डिजिटल हिंसाले बिथोलेको अभिव्यक्ति स्वतन्त्रता

कसैको समर्थन वा विरोध गरेकै आधारमा किन एक महिला यौनजन्य हिंसाको शिकार हुनुपर्छ ? किन अभिव्यक्ति राखेकै कारण आफ्नै ज्यानको सुरक्षा खोज्दै प्रहरी प्रशासन र न्यायलयको ढोका ढक्ढक्याउनुपर्छ ? के लोकतन्त्र र संविधानमा विश्वास गर्नुको मूल्य यति भयानक हुन्छ ?  

वैशाख १०, २०८३

करुणा देवकोटा, सबिता आचार्य

Freedom of expression undermined by digital violence

What you should know

विचार र अभिव्यक्ति स्वतन्त्रताको हक नेपालको संविधान (२०७२) को धारा १७ (२) (क) ले सुनिश्चित गरेको छ । तर, के हामीले निर्धक्क आफ्ना विचार र  अभिव्यक्ति राख्न पाएका छाौ ? के हामी सुनिश्चित गर्न सक्छौं कि विचार राखेकै कारण त्यसउपर वैचारिक विश्लेषण हुन्छ नकी ‘यौनजन्य हिंसा’ लाई बढवा दिने प्रतिक्रिया ? के हामीले आफ्ना विचार, मत र भावना व्यक्त गर्नुअघि ‘विचार मन नपरे मलाई बलात्कार गर, ममाथि यौन उत्पीडन गर’ भनेर तयार हुनुपर्ने हो ? 

नत्र कसैको समर्थन वा विरोध गरेकै आधारमा किन एक महिला यौनजन्य हिंसाको शिकार हुनुपर्छ ? किन आफ्ना अभिव्यक्ति राखेकै कारण आफ्नै ज्यानको सुरक्षा खोज्दै प्रहरी प्रशासन र न्यायलयको ढोका ढक्ढक्याउनुपर्छ ? के लोकतन्त्र र संविधानमा विश्वास गर्नुको मूल्य यति भयानक र डरलाग्दो हुन्छ ? 

यदि होइन भने किन कसैले (महिलाले) विचार र राजनीतिक धारणा राखेकै कारण आफूमाथि भइरहेका हिंसा तथा दुर्व्यवहारका विरुद्ध आवाज उठाएकै कारण, उसले रोजेका व्यक्तिगत निर्णय र स्वतन्त्रताकै कारण व्यक्तिको अपमान गरिन्छ, चरित्र हत्या गरिन्छ र बाँच्नै कठिन बनाइन्छ ? 

हामीले पडकास्ट ‘गुलाबी संवाद’ मार्फत उठाउने यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषय, यस्ता विषयमा आयोजना गर्ने कार्यशाला, छलफल तथा बहसका क्रममा तुच्छ टिप्पणी तथा व्यवहार, यौन आसय झल्किने अभिव्यक्तिको सामना गरेको धेरै भइसक्यो । तर, त्यस्ता प्रतिक्रियालाई हामीले यौनजन्य दुर्व्यवहार, हिंसा, बलात्कारजस्ता संवेदनशील विषयविरुद्ध आवाज उठाउन हिम्मत र साहसमा बदल्दै आएका छाौ । किनकी, हामीलाई चुप बस्न कदापी मन्जुर छैन । चुप बस्नुको मूल्य यो भन्दा पनि भयानक हुन्छ । तर फेरि पनि, आवाज उठाउनु कम भयावह छैन । 

केहीअघि पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेपछि उनका समर्थकले विरोध कार्यक्रम आयोजना गरे । विरोधमा एक्यबद्धता जनाउादै एक किशोरीले पनि सडकमा ओलीको रिहाइ माग गर्दै आवाज उठाइन् । उनले यसरी आवाज उठाउन पाउने कानूनलाई नेपालको संविधान (२०७२) ले धारा १७ मा ‘नागरिकलाई राजनीतिक भाषण, अभिव्यक्ति र विचार स्वतन्त्रताको मौलिक हक’ का रूपमा ग्यारेन्टी गरेको छ । यसमा सरकारको आलोचना, शान्तिपूर्ण विरोध प्रदर्शन र राजनीतिक छलफल गर्ने अधिकार समावेश छ । यो लोकतन्त्रको सुन्दर पक्ष हो, जहाा नागरिकले आफू हुनुको, आफ्नो विचार राज्यले सुन्छ है भन्ने अनुभूति गर्न पाउाछन् । 

तर, ती किशोरीको हकमा भने संविधानको उक्त धाराले नै न्याय पाएन । कुनै राजनीतिक पार्टी र नेतालाई समर्थन गरेकै कारण उनले आफ्नो मानसिक स्वास्थ्य नै ‘कुर्बान’ गर्नुपर्ने भयो । राजनीतिक विमती राखेर विचार व्यक्त गर्नेभन्दा बढि बलात्कारी मानसिकता समाज र सामाजिक सञ्जालमा हावी भयो । र, फेरि अर्कोपटक ‘रेप कल्चर’ लाई प्रोत्साहन गरियो : 

– ‘तेरो पनि निर्मला पन्तको जस्तै अवस्थामा पुर्‍याउन नपरोस् ।’ 

– ‘यसलाई त दश जनाले बलात्कार गर्नुपर्ने ।’ 

– ‘यो बहिनीलाई त पागलखानमा लगेर हाल्नु पर्छ है ।’

– ‘विचरा, निर्मलाको ठााउमा यो केटी हुनुपर्ने हो ।’

के संवैधानिक अधिकार प्रयोग गर्नुको मूल्य यति भारि हुन्छ ? यस्ता प्रतिकृयाले हाम्रो यौनिक तथा लैंगिक चेतलाई यति उदांगो बनाइदिएको छ कि, कोही हिंसा र उत्पीडनमा परेको व्यक्तिले हजार कोशिश गर्दा पनि त्यस्ता घटनाविरुद्ध ‘चुँइक्क’ सम्म गर्न सक्दैन । साहस गरेर बोलिहाल्यो भने, त्यसले हिंसामा परेको व्यक्तिको कपडाको साइज नाप्न थाल्छ, चरित्रको मूल्यांकन गरिदिन्छ अनि यौनांग र पाठेघरको रेट तोक्नसम्म पछि पर्दैन । 

सामाजिक सञ्जालको व्यापक प्रयोग भइरहको अवस्थामा यस्ता प्रकृतिका प्रतिक्रियाको ‘बाढी’ सामाजिक सञ्जालमा हुनु भनेको, त्यो भेलले अभिव्यक्ति स्वतन्त्रताको जग कमजोर बनाउनु हो । डेटा रिपोर्टलको एक तथ्यांक अनुसार, सन् २०२५ को अक्टोबरसम्म नेपालमा १६.६ मिलियन इन्टरनेट प्रयोगकर्ता छन् । यस्तै, नेपालमा दैनिक १४.८ मिलियन ‘एक्टिभ’ सामाजिक सञ्जाल प्रयोगकर्ता छन् । अर्थात् नेपालको कुल जनसंख्याको ५० प्रतिशत मानिसले सामाजिक सञ्जाल प्रयोग गर्छन् । फेसबुक, टिकटक, इन्स्टाग्राम, यूट्युबजस्ता अनलाईन प्लाटफर्म धेरैका लागि आफ्ना विचार निर्धक्क व्यक्त गर्नसक्ने साथी बनेको छ । अधिकांशले आफ्ना व्यक्तिगत, सामाजिक, राजनितिक विचार व्यक्त गर्न सामाजिक सञ्जाललाई उपयुक्त मान्छन् । आफूले भोगिरहेको विभेद र अन्यायविरुद्ध ‘बोल्न सक्ने बनाउन’ सामाजिक सञ्जालको ठूलो भूमिका छ । 

तर, स्वतन्त्र भएर आफ्नो विचार व्यक्त गर्ने यिनै माध्यम ति व्यक्ति तथा समुदायका लागि जोखिम बनिरहेको छ । एकातिर भ्रामक तथा अतिरञ्चित सूचना र ‘कन्टेन्ट’ को लहर, अर्कोतर्फ हिंसा र घृणालाई प्रोत्साहन गर्ने निच विचार सामाजिक सञ्जालबाटै प्रवाह भइरहेका छन् । यसले डिजिटल सञ्चार माध्यम नै व्यक्ति र समाजका लागि मानसिक समस्याको कारण बनिरहेको छ । यसैका माध्यमबाट हुने विभिन्न बहस, प्रतिक्रिया, कमेन्ट र ट्रोलका कारण मानिसले अनेकन समस्या भोग्नुपरेको छ, जसकारण उसमा आत्मविश्वासमा कमी हुनथालेको छ । मानसिक स्वास्थ्यमा प्रत्यक्ष–अप्रत्यक्ष गहिरो असर पर्न थालेको छ । 

एकातिर भ्रामक तथा अतिरञ्चित सूचना र ‘कन्टेन्ट’ को लहर, अर्कोतर्फ हिंसा र घृणालाई प्रोत्साहन गर्ने निच विचार सामाजिक सञ्जालबाटै प्रवाह भइरहेका छन् । यसले डिजिटल सञ्चार माध्यम नै व्यक्ति र समाजका लागि मानसिक समस्याको कारण बनिरहेको छ ।सामाजिक सञ्जाल विचार व्यक्त गर्ने, मनोरञ्जन लिने/दिने माध्यम मात्रै होइन, सामाजिक तथा व्यक्तिगत धारणा व्यक्त गर्ने शक्तिशाली माध्यम पनि बनिसकेको छ । यो समयमा यस्ता खालका हिंसात्मक गतिविधीले हाम्रो समाजलाई कतातिर धकेल्ला ? सामाजिक सञ्जालमा सकारात्मक भन्दा नकारात्मक भाव र उत्तेजना चाँडै फैलिरहेको छ । परिणामस्वरूप, विषेशगरी किशोरी तथा महिलाले बलात्कारको धम्की सहनुपरेको छ । घरबाट बाहिर निस्किन, विचार व्यक्त गर्न हजारौंपटक सोच्नुपरेको छ । 

के कसैलाई समर्थन वा विरोध गरेकै आधारमा ‘बलात्कार गर्नुपर्ने’ भन्ने अभिव्यक्ति दिन पाइने हो ? के यस्तै अभिव्यक्ति–स्वतन्त्रता खोजेको हो नेपाली समाजका युवापुस्ताले ? नहुनुपर्ने हो । फरक विचार राखेकै भरमा र ‘म मेरो व्यक्तिगत सामाजिक सञ्जालमा विचार राख्छु’ भन्ने नाममा घृणात्मक भाषा शैली, यौन हिंसालाई समर्थन गर्ने अभिव्यक्ति, व्यक्तिमाथि (अझ विशेषगरी किशोरी र महिला) लक्षित आक्रमण सामान्यजस्तै बन्दै गइरहेको छ । महिलाले आफ्ना धारणा व्यक्त गर्दा उनीहरूको चरित्रमाथि प्रश्न उठाउने, शरीरलाई लिएर भद्दा मजाक गर्ने र ‘बलात्कार गर्नुपर्छ’ भन्ने जस्ता तुच्छ टिप्पणी गर्ने अमानवीय शैली समाजमा बढ्दै गइरहेको छ । 

यसले देखाउँछ– अभिव्यक्ति स्वतन्त्रताको सीमा के हो भन्ने विषयमा अझै समाज र पढेलेखेकै मानव जमातमा स्पष्टता र जिम्मेवारी बोधको कमी छ । अभिव्यक्ति स्वतन्त्रता र यसको दुरुपयोगबीचको भेद बुझ्न नसक्दा डिजिटल प्लाटफर्म हिंसात्मक अनि असुरक्षित बन्दै गएको छ । सामान्य रूपमा आफ्नो असहमती व्यक्त गर्ने, तर्कपूर्ण रूपमा असहमतिका कारणहरू राख्नुको सट्टा व्यक्तिगत रूपमै आक्रमण गर्ने, हत्या तथा बलात्कारको धम्कि दिने, व्यक्तिको चरित्र हत्या गर्ने खालका असान्दर्भीक तथा संवेदनहिन शब्द प्रयोग गर्ने परिपाटीको विकास दिनप्रतिदिन बढिरहेको छ । 

यसले हाम्रो मानसिकतालाई अझ गहिरोसँग आपराधिकतातिर धकेल्दै छ भन्ने गम्भिर संकेत पनि हो । केही प्रतिक्रिया यस्ता हुन्छन्, जसले सिधै हिंसात्मक र अमानवीयता झल्काउँछ । सामाजिक सञ्जालमा आएका केही प्रतिक्रिया हेर्ने हो भने पनि माथिको पंक्तिलाई पुष्टी गर्छ । घृणित अभिव्यक्ति र त्यसमा प्रयोग हुने शब्द आक्रोश या असहमति मात्रै होइनन्, यौन हिंसालाई स्वीकार्य बनाउने, त्यसलाई सामान्यीकरण गर्ने डरलाग्दो सोचका प्रतिबिम्ब पनि हुन् । 

जब हामी यस्ता खालका हिंसात्मक शब्दहरू बारम्बार सुन्छौं र प्रयोग गर्छाौ, तब ति अभिव्यक्ति सामान्यजस्तो लाग्न थाल्छ । मानिसले यस्ता शब्द तथा कार्यलाई गम्भिर रूपमा लिन छोड्छन्, जसले गर्दा हिंसात्मक, आपराधिक सोच अझ बलियो हुादै जान्छ । फलस्वरूपः पीडितलाई नै पीडा दिने क्रम बढ्न थाल्छ । ‘किन पोष्ट गर्नुपरेको थियो ?’, ‘फलानो ठाउँमा किन जानुपरेको थियो ?’, ‘किन बोल्नुपरेको थियो ?’ जस्ता प्रश्न सोधेर अपराध गर्नेलाई भन्दा पिडा भोग्ने व्यक्ति (अझ महिला र किशोरी) लाई नै दोषी करार गर्न थालिन्छ । यसले अरू महिला र किशोरीलाई चुप बस्न र ‘अन्यायविरुद्ध बोल्नु हुँदैन, तिमी बोल्यौ भने तिमी नै गलत हुन्छौ’ भन्ने भाष्य स्थापित हुन थाल्छ । फलस्वरुपः अनलाईनमार्फत व्यक्त गरिएका भावना, विचार र सहमती/असहमती हिंसात्मक सोच र भाषाका माध्यमबाट उसको ‘अफलाइन’ व्यवहारमा परिणत हुनथाल्छ । जब यौन हिंसालाई शब्दमार्फत सामान्य बनाइन्छ, तब त्यसले वास्तविक जीवनमा हिंसा गर्ने मानसिकता तयार पार्नथाल्छ । त्यसैले डिजिटल हिंसा केवल अनलाइन समस्या होइन, हाम्रो समाजमा वास्तविक हिंसाको आधार बन्ने गम्भिर संकेत हो । 

 ‘किन पोष्ट गर्नुपरेको थियो ?’, ‘फलानो ठाउँमा किन जानुपरेको थियो ?’, ‘किन बोल्नुपरेको थियो ?’ जस्ता प्रश्न सोधेर अपराध गर्नेलाई भन्दा पिडा भोग्ने व्यक्ति (अझ महिला र किशोरी) लाई नै दोषी करार गर्न थालिन्छ ।यस्तो सोच र असहमतीका नाममा गरिने हिंसात्मक अभिव्यक्तिका कारण हिंसामा पर्ने व्यक्तिको अवस्था कस्तो होला ? विचार व्यक्त गरेकै आधारमा हुने यस्ता खालका यौनजन्य दुर्व्यवहार, बलात्कार जस्ता जघन्य अपराधका धम्कि सामाजिक सञ्जालमा हेर्दा सामान्य जस्तो देखिए पनि या यसलाई सामान्यीकरण गरिए पनि यसको असर किशोरी तथा महिलामा गहिरो मनोस्वास्थ्य समस्याका रुपमा विकसित हुादै जान्छ । 

यस्ता हिंसा सामना गर्ने महिला तथा किशोरीहरू आफैंलाई विश्वास गर्न नसक्ने, डराइरहने, अत्याधिक चिन्ता लिने, असुरक्षाको अनुभुति गर्ने, कसैले आफूलाई हेरिरहेको छ कि ? फेरी कसैले मलाई सामाजिक सञ्जाल मार्फत आक्रमण गर्छ कि ? भन्ने डर मनमा पालिरहन्छन् । यसले गर्दा उनीहरूको आत्मविश्वास घट्नुको साथसाथै आफूले आफैंलाई दोष दिने, निराश हुने, एक्लोपनको महसुस गर्ने, ‘म नै नराम्रो हो’ भनेर करार गर्ने प्रवृत्ति बढ्न थाल्छ । कतिपय अवस्थामा एन्जाइटी र डिप्रेसनको सामना समेत गर्न पुग्छन् । बारम्बार हुने यस्ता दुर्व्यवहारपछि महिला तथा किशोरीहरू आफ्ना भावना, विचार सामाजिक सञ्जालमा व्यक्त गर्न समेत हिच्किचाउन थाल्छन् । यसको प्रभाव उनीहरुको व्यक्तिगत जीवनमा मात्रै होइन, सामाजिक जीवनमा पनि पर्छ । र, यसको नकारात्मक असर अल्पकालीन र दीर्घकालिन दुवै हुनसक्छ ।

(लेखकहरू यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा बहस गर्ने पडकास्ट ‘गुलाबी संवाद’का निर्माता–प्रस्तोता हुन्) 

करुणा

सबिता

Link copied successfully