युवालाई जिम्मेवारी, देशको भविष्यमाथि लगानी

युवाको ऊर्जालाई संस्थागत राजनीतिमा रूपान्तरण गर्न सकियो भने यसले राष्ट्रको विकास र स्थिरतालाई तीव्र गति दिन सक्छ । यो केवल उमेरको विषय होइन, बरु नवीन विचार, कार्यशैली र दृष्टिकोणको विषय हो ।

माघ २, २०८२

पवन गौतम

Responsibility to the youth, investment in the future of the country

What you should know

युवा शक्ति कुनै पनि राष्ट्रको अमूल्य र अपरिहार्य सम्पत्ति हो । उनीहरूलाई भविष्यका कर्णधारका रूपमा मात्र सीमित राख्नुभन्दा वर्तमानका सक्रिय साझेदार भएको यथार्थलाई मनन गर्नुपर्छ । नेपाल सरकारले भर्खरै (२०८२ भदौमा) स्वीकृत गरेको राष्ट्रिय युवा नीतिअनुसार अब युवाको उमेर समूह १८ देखि ३५ वर्ष कायम गरिएको छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार त्यस उमेर समूहको जनसंख्या करिब ३०.१० प्रतिशत अर्थात् लगभग ९० लाख जनसंख्या भएको अनुमान गरिएको छ । यो जनसांख्यिक लाभांश एउटा यस्तो अमूल्य उपहार हो, जसलाई सही ढंगले परिचालन गर्न सकिएन भने यो अभिसापमा परिणत हुन सक्छ । अहिलेको तीतो यथार्थ छ– देशको मुहार फेर्न सक्ने यही शक्ति, दैनिक करिब १६०० को संख्यामा उज्ज्वल भविष्य खोज्दै विदेश पलायन भइरहेको छ ।

देशको मुहार फेर्ने सपना, नवीन विचार र नेतृत्व क्षमता बोकेका सक्षम युवाहरू सबै राजनीतिक पार्टीभित्र उपलब्ध छन् । उनीहरूको इच्छाशक्ति, विचार र क्षमताको उपयुक्त मूल्यांकन गर्दै जिम्मेवारी प्रदान गरिनुपर्छ । अनुभवी र सम्मानित अग्रज नेतृत्वहरूले अब आफ्नो भूमिकालाई अभिभावकत्व र मार्गदर्शकका रूपमा रूपान्तरण गर्दै, आफ्ना सकारात्मक अनुभव, ज्ञान र सीप सिकाउँदै, युवा वर्गमा जिम्मेवारी हस्तान्तरण गर्न ढिला गर्नु हुँदैन । यो प्रक्रियाले पुराना दलहरूलाई पनि नयाँ जीवन, ऊर्जा र वैधता प्रदान गर्छ र राजनीतिमा पुस्तान्तरणको सन्तुलन कायम गर्न मद्दत गर्छ ।

युवा नेतृत्वको आवश्यकताका पछाडि बलिया सैद्धान्तिक आधारहरू छन्, जसलाई विभिन्न राजनीतिक, सामाजिक र आर्थिक सन्दर्भले बलियो तर्कका साथ प्रस्तुत गरेका छन् । पहिलो, नयाँपन र प्रविधिसँग तादात्म्यता । युवा पुस्ता सूचना प्रविधि र बदलिँदो विश्व परिवेशसँग अभ्यस्त हुन्छन् । उनीहरूको नेतृत्वमा स्थापित संरचनाहरूमा नयाँपन, सिर्जनात्मक समाधान र युगसापेक्ष नीतिहरू निर्माण हुन्छन् ।

जटिल समस्याहरूको समाधान गर्न प्रविधिको अधिकतम प्रयोग (जस्तैः ई–गभर्नेन्स, डेटा–ड्रिभन निर्णय प्रणाली) गर्न युवाहरू सक्षम हुन्छन्, जसले प्रशासनलाई चुस्त, छिटो र पारदर्शी बनाउँछ । दोस्रो, ऊर्जा र द्रुत कार्यसम्पादन । युवाहरूमा काम गर्ने अदम्य जोस, छिटो निर्णय लिने क्षमता र जोखिम मोलेर नयाँ पहल गर्ने साहस हुन्छ । उनीहरूको आगमनले सुस्त भइसकेको राजनीतिक र प्रशासनिक प्रणालीमा नयाँ गति र स्फूर्ति प्रदान गर्छ, जुन नेपालजस्तो विकासोन्मुख देशका लागि द्रुत विकास र परिणाममुखी कार्यसम्पादनका लागि अत्यावश्यक छ । तेस्रो, विश्वसनीयता र जवाफदेहिताको मापदण्ड । वर्तमान युवा पुस्ता भ्रष्टाचार, ढिलासुस्ती र अपारदर्शिताबाट सबैभन्दा बढी वाक्क छ ।

युवाहरू नेतृत्वमा पुग्दा उनीहरूले जवाफदेहिता र पारदर्शिताको उच्च मापदण्ड स्थापित गर्ने अपेक्षा गरिन्छ किनकि उनीहरू सामाजिक सञ्जाल र डिजिटल प्लाटफर्ममार्फत सिधै जनतासँग जोडिएका हुन्छन् । देशको ठूलो जनसंख्या युवाहरूले ओगटेकाले, नीति निर्माणको निर्णायक तहमा उनीहरूको यथोचित प्रतिनिधित्व हुनुपर्छ । त्यसो नहुँदा युवाकेन्द्रित नीतिहरू (रोजगारी, शिक्षा, स्वास्थ्य, उद्यमशीलता) बन्न सक्दैनन् । युवा प्रतिनिधित्वले नीति निर्माणलाई जनताको यथार्थ र उनीहरूको आवश्यकता नजिक पुर्‍याउँछ ।

राजनीतिमा युवाको जोसलाई निर्णायक नेतृत्वमा रूपान्तरण गर्न नसक्नु नै आजको सबैभन्दा ठूलो विडम्बना हो । २०७९ को निर्वाचनमा प्रतिनिधिसभामा ४० वर्षमुनिका युवाहरूको प्रतिनिधित्व जम्मा १२ प्रतिशत मात्रै हुनुले स्थापित दलहरूले युवालाई अवसर दिन कन्जुस्याइँ गरेको स्पष्ट हुन्छ ।

यसैका कारण युवाहरूमा पुराना राजनीतिक शैलीप्रति गहिरो वितृष्णा जागेको छ । हालैका वर्षहरूमा युवामा देखिएको आक्रोशका केही कारण छन्– पुस्तान्तरणको अवरोध, जहाँ वर्षौंदेखि एउटै अनुहारले पार्टी र सरकारको नेतृत्व गरिरहेका छन् र युवालाई केवल र्‍यालीको भीड वा चुनावको कार्यकर्ताका रूपमा प्रयोग गरिँदै आएको छ ।

अर्को कारण हो– संरक्षणवाद र नातावाद । पार्टीभित्र लोकतन्त्रको अभाव छ र पद तथा अवसर वितरणमा योग्यताभन्दा नातावाद र संरक्षणवाद हाबी छ । देशमा सुशासन र विकासको कुरा गरिए पनि राजनीतिक संरक्षणमा भ्रष्टाचार झांगिँदै जाँदा युवामा आक्रोश बढेको छ । रोजगारीको अवसर नहुँदा शिक्षित युवाले विदेशिनुपर्ने बाध्यता छ । तर राजनीतिक नेतृत्वले रोजगारी सिर्जनामा ध्यान दिएको पाइँदैन । जेन–जी आन्दोलनको कारण केलाउँदा नेपालका युवा पुरानो राजनीतिक नेतृत्वसँग कुन तहको असन्तुष्टिमा थिए भन्ने स्पष्ट हुन्छ । 

फिनल्यान्डकी सन्ना मरिन (३४ वर्ष) ले शिक्षा, प्रविधि र सामाजिक कल्याणमा नवीन सुधार ल्याएर युवा उमेरमा पनि उच्च परिपक्वता र संकट व्यवस्थापन क्षमता सम्भव रहेको देखाइन् । न्युजिल्यान्डकी जसिन्डा आर्डर्न (३७ वर्ष) ले सकारात्मक राजनीति, संकट (क्राइस्टचर्च हमला, कोभिड) मा अब्बल नेतृत्व र सहानुभूतिमा आधारित इमानदारी देखाएर विश्वव्यापी प्रशंसा बटुलिन् ।

फ्रान्सका इमानुएल म्याक्रोन (३९ वर्ष) ले फ्रान्सेली राजनीतिमा पुस्तान्तरण गरी सुधारवादी आर्थिक एजेन्डा कार्यान्वयन गरे, जसले दलभित्रको जडता तोडेर नयाँ विचारको नेतृत्वलाई स्थापित गर्न सकिने सन्देश दियो । त्यसैगरी, कोस्टारिकाका कार्लोस अल्भाराडो (३८ वर्ष) ले वातावरणीय मुद्दामा विश्व नेता बनेर ग्रीन इकोनोमीमा जोड दिए । यी उदाहरणहरूले स्पष्ट पार्छन् कि युवाको ऊर्जालाई संस्थागत राजनीतिमा रूपान्तरण गर्न सकियो भने यसले राष्ट्रको विकास र स्थिरतालाई तीव्र गति दिन सक्छ । यो केवल उमेरको विषय होइन, बरु नवीन विचार, कार्यशैली र दृष्टिकोणको विषय हो ।

जिम्मेवारी हस्तान्तरणको अर्थ पुराना नेताहरूको पूर्ण बहिर्गमन नभई अनुभवी र युवा नेतृत्वबीचको सन्तुलन कायम गर्नु हो । देशलाई अनुभवी र युवा दुवै किसिमका नेतृत्वको आवश्यकता पर्छ । अनुभवी नेतृत्वको भूमिका अब सुझाव दिने, अभिभावक र संरक्षकको हुनुपर्छ । उनीहरूले युवालाई राजनीतिक प्रक्रिया, कूटनीति र जटिल प्रशासनिक ज्ञान प्रदान गर्नुपर्छ । यसको विपरीत, युवा नेतृत्वको भूमिका इन्जिनको जस्तो हुनुपर्छ । उनीहरूले नयाँ ऊर्जा, प्रविधि र पारदर्शी कार्यशैली प्रयोग गरेर नीति र योजनाहरूलाई परिणाममा रूपान्तरण गर्नुपर्छ । जब जोस (युवा) र होस (अनुभवी) को सन्तुलन कायम हुन्छ, तब मात्र देशमा सुशासन र दिगो स्थिरता सम्भव हुन्छ ।

निष्कर्षमा, अब ढिलाइ गर्नु आत्मघाती हुनेछ । युवाहरूको सडकमा पोखिएको आक्रोश, डिजिटल माध्यमबाट व्यक्त भएको असन्तुष्टि र वैदेशिक रोजगारीको लामो लाइनलाई संस्थागत राजनीतिभित्र जिम्मेवारी दिएर सकारात्मक ऊर्जामा बदल्न अत्यावश्यक छ ।

यदि स्थापित दलहरूले अब पनि युवालाई नेतृत्वमा ल्याउन कन्जुस्याइँ गरे र पुराना कार्यशैलीलाई निरन्तरता दिए भने युवाको निराशा झनै बढ्न सक्छ । जसले व्यवस्थामाथि नै संकट उत्पन्न गर्न सक्छ । दलहरूले अब युवाको विचार, क्षमता र उत्साहलाई कदर गर्दै निर्णायक तहमा पुर्‍याउनुपर्छ । युवालाई जिम्मेवारी हस्तान्तरण गर्नु भनेको देशको भविष्यका लागि गरिएको सबैभन्दा ठूलो र सुरक्षित लगानी हो ।

पवन गौतम गौतमले जेन-जीको प्रतिनिधित्व गर्छन्।

Link copied successfully