निजी क्षेत्रको विकास : समृद्ध नेपालको आधार 

निजी क्षेत्रलाई सुरक्षा, सम्मान, संवर्द्धन र प्रवर्द्धन दिए आर्थिक विकास सम्भव छ । अब केही परिवर्तन आवश्यक छ– सोचाइ र काम गर्ने पद्धतिमा । 

वैशाख १५, २०८३

सागर ढकाल

Private sector development: The foundation of a prosperous Nepal

What you should know

नेपालको आर्थिक विकास सपना कुनै अमूर्त कल्पना होइन । हाम्रा अपार स्रोत एवम् सम्भावनाले भरिएका हिमाल, पहाड र तराईलाई उद्योग, कलकारखाना अनि उद्यम व्यवसायले गुञ्जायमान बनाउने मूर्त सपना हो ।

स्वदेशमै लाखौं युवालाई रोजगारी दिने, उत्पादन र उत्पादकत्व बढाउने, आयात कम गर्ने, विश्वबजारमा निर्यातको झन्डा फहराउने र प्रशस्त विदेशी मुद्रा आर्जन गर्ने सपना हो नेपालको । अन्ततः एउटा समृद्ध, शान्त र गौरवशाली नेपाल निर्माण गर्ने सपना पनि हो । 

तर, यो सपना पूरा गर्ने मार्गमा एउटा यथार्थलाई हामीले हृदयंगम गर्नैपर्छ । निजी क्षेत्रको सशक्त र सक्रिय भूमिकाबिना यो सपना अधुरो–अपूरो रहन्छ । यो केवल एउटा धारणा होइन, विश्व इतिहासको प्रमाणित यथार्थ हो ।

विश्वभरै निजी क्षेत्रलाई राष्ट्रिय विकासको मुख्य इन्जिन मानिन्छ । नेपालमा पनि निजी क्षेत्रले अर्थतन्त्रको मेरुदण्डको भूमिका निर्वाह गरिरहेको छ । तर, हामी प्रायः निजी क्षेत्रलाई संकीर्ण र पुरातन चस्माबाट हेर्छौं, यिनीहरू केवल नाफाका भोका व्यापारी हुन् भनेर । 

निजी क्षेत्रलाई सुरक्षा, सम्मान, संवर्द्धन र प्रवर्द्धन दिए आर्थिक विकास सम्भव छ । अब केही परिवर्तन आवश्यक छ– सोचाइ र काम गर्ने पद्धतिमा । यस्तो दृष्टिकोण नितान्त गलत छ । उद्यमी व्यवसायी केवल व्यापारी होइनन्, जनताका सेवक हुन्, रोजगारस्रष्टा हुन्, पूर्वाधार निर्माणकर्ता हुन्, उत्पादनकर्ता, सेवा प्रवाहक र नवप्रवर्तनका वाहक हुन् । 

सबै व्यवसायले लगानीकर्तालाई नाफा दिन्छन् । तर, नाफा कमाउनुभन्दा अघि यिनले आमउपभोक्ताको जीवन सहज बनाउँछन्, स्वदेशमै रोजगारी सिर्जना गर्छन्, राज्यलाई कर अनि राजस्व बुझाउँछन्, पूर्वाधार निर्माणमा ठूलो योगदान गर्छन् र नवीन प्रविधि एवम् विचार भित्र्याउँछन् । 

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा निजी क्षेत्रको योगदान ८१ प्रतिशतभन्दा बढी छ । रोजगारी सिर्जनामा ८६ प्रतिशतभन्दा बढी योगदान यसले गरिरहेको छ । कर तथा राजस्व संकलनमा पनि ८० प्रतिशतभन्दा बढी हिस्सा निजी क्षेत्रकै छ । 

विश्व बैंकको नेपाल विकास अपडेट २०२५ अनुसार, आर्थिक वर्ष २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.६ प्रतिशत छ, जसमा निजी क्षेत्रको योगदान प्रमुख छ । एसियाली विकास बैंक (एडीबी) को म्याक्रो इकोनोमिक अपडेटले पनि निजी क्षेत्रको सक्रियताबिना यो वृद्धि सम्भव नहुने प्रस्ट्याइसकेको छ । 

तर दुःखको कुरा, समाजमा नकारात्मक धारणा यति गहिरो गरी जरा गाडेर बसेको छ कि निजी क्षेत्रलाई सधैं नाफाखोर व्यापारीको समूहका रूपमा मात्रै हेरिन्छ । सामाजिक सञ्जाल र मिडियामा समेत व्यवसायीको उछितो काढेर लेखेको पाइन्छ । कुनै एकाध व्यवसायीको बदमासी र गल्तीको भारी सम्पूर्ण उद्यमी व्यवसायी एवं निजी क्षेत्रलाई यसरी भिराइन्छ, मानौं, उद्यम व्यवसाय गर्नु नै अपराध हो । नाफा आर्जन गर्नु महापाप हो । 

हरेक राजनीतिक आन्दोलन र परिवर्तनको आँधीमा निजी क्षेत्र नै पहिलो सिकार बन्छ । विगतका आन्दोलनमा कति उद्योग तोडफोड भए, कति कलकारखाना जलाइए, कति व्यवसाय ध्वस्त पारिए, कति निजी सम्पत्तिमा क्षति पुर्‍याइयो– त्यसको कुनै लेखाजोखा छैन । निजी क्षेत्रका उद्यम व्यवसायको क्षति व्यक्तिगत वा संस्थागत होइन, राष्ट्रकै क्षति हो । यसबाट आमउपभोक्ताले पाउने सेवा अवरुद्ध हुन्छ । उत्पादन र सेवा प्रवाहमा ठूलो व्यवधान आउँछ । साना किसान एवम् लगानीकर्ताको आम्दानीमा संकट आउँछ । बजारचक्रमा प्रहार हुन्छ । रोजगारी गुम्छ । राजस्व घट्छ । र, बाधा पुग्छ समग्र विकासमा ।  

तर, यस्तो पीडादायी चक्र अब बारम्बार दोहोरिनु हुँदैन । निजी क्षेत्र कमजोर भयो भने समृद्ध नेपालको सपना कसरी साकार हुन्छ ? यो प्रश्नमाथि सरकार, राजनीतिक दल, युवा पुस्ता र नागरिक समाज गम्भीर भएर विमर्श गर्नैपर्छ । 

यस्तो पीडादायी चक्र अब बारम्बार दोहोरिनु हुँदैन । निजी क्षेत्र कमजोर भयो भने समृद्ध नेपालको सपना कसरी साकार हुन्छ ? यो प्रश्नमाथि सरकार, राजनीतिक दल, युवा पुस्ता र नागरिक समाज गम्भीर भएर विमर्श गर्नैपर्छ ।विश्वका अनुभवले हामीलाई ठूलो सन्देश दिएका छन् । सन् १९६० को दशकमा दक्षिण कोरिया नेपाल जस्तै गरिब मुलुक थियो । तर कोरियाली सरकारले विकासको मुख्य इन्जिन मानेर राजनीतिक प्रतिबद्धता, लगानीमैत्री नीति र आर्थिक आधुनिकीकरणमार्फत निजी क्षेत्रलाई बलियो बनायो । परिणामस्वरूप, सन् १९६० मा जम्मा १.६ बिलियन डलर रहेको दक्षिण कोरियाको जीडीपी आज १.८ ट्रिलियन डलर पुगेको छ । 

सिंगापुरले करछुट, विश्वस्तरीय पूर्वाधार र नीतिगत सहजीकरणमार्फत विदेशी लगानी (एफडीआई) भित्र्यायो । आज सिंगापुर एसियाको आर्थिक हब मात्रै होइन, प्रतिव्यक्ति आय ९५ हजार डलरभन्दा माथि भएको समृद्ध राष्ट्र हो । हाम्रै छिमेकी चीनले सन् १९७८ मा खुला अर्थनीति अपनाएपछि विशेष आर्थिक क्षेत्रहरू स्थापना गरेर निजी क्षेत्रलाई प्रोत्साहन दिएको थियो, त्यहाँ एफडीआईको ओइरो लाग्यो र आज ऊ विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ । चीनको जीडीपी १९ ट्रिलियन डलरभन्दा बढी छ । यहाँ निजी क्षेत्रले ९० प्रतिशत बढी रोजगारी दिइरहेको छ ।

भारतले सन् १९९१ को आर्थिक सुधारमार्फत लाइसेन्सराज अन्त्य गरेर निजी क्षेत्रलाई खुला गर्‍यो । एफडीआईलाई स्वागत गर्‍यो । आज भारतको जीडीपी ४ ट्रिलियन डलर नजिक छ, जसमा निजी क्षेत्रको योगदान ७० प्रतिशतभन्दा बढी छ । अमेरिकामा निजी क्षेत्रले नै झन्डै ९० प्रतिशत रोजगारी सिर्जना गर्छ । 

यी सबै उदाहरणले एउटै सन्देश दिन्छन्– निजी क्षेत्रलाई सुरक्षा, सम्मान, संवर्द्धन र प्रवर्द्धन दिए आर्थिक विकास सम्भव छ । र, नेपालमा पनि यो सम्भव छ । तर, त्यसका लागि केही परिवर्तन आवश्यक छ– सोचाइमा, काम गर्ने पद्धतिमा । 

राजनीतिक दलहरूले निजी क्षेत्रलाई शत्रु होइन, विकासको साझेदार मानेर काम गर्नुपर्छ । स्थिर र लगानीमैत्री नीति, आधुनिक कर प्रणाली, वैदेशिक लगानी आकर्षित र सार्वजनिक–निजी साझेदारी मोडललाई बलियो बनाउनुपर्छ । सडक, बिजुली, स्वास्थ्य, शिक्षा र अन्य ठूला पूर्वाधारमा सार्वजनिक–निजी साझेदारी मोडलमार्फत लगानी बढाउन सकिन्छ । 

यसले रोजगारी वृद्धि गर्छ । उत्पादन बढाउँछ र समृद्धिको ढोका खोल्छ । जेन–जीहरूको ऊर्जा र नवीन सोचलाई प्रोत्साहन र सुरक्षित वातावरण दिनुपर्छ । उनीहरूका स्टार्टअप, डिजिटल उद्यम र नयाँ विचारलाई पखेटा दिन निजी क्षेत्र तयार छ । नयाँ सरकार र राजनीतिक दलहरूले पनि यो पुस्तालाई विश्वास गर्नुपर्छ । निजी क्षेत्रको सुरक्षा, संवर्द्धन र प्रवर्द्धनमा हामी सबै एकजुट होऔं । किनकि निजी क्षेत्रको विकासबिना समृद्ध नेपाल असम्भव छ । 

सागर ढकाल नेपाल स्टक ब्रोकर्स एसोसिृुनका अध्यक्ष हुन् ।

Link copied successfully