विद्यालयहरू पढाउँछन् मात्रै, पढ्नै दिँदैनन्

विद्यालय–अभिभावकको ‘गठबन्धन’ पद्धतिमार्फत विद्यार्थीलाई थपेको मानसिक दबाबले देशैभरि बालमनोविज्ञानमा संवेदनहीनता विकास भएको छ, जसले भविष्यमा अपूरणीय क्षति हुन सक्छ

वैशाख २, २०८३

राजेन्द्रप्रसाद कोइराला

Schools only teach, they don't let you read.

What you should know

आजकल देशका अधिकांश निजी तथा केही सामुदायिक विद्यालयले बिहान ६ बजेदेखि राति ८ बजेसम्मै विद्यार्थीलाई स्कुलमा राख्छन् । परीक्षामा माथिल्लो ग्रेड ल्याउन बालबालिकालाई लामो समय कक्षाकोठाभित्रै थुनेर गरिने शिक्षण सिकाइ उनीहरूको मानसिक र शारीरिक विकासका लागि ठीक छ ? 

शिक्षामा भएको अति व्यवसायीकरण र अभिभावकको अनावश्यक महत्त्वाकांक्षाले विद्यार्थीलाई कक्षाकोठामै थुनिएको छ । खासगरी निजी विद्यालयको चाहना हुन्छ– परीक्षामा विद्यार्थीलाई राम्रो ग्रेडमा पास गराउने, जसकारण धेरै विद्यार्थी आफ्नो विद्यालयतर्फ आकर्षित होऊन् अनि भर्ना संख्या बढोस् र व्यवसाय प्रवर्द्धन होस् । विद्यालयहरू परीक्षामा राम्रो ग्रेडको चुनौतीबाट सुरक्षित रहन जुनसुकै हालतमा विद्यार्थीलाई पढाएर, लेखाएर, घोकाएर अन्तिम परीक्षामा उत्कृष्ट ग्रेड ल्याउन सक्ने बनाउने मिसनमा छन् । ती यसरी अभिभावकलाई खुसी पार्न र व्यवसाय पनि राम्ररी चलाउन चाहन्छन् । र, निजी विद्यालयका विद्यार्थीको राम्रो ग्रेड आउँछ । र, सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्ने भयले सामुदायिक विद्यालयले पनि निजी विद्यालयको सिको गरिरहेका छन् । 

अभिभावकले सन्तानको परीक्षाफल राम्रो आओस् भन्ने अपेक्षा गर्नु स्वाभाविक हो । तर, परीक्षाफल राम्रो गर्न अपनाइने उपरोक्त विधि गलत छ । हाम्रो समाजमा शिक्षण सिकाइ मापनको प्रमुख मापदण्ड नै विद्यार्थीले कक्षाको अन्तिम परीक्षामा प्राप्त गरेको अंक (ग्रेड) हो । यसलाई अभिभावक सन्तानको प्रगतिको मापदण्ड ठान्छन् । यसमा विद्यालय मात्रै दोषी छैनन्, अभिभावक पनि उत्तिकै दोषी छन् । विद्यालय र अभिभावकको ‘गठबन्धन’ पद्धतिले दिएको मानसिक दबाबले देशैभरि बालमनोविज्ञानमा संवेदनहीनताको विकास भएको छ, जसले भविष्यमा अपूरणीय क्षति हुन सक्छ । 

विचार गरौं त ! बिहान ६ देखि साँझ ८ बजेसम्म एउटै वातावरण, उही ठाउँ, उस्तै कक्षाकोठा, मात्र केही पात्र आलोपालो फेरिन्छ । अझ अप्ठ्यारो मानिने विषयका शिक्षक पटक–पटक दोहोरिएर आउँछन् । यस्तो अवस्थामा कक्षाकोठाका  विद्यार्थीलाई कति छटपटी हुन्छ ? कति दिक्क लाग्छ ? कति रिस उठ्छ ? तर, बालबालिका त्यो सब सहन बाध्य छन् । किनभने यो ‘ज्यादती’ विद्यालय तथा अभिभावकको सहमतिमै भएको छ । यसबाट उन्मुक्तिको कुनै बाटो छैन । 

अनि हामी नै भन्छौं, ‘बच्चा घरमा आएर मोबाइल मात्रै हेर्छ, पढ्दै–पढ्दैन । ...घरमा आउने पाहुनालाई मतलबै गर्दैन, कुराकानी नै गर्दैन, इष्टमित्रकामा जान रुचि गर्दैन, असामाजिक भयो ।’ तर, अहिलेको ‘१४–घण्टे’ सिकाइ पद्धतिमा त्यो सामीप्यताको अवसरै छैन । उसलाई सामाजिक व्यवहारका विषय सिकाइएकै छैन, फुर्सद पनि छैन । 

झिसमिसेदेखि साँझसम्मै बालबालिकालाई एकै प्रकारको वातावरणमा निरन्तर संलग्न हुन बाध्य पारिन्छ, तिनले अरूको आदेशमा मात्रै काम गर्नुपर्ने हुन्छ, खुला वातावरणमा प्रकृतिसँग रमाउने अवसर छैन, लामो बिदाका लागि नियमित पठनपाठनका दिनभन्दा बोझिलो गृहकार्य दिइन्छ, चाडपर्वका छुट्टीमा पनि दैनिकी लेख्न लगाइन्छ, शैक्षिक भ्रमणमा पनि कापी–कलम थमाएर ‘देखेका कुराको टिपोट गर’ भनेर लेख्न लगाइन्छ, विद्यालयमा खेलकुदको समय पनि निगरानीमै राखिन्छ ! अब भन्नुस्– त्यो बच्चाले कति बेला फुर्सद पाउने ? निरन्तर पाठ्यवस्तुमा मात्रै केन्द्रित हुनुपर्ने दबाबले क्रमशः उसको सिर्जनशीलता कमजोर पार्छ । र, उसमा रिस, झगडा, ईर्ष्या जस्ता मानवीय संवेदनाको विकास गर्छ । यस्ता क्रियाकलापले बालमनोविज्ञानमा दीर्घकालीन नकारात्मक असर पार्छ, जुन हामीले जानेर पनि नबुझेझैं गरेका छौं । 

शिक्षाको गुणस्तर सुधार भनेको अन्तिम परीक्षामा जीपीए ४ प्राप्त गर्न सक्ने बनाउनु मात्र होइन । बालबालिकाले जीपीए ४ प्राप्त गर्दा उनीहरूले लेखेको विषयवस्तु व्यावहारिक रूपमा बुझेका हुन् या स्मरणको भरमा मात्रै लेखेका हुन् ? त्यो पहिचान हुनु जरुरी हुन्छ । राजनीतिक दबाब र नीतिकेन्द्रित छ– परीक्षाफलमा उत्तीर्ण प्रतिशत कसरी बढाउने ? व्यावहारिक ज्ञान मापन गर्ने विधि अत्यन्तै कमजोर छ । व्यावहारिक ज्ञान मापनको एक विधि प्रयोगात्मक परीक्षा हुनुपर्ने हो, तर त्यो औपचारिकतामै सीमित छ । अहिले प्रयोगात्मक परीक्षामा प्रदान गरिने अंक ‘अनुदान’ मा दिइने अंक हो । त्यो अंक विद्यार्थीको जम्मा ग्रेड वृद्धि गर्ने उपाय हो । 

शिक्षाविद्हरू पाठ्यक्रममा सुधार गर्नुपर्छ भन्नेमा जोड दिन्छन् तर विद्यमान पाठ्यक्रम कमजोर र अव्यावहारिक छ भन्ने बहस नै गर्दैनन् । हाम्रोमा सिकाइ प्रक्रियामा ठूलो समस्या छ । पुस्तक–लेखनमा घर, विद्यालय तथा समाजमा देखे–जानेका विषयवस्तुलाई उदाहरणका रूपमा प्रस्तुत गर्न भनिएको छ, जुन सान्दर्भिक हो । तर, समस्या छ– विद्यार्थीलाई वरिपरिको वातावरण हेर्ने, बुझ्ने र विचार गर्ने समय नै छैन । तिनै पुराना परीक्षामा सोधिएका प्रश्नको उत्तर लेख्न, स्मरण गर्न समय खर्च भइरहेको छ । पुस्तकमा लेखिएका विषयलाई व्यावहारिक रूपमा पठनपाठनमा लैजान सकिएको छैन । समयानुकूल पाठ्यक्रममा सुधार त अनिवार्य नै हो । तर, हालको चुनौती हो– पाठ्य विषयवस्तुमा उल्लिखित ज्ञान–सीपलाई व्यवहारमा परिणत गर्नु र विद्यार्थीको सिर्जनशीलता बढाउनु । 

विद्यार्थीलाई विद्यालयको अति व्यावसायिकता र अभिभावकको अति महत्त्वाकांक्षाबाट मुक्त गर्नुपर्छ । अन्य कुनै पनि मुलुकमा बालबालिकालाई एकै दिनमा १३–१४ घण्टा प्रशासनिक नियन्त्रणमा राखिँदैन, राख्न दिइँदैन । हाम्रो शिक्षा सम्बन्धी नियमन गर्ने निकायले तुरुन्त ध्यान दिनुपर्छ र आवश्यक सुधारका लागि निर्देशन दिनुपर्छ । मानवीय स्वभाव नै अरूको नियन्त्रणमा बस्न नचाहने हो, त्यसैले बालबालिका अति नियन्त्रणबाट उन्मुक्त हुन चाहन्छन् । शिक्षण संस्था र अभिभावकबाट आवश्यकताभन्दा बढी नियन्त्रण हुँदा विद्यार्थीहरू घरपरिवार नै छाडेर विदेशसम्मको यात्राको योजना गर्छन् । त्यसैले उनीहरूलाई विद्यालयमा पढ्न अनि घरमा बस्न सहज र खुसीको वातावरण हुनुपर्छ । त्यसपछि मात्रै उनीहरूमा परिवार र समाजप्रति अपनत्वको भावना विकास हुन्छ । 

अभिभावकले सन्तानको परीक्षाफल राम्रो आओस् भन्ने अपेक्षा गर्नु स्वाभाविक हो । तर, परीक्षाफल राम्रो गर्न अपनाइने उपरोक्त विधि गलत छ । हाम्रो समाजमा शिक्षण सिकाइ मापनको प्रमुख मापदण्ड नै विद्यार्थीले कक्षाको अन्तिम परीक्षामा प्राप्त गरेको अंक (ग्रेड) हो । पाठ्यक्रमका अतिरिक्त परीक्षामा सोधिने प्रश्नमा समेत सुधार गर्नुपर्छ, जहाँ विद्यार्थीले पढेको विषय बुझेर अनुभूति गरून् । र, आफ्नै मौलिकतामा अभिव्यक्त गर्न सकून्, पुराना प्रश्नको ठेलीबाट घोकेकै आधारमा उत्तर नदिऊन् । त्यसका लागि सानो कक्षाबाटै सुधार सुरु गर्नुपर्छ । 

खासमा साना कक्षामा औपचारिक परीक्षाको आवश्यकता नै छैन । प्रयोगात्मक परीक्षाको अंक ‘अनुदान’ मा नदिऔं । प्रयोगशालामा नियमित उपस्थित हुने, राम्रोसँग प्रयोग गर्ने विद्यार्थीलाई मात्रै उत्कृष्ट अंक दिऊँ । उसलाई विश्वास होस्– राम्रो गरे राम्रो ग्रेड आउँछ । जान्ने र नजान्ने विद्यार्थीको ग्रेडिङ फरक दिऔं, आन्तरिक परीक्षक र बाह्य परीक्षकको नाटक गरेर गलत कुरालाई वैधानिकता नदिऔं । 

हाम्रो शिक्षण विधिलाई शिक्षककेन्द्रितबाट विद्यार्थीकेन्द्रितमा लैजानुपर्ने आवश्यकता छ । विद्यार्थीलाई तर्क गर्न सक्ने बनाउनुपर्नेछ । हाम्रो अहिलेको विधि निर्देशनात्मक छ । यसलाई सुधार्नुपर्ने आवश्यकता छ । सानो कक्षादेखि नै उनीहरूलाई सामूहिक छलफल गर्ने र आफ्नो धारणा पेस गर्ने बानी पार्दै लैजाँदा ती त्यही वातावरणमा अभ्यस्त हुन्छन् र प्रतिफल राम्रो हुन्छ । एक्कासि माथिल्लो कक्षामा प्रयोग गर्न खोजेर हुँदैन । 

अहिलेको ४५ मिनेटको १ कक्षा समय धेरै पुरानो डिजाइन हो । त्यस समयभित्रको गतिविधि व्यवस्थित गर्नुपर्छ । अध्ययनहरूले अहिलेका बच्चाहरूमा कुनै एक विषयवस्तुमा ध्यानकेन्द्रित गर्न सक्ने समय पहिलेका बच्चाहरूको भन्दा घटेको देखाएको छ । उनीहरू लगातार १०–१५ मिनेट मात्रै कुनै वस्तुमा ध्यान केन्द्रित गर्न सक्छन्, त्यसपछि ध्यान विकेन्द्रित हुन्छ । यो समय र प्रविधिका कारण उत्पन्न भएको समस्या हो, समाधान पनि प्राविधिक रूपमै हुनुपर्छ । पूरा कक्षा समय ४५ मिनेटलाई विभिन्न चरणमा विभाजन गर्न सकिन्छ । जस्तै– समूहगत छलफल, तुरुन्त गर्न सकिने कक्षा कार्य, एआईको विकास र प्रयोगसम्बन्धी जानकारी, देश–विदेशमा घटेका घटनाबारे छलफल, कम्प्युटर र कम्प्युटरको भाषासम्बन्धी जानकारी, इन्टरनेट र इन्टरनेट सदुपयोग गर्ने तरिका, जलवायु परिवर्तन, साहित्यकार–समाजसेवी–वैज्ञानिकहरूको जीवनी, गीत–संगीत, संस्कृतिसम्बन्धी रोचक प्रसंग, लोककथा, खेलकुद आदि गतिविधिहरू । तर, यो भनेजस्तो सजिलो काम पक्कै छैन । यसका लागि शिक्षकलाई शिक्षण सिकाइसम्बन्धी प्रभावकारी सीप विकास तालिमको व्यवस्था हुनु आवश्यक छ । 

पछिल्ला समय ‘मेरो बच्चाले त चिया पकाउन पनि जान्दैन’ भनेर गर्व गर्ने अभिभावक पनि प्रशस्त भेटिन्छन् । यो हाम्रो गलत धारणा हो । बालबालिकालाई घरका सानातिना काम गर्न लगाउने, नजिकैको तरकारी पसल, दूध पसल तथा किराना पसलबाट आवश्यक सामान किन्ने जिम्मेवारी दिने तथा कहिलेकाहीँ बिदाका दिनमा चिया, खाना पकाउन लगाउने जस्ता व्यावहारिक ज्ञानको विकास गराउन सकिन्छ । 

व्यावहारिक ज्ञानबिनाको बालबालिकामा थोपरिने यस्ता अति बोझ वास्तवमै उनीहरूको भविष्यका लागि प्रत्युत्पादक हुन्छन् । तर्क के पनि हुन सक्छ भने ‘यति नगरी त पासै हुँदैनन्, पढ्नै मान्दैनन्’ । तर, यथार्थमा उनीहरूको क्षमताभन्दा बढी भारी बोकाउन खोजिएकाले उम्किने प्रयास गरेका हुन् । विश्वविद्यालयस्तरमा जति बोझ पनि बोक्न सक्ने क्षमता विकास भइसक्छ, जुन हामीले अन्य देशका शिक्षा प्रणालीमा पनि देखेका छौं । जुन कुनै दृष्टिले राम्रो श्रेणीमै नतिजा आउनुपर्ने भावनाले ग्रसित हामी अभिभावक पुस्ताभन्दा हाम्रा बुबाआमा पुस्ता कम लेखपढ गरेका भए पनि बढी बुद्धिमान थिए । 

हाम्रा बुबाआमा पुस्ता, जसले हामीलाई घरायसी कामका साथसाथै शिक्षा पनि दिलाए । विद्यालय प्रशासनलाई पनि पक्कै महसुस छ, ‘१४–घण्टे’ गतिविधिले विद्यार्थीमा मानसिक यातना पुगेको छ । तर, व्यावसायिक कर्मले अन्य सम्पूर्ण परिस्थिति ओझेलमा परेको छ । 

शैक्षिक संस्थाहरू व्यावसायिक मात्रै होइनन्, सेवामूलक संस्था बढी हुन् । उनीहरूसँग देशको भविष्यका कर्णधारको अस्तित्व पनि काँधमा जोडिएको छ । तर, बालबालिकामैत्री वातावरण नहुँदा पछिल्लो समय बालबालिकामा मानवीय संवेदना असाध्यै कमजोर हुँदै गएको छ । 

त्यसैले शैक्षिक संस्थाका सञ्चालकले कलिला बालबालिकालाई यो भयानक र डरमर्दो बोझबाट मुक्ति दिन बालमनोविज्ञानसमेतको वैकल्पिक उपाय अपनाउनु जरुरी छ । अभिभावकले पनि आफ्ना बालबालिकालाई भर्ना गर्नुपूर्व विचार गरौं– कुन विद्यालय बालमैत्री छन् र कुन विद्यालयले धेरै विद्यार्थी उत्तीर्ण गराउँछन् भन्ने मात्रै हेर्नु हुँदैन । यो विषयमा मूल्यांकन गरौं– हाम्रा सन्तति आज किन एकान्तप्रिय भइराखेका छन् ? यसको मुख्य कारक तत्त्व हुन्– राज्यको नियामक निकाय, शिक्षण संस्था र अभिभावक, बालबालिका होइनन् । बालबालिकालाई वातावरणले त्यस्तो बनाएको हो । हामीबाट हुने यस्ता सानातिना गल्ती भविष्यमा सुधार गर्नै नसकिने समस्या बन्न सक्छन् । त्यसैले सम्पूर्ण विद्यालय सञ्चालक, शिक्षक, अभिभावक तथा सरोकारवालालाई अनुरोध छ– विद्यार्थीलाई पढाउने मात्रै होइन, पढ्न पनि दिऊँ । 
(कोइराला त्रिभुवन विश्वविद्यालयको भौतिकशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक हुन्)         

राजेन्द्रप्रसाद

Link copied successfully