । यो क्षेत्र राष्ट्रिय अर्थतन्त्रकै आधारस्तम्भ बन्न सक्छ । यो विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउने हो भने लुम्बिनी प्रदेश क्षेत्रको पर्यटन उद्योगमा कायापलट हुनेछ । यसकारण यो विमानस्थल सञ्चालनको माग भैरहवा एवं रूपन्देहीवासीको मात्र नभई समग्र लुम्बिनी प्रदेशवासी र राष्ट्रकै हो । यो विमानस्थल लुम्बिनी प्रदेश र गण्डकी प्रदेशवासीको भाग्यरेखा हो ।
लुम्बिनी दर्शन गर्न आएका विदेशी पर्यटक चितवन र पोखराको भ्रमणमा समेत पुग्छन् । यदि हामीले गौतम बुद्ध विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने हो भने वर्षमा करोडौं संख्यामा बुद्धमार्गी पर्यटक लुम्बिनी आउँछन् । यसले नेपाल राष्ट्रकै समृद्धिमा ठूलो टेवा पुर्याउँछ । त्यसैले यो विमानस्थल सञ्चालनका लागि हामी सबै जुर्मुराएर जागौं, उठौं । यदि यो विमानस्थल सञ्चालनमा ल्याउन नेपाल सरकार सफल हुन नसके नेपालले आर्थिक र सामाजिक क्षेत्रमा ठूलो नोक्सानी बेहोर्नुपर्नेछ ।
यदि सरकार, खासगरी पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको प्रतिबद्धता हुने हो भने यो विमानस्थल सञ्चालनमा ल्याउन सहजै सकिन्छ । सरकारले व्यावसायिक योजना राम्रोसँग बनाउनुपर्छ । त्रिभुवन, पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय– तीन वटै विमानस्थल एकसाथ सञ्चालनमा ल्याउने गरी व्यावसायिक योजना बनाउनुपर्छ । लुम्बिनीमा बुद्धिस्ट मात्रै नभई, अन्य धार्मिक पर्यटक पनि प्रशस्त संख्यामा आकर्षित गर्न सकिन्छ । किनकि लुम्बिनी विश्व शान्तिको मुहान हो । लुम्बिनी प्रदेश क्षेत्रको आर्थिक विकासको मुख्य आधार पर्यटन हो । अतः यस क्षेत्रमा शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर यहाँ आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन यो प्रदेश क्षेत्रका अन्य पर्यटकीय सम्पदाहरूको समेत समुचित विकास र प्रवर्द्धन गर्नुपर्छ ।
