दलको संख्या बढाउने कि गुणस्तर ?

लोकप्रियता क्षणिक हुन सक्छ तर संस्था दीर्घकालीन हुन्छ । लोकतन्त्र पपुलिज्मले होइन, ढंगको राजनीतिक दलीय संरचनाले बचाउँछ ।

माघ ५, २०८२

जगन्नाथ लामिछाने

Increase the number of parties or the quality?

What you should know

नेपालको राजनीतिक परिवेशमाथि व्यंग्य गर्दै मानिसहरू भन्ने गर्छन्, ‘यो देशमा उद्योगधन्दा दर्ता गर्न र सञ्चालन गर्नभन्दा राजनीतिक दल दर्ता गर्न र चलाउन सजिलो छ, नाफामुखी पनि छ ।’ भनाइ अतिशयोक्ति लाग्न सक्छ तर तथ्यांक हेर्दा यो व्यंग्य भावनात्मक प्रतिक्रिया मात्र होइन, हाम्रो राजनीतिक यथार्थको कठोर चित्रण हो ।

यति सानो भौगोलिक र जनसांख्यिकीय संरचना भएको देशमा आज १७० भन्दा बढी राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भइसकेका छन् । यति धेरै दल हुँदा पनि राजनीतिक संस्कार, शासनशैली र जनविश्वासमा भने उल्लेख्य सुधार देखिँदैन । यसले एउटा गम्भीर प्रश्न खडा गर्छ– समस्या दलको संख्या हो कि दलको गुणस्तर ?

आज देशमा ‘देश बनाउने सपना’ को अभाव छैन । भाषणमा, नारामा र सामाजिक सञ्जालमा सपनाको ओइरो लाग्छ । तर, इतिहासले बारम्बार प्रमाणित गरिसकेको छ– अलोकतान्त्रिक, व्यक्तिकेन्द्रित र अपारदर्शी राजनीतिक दलबाट लोकतान्त्रिक, समुन्नत र न्यायपूर्ण देश बन्न सक्दैन । त्यसैले अब प्रश्न ‘सपना कति ठूलो’ भन्ने होइन, त्यो सपना बोकेको राजनीतिक दल कति ढंगको छ भन्ने हो । अबको प्रश्न हो– त्यो दलको आर्थिक गतिविधि कति पारदर्शी छ ? 

राजनीतिक दल : देश बनाउने कारखाना कि व्यक्तिगत उद्यम ?

राज्य चलाउने मुख्य शक्ति राजनीतिक दल हुन् । संसद्, सरकार, नीति निर्माण, कानुन कार्यान्वयन र समाजको वैचारिक दिशा– सबै राजनीतिक दलमार्फतै तय हुन्छ । त्यसैले राजनीतिक दल कुनै निजी कम्पनी, पारिवारिक ट्रस्ट वा जीवनभरको अध्यक्षता सुरक्षित गर्ने संस्था हुन सक्दैन । अहिले कांग्रेस, एमाले, तत्कालीन माओवादीका अध्यक्षले जीवनैभर पार्टीको नेतृत्वमै रहने आकांक्षा देखाएकैले राजनीतिक दलहरू अत्यधिक बदनाम बन्न पुगेका हुन् । 

यही सन्दर्भमा, निर्वाचन आयोगमा दर्ता भएका १७० भन्दा बढी दलमध्ये भर्खरै दर्ता प्रमाणपत्र पाएको एउटा दल– गतिशील लोकतान्त्रिक पार्टीको संस्थापक सदस्य भएको नाताले म स्वयं पनि यो ‘राजनीतिक दलहरूको बाढी’ मा मिसिएको पात्र बनेको छु । यो स्विकारोक्ति महत्त्वपूर्ण छ किनकि म बाहिर बसेर दलहरूमाथि आलोचना गर्ने दर्शक होइन, यो प्रणालीभित्र पस्दै प्रश्न उठाइरहेको सहभागी हुँ ।

सेलेब्रिटी, पपुलिज्म, व्यक्तिवाद र दलको भ्रम

आजको नेपाली राजनीतिमा एउटा प्रवृत्ति हाबी छ– सेलेब्रिटी र पपुलिस्ट अनुहार जम्मा गरेर ‘कसको दल ठूलो ?’ भन्ने प्रतिस्पर्धा । भीड, लाइक, ट्रेन्ड र चिच्याहटलाई राजनीतिक शक्तिको मापन बनाइँदै छ । पुराना दलमा माओवादीहरू प्रचण्डकै वरिपरि गोलबद्ध थिए, एमाले एघारौं महाधिवेशनबाट ओली–पथमै दत्तचित्त बनेर लाग्यो, राष्ट्रिय स्वतन्त्र पार्टी रविकै पार्टीको पर्याय हो, उज्यालो नेपाल कुलमानका नाममा ब्रान्डिङ हुँदै छ, श्रम संस्कृति पार्टीको त दर्शन नै हर्कपथ भयो ।

यस्तो परिवेशमा राजनीतिमा नयाँ, सार्वजनिक रूपमा धेरै नचिनिएका, पेसागत जीवनबाट आएका हामीजस्ता थोरै मानिस मिलेर खोलेको दल राजनीतिक दलको भीडमा हराएजस्तो अनुभूति हुनु स्वाभाविक रहेछ । तर, यहीँ एउटा गम्भीर प्रश्न उठ्छ– लोकतन्त्र भीडको खेल हो कि संस्थाको ? लोकतन्त्र संख्याको मात्र प्रतिस्पर्धा हो कि गुणस्तरको ?

इतिहासले देखाउँछ– लोकप्रियता क्षणिक हुन सक्छ तर संस्था दीर्घकालीन हुन्छ । लोकतन्त्र पपुलिज्मले होइन, ढंगको राजनीतिक दलीय संरचनाले बचाउँछ । 

लोकतान्त्रिक राजनीतिक दल कस्तो ? 

लोकतान्त्रिक राजनीतिक दल केवल चुनाव जित्ने मेसिन होइन– एक संस्थागत संरचना, साझा मूल्य प्रणाली, नियममा आधारित नेतृत्व छनोट प्रक्रिया र सदस्यहरूको अर्थपूर्ण सहभागितामा आधारित संगठन हो । 

लोकतान्त्रिक राजनीतिक दलमा नेतृत्व चयन प्रतिस्पर्धात्मक र नियमित हुन्छ । असहमति अपराध होइन, शक्ति मानिन्छ । पार्टीभित्र शक्ति सन्तुलन र नियन्त्रण हुन्छ । आर्थिक गतिविधि पारदर्शी हुन्छ । नीति निर्माण व्यक्ति होइन, प्रक्रियामार्फत हुन्छ । र, निर्णय प्रक्रिया सहभागितामूलक हुन्छ ।

अमेरिकाको डेमोक्रेटिक वा रिपब्लिकन पार्टीभित्र पनि आन्तरिक बहस, गुट र मतभेद हुन्छ तर निर्णय प्रक्रिया संस्थागत छ । त्यसैले त्यहाँ नेतृत्व असफल हुँदा वा डोनाल्ड ट्रम्पजस्तो पपुलिस्ट राष्ट्रपति हुँदा पनि दल प्रणाली ध्वस्त हुँदैन । लोकतान्त्रिक दलहरू हेर्दा स्पष्ट देखिन्छ– नेतृत्व आउँछ र जान्छ तर संस्था बलियो रहन्छ । हाम्रोमा अहिलेसम्म नेताहरू अजम्बरी छन्, कुनै पनि दल संस्था बन्न सकेका छैनन् ।

हामी सैद्धान्तिक रूपमा लोकतन्त्र रुचाउने नागरिक भए पनि, व्यावहारिक रूपमा सही व्यक्ति वा आफूलाई राम्रो लागेको मान्छे सत्तामा पुग्यो भने सबै ठीक हुन्छ भन्ने सामाजिक बुझाइमा छौं । त्यसैले दलहरूभित्रको आन्तरिक लोकतन्त्र लोकतान्त्रिक शासनका लागि कति महत्त्वपूर्ण छ भन्ने कुरा हाम्रोमा ठूलो बहस र बुझाइको विषय बन्न सकेको छैन ।

वास्तवमा लोकतान्त्रिक शासनको अभ्यास दलभित्रैबाट सुरु हुन्छ । लोकतान्त्रिक दलमा मात्रै योग्य नेतृत्वले स्थान पाउँछन् । लोकतान्त्रिक दलमा व्यक्तिकेन्द्रित नेतृत्व स्थायी रूपमा विकास हुन पाउँदैन । सधैंभरि (३, ४ दशकभन्दा बढी समयसम्म) केपी ओली, प्रचण्ड, देउवाजस्ता पात्रकै जयजयकार गाइरहनु पर्दैन । दलभित्र लोकतन्त्र छैन भने त्यस्तो दलले नेतृत्व गर्ने सरकारमा लोकतन्त्र अपेक्षा गर्नु भ्रम मात्रै हो ।

लोकतान्त्रिक दल : लोकतन्त्र र समाजका आधारस्तम्भ

लोकतन्त्रको आधारभूत स्तम्भ केवल संविधान, चुनाव र सरकार होइन, लोकतान्त्रिक दलहरूको संस्थागत विकास हो । लोकतन्त्रको आत्मा राजनीतिक दलहरू हुन् । नेपालमा राजनीतिक दलहरू व्यक्तिकेन्द्रित र नाम मात्रैका छन् । त्यसैले समाज कमजोर छ, राज्य अस्थिर छ अनि हामी आम नागरिकहरू निराश छौं ।

बहुदल आएको ३६ वर्ष पुगे पनि नेपालमा लोकतन्त्र संस्थागत भइसकेको छैन । यसको प्रमुख कारण राजनीतिक दल नयाँ वा पुराना व्यक्तिकै पछाडि घुमिरहेका छन्, एउटा पनि राजनीतिक दलको संस्थागत विकास भएको छैन । आज नेपालमा देखिएको राजनीतिक वितृष्णाको मूल कारण पनि यही हो– दलहरू स्वयं लोकतान्त्रिक छैनन् ।

सपना होइन, संरचना देखाऊ

देश बनाउने सपना देखाउनु गलत होइन । तर, त्यो सपना पूरा गर्न सक्ने ढंगको राजनीतिक दल नबनाई सपना मात्रै बाँड्नु गैरजिम्मेवारी हो । पुरानाले त ढंगको (लोकतान्त्रिक चरित्र भएको) राजनीतिक दल निर्माण गरेनन्–गरेनन्, गर्ने चेष्टा पनि देखाएका छैनन् ।

म सम्मिलित जस्तै अरू पनि नयाँ राजनीतिक दलले ढंगको राजनीतिक संरचना निर्माण नगरी, त्यो संरचना सार्वजनिक रूपमै नदेखाई देश बनाउने कुरा मात्रै गर्छन् भने त्यो पुरानोभन्दा अझै खराब राजनीतिको सुरुवात हो । त्यसैले, अब खुला रूपमै बहस गरौं– ढंगको राजनीतिक दलबिना ढंगको देश बन्न सक्दैन । आजको मापदण्ड स्पष्ट हुनुपर्छ– देश बनाउने सपना बाँड्नेले पहिले गुणस्तरीय राजनीतिक दल बनाएर देखाउनुपर्छ ।

–लामिछाने गतिशील लोकतान्त्रिक पार्टीका संस्थापक सदस्य हुन् ।

जगन्नाथ लामिछाने

Link copied successfully