दलहरूको दलदलबाट जोगाएर यो देशको रूपान्तरण गर्न युवा पुस्ता चुनावमा सहभागी हुनुपर्छ, अब युवा पुस्ता खेलौना होइन, खेलाडीका रूपमा प्रमाणित हुनुपर्छ ।
What you should know
राजा, राणा, पञ्चायत, बहुदल हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दासम्म फरक–फरक नेतृत्वकर्ताले देशको नेतृत्व गर्दै आए । तमाम उतारचढाव, संघर्ष र बलिदानको हरेक मोडमा युवा शक्तिको भूमिका निर्णायक रहँदै आएको छ ।
जनताले एकपछि अर्को आवश्यकतालाई महसुस गर्दै शासन शक्तिसँग विद्रोह गरेर देशलाई उत्तम व्यवस्थातिर देशलाई डोहोर्याउँदै लगेका छन् । हरेक परिवर्तनको अग्रपंक्तिमा युवा उभिएका छन् । तर विडम्बना ऐतिहासिक परिवर्तनपछि बनेको संस्थामा युवाको भूमिका कमजोर देखिने गरेको छ । बरु केही सीमित व्यक्ति र समूहले फाइदा लिने गरेको देखिन्छ ।
जेन–जी आन्दोलनपछि नागरिक सरकार गठन गर्ने पहलस्वरूप २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो । जेन–जी आन्दोलनको जगमा सरकार त गठन भयो तर त्यहाँ पनि युवा पुस्ताको उल्लेखनीय सहभागिता गराउन सकिएको छैन ।
आजको युवा पुस्ता राजनीति मञ्चको दर्शक मात्र होइन, शासन शक्तिको सशक्त हस्तक्षेपकारी सहभागिता हो । हरेक पटक राजनीतिक दलहरूले ढुंगा हान्न, टायर बाल्न, रेलिङ तोडन र बन्द–हडताल गर्न सिकाए । अबको पुस्ताले बन्दले देश बन्दैन, नेपाल खुला छ, युवा अघि बढ्छ, देश अघि सर्छ भन्ने जनचेतना जगाउन खोज्दै छ । र, अब विकल्प खोज्ने होइन, आफैं विकल्प बन्ने समय आएको छ ।
लामो समयसम्म नेपालमा जात, वर्ग, धर्म र क्षेत्रको नाममा राजनीति भयो तर सत्तामा पुग्ने साधन मात्र बन्यो । सम्बन्धित समुदायको समस्या यथावत् रहे । आजको पुस्ताले कस्तो देशमा बाँच्न चाहन्छु भन्ने प्रश्नसमेत सोधिरहेको छ । यही प्रश्नले नयाँ राजनीतिक चेतको जन्म गराएको छ ।
नेपाल प्राकृतिक स्रोत, युवा जनशक्ति, कृषियोग्य जमिन, औद्योगिक विविधता, सांस्कृतिक सम्पदाले भरिपूर्ण देश हो । तर यति धेरै सम्भावनाका बाबजुद पनि देशको नेतृत्व पंक्तिको दूरदृष्टिको अभावका कारण नीतिगत अस्थिरता, कुशासन र भ्रष्टाचार, शिक्षा र उत्पादनबीचको असन्तुलन, युवा पलायन र निराशाले पछाडि परिरहेको छ । दशकौंदेखि सत्ता र शक्ति परिवर्तनलाई उपलब्धि मानियो तर प्रणालीगत सुधारलाई प्राथमिकता दिइएन । यही चक्रले देशलाई अगाडि बढ्न दिइरहेको छैन ।
जब नागरिकमा आशा मर्छ, तब त्यो देश हार्छ । यदि सचेत युवाले सही मुद्दा बोकेर राजनीतिमा संगठित हस्तक्षेप गर्ने हो भने हाम्रै जीवनकालमा देश रूपान्तरण सम्भव छ । अबको युवा आन्दोलन नारामा मात्र सीमित हुनु हुँदैन । जिम्मेवार हिसाबले नीति, योजना र व्यवहारमा स्पष्ट दृष्टिकोण राख्दै दूरदर्शी हिसाबले वैकल्पिक दलहरूलाई मिलाउँदै युवा प्रतिनिधिलाई यो देशको नेतृत्व गर्न सहजीकरण गरिनुपर्छ । साथै, तपसिलका मुद्दामा अबको नेतृत्वले काम गर्नुपर्छ, युवासँग यी राजनीतिक मुद्दा हुनैपर्छ–
सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता : संस्कृतिका रूपमा स्थापित भ्रष्टाचारलाई अपराधीकरण गर्नुपर्छ । डिजिटल, खुला सूचना प्रणाली, पारदर्शिता हिसाबको कडा कानुन बनाएर कार्यान्वयनमा केन्द्रित हुनुपर्छ ।
रोजगारी र उद्यमशीलता : कृषि, पर्यटन, जलविद्युत्, सूचना प्रविधि र उद्योगहरूमा लगानी बढाउनुपर्छ । उद्यमशीलताका लागि युवालाई सहजीकरण गर्नुपर्छ । युवाहरूको विदेश पलायन बाध्यता होइन, रोजाइ बनाउने वातावरण निर्माण गर्नुपर्छ ।
नि:शुल्क र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य : डिग्री उत्पादन मात्रै ध्यान दिनु हुँदैन । सीप र नवप्रवर्तन केन्द्रित शिक्षालाई केन्द्रमा राखिनुपर्छ । स्वास्थ्य बिमालाई अझ बढी प्रभावकारी बनाइनुपर्छ । विद्यालय र अस्पतालमा राज्यको लगानी केन्द्रित गर्नुपर्छ ।
स्थानीय सरकार सुदृढीकरण : विकास र निर्णयलाई गाउँ नगरमै केन्द्रित गर्नुपर्छ । युवा नेतृत्व स्थानीय तहबाटै उत्पादन गरी राष्ट्रको नेतृत्वसम्म पुग्ने अवसरका ढोका खोल्नुपर्छ ।
समावेशी तर क्षमता आधारित राजनीति : वर्ग र क्षेत्रको सम्मान गर्दै योग्यता, अनुभव र क्षमताअनुसार प्राथमिकता दिने प्रणालीको विकास गर्नुपर्छ ।
वातावरण र दिगो विकास : जलवायु परिवर्तनको सबैभन्दा ठूलो असर युवा पुस्ताले भोग्नेछ । त्यसैले वातावरणीय न्यायको एजेन्डासमेत युवाको एजेन्डा हुनुपर्छ ।
‘युवा अघि सर्छ भने देश अघि बढ्छ’– यो वाक्य नारा मात्र होइन, ऐतिहासिक सत्य हो । अहिलेको पुस्ताले पुराना दलका गल्ती र असफलताबाट पाठ सिक्ने हो, उनीहरूलाई विगतका गल्ती दोहोर्याउने छुट छैन । नयाँ बाटो बनाउन निर्णय गर्ने मोडमा जेन–जी विद्रोहले पुर्याएको छ ।
अब सचेत युवा जाग्नुपर्छ, तयार रहनुपर्छ । राजनीति अब गुट, जात वा अनुहारको खेल हुनु हुँदैन । नीति, पद्धति, नैतिकता, इमानदारिता उत्कृष्टता र नतिजाको खेल हुनुपर्छ । यसमा नयाँ पुस्ताको अझ बढी अहम् भूमिका रहन्छ । त्यसैले, दलहरूको दलदलबाट जोगाएर यो देशको रूपान्तरण गर्न युवा पुस्ता चुनावमा सहभागी हुनुपर्छ । अब युवा पुस्ता खेलौना होइन, खेलाडीका रूपमा प्रमाणित हुनुपर्छ ।
