जब कुनै महिला आफ्नो विचार खुला रूपमा राख्छिन्, स्थापित मान्यतालाई चुनौती दिन्छिन् वा आलोचना गर्छिन्, तब समाजका केही व्यक्ति वा समूह उनलाई चुप गराउने प्रयासमा उसको चरित्रमाथि प्रहार गर्छन् । अहिले देखिएको खासमा यही हो ।
What you should know
वालेन्द्र शाहले करिब एक वर्षअघि गाएको गीतका हरफ हुन् यी– ‘मलाई बोल्न दे सरकार, अपराध होइन– मन खोल्न दे दरबार ।’ यो अभिव्यक्तिले स्वतन्त्रताको भावलाई सशक्त रूपमा प्रस्तुत गर्छ । अहिले यही गीतका रचनाकार र गायकसमेत रहेका उनै शाह नेपालका प्रधानमन्त्री छन् ।
कुनै पनि लोकतान्त्रिक समाजमा आफ्नो विचार, भावना र अनुभव व्यक्त गर्नु मौलिक अधिकार हो । तर विडम्बना ! आजको हाम्रो समाजमा आवाज उठाउनु जोखिमपूर्ण बन्दै गएको छ । विशेष गरी डिजिटल युगले सामाजिक सञ्जालमा आवाज उठाउने स्थान र माध्यम दिएको छ तर त्यही प्लेटफर्म पछिल्लो समय हिंसा, घृणा र धम्कीको बेजोड अखडा पनि बन्दै गएको छ ।
खासगरी सामाजिक संजालमा महिलाहरूले विचार राखेकै कारण असाध्यै अमर्यादित र अपमानजनक व्यवहारको सामना गर्नुपरेको छ । आफूलाई चित्त नबुझेका कुरा प्रस्टसँग राख्ने अधिकार अभिव्यक्ति स्वतन्त्रता सबैलाई बराबर छ । विचारमा असहमति भए बहस गर्ने माध्यम छन् । तर यहाँ छलफल र बहसभन्दा विपरीत व्यक्तिगत जीवन, चरित्रहत्या, अश्लील गालीगलौज र बलात्कारसम्मका धम्की दिने प्रवृत्ति स्थापित बन्दै छ ।
नेपालमा सामाजिक सञ्जालमार्फत हुने साइबर हिंसाको समस्या पछिल्ला वर्षमा तीव्र रूपमा बढ्दै गएको देखिन्छ । नेपाल साइबर ब्युरोका अनुसार आर्थिक वर्ष २०७९/८० मा देशभर १९ हजार ७ सय ३० साइबर अपराधका केस दर्ता भएका थिए, जसमध्ये ८ हजार ७ सय ४५ उजुरी महिलाले दिएका थिए । यो कुल उजुरीको करिब ४४ प्रतिशत हो, जसले महिलाहरू साइबर हिंसाबाट गम्भीर रूपमा प्रभावित भइरहेको स्पष्ट संकेत गर्छ ।
अघिल्लो वर्षको तथ्यांकसँग तुलना गर्दा अवस्था अझ चिन्ताजनक देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा ४ हजार ५ सय ९० महिलाले उजुरी दिएका थिए भने २०७९/८० मा यो संख्या बढेर ८ हजार ७ सय ४५ पुगेको छ । यसले एक वर्षमै झण्डै दोब्बर अर्थात् ९० प्रतिशतभन्दा बढी वृद्धि भएको देखाउँछ ।
हालका वर्षहरूमा पनि यो प्रवृत्ति कायम छ । आर्थिक वर्ष २०८०/८१ मा करिब ९ हजार महिलाले उजुरी दिएका थिए भने २०८१/८२ मा पनि करिब ८ हजार ४० उजुरी दर्ता भएका छन् । यी तथ्यांकले दुई महत्त्वपूर्ण सन्देश दिन्छन् । एकातिर महिलाहरू अब बिस्तारै आफ्नो अधिकारका लागि आवाज उठाउन थालेका छन् भने अर्कोतर्फ साइबर हिंसाको समस्या अझै गम्भीर र बढ्दो अवस्थामा छ ।
सामाजिक दुर्व्यवहार
एमाले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीपछि उनको रिहाइको पक्षमा सडकमा आवाज उठाएकै कारण अमिसा पराजुलीमाथि तीव्र साइबर बुलिङ सुरु भयो । सामाजिक सञ्जालमा उनीमाथि गालीगलौज मात्र होइन, चरित्रहत्या गर्ने नियोजित प्रयाससमेत देखिएको छ । आफ्ना विचार राखेकै कारण यसरी निसाना बनाइनु अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो । अन्ततः निरन्तर मानसिक दबाब र अपमान सहन नसकेपछि उनी कानुनी उपचारका लागि साइबर ब्युरो पुग्न बाध्य भइन् । यो घटना केवल एक व्यक्तिको कथा होइन, आवाज उठाउनेलाई दबाउने खतरनाक प्रवृत्तिको स्पष्ट संकेत हो ।
केही समयअघि गायिका समिक्षा अधिकारी, एलिना चौहान, अभिनेत्री ऋचा शर्मा लगायतका धेरैजसो लाइमलाइटमै आउने महिलाहरू गालीगालौज, चरित्रहत्या र सामाजिक सञ्जालमार्फत हुने हिंसाको सिकार बने । उनीहरूले सार्वजनिक रूपमा आफ्ना पीडकहरूको नाम र सामाजिक सञ्जालका लिंकहरूसमेत सेयर गरेर प्रतिकार गर्नुपर्ने अवस्था सिर्जना भयो, जुन आफैंमा गम्भीर संकेत हो । पीडितले नै आफ्नो सुरक्षा र न्यायका लागि लड्नुपर्ने अवस्था आयो ।
रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहले जितेमा ‘कान काट्छु’ भन्ने अभिव्यक्तिलाई लिएर ‘किन कान नकाटेको ?’ भन्दै रेनुका बरालमाथि चरम मानसिक दबाब सिर्जना गरियो । यो केवल आलोचना वा असहमतिको विषय थिएन; उनीहरूलाई मानसिक रूपमा कमजोर पार्ने उद्देश्यले निरन्तरको गालीगलौज, अपमान र धम्की थियो । यस्तो व्यवहारले देखाउँछ कि हाम्रो समाजमा महिलाले बोलेका हरेक शब्दलाई कसरी तोडमोड गरी उनीहरूमाथि नै प्रहार गरिन्छ ।
किन महिलाको चरित्रमाथि नै पहिलो प्रहार हुन्छ ?
सामाजिक सञ्जालमा महिलाहरूले आफ्नो विचार राख्दा वा अधिकार माग्दा अक्सर चरित्रमाथि पहिलो प्रहार हुने गरेको देखिन्छ । यस प्रवृत्तिको जरो हाम्रो समाजको सोच र संरचनामा शदियौंदेखि जरा गाडेर बसेको छ । महिलाको चरित्रमाथि प्रहार केवल व्यक्तिगत असहमति वा आक्रोशको परिणाम होइन, यो हाम्रो सामाजिक मूल्य, पितृसत्तात्मक संरचना र व्यवहारको प्रतिविम्ब हो ।
सबैभन्दा पहिलो कारण पितृसत्तात्मक मानसिकता हो । परम्परागत नेपाली समाजमा महिलालाई ‘मर्यादा’, ‘इज्जत’ र ‘शालीनता’सँग जोडेर हेरिन्छ । जब कुनै महिला आफ्नो विचार खुला रूपमा राख्छिन्, स्थापित मान्यतालाई चुनौती दिन्छिन् वा आलोचना गर्छिन्, तब समाजका केही व्यक्ति वा समूह उनलाई चुप गराउने प्रयासमा उसको चरित्रमाथि प्रहार गर्छन् । अहिले देखिएको खासमा यही हो ।
दोस्रो कारण महिलाको स्वतन्त्र आवाजप्रति असहजता हो । धेरैले महिलाले खुलेर बोल्नु, आफ्नो अधिकार माग्नु वा असहमति व्यक्त गर्नु स्वीकार्य हुँदैन भन्ने सोच राखेका हुन्छन् । असहमत हुँदा बहस वा स्वस्थ संवादको सट्टा, उनीहरूले व्यक्तिगत आचरणप्रति अपमानजनक टिप्पणी रोज्छन् । यसले महिलामा डर र मानसिक दबाब सिर्जना गर्छ र अन्य महिलालाई पनि मौन बनाउने काम गर्छ ।
तेस्रो कारण सामाजिक संजालको सहजता र दण्डहीनता हो । सामाजिक सञ्जालमा फेक आईडी (नकली पहिचान) बनाउने र कमजोर कानुनी कारबाहीका कारण मानिसहरू सजिलै अपमानजनक शब्द प्रयोग गर्न हौसिन्छन् । महिलामाथि गरिएको आक्रमणको तत्काल परिणाम र दोषी कारबाहीको दायरामा आएको नदेख्दा अपराधीहरूमा नकारात्मक प्रवृत्ति बलियो हुन्छ । यही कारणले सामाजिक संजालमा महिलाको चरित्रमाथि हुने हिंसाहरू बढिरहेका छन् ।
चौथो कारण सामाजिक संस्कारको कमी हो । परिवार, विद्यालय र समुदायमा असहमति हुँदा पनि सभ्य बहस गर्ने र सम्मानजनक संवाद गर्ने संस्कार पर्याप्त विकसित छैन । आलोचना व्यक्त गर्दा तुरुन्तै व्यक्तिगत चरित्र र अपमानमा परिणत हुने प्रवृत्ति अझ बढ्छ । यसले महिलाहरूको स्वतन्त्रता र खुला आवाजलाई दबाउने काम गर्छ । यसरी, महिलाको चरित्रमाथि प्रहार गर्नु केवल व्यक्तिगत आक्रोश होइन, त्यो गहिरो सामाजिक सोचको प्रतिविम्ब हो । यसलाई बदल्न कानुनी कारबाहीसँगै सोच, संस्कार र व्यवहारमा परिवर्तन ल्याउनु अनिवार्य छ ।
समाजमा पर्ने असर
हिंसाविरुद्ध आवाज उठाउन धेरै ठूलो साहस जुटाउनु पर्छ महिलाहरूले । पीडितलाई उल्टै दबाउने व्यवहारले पीडितलाई मात्र होइन, सम्भावित आवाज उठाउने अरू धेरैलाई चुप बस्न बाध्य बनाउँछ । जब कुनै महिला सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा अपमानित हुन्छिन्, धम्की पाउँछिन् वा मानसिक रूपमा त्रसित बनाइन्छिन्, तब अरू महिलाहरूले पनि ‘बोल्दा यस्तै हुन्छ’ भन्ने डरले आफ्नो आवाज दबाउन थाल्छन् ।
महिलाहरूले आफ्नो विचार राख्दा, अनुभव बाँड्दा वा कुनै विषयमा आवाज उठाउँदा उनीहरूलाई लक्षित गरेर गरिने व्यक्तिगत आक्रमण, चरित्र हत्या, अश्लील टिप्पणी र यौन हिंसासम्बन्धी धम्की सामान्य जस्तै हुन थालेका छन् । यसले महिलालाई मात्र होइन, समग्र समाजलाई नै अस्वस्थ बनाइरहेको छ । यसले गर्दा वास्तविक अन्याय, हिंसा वा भेदभाव भोगिरहेका महिलाहरूले पनि सार्वजनिक रूपमा आफ्नो कुरा राख्न सक्दैनन् । परिणामतः अन्याय लुकेको लुक्यै रहन्छ, अपराधीहरू झन् साहसी बन्छन् र न्याय प्रणाली कमजोर देखिन थाल्छ ।
कसरी न्यूनीकरण गर्ने ?
सामाजिक सञ्जालमा हुने हिंसा केवल व्यक्तिगत समस्या मात्र होइन । यसले हाम्रो समाजको नैतिक संरचना र लोकतान्ति्रक मूल्यलाई गहिरो रूपमा असर गर्छ । जब घृणा र हिंसा सामान्य जस्तो देखिन थाल्छ, तब सहिष्णुता, सम्मान र संवादको संस्कार कमजोर बन्न सुरु हुन्छ । नयाँ पुस्ताले पनि यही व्यवहार सिक्ने खतरा हुन्छ । जसले दीर्घकालीन रूपमा समाजलाई अझ असहिष्णु र हिंस्रक बनाउँछ ।
अभिव्यक्ति स्वतन्त्रताको नाममा अरूको चरित्र र अस्तित्वमाथि आक्रमण गर्नु स्वतन्त्रता होइन, यसको दुरुपयोग हो भन्ने बुझाइ आवश्यक छ । यस समस्याको समाधानका लागि सरकारी र सामाजिक दुवै तहमा गम्भीर पहल आवश्यक छ । सरकारले साइबर अपराधसम्बन्धी कानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । सामाजिक सञ्जालमा हुने गालीगलौज, धम्की र यौन हिंसासम्बन्धी अभिव्यक्तिलाई गम्भीर अपराधको रूपमा लिई दोषीलाई कारबाही गर्नुपर्छ । पीडितहरूले सहज रूपमा उजुरी दिन सक्ने, गोपनीयता सुरक्षित हुने र छिटो न्याय पाउने व्यवस्था सुनिश्चित गर्नुपर्छ ।
सामाजिक स्तरमा पनि परिवर्तन अपरिहार्य छ । परिवार, विद्यालय र समुदायमा सम्मानजनक संवाद, लैंगिक समानता र डिजिटल शिष्टाचारको शिक्षा दिनुपर्छ । असहमत हुँदा पनि सभ्य तरिकाले बहस गर्ने संस्कार विकास गर्न जरुरी छ । ‘अर्काको विचारसँग असहमत हुन सकिन्छ, तर उसलाई अपमान गर्न पाइँदैन’ भन्ने चेतना दिन सक्नुपर्छ । असहमति विचारसँग हुन सक्छ, व्यक्तिमाथि होइन ।
मिडिया र समाजका जान्नेसुन्ने अग्रज व्यक्तिहरूको भूमिका पनि महत्त्वपूर्ण छ । उनीहरूले जिम्मेवार सामग्री उत्पादन गर्ने, सकारात्मक सन्देश प्रवाह गर्ने र घृणात्मक व्यवहारको खुलेर विरोध गर्ने काम गर्नुपर्छ । जब समाजका अगुवाहरूले गलतलाई गलत भनेर चिनाउँछन्, त्यसले व्यापक जनमानसमा सकारात्मक प्रभाव पार्छ ।
परिवार र समाजको जिम्मेवारी
सामाजिक सञ्जालमा हिंसा, धम्की र अपमानजनक अभिव्यक्तिले हाम्रो समाजमा मात्र व्यक्तिगत समस्या होइन, समग्र जीवनशैली र संस्कारलाई असर गर्छ । विशेष गरी महिलाहरूले आफ्नो आवाज उठाउँदा हुने मानसिक र सामाजिक हिंसा घरपरिवार र समाजको भूमिका अझ महत्त्वपूर्ण बनाउँछ । यदि घरपरिवार र समाजले सही संस्कार र मूल्यहरू विकास गर्न सकेनन् भने डिजिटलमात्रै होइन, वास्तविक जीवनमा पनि हिंसाका घटना दोहोरिरहनेछ ।
यसमा घरपरिवारको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । बच्चा र युवा पुस्ताले व्यवहार र संस्कार र जीवनशैली सिक्ने पहिलो पाठशाला घर हो । घरले सहानुभूति र सम्मान सिकाउन सक्नुपर्छ । सबैका सोच, विचार र भावना फरक हुन्छन् । अरूको विचारमा असहमति हुँदा सभ्य तरिकाले आफ्नो कुरा राख्न प्रोत्साहित गर्नुपर्छ ।
उदाहरणका लागि परिवारमा बच्चाले आफ्नो दृष्टिकोण राख्दा अभद्र प्रतिक्रिया नदिनु र उसको विचार सुन्नु नै सकारात्मक संस्कार हो । अर्कोतर्फ घरभित्रकै सदस्य यस्ता सामाजिक हिंसा झेलिरहेको छ भने परिवारले हिंसाको सिकार भएको सदस्यलाई सुरक्षित वातावरणमा आफ्नो कुरा व्यक्त गर्न सहज वातावरण बनाई दिनुपर्छ ।
समाजको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ । विद्यालय, समुदाय र मिडियाले सकारात्मक संस्कार र जिम्मेवार व्यवहार प्रवद्र्धन गर्नुपर्छ । समाजले समानता, न्याय र बहसको स्वस्थ वातावरण विकास गर्नुपर्छ । शिक्षक, स्थानीय नेता, पत्रकार र सामाजिक प्रभावशाली व्यक्तिहरूले जिम्मेवार अभिव्यक्ति र सम्मानजनक व्यवहारको उदाहरण प्रस्तुत गर्नु आवश्यक छ । जब बच्चा र युवा पुस्ताले घर र समुदायमा सहिष्णुता र सम्मानको संस्कार सिक्छन्, तब सामाजिक सञ्जालमा हुने हिंसा र मानसिक दबाबलाई लामो समयसम्म कम गर्न सकिन्छ । यसको प्रत्यक्ष प्रभाव समाजमा न्याय, समानता र सहकार्यको वातावरण निर्माणमा देखिन्छ ।
मुख्य बुझ्नुपर्ने र बुझाउनुपर्ने कुरा के छ भने सामाजिक सञ्जाल केवल विज्ञान र प्रविधि होइन– यो हाम्रो सोच, व्यवहार र संस्कारको प्रतिविम्ब हो । यदि हामीले घरपरिवार र समाजबाट सही संस्कार विकास गर्ने काम गर्न सकेनौँ भने अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोगको चक्र सधैं दोहोरिरहन्छ ।
प्रत्येक व्यक्तिले आफ्नो जिम्मेवारी बुझ्नुपर्छ । मैले गरेको नकारात्मक कमेन्ट, पोस्ट र प्रतिक्रिया कसैको जीवनमा ठूलो अभिशाप बन्न सक्छन् भन्ने कुरामा संवेदनशील बन्नुपर्छ । सहानुभूति, सम्मान र संयमता अपनाउन सके मात्र सामाजिक सञ्जाल स्वस्थ बहसको प्लेटफर्म बन्न सक्छ ।
वालेन्द्र शाहले गीतमार्फत व्यक्त गरेको ‘मन खोल्ने’ चाहना हरेक नागरिकको अधिकार हो । तर यो अधिकार सुरक्षित रहोस् भनेर राज्य, समाज र व्यक्तिको संयुक्त प्रयास आवश्यक छ । त्यसका लागि आजै ठोस कदम चाल्न सकिएन भने भोलि अन्यायमा परेका आवाजहरू सधैंका लागि मौन हुन सक्छन् । त्यो मौनता कुनै एक व्यक्तिको होइन, समाजकै आवाज मौन हुनेछ अनि समग्र समाजको हार । त्यसैले सभ्य सुसंस्कृत समाज निर्माणका लागि सबैले एकसाथ आवाज उठाउनुपर्छ । अब सबै महिलाले एकै स्वरमा भन्नुपर्छ– ‘मलाई बोल्न दे सरकार, अपराध होइन– मन खोल्न दे दरबार ।’
