परिवर्तनको पर्खाइमा जनता 

परिवर्तनको आशामा जनताले नेताहरूको घण्टी बजाएका छन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टीले यो क्षणलाई वास्तविक प्रगतिमा परिणत गर्न सक्छ कि सक्दैन, त्यो हेर्न बाँकी नै छ । 

चैत्र ९, २०८२

ब्रबिम कार्की

People waiting for change

What you should know

र्‍यापरबाट ‘राजनीतिज्ञ’ बनेका बालेन शाहले झापा–५ को निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलो अन्तरले पराजित गरे । यो घटनाले नेपालमा ठूलो राजनीतिक उथलपुथल ल्यायो । शाहले ६८,३४८ मत प्राप्त गरे, १८,७३४ मत प्राप्त गरेका ओली धेरै पछाडि परे । 

नेपालमा जेन–जी युवाको नेतृत्वमा भएको विद्रोहपछि यो पहिलो निर्वाचन हो । चुनावी नतिजाले दशकौंको राजनीतिक अस्थिरता, भ्रष्टाचार र युवा बेरोजगारीसँग गहिरो निराशा झल्काउँछ । नेपालको राजनीतिमा वर्षौंदेखि दलहरूको प्रभुत्वपछि मतदाताले परिवर्तनको घण्टी बजाएका छन् । नेपाली मतदाताले केवल दल परिवर्तन गरिरहेका छैनन्, भ्रष्टाचार र राजनीतिक दण्डहीनताको आरोपले दाग लागेका पुरानो नेताहरूलाई समेत प्रतिस्थापन गरिरहेका छन् ।

गत वर्ष युवाले सामाजिक सञ्जाल साइटहरूमा तत्कालीन सरकारले लगाएको प्रतिबन्धका साथै नेपालको राजनीतिक अभिजात वर्गमा भ्रष्टाचार र नातावाद जस्ता ठूला मुद्दाविरुद्ध सडकमा विरोध प्रदर्शन गरे । प्रदर्शनले देशलाई हिंसाको आँधीबेहरीमा डुबायो, जसमा ७६ जनाको मृत्यु भयो र धेरै घाइते भए । संसद्, अदालत र सरकारी भवनहरूमा आगो लाग्यो र चार दिनको शक्ति शून्यतापछि प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको बागडोर सम्हालिन् । विभिन्न शंका–उपशंका र भयबीच पनि कार्की नेतृत्वको मन्त्रिमण्डल, सुरक्षा निकाय, निर्वाचन आयोगले यो निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गरे । 

नेपाल दशकौंदेखि राजनीतिक अस्थिरतासँग संघर्ष गर्दै आएको छ । २००८ देखि देशमा १४ फरक–फरक सरकार परिवर्तन भए, जसमध्ये एउटाले पनि पाँच वर्षको पूर्ण कार्यकाल पूरा गरेको छैन । भ्रष्टाचार राजनीतिको हरेक तहमा प्रवेश गरेको छ, जसले अर्थतन्त्रलाई वर्षौंदेखि पछाडि धकेलेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार, नेपाल एसियाकै सबैभन्दा भ्रष्ट देशमध्ये एक हो ।

युवा बेरोजगारी लगभग २० प्रतिशतको हाराहारीमा छ । देशमा रोजगारीको अभावले लाखौं युवा बिदेसिन बाध्य छन् । यहाँ जागिर पाउन कि पार्टीको कार्यकर्ता हुनुपर्‍यो कि नेताको आसेपासे । विभिन्न भ्रष्टाचारका काण्ड बाहिरिन्छन्, तर त्यसमा कुनै कारबाही नै हुँदैन । यी सब अराजकता, बेथिति र कुशासनले जनता आजित भइसकेका थिए । 

अब बालेन शाह र उनको पार्टीको वास्तविक परीक्षा भनेको यी प्रारम्भिक जनताका आशा भरोसालाई दिगो परिवर्तनमा परिणत गर्नु हो । जनताले परिवर्तन र देशमा स्थायित्व खोजेका छन् र अब बन्ने सरकारको चुनौती भनेको त्यसलाई पूरा गर्नु हो । 

राष्ट्रिय स्वतन्त्र पार्टीको अपिल सधैं विचारधाराभन्दा व्यावहारिकतामा आधारित छ । मेयरका रूपमा बालेन शाहले अनुमतिबिना निर्माण गरिएका व्यावसायिक र आवासीय भवनहरू सफलतापूर्वक ध्वस्त पारे । उनले काठमाडौंका प्रमुख सहरहरूको फुटपाथलाई चौडा बनाए, जुन आमजनताको सुविधाका लागि एक महत्त्वपूर्ण कदम हो । बालेनको प्रशासनले फोहोर संकलनलाई कुशलतापूर्वक व्यवस्थित गर्‍यो र दैनिक सडक सफाइ र मर्मतसम्भारसहित सरसफाइमा सुधार गर्न धेरै उपाय लागू गर्‍यो । यो अभ्यासलाई अब उनले राष्ट्रियस्तरमै अघि बढाउनुपर्छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको आधारभूत मागलाई प्राथमिकता दिनुपर्छ । तिनीहरूले वास्तवमा गाउँहरूलाई बजारसँग जोड्ने पूर्वाधार अघि बढाउनुपर्छ । अब बन्ने सरकारले भ्रष्टाचारविरोधी अभियानलाई निर्ममताका साथ अघि बढाउनुपर्छ । भ्रष्टाचारका विभिन्न काण्डको छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्छ । सरकारले शिक्षा र सीपमा गम्भीरतापूर्वक लगानी गर्नुपर्छ, ताकि युवा बिदेसिन नपरोस् । अब सही मान्छे सही ठाउँमा हुनुपर्छ । कसैको आसेपासे भएर र चिनेकै भरमा जागिर पाउने वा काम हुने परिपाटी बन्द हुनुपर्छ । अब आउने सरकारले विदेश नीतिलाई व्यावहारिक पनि राख्नुपर्छ । कसैलाई पनि हाबी हुन नदिई दुवै छिमेकीसँग राम्रो सम्बन्ध बनाउनुपर्छ । छिमेकी देशसँग सम्मानजनक सम्बन्ध कायम राख्नुपर्छ ।

सरकारलाई यी कुनै पनि काम गर्न सजिलोचाहिँ हुने छैन किनभने रास्वपाका नेताहरू अधिकांश राष्ट्रियस्तरमा परीक्षण नगरिएका छन् ।

तैपनि, वर्षौंदेखि राजनीतिमा केही दलहरूको मात्रै प्रभुत्व भएको देशमा परिवर्तन खोज्ने मानिसले अब फरक बाटो रोजेका छन् । पुरानो दलले यत्रो वर्ष शासन गरे तर देशको व्यवस्था मात्रै फेरियो, जनताका अवस्था फेरिएन । परिवर्तनको आशामा जनताले नेताहरूको घण्टी बजाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले यो क्षणलाई वास्तविक प्रगतिमा परिणत गर्न सक्छ कि सक्दैन, त्यो हेर्न बाँकी नै छ । जनताले नयाँ दललाई एक पटक मौका दिएका छन् र यदि यो पार्टीले पनि जनताका आशा र भरोसाअनुसार काम गर्न सकेन भने यिनीहरू पनि पुराना पार्टीजस्तै सक्किनेछन् ।

ब्रबिम

Link copied successfully