तपाईं किन सांसद बन्ने ?

जो संवादमै आउँदैन, त्यो लोकतान्त्रिक हुनै सक्दैन । जो आफूबारेका तमाम प्रश्नहरू लुकाएर अरूलाई तथानाम गाली गर्छ, ऊ तालीको लायक छैन ।

माघ ५, २०८२

विमल आचार्य

Why do you want to become an MP?

केही दिनअघि म एउटा सानो भेलामा थिएँ । २५ जना जति जम्मा भएको त्यो भेलामा १० जना जतिले आफू यो निर्वाचनमा उठ्दै गरेको बताउनुभयो । पाँच जना त समानुपातिक सूचीमा हुनुहुँदो पनि रहेछ । मैले उहाँहरूको भाषण मैले चुपचाप सुनेँ । अनि मनमा लागेको कुरा लेख्न बसेँ ।

प्रतिनिधिसभा सदस्य हुने रहर गर्नु सुन्दर कुरा हो । राजनीतिमा भाग लिने चाहना राख्नुका सार्वजनिक खराबी छैनन् । भलै त्यो रहरले व्यक्तिको पर्सनल–प्रोफेसनल जीवनमा भने केही असर पार्न सक्छ । तर, असर पार्छ भन्दैमा रहर पूरा नगर्नु, जोखिम नउठाउनु पनि त भएन । 

खेलकुद, अभिनय, साहित्य जेसुकै भन्नुस्, हरेकमा भाग लिनुअघि केही प्रश्न अवश्यै हुन्छन् । राजनीतिमा भाग लिनुसँगै केही प्रश्न नआउने कुरै भएन । राजनीति गर्न कुनै खास योग्यता चाहिँदैन भन्नुको अर्थ अयोग्यता नै योग्यता हो भनिएको पनि होइन । 

हामी हाम्रो समाजका कुनै विषयमा अलि बढी चासो पक्कै राख्छौँ । ती विषयमा हाम्रो थोरैतिनो अध्ययन, अनुसन्धान, अनुभव पनि हुन्छ नै । कुनै विषयमा रुचि अलि बढी हुन्छ । तर, मैले अहिलेसम्म मेरा केही उम्मेदवारहरूको रुचिक्षेत्र कुन विषयमा के हो, पत्तो पाएको छैन । मैले पत्तो पाउन त उहाँहरूले सार्वजनिक रूपमा केही बोलेको, लेखेको, गरेको पनि त हुनुपर्दाे हो !

जब मैले उहाँहरूबाट कुनै विषयउपर कुनै प्रश्न, गुनासो, विचार, समाधान सुनेको छैन । जब उहाँहरू कुनै विषयमा रिसाएको र आन्दोलित भएको पनि देखेको छैन । जब उहाँहरूले भीडभन्दा विपरीत फरक मत राखेको पनि देखेको छैन । जब म उहाँहरूले आफ्नो क्षेत्रमा सानोतिनो सुधारको पहलकदमी लिएको पनि देखेको छैन भने तब म उहाँहरूलाई कुन आधारमा सांसदका रुपमा देखूँ ? 

नयाँहरूलाई म सांसदका रुपमा देख्न चाहन्छु । तर, त्यसभन्दा पहिले म उहाँहरूले राज्य–समाज बुझेको देख्न चाहन्छु । उहाँहरूभित्र खास प्रश्नहरूको सिलसिला देख्न चाहन्छु । 

देश भ्रष्टाचारमा चुर्लुम्म डुब्दा उहाँहरू मौन । भ्रष्टाचारबाट वाक्क भएर केहीले आन्दोलन गर्दा उहाँहरू रमिते, अझ भनौँ आन्दोलनकारीहरूलाई परिचालित हुन् भन्दै बदनाम गर्न सक्रिय । शासकहरूको खराब रवैयाउपर आन्दोलन, सत्याग्रह, नाराबाजी हुँदा कहिल्यै सडक–सञ्जाल नछोएका उहाँहरू वैकल्पिक दल÷नेता हुँ भनिरहनुभएको छ । म छक्क परेको छु । पुराना दल÷नेताभन्दा तीनगुना बढी गालीगलौज गर्ने, प्रश्नकर्ताउपर बढ्ता जाइलाग्ने, आफ्ना आरोपहरू कुतर्कले ढाक्नेहरूलाई म कसरी विकल्प मानूँ ? 

नवराज विश्वकर्माहरू अनाहकमा मारिँदा भ्युज घट्छ वा देशविदेशमा महोत्सव–कन्सर्टहरूमा बोलाउँदैनन् भनेर बोल्नसमेत नसकेका बन्द ओठहरू बन्दसूचीमा हुनु उदेकलाग्दो छैन त ? निर्मला पन्त, अंगिरा पासीहरूको मुद्दामा मौन रहनेले सांसद बनेर देश बनाउँछ भन्नु भयानक त्रासदी हो । गृहमन्त्री बनेर यी र यस्ता मुद्दामा रामबहादुर थापा बादलझैँ केही नगर्ने, खालि बकबक मात्र गर्नेले फेरि केही गर्लान् भनेर मलाई त विश्वासै छैन । बलात्कारीहरू पनि हाम्रा फ्यान हुन्, चिढ्याउनुहुन्न भन्ने साउतीको म स्वयं साक्षी भएको सम्झिन्छु । 

हर संस्थामा हुने दलीय भागबण्डामा मौन रहने मात्र हैन, अंशियार हुनेले देश बनाउँछ भन्नु जोक सुनाएजस्तो लाग्छ । राष्ट्रिय कुनै घटना–परिघटनामा आत्माको आवाज बन्धक बनाएर भिडमै मिसिनेले जेनजी–जागरणको नेतृत्व कसरी गर्ला ? 

सिनेमा, संगीत, पत्रकारिता, कमेडी, कर्मचारीतन्त्र, गैसस, म्यानपावर, ठेकेदारी, तस्करी, जग्गा दलाली, सहकारी, सोसल मिडिया, कन्टेन्ट क्रियटर, भाइरल, ‘सनसनी समाजसेवा’, मौनता आदि क्षेत्रका केही मानिस राजनीतिमा आएका, आउँदै छन् । तिनीहरूले आफूले नजानेको, नभोगेको विषयमा बोल्नु वा उभिनु परेन । तर, आफ्नो क्षेत्रमा ती सुशासनको पक्षमा कहिल्यै थिए ? तिनीहरूले त्यहाँ रहँदा वा पद पाउँदा के बोले वा के गरे ? तिनीहरू आफ्नो क्षेत्रका आदर्श मानक हुन् ? हैनन् भने कसरी नयाँ ? कसरी वैकल्पिक ?

उनीहरूलाई लाग्दो हो, मेरा फ्यान–फलोअर्सहरूलाई म सजिलै शासन गरिहाल्छु नि । स्मरण रहोस्, त्यो लाइक गर्नेले तपाईंको अभिनय, उद्घोषण, जोक, अनुहारलाई ‘लाइक गरेको होला न कि तपाईंको राजनीतिक–सामाजिक चेतलाई !

चुनावी च्याँखेदाउ थापेर बसेकाहरूलाई लागेको होला— बोल्ने त पदमा पुगेपछि मात्र हो । संसद्बाहिर बोलेर कामै छैन । 

यस्तो लाग्छ भने तपाईं राजनीतिशास्त्र–समाजशास्त्रको बेसिक कोर्स लिनुस् । एउटा योद्धा पद पाओस् वा नपाओस्, दलमा होस् वा नहोस्, सधैँ बोल्छ, भिड्छ, सधैँ जिउँदो रहन्छ । प्रश्नविहीन मान्छे त मुर्दा हो । विचारविहीन मान्छे लम्पट हो । (मैले यहाँ विचार सही वा खराब भनेको छैन । सार्वजनिक रूपमा नबोल्नेभन्दा खराब नै सही, बोल्नेहरू कम खराब हुन् ।)

राज्य कसरी चल्छ ? समाज कसरी गतिवान् हुन्छ ? राज्यमा संस्थाहरूको भूमिका के हुन्छ ? भन्ने आधारभूत कुरासमेत नबुझेकाहरू सांसद बनेको वा बन्न खोजिरहेको दृश्य कहालीलाग्दो छ । हिजोका पातपतिंगर, कसिङ्गर, फोहोर दल÷नेताहरूलाई मतपेटिकामा हैन, फोहोरपेटिकामै खसाल्ने हो । तर, के नयाँ भनिएकाहरूले साँच्चै मतपेटिका डिजर्भ गर्छन् त ? के त्यहाँ आन्तरिक लोकतन्त्र छ ? छ जस्तो त मलाई लाग्दैन । यदि हुन्थ्यो भने त हिमाली, जनजाति महिलालाई विदेशी करार गर्दा त्यहाँ कोही उषाकिरण–विन्दाहरू बोलेको पक्कै सुनिन्थ्यो । हिजो वाग्ले, खड्का, गुप्ताहरूउपर अदालती कारबाही हुँदा पार्टी पूरै बचाउमा लागेको त देखिएन । अनि नयाँहरू कति स्वतन्त्र ? पहिचान ‘स्वतन्त्र’ हुँदैमा सामथ्र्य स्वतन्त्र त नहुँदो हो !  

‘यो माइतीघरमा जहिले आन्दोलन हुन्छ । कति आउन सकेको यता ?’, ‘यो बूढोको केही काम छैन कि क्या हो, फेरि अनशन बसेछ ।’, ‘बोलेर–लेखेर देश बन्छ ? गफ गरेर देश बन्छ ? कुरा हैन, काम गर्नुपर्यो नि !’ ‘निर्वाचित मेयरलाई काम गर्न नदिई सडकमा लगातार उभिने यो इः को हो ?’ यस्तो बोल्नेहरू पनि उम्मेदवार सूची÷लाइनमा देखेर मलाई उदेक लागेको छ । 

राजनीतिक दल वा सांसदको समाजमा जति योगदान हुन्छ हरेक नागरिकको योगदान त्यो भन्दा कम हुन्न । ‘देश बनाउने’ दलीय पदवालाले मात्र हैन, हर व्यक्ति र संस्थाहरूले हो । केदारभक्त माथेमाले त्रिभुवन विश्वविद्यालयको उपकुलपति भएर गरेको छोटो योगदान मात्र खास योगदान होइन । मेरो विचारमा त त्यसयता आजपर्यन्त उहाँ जे बोल्नुहुन्छ वा जे बोल्नुहुन्न, जहाँ उभिनुहुन्छ वा जहाँ उभिनुहुन्न, त्यो झन् ठूलो योगदान र राजनीति हो । हामीलाई संस्था बनाउने भगवान कोइराला, सन्दुक रुइतहरू पनि चाहिन्छ । र, संस्थाभित्र नबसी संस्थाहरू बलियो बनून् भनेर बोल्ने, भिड्ने, जुध्ने गोविन्द केसीहरू पनि चाहिन्छ । ‘पनि चाहिन्छ’ हैन, ‘नै चाहिन्छ ।’ एक हैन, अनेक चाहिन्छ । पार्टीभित्र होस् वा बाहिर, जब प्रश्न, आन्दोलन, सत्याग्रह, फरक मत मर्छ (खासमा मारिन्छ) तब त्यो समाज जिउँदो रहँदैन । 

लेखक नारायण ढकाल एकपटक सांसद भएका थिए ।  उनले सांसद भएर केके गरे, धेरैलाई याद छैन । तर, उनका हर किताब, लेख, अन्तर्वार्ता मेरा लागि बलियो राजनीति हुन् । चाहेको भए उनी सजिलै एकेडेमी पुग्न सक्थे । अझै पुगेका छैनन् । यो झन् ठूलो राजनीति हो । र, यस्तो राजनीतिको समाजलाई जिउँदो बनाउने सन्दर्भमा ठूलो अर्थ छ । 

सांसद बन्न चाहिरहेका तर मेरो प्रिय गायक बच्चुकैलाशझैँ सधैँ चुपचाप बसेकाहरूलाई चुपचाप बस्न नै मेरो अनुरोध छ । तपाईं नबोल्नुपर्ने मात्र बोल्नुहुन्छ र सोसल मिडियामार्फत एकतर्फी दिइरहनुहुन्छ भने तपाईंलाई चुनाव लड्ने अधिकार त छ, तर मतदाताले तपाईंलाई नै भोट दिनुपर्ने कुनै कर्तव्य छैन । 

समानुपातिक बन्दसूचीमा बसेर तपाईं सांसद बन्नेमा ढुक्क हुनुहुन्छ । तर, म तपाईंहरूको राजनीतिक निरक्षरता र सामाजिक अनुत्तरदायित्व देखेर ढुक्क छैन । तपाईंले ‘पुरानाभन्दा असल’ गर्नुपर्ने हो तर ‘पुरानाभन्दा खराब’ गर्ने सम्भावना यी बीचमा तपाईंहरूको कुर्सी र बुकुर्सीबाट स्पष्ट देखिसकियो ।  

चुनावी च्याँखे थापिरहनुभएका उम्मेदवारलाई मेरो सुझाव र प्रश्न छ । हामीकहाँ कानुन बलियै बनेका छन् । तपाईं सूचनाको हक पढ्नुस् । सूचना माग्नुस् । आफ्नो रुचिक्षेत्रका हर कार्यक्रम, बजेट, नियुक्ति, गतिविधिहरूको पारदर्शिता खोज्नुस् ।  जवाफदेही बनाउनुस् । धर्ना दिनुस् । उजुरी दिनुस् । रिट हाल्नुस् । चिठी लेख्नुस् । लेख लेख्नुस् । रचनात्मक उपायहरू दिनुस् । पब्लिक हेयरिङ आयोजना गर्नुस् । नागरिकलाई हकअधिकार सम्झाउनुस् । परिआए आन्दोलन गर्नुस् । अनशन बस्नुस् ।

तपाईं पलिटिसियन बन्नुअघि प्रेसर ग्रुपका रूपमा इमानदार भएर सक्रिय हुनुस् । उखु किसान, मिटरब्याज पीडितहरूलाई साथ दिनुस् । विकासका नाममा भएको विनाशलीलामा प्रश्न गर्नुस् । 

विवेकशील दलले सुरुवातमा जे गथ्र्याे, त्यो अचेलका वैकल्पिकवालाहरूमा खै ? उनीहरू अफिसअफिसमा गएर हिसाब माग्थे । नेपाल बन्द नगर भनेर खुला आह्वान गर्थे । राप्रपाले भृकुटीमण्डपमा गरेको फोहोर उनीहरू सोहोर्थे । माफिया–बिचौलियाविरुद्ध आन्दोलनमा सँगै उभिन्थे । उनीहरू सुसंस्कृत राजनीति गर्ने भन्दै सभ्य भाषामा बोल्थे । गालीगलौज उनीहरूको शब्दकोशमा थिएन । यो अर्कै कुरा हो, ढलको मिश्रण भएपछि तिनीहरू पनि विवेकशील रहेनन् । 

राजनीतिशास्त्रमा पार्टी मात्र हुँदैनन् । उत्तिकै महत्व राख्ने प्रेसर ग्रुप पनि हुन्छन् । पार्टीबाट, पदबाट, कुर्सीबाट, संसद्बाट मात्र योगदान दिन्छु भन्नु कि अज्ञानता हो कि झेल हो । शक्तिशाली स्थानीय सरकारबाट बीचैमा निस्किनु ‘माथि ठूलो’ भन्ने सामन्ती सोच अनि ‘तल सानो’ भन्ने लुघताभास मात्र हो ।  

तपाईंको गाउँठाउँमा कसैलाई आर्थिक सहायताको खाँचो छ भने तपाईं वडा, पालिका, मन्त्रालयहरूमा गएर सामाजिक उत्तरदायित्वबारे प्रश्न सोध्नुहुन्छ कि सुरुमै चन्दा उठाएर ‘समाजसेवी’ बन्नतिर लाग्नुहुन्छ ? ‘समाजसेवी’हरूलाई मेरो सम्मान छ तर अड्डाहरूसित करको किसाबकिताब माग्ने, धर्ना दिने सचेत नागरिकलाई मेरो झन् ठूलो सम्मान छ । 

आफू सहयोग केही नगरोस्, तर उठन्ते–मगन्ते ‘समाजसेवी’भन्दा हाकिमहरूसित हाकाहाकी प्रश्न गर्ने युवा राजनीतिक समझ भएको विवेकी उम्मेदवार हो । 

अहिले म मानिसहरू निर्धक्क बोल्नै डराइरहेको देख्छु । यो खतरनाक संकेत हो । मिडियाहरू साइन बोर्ड निकालेर बस्नुपर्ने अवस्था आउनु संकटकालभन्दा पनि महासंकटकालको अवस्था हो । यो लोकतन्त्र–प्रश्नतन्त्र मरेको चिसो हिउँद हो । 

प्रश्न गर्न डराउनेहरूलाई हराउन हामी कोही डराउनुपर्दैन । जो संवादमै आउँदैन, त्यो लोकतान्त्रिक हुनै सक्दैन । जो आफूबारेका तमाम प्रश्नहरू लुकाएर अरुलाई तथानाम गाली गर्छ, ऊ तालीको लायक छैन । 

राजनीति गर्नु भनेको पार्टीमा जोडिनु र पदमा अडिनु मात्र होइन । हरेकले आफ्नो रुचि, बर्कत, औकातअनुसार आफ्नो काम (र, कुरा) गर्नु वा नगर्नु बृहत्तर अर्थमा राजनीति हो । 

विमल आचार्य साहित्य, अनुसन्धान र पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully