गाउँमा ‘मास माइग्रेट’

अर्थतन्त्रका अलावा गाउँ स्थायित्वको प्रतीक पनि हो । हामीलाई लाग्छ सबै बदलियोस्, तर गाउँ भने गाउँजस्तै रहोस् । तर हामी अक्सर भुल्छौँ, हरेक सहरको शैशव गाउँ नै त हो ।

फाल्गुन १८, २०८२

असीम तिमल्सिना

'Mass migration' in the village

What you should know

काठमाडौँ — जब जब दसैँ आउँछ, सुविधा, सपना र सम्भावनाको सहर काठमाडौँ छोड्नेहरूको लर्को लाग्छ । यस्तो लाग्छ, यो सहर नै सहर छोडिरहेको छ । २०७२ सालको भूकम्प होस् वा ०७६ सालको कोभिड महामारी, जब जब ठूला आपत‍्विपत् भए काठमाडौँ परित्यक्त भयो । 

अहिले देशलाई चुनाव लागेको छ । फेरि पनि काठमाडौँ उसैगरी त्यागिइँदै छ । काठमाडौँ मात्र होइन, अधिकांश कथित ग्लोबल साउथ मुलुकमा पर्व र प्रकोपपछि ‘मास माइग्रेसन’ हुने तेस्रो अवसर निर्वाचन नै हो । तर यो ‘मास’ कहाँ ‘माइग्रेट’ भइरहेको छ त ? यसको सीधा जवाफ हो- गाउँमा ।

विश्वव्यापीकरणको यो युगमा गाउँको महत्व के नै होला र ! गाउँको उत्पादन प्रणालीको के नै अर्थ रहला र ! गाउँ नभए पनि सभ्यतामा के नै असर पर्ला र ! यस्तै आमसोचाइ व्याप्त छ ।तर गाउँ बसोबासको कुनै एकाइ मात्र होइन, यो त राष्ट्रिय उत्पादन प्रणालीको अभिन्न हिस्सा हो । 

नेपालको करिब ६० खर्बको अर्थतन्त्रमा कृषिको योगदान करिब २५ प्रतिशत छ । अर्थात् करिब १५ खर्बको अर्थतन्त्रलाई गाउँले धानिदिएको छ र आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार आर्थिक वर्ष २०७९/८० देखि कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः बढ्दो क्रममा छ ।

यसबाहेक सेवा क्षेत्रअन्तर्गत पर्यटन र उद्योगअन्तर्गतका घरेलु तथा साना उद्योगको ठूलो हिस्सा गाउँमै आधारित छ । नेपालजस्तो अल्पविकसित देश मात्र होइन, अमेरिकाजस्तो मुलुकमा पनि ग्रामीण अर्थतन्त्रको हिस्सा उल्लेख्य छ । अमेरिकी अर्थतन्त्रमा गाउँले १० प्रतिशतको योगदान गर्छ । जुन करिब २ खर्ब अमेरिकी डलरभन्दा बढी हुन जान्छ ।

ग्रामीण अर्थतन्त्रको योगदान यति मात्र हुँदैन । विभिन्न वितरण प्रणाली र व्यावसायिक गतिविधिका कारण सहरी अर्थतन्त्रलाई अघि बढाउन पनि ग्रामीण अर्थतन्त्रकै भूमिका हुन्छ ।

जस्तो, गाउँका खेतमा उब्जाइएका धान नहुने हो भने सहरका पाँचतारे होटलमा खाना पाक्दैन । गाउँले ट्रकका ट्रक भरेर तरकारी पठाएन भने सहर निस्तो भात खान बाध्य हुन्छ । अरू त अरू सहरका विद्यालय, कलेज, निर्माण क्षेत्र पनि गाउँबाटै आएका विद्यार्थी र श्रमिकले चलाइरहेका हुन्छन् । घर बहाल उठाएर घरखर्च चलाइरहेका सहरका घरभेटी गाउँबाट अवसर खोज्दै आएकाहरूबाटै त धानिएका छन् । सहरको पुँजी संकलन र सम्पत्ति सिर्जना गाउँले गर्ने योगदानमा निर्भर हुन्छ ।

अर्थतन्त्रका अलावा गाउँ स्थायित्वको प्रतीक पनि हो । हामीलाई लाग्छ सबै बदलियोस्, तर गाउँ भने गाउँजस्तै रहोस् । तर हामी अक्सर भुल्छौँ, हरेक सहरको शैशव गाउँ नै त हो ।

त्यसो भए के गाउँको गन्तव्य सहर नै हो ? गाउँको आफ्नै ‘गाउँले’ आकांक्षाहरू हुँदैनन् ? आम भाष्यको कुरा गर्ने हो भने गाउँको सपना सहर बन्नु नै हो । तर गाउँले जोगाएको संस्कृति, गाउँले धानेको जनशक्तिलगायत उपादेयता र महत्त्व हेर्ने हो भने गाउँ अब नजोगाई नहुने एकाइ हो । 

तर यसपटक विशेष अवस्थामा हुन गइरहेको निर्वाचनमा ‘स्टेटक्राफ्टिङ’को जिम्मा लिन्छु भनेका दलहरूले विकासका ब्लुप्रिन्टहरूमा गाउँलाई कत्तिको महत्त्व दिएका छन् त ? दलका घोषणापत्रहरूमा कहाँ छन् गाउँ ? गाउँलाई सहर, सहरलाई अझ उन्नत सहर बनाउने सपना बाँड्ने दलहरूले गाउँलाई गाउँकै अवधारणामा विकास गर्ने योजना ल्याएका छन् कि छैनन् ? कि यो देशलाई गाउँ नै चाहिँदैन ?

गाउँको अस्तित्व स्विकारेको एउटा दल हो नेकपा एमाले । उसले आफ्नो घोषणापत्रमा समृद्धिको २५ स्तम्भ खण्डमा गाउँको अस्तित्व र आवश्यकता स्विकारेको देखिन्छ । गाउँलाई उत्पादन र श्रमको केन्द्रको रूपमा स्विकार्दै ‘गाउँ र सहरको परिपूरक विकासमार्फत समृद्धिको राष्ट्रिय अभियान थाल्ने’ एमालेले उल्लेख गरेको छ ।

२०५१ सालमै 'आफ्नो गाउँ आफैँ बना‌ऊँ' अभियान थालेको एमालेले गाउँको पुनर्जीवनलाई राष्ट्रिय एजेन्डाका रूपमा अघि बढाउने उल्लेख गरेको छ । यद्यपि, कुनै ठोस कार्ययोजना प्रस्तुत नगर्दा यसको औचित्यमै शंकाको सुविधा भने पाइन्छ ।

अर्को दल नेपाली कांग्रेसले पनि गाउँ र सहरबीचको खाडल पुर्ने नभएर यी दुईलाई  समृद्धिको साझेदारको रूपमा जोड्ने परिकल्पना गरेको छ । गाउँलाई सहरको विस्तारित अंगको रूपमा विकास गर्दै  प्रत्येक नेपालीले आफ्नै ठाउँमा गरिमामय जीवन बिताउनसक्ने वातावरण बनाउने कांग्रेसको वाचा छ ।

गाउँमा रूढिवाद छ । गाउँ फर्केर बस्ने आँट सायदै सहर पसेका कसैसँग होला । तर संकट र उत्सवको सारथि गाउँ जोगाउनु, सहर बनाउनुजत्तिकै महत्त्वपूर्ण छ ।साथै तीनै तहका सरकारबीच समन्वय गरी गाउँ-गाउँका उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने भ्यालु चेन विकास गर्ने र सहर र गाउँका आवासमा आधारभूत सुविधाहरू समान हुने गरी विकासका संरचनाहरू निर्माण गर्ने कांग्रेसको उद्घोष छ । एमालेको तुलनामा कांग्रेसले गाउँ जोगाउने र गाउँ बनाउने योजनामा केही आधारहरू पनि प्रस्तुत गरेको छ ।

यहाँ यी तीन दलका घोषणापत्र किन अध्ययन गरियो भने यी तीन दल भावी प्रधानमन्त्रीको दाबेदारसहित निर्वाचनमा होमिएका छन् । यिनले सरकार गठनको जनादेश पाए भने यिनका गाउँ विकासको मोडल कस्तो हुनेछ भन्ने मुख्य चासो हो । 

०००

गाउँ बचाउने योजना कुनै रोमान्टिक नोस्टाल्जियाको उपक्रम मात्र होइन । प्रत्येक संकटमा मानिस गाउँकै छहारी खोज्छ भने गाउँको अस्तित्व जोगाउनु मानिसको सभ्यतासँग गाँसिने कुरा हो ।

चीनले त कृषिको आधुनिकीकरण र गाउँ-सहरबीच कमाइको भेद कम गर्न सन् २०१७ मै ग्रामीण पुनरुत्थान कार्यक्रम नै सञ्चालन गरेको थियो । चीनभन्दा दशकौँअघि जापानले पनि दोस्रो विश्वयुद्धपछि गाउँको घट्दो आर्थिक सामर्थ्य र जनसंख्यालाई सम्बोधन गर्न मुरा ओकोसी उन्दो (ग्रामीण पुनरुत्थान अभियान) सञ्चालन गरेको थियो ।

सञ्चार क्षेत्रका विद्वान् मार्सल म्याकलुहानले पनि त उन्नत विश्वको कल्पना गर्दा सहर भन्ने शब्द प्रयोग गरेनन् । बरु उनले ‘ग्लोबल भिलेज’ अर्थात् विश्वग्राम भनेका छन् । म्याकलुहानको अवधारणामा विद्युतीय मिडिया प्रविधिहरूको विकासले सिंगो विश्वलाई एउटा गाउँजस्तै आपसमा जोड्छ । भौगोलिक र सामाजिक दूरीहरू निमिट्यान्न हुन्छन् र अन्तरआबद्धता र अन्तरनिर्भरता गाउँमा झैँ बढ्छ । विश्व ‘एउटा समुदाय’ बन्छ ।

गाउँ गरिब मात्र छैन । र सहर धनी मात्र होइन । हो यही समुदायगत भावनाको रक्षार्थ पनि गाउँको आवश्यकता झनै बढेको छ । गाउँलाई उपेक्षा कतिपय बेला गरिबीको द्योतक मानेर पनि गरिन्छ । तर राष्ट्रिय तथ्यांक कार्यालयले गत पुस २५ गते सार्वजनिक गरेको स्मल एरिया एस्टिमेसन अफ पोभर्टी, २०२३ भन्छ, गाउँ गरिब मात्र छैन । र सहर धनी मात्र होइन । 

नेपालमा २०.२७ प्रतिशत नागरिक गरिबीको रेखामुनि अर्थात् वार्षिक प्रतिव्यक्ति ७२ हजार ९०८ रुपैयाँभन्दा कम खर्च गर्नेहरू छन् । यीमध्ये १८.३४ प्रतिशत नागरिक सहरिया हुन् । योभन्दा केही बढी ग्रामीण क्षेत्रमा बस्ने २४.६६ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् ।

हो, गाउँमा दुःख छ । गाउँमा विभेद छ । गाउँमा रूढिवाद छ । गाउँ फर्केर बस्ने आँट सायदै सहर पसेका कसैसँग होला । तर संकट र उत्सवको सारथि गाउँ जोगाउनु, सहर बनाउनुजत्तिकै महत्त्वपूर्ण छ ।

असीम असीम कान्तिपुर टिभीमा आवद्ध छन् । सिनेमा र रंगकर्म उनको रुचिको बिषय हो ।

Link copied successfully