कसरी हुनुपर्छ संविधान संशोधन र पुनरावलोकन ? 

संघीयताप्रतिको जनताको असन्तोष सम्बोधन गरी संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्छ  

वैशाख १०, २०८३

रुद्र शर्मा

How should the Constitution be amended and reviewed?

What you should know

वालेन्द्र शाह नेतृत्वको सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्ने कामको सुरुवात सकारात्मक छ । धारा २७४ बमोजिम संविधान संशोधनको विधेयक सर्वसाधारणको जानकारीका लागि सार्वजनिक प्रकाशन गर्नुपर्ने व्यवस्था छ । प्रदेशको सिमाना वा अनुसूची–६ मा उल्लिखित प्रदेशको अधिकारसँग सम्बन्धित विषय संशोधन गर्नुपरे तीन महिनाभित्र सम्बन्धित प्रदेशको सहमति प्राप्त गर्नुपर्ने व्यवस्था छ । यदि प्रदेशको सहमति प्राप्त नभए संविधान संशोधनसम्बन्धी प्रस्ताव नै निष्क्रिय हुनेछ । त्यसैले संविधान संशोधनको प्रक्रिया जटिल छ ।  

तसर्थ, सरकारले तयार पार्न खोजेको बहसपत्रमा निम्नबमोजिम विषयवस्तु पहिचान गरी सोहीबमोजिम गर्नु आवश्यक छ । पहिले, संविधान संशोधनसम्बन्धी संविधानमै भएका व्यवस्था हेर्नुपर्छ । धारा ५४ अनुसार, उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको प्रगतिशील कार्यान्वयन भए/नभएको अनुगमन र मूल्यांकन गर्न संघीय संसद्मा कानुनबमोजिम एक समिति रहनेछ भन्ने व्यवस्था छ । यो व्यवस्थाअनुसार, निर्देशक सिद्धान्तको प्रगतिशील कार्यान्वयनको पुनरावलोकन गर्दा स्वतः मौलिक हकको कार्यान्वयनको पनि पुनरावलोकन गर्नुपर्छ । किनभने संविधानको भाग ४ मा भएका निर्देशक सिद्धान्तहरू मौलिक हककै विस्तारित स्वरूप हुन् । यो पुनरावलोकनले प्रस्तावना लगायतका ठाउँमा उल्लिखित समाजवादको पनि पुनरावलोकन गर्छ ।  

दोस्रो, संविधानको भाग २७ धारा (२६५) अनुसार, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारू आयोग र मुस्लिम आयोगलाई संविधान बनेको दस वर्षपछि पुनरावलोकन गर्नुपर्छ । यी आयोग पुनरावलोकन गर्दा अन्य आयोग जस्तै राष्ट्रिय मानवअधिकार आयोग र संविधानका अन्य कतिपय प्रवधान पनि पुनरावलोकन गर्नुपर्ने हुन्छ । 

संविधान पुनरावलोकनसम्बन्धी तेस्रो बुँदा हो– शासकीय स्वरूप । वर्तमानमा संसदीय शासन प्रणालीलाई शासकीय स्वरूपका रूपमा अपनाइएको भए पनि दुई वर्षसम्म प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव राख्न नपाइने जस्ता वेस्ट मिनिस्टरियल संसदीय व्यवस्थासँग अमिल्दा व्यवस्था छन् । संविधान पुनरावलोकनको चौथो विषयवस्तु हो– शासन प्रणाली । हामी अहिले संघीय शासन प्रणालीमा छौं । वर्तमान संघीय संरचनाअनुसार, तीन तहमा अधिकारको बाँडफाँड र त्यसको प्रयोगका सम्बन्धमा धेरै अस्पष्टता छन् । संघीय शासन प्रणाली साथसाथै संविधानका अनुसूचीहरूमा उल्लिखित तीन तहको अधिकार बाँडफाँड पनि गम्भीर रूपमा पुनरावलोकन गरिनुपर्छ । संघीयताप्रतिको जनताको असन्तोष पनि सम्बोधन गरी संघीय शासन प्रणाली थप प्रभावकारी बनाउँदै यस्तो पुनरावलोकन हुनु आवश्यक छ । 

संविधान जारी गर्दा कार्यकारी र व्यवस्थापकीय अधिकार प्रदेश र स्थानीय तहमा विभाजन गरिए पनि न्यायपालिकालाई एकीकृत नै राखियो । तर राजनीतिक, सामाजिक र व्यावहारिक हिसाबले न्यायपालिका पनि संघीय संरचना अनुसारै छ भन्ने भ्रम पर्न गयो । संविधान पुनरावलोकनको पाँचौं बुँदा ‘शासन व्यवस्था’ जनताको प्रतिनिधित्वसँग सम्बन्धित छ । यसलाई दुई भागमा बाँड्न सकिन्छ– जनप्रतिनिधिको संख्या र निर्वाचन प्रणाली । हाम्रोजस्तो देशमा जनप्रतिनिधिको संख्या धेरै ठूलो भयो भन्ने गुनासो छ । संघीय शासन प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्ने हो भने केन्द्र वा संघमा जनप्रतिनिधिको संख्या घटाउनुपर्छ । जनप्रतिनिधिहरू निर्वाचन गर्ने निर्वाचन प्रणाली पनि सुधार गर्न संविधानको पुनरावलोकन आवश्यक छ । संविधान संशोधनको छैटौं बुँदा न्यायपालिकाको संरचना र मुख्य न्यायाधिवक्ताको भूमिका वा अधिकारसँग सम्बन्धित छ । 

संविधान जारी गर्दा कार्यकारी र व्यवस्थापकीय अधिकार प्रदेश र स्थानीय तहमा विभाजन गरिए पनि न्यायपालिकालाई एकीकृत नै राखियो । तर राजनीतिक, सामाजिक र व्यावहारिक हिसाबले न्यायपालिका पनि संघीय संरचना अनुसारै छ भन्ने भ्रम पर्न गयो । यस्तो भ्रम र यथार्थ फरक पर्दा न्यायपालिकाप्रति असन्तोष बढ्दै गयो । यो भ्रम सिर्जना हुनुको एक उदाहरण हो– प्रदेशमा भएका मुख्य न्यायाधिवक्ताको भूमिका र अधिकार । प्रदेशसभाले कानुन बनाउँछ, तर ती कानुनबमोजिम पालनाको अभियोजन गर्ने वा मुद्दा हाल्ने अधिकार प्रदेशका मुख्य न्यायाधिवक्तालाई छैन । यसरी प्रदेशले कानुन बनाउने, तर कार्यान्वयन गर्न केन्द्रको भर पर्नुपर्ने अवस्था छ । यसलाई पुनरावलोकन गरिनुपर्छ । 

संविधान पुनरावलोकनको सातौं बुँदा धारा १३३ संशोधनसम्बन्धी छ । संसद्ले बनाएको कानुन संविधानसँग बाझिए अदालतले बदर गर्ने एउटा स्थापित परम्परा छ । तर, सबै स्थानीय र प्रदेशसभाले बनाएका कानुन पनि संविधानसँग बाझिँदा बाझिएको हदसम्म खारेज गरी पाउन सर्वोच्च अदालतको संवैधानिक इजलासमा जानुपर्ने व्यवस्थाले न्याय प्रणाली नै अस्तव्यस्त छ । ७५३ स्थानीय तह र ७ प्रदेशले हजारौं कानुन बनाएका छन् । कानुन बनाउने विज्ञता र अनुभव नपुग्दा ती धेरै कानुन संविधानसँग बाझिने अवस्थामा छन् । ‘त्यस्ता कानुन खारेज गरिपाउँ’ भन्ने संवैधानिक उपचारका लागि काठमाडौंको सर्वोच्च अदालतको संवैधानिक इजलासमै आउनुपर्ने अवस्थाले वर्तमान संघीय शासन प्रणालीलाई नै उपहास गरिरहेको छ । तसर्थ यो विषय पुनरावलोकन गरिनुपर्छ । 

संविधान पुनरावलोकनको आठौं बुँदा संवैधानिक इजलासको समीक्षासम्बन्धी छ । सर्वोच्च अदालतका सबै इजलास ‘संवैधानिक इजलास’ भए पनि संविधान बनाउँदाको समयको राजनीतिक समीकरण मिलाउन संवैधानिक इजलासको व्यवस्था गरियो भन्ने भनाइ छ । तसर्थ संवैधानिक इजलासको औचित्य वा व्यवस्थापनबारे पुनरावलोकन हुनु आवश्यक छ । संविधान पुनरावलोकनको नवौं बुँदा न्याय परिषद् तथा संवैधानिक परिषद्को पुनरावलोकन हो । दसौं बुँदा संविधानको हालसम्मको अभ्यासबाट प्राप्त अनुभवका आधारमा गरिने पुनरावलोकन पनि हो । 

माथि उल्लिखित बुँदागत आधारमा संविधान पुनरावलोकन गरी थप अध्ययन–अनुसन्धान र अन्तर्क्रियापछि संविधान संशोधनको काम अघि बढाउनु आवश्यक छ । (शर्मा वरिष्ठ अधिवक्ता हुन्)

रुद्र

Link copied successfully