श्रवण शक्ति गुमाउनुले त्यो व्यक्तिलाई मात्र नभई देशको समग्र आर्थिक विकासमा पनि हानिकारक प्रभाव पार्न सक्छ । श्रवण शक्ति गुमाउनाले बोली र भाषा विकास, अन्तरव्यक्ति सञ्चार, शिक्षा, सिकाइ र रोजगारीको अवसरहरूलाई प्रत्यक्ष असर गर्छ ।
What you should know
श्रवण शक्ति कानको एउटा महत्त्वपूर्ण कार्य हो, जसको माध्यमबाट हामी वरिपरिका आवाजहरू सुन्न सक्छौं । भाषा विकास, सञ्चार, सामाजिक तथा भावनात्मक कल्याण, रोजगारी र शिक्षा प्राप्तिका लागि श्रवण शक्तिको आवश्यकता अत्यधिक हुन्छ । यसबाहेक, यो एउटा यस्तो भावना हो जसले हामीलाई संगीत र मनोरञ्जन जस्ता मनोरञ्जनात्मक गतिविधिहरूमा संलग्न हुन मद्दत गर्दछ ।
श्रवण शक्ति गुमाउनुलाई प्रायः लुकेको वा अदृश्य अपांगता भनिन्छ किनभने यस्ता अपांगता भएका व्यक्ति बाहिरबाट हेर्दा सामान्य देखिन्छन् र तिनीहरू प्रायः मौन र एक्लो रहन्छन् । विश्व स्वास्थ्य संगठनले (विस्वास) विश्वका १.५ अर्बभन्दा बढी मानिसहरूले केही हदसम्म श्रवण शक्ति ह्रास भएको अनुभव गर्छन् र २०५० सम्ममा यो संख्या २.५ अर्ब पुग्न सक्छ भन्ने अनुमान गरेको छ । विश्वव्यापी रूपमा ५ देखि १९ वर्ष उमेरका लगभग नौ करोड बालबालिकाहरू श्रवण शक्ति गुमाउने समस्याबाट पीडित छन् । विस्वासले लामो समयसम्म चर्को स्वरमा संगीत सुन्दा एक अर्बभन्दा बढी युवाहरू स्थायी श्रवण शक्ति गुमाउने जोखिममा पर्ने कुरा पनि अनुमान गरेको छ । जनस्वास्थ्यका प्रभावकारी सचेतना अभियानका अनुसार श्रवण शक्ति गुमाउन सक्ने धेरै कारणलाई रोकथाम गर्न सकिन्छ ।
प्रत्येक वर्षको मार्च ३ मा हामी कानको स्वास्थ्यका बारेमा विश्वव्यापी रूपमा जागरुकता जगाउन विश्व श्रवण दिवस मनाउने गर्दछौं । यस वर्षको विषयवस्तु समुदायदेखि कक्षाकोठासम्म सबै बालबालिकाका लागि श्रवण शक्ति हेरचाह हो । यसमा दुई वटा पक्ष छन् । पहिलो, कान वा श्रवण शक्ति समस्या भएका बालबालिकाहरूको प्रारम्भिक पहिचान र हेरचाह सुनिश्चित गरेर बाल्यकालमा श्रवण शक्ति गुमाउन रोक्न सक्छौं । दुई, विद्यालय तथा समुदाय भनेको बालबालिका, अभिभावक र शिक्षकहरूसम्म पुग्ने प्राकृतिक प्रवेश बिन्दु हुन् । विद्यालय स्वास्थ्य कार्यक्रमहरूमा श्रवण स्वास्थ्यलाई एकीकृत गरेर हामी बालबालिकाहरूलाई सुन्न, सिक्न र सफल हुन मद्दत गर्न सक्छौं ।
विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसार सबै बालबालिकाहरूलाई विद्यालय भर्ना गर्ने समयमा नै श्रवण शक्तिको स्तर तथा कान रोगहरूको जाँच गरिनुपर्छ । विशेष गरेर स्वास्थ्य प्रणाली क्षमताले भ्याएसम्म विद्यालयमा कान र श्रवण शक्तिको जाँच नियमित रूपमा गरिनुपर्छ– विद्यालयमा प्रारम्भिक प्रवेशमा, किन्डरगार्डेनमा र विद्यालयको शैक्षिक वर्ष कक्षा १, २, ३, ७ र ११ मा ।
माथिका उल्लेखित अवस्थाबाहेक शिक्षक तथा अभिभावकहरूले बच्चाको श्रवण शक्तिको स्थितिका बारेमा थाहा पाएपछि बच्चालाई कान र श्रवण शक्ति जाँचका लागि स्वास्थ्य सेवा प्रदान गर्ने संस्थामा पठाउनुपर्छ । निम्न अवस्थामा सचेत हुनुपर्छ–
१. बच्चाको श्रवण शक्ति, बोली र भाषा विकास नहुनु, बेवास्ता गर्नु, बच्चाले धेरै पटक दोहोर्याउन आग्रह गर्नु, सिक्न कठिनाइ हुनु
२. कानको कुनै पनि समस्या देखिनु जस्तै कानबाट पानी बग्ने, कान पछाडि रातो हुने र सुन्निने
३. कानभित्र वा वपिरपरि दुख्नु
श्रवण शक्तिमा कमी भएका बचाहरूलाई शिक्षकहरूले निम्नअनुसार सहयोग गर्न सक्छन् :
१. बच्चालाई कक्षाको अगाडि बसाउन
२. उचित प्रकाश निश्चित गर्ने र बोल्दा बच्चाको अनुहार हेर्ने
३. साथीहरूबाट सहयोगलाई प्रोत्साहन गर्ने
४. बच्चाहरूलाई श्रवण उपकरणहरू लगाउन मद्दत गर्ने
५. तिनीहरूसँग कुराकानी गर्न सांकेतिक भाषा सिक्ने
श्रवण शक्ति गुमाउनुले त्यो व्यक्तिलाई मात्र नभई देशको समग्र आर्थिक विकासमा पनि हानिकारक प्रभाव पार्न सक्छ । श्रवण शक्ति गुमाउनाले बोली र भाषा विकास, अन्तरव्यक्ति सञ्चार, शिक्षा, सिकाइ र रोजगारीको अवसरहरूलाई प्रत्यक्ष असर गर्छ ।
श्रवण शक्ति गुमाउने समस्याले जन्मदेखि वृद्धावस्थासम्म कुनै पनि उमेर समूहलाई असर गर्न सक्छ । श्रवण शक्ति गुमाउनुका धेरै कारण हुन्छन्, जस्तैः आनुवंशिक कारण, संक्रमण, चोटपटक, जन्मसँग सम्बन्धित (प्रसूतिजन्य कारणहरू), उमेरसँग सम्बन्धित, ओटोटोक्सिक औषधिको प्रयोग र ठूलो आवाज ।
प्रतिकूल प्रसवकालीन अवधिले नवजात शिशुले श्रवण शक्ति गुमाउन सक्छ । गर्भावस्थाको समयमा केही मातृ संक्रमण, जन्मको समयमा श्वासप्रश्वासमा समस्या, कम तौल, हाइपरबिलिरुबिनेमिया, मेनिन्जाइटिस र लामो समयसम्म नवजात शिशुको गहन हेरचाह इकाइ (एनआईसीयू) मा बसाइ श्रवण शक्ति गुमाउने जोखिम कारकहरू हुन् । त्यसैगरी, टाउको र कानमा प्रत्यक्ष चोटले श्रवण शक्ति गुम्न सक्छ । कतिपय औषधिको प्रयोगले श्रवण शक्ति गुम्न सक्छ ।
हाम्रो देशमा मध्य कानको संक्रमण (जसलाई सामान्यतया ओटाइटिस मिडिया भनिन्छ) श्रवण शक्ति गुमाउने एक महत्त्वपूर्ण कारण हो । ती बिरामीहरूमा कानबाट पिप बग्ने र श्रवण शक्ति गुम्ने समस्या हुन्छ । प्रारम्भिक चरणमा उपचार गरेमा उक्त बिरामीहरूका श्रवण शक्ति राम्रो हुन सक्छ ।
वंशाणुगत श्रवण शक्ति गुमाउनका लागि लगभग २५० जिनहरू जिम्मेवार रहेको पाइएको छ । यी बिरामीहरूमा निश्चित सिन्ड्रोमहरू हुन सक्छन् । तिनीहरूमध्ये धेरैजसो श्रवण शक्ति गुमाउने हुन्छन् तर केहीमा प्रगतिशील श्रवण शक्ति गुमाउने समस्या हुन सक्छ । आनुवंशिक श्रवण शक्ति गुमाउने समस्या प्रायः नातेदार विवाहमार्फत जन्मेका बच्चाहरूमा देखापर्न सक्छ । आनुवंशिक परामर्शले यस प्रकारको श्रवण शक्ति गुमाउने समस्यालाई रोक्न मद्दत गर्दछ । ग्लोबल बर्डन अफ डिजिजद्वारा अनुमान गरेअनुसार ६० वर्षभन्दा बढी उमेरका ६५ प्रतिशत मानिसले केही हदसम्म श्रवण शक्ति गुमाउने अनुभव गर्छन् र तीमध्ये २५ प्रतिशतलाई मध्यमदेखि उच्च ग्रेडको श्रवण शक्ति गुमाउने समस्या हुन्छ । उमेर–सम्बन्धित श्रवण शक्ति गुमाउनु वृद्ध जनसंख्यामा डिप्रेसन, सामाजिक अलगाव र डिमेन्सियाको एक महत्त्वपूर्ण कारण हो । त्यसकारण, श्रवण शक्ति गुमाउने समस्याको प्रतिकार र पुनःस्थापना उनीहरूका लागि प्राथमिकता हुनुपर्छ ।
ठूलो आवाजको सम्पर्कमा आउने पेसा, मनोरञ्जनात्मक गतिविधि वा वातावरणीय ध्वनिको कारणले श्रवण शक्ति गुम्न सक्छ । ठूलो आवाजले श्रवण अंग (कोक्लिया) लाई स्थायी रूपमा क्षति पुर्याउन सक्छ ।
धेरैजसो विकसित देशहरूमा, श्रवण शक्ति गुमाउने प्रारम्भिक पहिचान र हस्तक्षेपको उद्देश्यले नवजात शिशुको विश्वयापी श्रवण शक्ति जाँच गरिन्छ । यद्यपि, नेपालमा केही केन्द्रहरू मात्र छन् जहाँ नवजात शिशुको श्रवण शक्ति जाँच गरिन्छ । बच्चाको एक महिनाको उमेरभित्रमा जाँच, ३ महिनाभित्र निदान र ६ महिनाभित्र हस्तक्षेप गर्न सिफारिस गरिन्छ । बालबालिकामा कान र श्रवण समस्याहरूको प्रारम्भिक पहिचान गर्नु, तिनीहरूलाई भाषा सिकाउनु, शिक्षण पद्धतिमा मद्दत पुर्याई शिक्षा हासिल गराउनु नै सामाजिक विकासका लागि महत्त्वपूर्ण मानिन्छ ।
कानको हेरचाहका बारेमा जनचेतनाले धेरै कानसम्बन्धी समस्या रोक्न मद्दत गर्दछ । कानमा तेल हाल्ने, फोहोर पानीमा पौडी खेल्ने, सलाईको काँटी, इयरबड, प्वाँख वा धारिलो उपकरणहरूको प्रयोगबाट बच्नुपर्छ । यी बानीहरूले कानको जालीमा प्वाल पार्ने र कानको छालामा चोट लाग्न सक्छ ।
‘अन्धोपनले हामीलाई चीजहरूबाट एक्लाउँछ, तर बहिरोपनले हामीलाई मानिसहरूबाट एक्लाउँछ’, हेलेन केलरको मार्मिक भनाइ हो, जुन श्रवण शक्ति गुमाउने व्यक्तिले मात्र बुझ्न सक्छ । हामीले श्रवण शक्ति गुमाउने समस्या भएका मानिसहरूलाई ईएनटी डाक्टरको मद्दत लिन प्रोत्साहित गर्नुपर्छ । श्रवण शक्ति गुमाउने समस्या समाधान गर्न प्रारम्भिक पहिचान र उपचार महत्त्वपूर्ण हुन्छ । सरकारले श्रवण शक्ति गुमाउने समस्या रोक्न र उनीहरूलाई पुनःस्थापित गर्न प्रभावकारी जनस्वास्थ्य रणनीतिहरू विकास र कार्यान्वयन गर्नुपर्छ । त्यसैले यी दुई पक्षमा ध्यान दिनुपर्छ । पहिलो, बाल्यकालमा हुने श्रवण शक्ति गुमाउने रोकथाम । दोस्रो, कान वा श्रवण शक्ति समस्या भएका बालबालिकाहरूको प्रारम्भिक पहिचान र हेरचाह निश्चित गर्ने । कान वा श्रवण शक्ति समस्याका कारण कुनै पनि बालबालिका पछाडि नपरोस् भनेर अहिले नै सहकार्य गरौं ।
