आशासँगै आशंका पनि छन्- जुन उत्साहको भीडमा दबिनु हुँदैन । लोकप्रियता आफैंमा नीति होइन । सामाजिक सञ्जालको समर्थन र भीडको तालीले चुनाव जिताउन सक्छ, तर राज्य सञ्चालनका लागि भीड होइन- दृष्टि, धैर्य र संस्थागत समझ आवश्यक पर्छ ।
नेपालको राजनीति फेरि एक पटक आशा र शंकाको दोसाँधमा उभिएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीचको सहकार्यलाई धेरैले ‘नयाँ युगको संकेत’ का रूपमा व्याख्या गरिरहेका छन् ।
दशकौंदेखि उही अनुहार, उही वाचा र उही निराशाको चक्रमा फसेको नेपाली समाजका लागि यो सहकार्य नयाँ आशाको झिल्कोका रूपमा देखिएको छ । सायद अब राजनीति केवल वंश, गुट र सत्ता साझेदारीको सीमाभित्र कैद रहने छैन भन्ने आशा बढाएको छ ।
तर यही उत्साहको भीडभित्र एउटा पुरानै, तर अझ गम्भीर प्रश्न उभिन्छ— के नयाँ अनुहार देखिनु नै परिवर्तनको सुनिश्चितता हो ?
इतिहासले हामीलाई सावधान बनाएको छ । नेपालमा ‘नयाँ’ भनिएका शक्तिहरू पहिलो पटक उदाएका होइनन् । २०४६ पछिको प्रजातान्त्रिक लहर, २०६२/६३ को जनआन्दोलन र पछिल्ला वर्षहरूमा उदाएका वैकल्पिक राजनीतिक शक्तिहरू— सबैले ‘परिवर्तन’ को वाचा बोकेर आएका थिए । तर समयक्रममा तीमध्ये धेरै उही संरचना, उही प्रवृत्ति र उही सत्ताकेन्द्रित सोचमा विलीन भएका उदाहरण प्रशस्त छन् । त्यसैले आजको आशा भावनात्मक मात्र होइन, विवेकपूर्ण हुनु जरुरी छ ।
राजनीतिक सिद्धान्तकारहरूले सधैं चेतावनी दिएका छन्— राजनीतिमा व्यक्तिभन्दा महत्त्वपूर्ण हुन्छ, विचारधारा र संस्था । म्याक्स वेबरले ‘करिस्म्याटिक’ नेतृत्वलाई शक्तिशाली तर अस्थिर मानेका थिए । करिस्माले भीड तान्न सक्छ, तर संस्थागत प्रणालीबिना त्यो दीर्घकालीन शासनमा परिणत हुन सक्दैन । आज नेपाली राजनीतिमा पनि यही परीक्षा सुरु हुँदै छ— के नयाँ नेतृत्वले करिस्माबाट संस्थातर्फ यात्रा गर्न सक्छ ? थोरै मात्रै आशा छ ।
आशा छ— वैकल्पिक राजनीतिले अब सडकको नाराबाट शासनको जिम्मेवारीतर्फ पाइला चाल्दै छ । आशा छ— जनतासँग संवाद गर्ने, प्रश्न सुन्ने, आलोचनालाई शत्रु नठान्ने र गल्ती स्वीकार गर्न सक्ने राजनीतिक संस्कारको सुरुवात हुँदै छ ।
तर आशासँगै आशंका पनि छन्— जुन उत्साहको भीडमा दबिनु हुँदैन । लोकप्रियता आफैंमा नीति होइन । सामाजिक सञ्जालको समर्थन र भीडको तालीले चुनाव जिताउन सक्छ, तर राज्य सञ्चालनका लागि भीड होइन— दृष्टि, धैर्य र संस्थागत समझ आवश्यक पर्छ ।
आज ‘पुराना अनुहार’ प्रति आक्रोश स्वाभाविक छ । ओली, प्रचण्ड, देउवा— यी नामहरू धेरै नागरिकका लागि असफलताको प्रतीक बनेका छन् । तर प्रश्न यो हो— के यी अनुहार हट्दैमा देश स्वतः सही दिशामा अघि बढ्छ ? कि उनीहरूले छोडेको खाली स्थानमा उही शैली, उही केन्द्रीकृत शक्ति र उही सत्तालोभ नयाँ नाम र नयाँ भाषामा फर्कने खतरा अझै बाँकी छ ?
समस्या व्यक्ति मात्र थिएन । समस्या त्यो राजनीतिक संस्कारमा थियो— जहाँ संस्थाभन्दा व्यक्ति बलियो हुन्छ, नीतिभन्दा सम्झौता प्रधान हुन्छ र उत्तरदायित्वभन्दा लोकप्रियता महत्त्वपूर्ण ठानिन्छ । यदि नयाँ शक्ति पनि निर्णयभन्दा प्रचारमा, नीतिभन्दा नारामा र दीर्घकालीन योजनाभन्दा तत्कालीन लोकप्रियतामा अल्झिरह्यो भने परिवर्तन फेरि पोस्टर र भाषणमै सीमित हुनेछ ।
यहाँ राजनीतिक विचारधाराको प्रश्न पनि उठ्छ । नेपालको पुरानो राजनीति स्पष्ट वैचारिक ध्रुवमा बाँडिएको थियो— वामपन्थी, लोकतान्त्रिक र राजावादी धार । तर पछिल्लो पुस्ताको वैकल्पिक राजनीति वैचारिक घोषणाभन्दा ‘प्रदर्शन’ मा केन्द्रित देखिन्छ । यो आधुनिक विश्व राजनीतिसँग मेल खाने प्रवृत्ति हो । हन्ना एरेन्टले चेतावनी दिएकी थिइन्— यदि राजनीति केवल प्रशासनिक दक्षतामा सीमित भयो भने त्यसले मूल्य र आदर्शको प्रश्नलाई कमजोर बनाउँछ । शासन चल्न सक्छ, तर दिशा हराउन सक्छ ।
भू–राजनीतिक सन्दर्भ पनि बेवास्ता गर्न सकिँदैन । नेपाल उदाउँदै गरेका दुई महाशक्तिबीच अवस्थित सानो राष्ट्र हो । भारत–चीनको शक्ति सन्तुलन, पश्चिमी प्रभाव र क्षेत्रीय प्रतिस्पर्धाले हाम्रो आन्तरिक राजनीतिमा प्रत्यक्ष असर पार्छ । हेरनी किसिन्जरले भनेझैं, सानो राष्ट्रको नेतृत्वले भावनाभन्दा रणनीतिक समझमा आधारित निर्णय लिनुपर्छ । नयाँ राजनीतिक शक्तिहरूमा त्यो कूटनीतिक परिपक्वता विकसित भएको छ कि छैन— यो प्रश्न अझै खुला छ ।
आज जनतामा अपेक्षा अत्यन्त ठूलो छ । यो अपेक्षा राजनीतिक शक्तिका लागि अवसर पनि हो, चेतावनी पनि । आज जसलाई विश्वासको मत दिइँदै छ, भोलि त्यही अपेक्षाले सबैभन्दा कठोर प्रश्न सोध्नेछ । त्यो दिन सामना गर्न सक्ने राजनीतिक परिपक्वता तयार छ कि छैन— यही नै निर्णायक हुनेछ ।
राजनीतिक चेतना भनेको सबै कुराको विरोध गर्नु होइन, न त भावनामा बगेर सामाजिक सञ्जालमा नारा लगाउनु हो । सन्दर्भ नबुझी, अध्ययनबिनाको आलोचना चेतना होइन— आत्मविश्वाससहित प्रस्तुत गरिएको अज्ञानता मात्र हो । म जेन–जीको विरोधी होइन । म राजनीतिक शिक्षा र समझदारीबिना फैलाइने राजनीतिक हल्लाको विरोधी हुँ ।
देशमा परिवर्तन चाहिन्छ भने, नयाँ अनुहारसँगै नयाँ सोच, नयाँ भाषासँगै नयाँ जिम्मेवारी र नयाँ नेतृत्वसँगै संस्थागत इमानदारी अनिवार्य छ ।
त्यसैले आजको निष्कर्ष स्पष्ट छ— समर्थन छ, तर प्रश्नसहित । उत्साह छ, तर अन्धभक्तिबिनाको । आशा छ, तर चेतनासहितको । नयाँ राजनीति सफल होस् भन्ने चाहना सबैको हो । तर त्यो सफल हुन अनुहारभन्दा ठूलो हुनुपर्छ— नीति, नियत र निडरता ।
