तत्काल राष्ट्रिय सभा बैठक अपरिहार्य

नयाँ–पुराना सबै दलहरूले संविधान संशोधनको स्पष्ट मार्गचित्र लिएर निर्वाचनमा जाँदा मात्रै नयाँ बन्ने प्रतिनिधिसभाले संविधान संशोधनसहित राजनीतिक संकटको दीर्घकालीन समाधान दिन सक्छ ।

पुस १, २०८२

राजेन्द्र फुयाल

Immediate National Assembly meeting is essential

What you should know

हरेक राजनीतिक संकटमा खोजिने समाधानको बाटोले राजनीतिकर्मीलाई मात्रै होइन, संवैधानिक संस्थाहरूलाई पनि नयाँ भूमिका स्थापित गर्ने मौका दिन्छ ।

सडकमा अभिव्यक्त युवाको मागसमेत सम्बोधन हुने गरी निकट भविष्यमै गरिने संविधान संशोधनको मार्गचित्र तय गर्न राष्ट्रिय सभाले अहम् भूमिका खेल्न सक्छ । संकटका बेला प्रतिनिधिसभा नभए राष्ट्रिय सभाले अन्तरिम सरकार बनाएर मुलुकलाई निर्वाचनमा लैजाने व्यवस्था संविधान संशोधनमा समेट्न सकिन्छ । नियमित आम निर्वाचनका लागि पनि तटस्थ सरकारको आवश्यकता पर्दा राष्ट्रिय सभा सदस्यको नेतृत्वमा नागरिक समाजका प्रतिनिधि सम्मिलित अन्तरिम सरकार गठनको संवैधानिक बाटो खोल्ने विकल्पमा समेत सार्थक छलफल आवश्यक छ । 

गत भदौ २३ र २४ को उथलपुथलपछि गठित अन्तरिम सरकार, प्रतिनिधिसभा विघटन र २०८२ फागुन २१ का लागि घोषित निर्वाचनविरुद्ध परेका रिटहरूमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासले ‘कारण देखाऊ’ आदेश जारी गरेको छ । संविधानसभाले २०७२ असोज ३ गते जारी गरेको संविधान कार्यान्वयनमा आएपछि मात्रै प्रतिनिधिसभा विघटन भएको यो तेस्रो घटना हो । अघिल्लो प्रतिनिधिसभालाई २०७७ पुस ५ र २०७८ जेठ ८ गते विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई दुवै पटक सर्वोच्च अदालतले असंवैधानिक घोषित गरेको थियो । २०७९ मंसिर ४ गते सम्पन्न दोस्रो प्रतिनिधिसभा निर्वाचनबाट ५ वर्षका लागि चुनिएका सदस्यहरूको नियमित कार्यकाल दुई वर्षभन्दा बढी बाँकी थियो । यो आलेख प्रतिनिधिसभा विघटनको कानुनी पक्षमा नभई तल्लो सदनको रिक्ततामा माथिल्लो सदनले खेल्न सक्ने र खेल्नुपर्ने भूमिकामा केन्द्रित छ । 

राष्ट्रिय सभा : भ्रम र वास्तविकता

पहिलो पटक संघीय प्रणाली अवलम्बन गर्दै नेपालको संविधानले संघमा दुई सदनात्मक र प्रदेशहरूमा एक सदनात्मक व्यवस्थापिकाको स्थापना गरेको छ । संविधानको धारा ८३ मा प्रतिनिधिसभा र राष्ट्रिय सभालाई संयुक्त रूपमा ‘संघीय संसद्’ भनिएको छ । संघीय कानुन निर्माणमा यी दुवै सदनको भूमिका अपरिहार्य छ । कुनै एक सदनको उपस्थिति र भूमिकाबिना अर्को सदन एक्लैले कुनै पनि कानुन निर्माण गर्न सक्दैन । तसर्थ प्रतिनिधिसभा विघटित भएको अहिलेको अवस्थामा राष्ट्रिय सभाको विधायकी भूमिका स्वाभाविक रूपमै स्थगित हुन्छ । त्यसो भए प्रतिनिधिसभाको अनुपस्थितिमा राष्ट्रिय सभाको कुनै काम छैन त ? अवश्य छ । 

प्रतिनिधिसभाको अनुपस्थितिमा पनि संविधानको सीमाभित्र क्रियाशील भई राष्ट्रिय सभाले तत्कालको राजनीतिक संकट समाधानमा लोकतन्त्रको पहरेदार र निकट भविष्यमा गर्नुपर्ने संविधान सुधारको मार्गदर्शकको भूमिका स्थापित गर्न सक्छ । यसको थालनी जेन–जी उमेर समूहका युवादेखि देशका विभिन्न वर्ग, क्षेत्र र समुदायलाई आफैंले संवादमा डाकेर संसदीय प्रक्रियाप्रति विश्वास जगाउने काम गर्नु उपयुक्त हुन्छ । निर्वाचनको वातावरण बनाउने सार्थक प्रयास, संविधान सुधारका बहुआयामिक पक्षमाथि वस्तुपरक छलफल, संविधान कार्यान्वयनको सार्थक समीक्षा गर्ने वैधानिक थलोका रूपमा राष्ट्रिय सभा सर्वस्वीकार्य निकाय हुन सक्छ । 

सदन बस्न सक्छ, तत्कालै बस्नुपर्छ

संविधानको धारा ९३ ले संघीय संसद्को दुवै वा कुनै एक सदनको अधिवेशन बस्न सक्ने र दुई अधिवेशनबीचको फरक ६ महिनाभन्दा बढी नहुने स्पष्ट व्यवस्था गरेको छ । तसर्थ प्रतिनिधिसभा विघटित रहेको अवस्थामा पनि राष्ट्रिय सभाको अधिवेशन बस्न सक्छ । तर, यस्तो अधिवेशन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट आह्वान हुनपर्ने संवैधानिक प्रावधान छ । प्रतिनिधिसभामा जस्तो एक चौथाइ सदस्यले अधिवेशन आह्वानका लागि लिखित अनुरोध गर्न सक्ने सुविधा भने राष्ट्रिय सभाका लागि उपलब्ध छैन । प्रतिनिधिसभाविहीनताको अवस्थामा जनआकांक्षाको अभिव्यक्ति र राजनीतिक संवादको संस्थागत थालनीका लागि सरकारले उपयुक्त समयमै राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुपर्छ । यसका लागि सभाको नेतृत्व, सभामा प्रतिनिधित्व गर्ने दल र यसका सदस्यहरूले सरकारलाई घचघच्याउन सक्छन् । यसअघि पनि प्रतिनिधिसभा विघटनका बेला छोटो समयका लागि राष्ट्रिय सभा अधिवेशन बसेको दृष्टान्त छ । यद्यपि अहिलेको परिस्थिति भने फरक छ । 

हाम्रो छिमेकी भारतीय लोकतन्त्रले संकटकाल र लोकसभा विघटनका अवस्थामा पनि माथिल्लो सदन राज्यसभा अविच्छिन्न रहने अभ्यास स्थापित गरेको छ । सन् १९७७ को संकटकाल, लोकसभा विघटन, तल्लो सदनको नयाँ निर्वाचन (परिणाम घोषणाअघि मात्रै संकटकाल हटाइएको) का समयमा पनि माथिल्लो सदन राज्यसभा आंशिक रूपमा सक्रिय थियो । नियमित विधायनी विषयमा प्रवेश नगरी उसले संकटकालको स्थिति, नागरिक अधिकार, प्रेस स्वतन्त्रता जस्ता महत्त्वपूर्ण विषयमा छलफल गरेको थियो । त्यसको निष्कर्षले भारतीय संविधान सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको थियो । दोस्रो विश्वयुद्धको तबाहीबीच पनि बेलायती संसद् नरोकिएको दृष्टान्तले त संकटका समयमा लोकतान्त्रिक संस्था र जनप्रतिनिधिको महत्त्व दर्शाउँछ । 

स्थायी सदनको औचित्य

हाम्रोमा पनि संविधान निर्माताहरूले स्थायी सदनका रूपमा राष्ट्रिय सभाको व्यवस्था गर्दा नै ‘देशमा कुनै समय असाधारण अवस्था सिर्जना हुन सक्छ’ भन्ने कल्पना गरेको देखिन्छ । त्यसैको अभिव्यक्तिका रूपमा संविधानको धारा २७३ को उपधारा ८ लाई हेर्न सकिन्छ । जसअनुसार, संकटकाल अनुमोदनका सन्दर्भमा प्रतिनिधिसभा विघटित भएको अवस्थामा राष्ट्रिय सभाले नै सिंगो संघीय संसद्को अधिकार प्रयोग गर्छ । देशमा कुनै पनि बेला उत्पन्न हुन सक्ने संकटकालीन अवस्थाको व्यवस्थापन पनि जनप्रतिनिधिले नै गर्ने हो । अर्थात् संविधानले कुनै पनि संसद्विहीनताको कल्पना गरेको छैन । अहिलेको अवस्था पनि देशमा संसद् विघटन होइन, प्रतिनिधिसभा विघटन भएको हो । स्थायी सदनका रूपमा राष्ट्रिय सभा छ । माथिल्लो सदनको अधिवेशन नबसेका बेला पनि यसअन्तर्गतका समितिहरू क्रियाशील हुन सक्छन् । कोरोना महामारीका समयमा पनि हामीले त्यस्तो अभ्यास गरेका छौं । 

देशमा विद्यमान विषम परिस्थितिलाई मध्यनजर गरी राष्ट्रिय सभा अधिवेशनको ठोस कार्यतालिका तयार पारी छोटो समयका लागि मात्रै अधिवेशन आह्वान गर्ने मध्यमार्गी बाटो उपयुक्त हुन्छ । यस्तो अधिवेशनले मुलुकमा उत्पन्न विषम परिस्थितिबारे गम्भीर विमर्श गर्ने र अत्यावश्यक प्रस्तावहरू पारित गर्ने पूर्वप्राथमिकता तय गर्न सक्छ । राजनीतिक निकासका लागि सम्भावित मार्गचित्रबारे संकल्प प्रस्ताव र अन्य समसामयिक विषयमा जरुरी सार्वजनिक महत्त्वका प्रस्तावहरूमा सर्वपक्षीय सहमतिका लागि यसका विज्ञ सदस्य व्यक्तिगत र सामूहिक रूपमा सक्रिय हुन सक्छन् । 

२०७२ को महाभूकम्पका बेला तत्कालीन व्यवस्थापिका संसद्ले उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणबारे पारित गरेको संकल्प प्रस्तावलाई उदाहरणका रूपमा लिन सकिन्छ । राष्ट्रिय विपद्का बेला सदनबाट सुरु भएको यस्तो पहलकदमीले परस्परविरोधी राजनीतिक अडानबीच मध्यमार्गी संविधान जारी गर्ने समझदारीको वातावरण बनाएको थियो । 

समितिको सक्रियता

संसद्को कार्यशालाका रूपमा मात्रै होइन, सदनको अधिवेशन नबसेका बेला सक्रिय रहने सुविधा संसदीय समितिहरूलाई छ । प्रतिनिधिसभाको विघटनका कारण दुवै सदनका संयुक्त समितिहरूसमेत स्वतः विघटित छन् । तर, स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभाका चारवटा समितिहरू पनि स्थायी छन् । प्रत्येक दुई वर्षमा पुनर्गठित र पुनर्ताजगी हुने यी समितिले आफ्नो औचित्य स्थापित गर्ने यो महत्त्वपूर्ण अवसर हो । 

राष्ट्रिय सभाका समितिहरूले विगतमा पनि सरोकारवालालाई औपचारिक बैठकमै डाक्नेदेखि आफ्नो विधायकी कार्यमा समेत प्रदेशसभाका सदस्य र स्थानीय तहसँग प्रतिनिधिमूलक परामर्श गर्ने अभ्यास गरेका छन् । संघीयता कार्यान्वयनका सन्दर्भमा विशेष समिति बनाएर गरिएको देशव्यापी छलफल र अध्ययनलाई नजिर मानेर संविधान परिमार्जनका अन्तरवस्तुमा छलफल थाल्न सकिन्छ । राष्ट्रिय सभाको समितिमार्फत संविधान कार्यान्वयनको अध्ययन र मापनका आधारमा तयार गरिने प्रतिवेदनले संविधान संशोधनको सर्वस्वीकार्य आधार तयार पार्न सक्छ ।

संविधान संशोधनको मार्गचित्र 

संविधानमा यस्ता कतिपय प्रावधान छन्, जसको संशोधनमा सजिलै राष्ट्रिय सहमति बन्न सक्छ । उदाहरणका लागि अमेरिका र छिमेकी भारतमा जस्तो उपराष्ट्रपतिले नै माथिल्लो सदनको अध्यक्षता गर्ने गरी अति विशिष्ट पदाधिकारीको संख्या घटाउनुपर्छ भन्नेमा अहिले नै आमसहमति देखिन्छ । यससम्बन्धी संशोधन गर्दा नेपालको मौलिकतामा राष्ट्रिय सभाको अध्यक्ष नै ‘पदेन उपराष्ट्रपति’ हुने व्यवस्था पनि गर्न सकिन्छ । व्यक्तिगत रूपमा मलाई दोस्रो विकल्प उपयुक्त लाग्छ । 

संविधानको धारा २८० ले राष्ट्रपति र उपराष्ट्रपति दुवै पद रिक्त भए राष्ट्रपति वा उपराष्ट्रपतिको नयाँ निर्वाचन भई कार्यभार नसम्हालेसम्मका लागि प्रतिनिधिसभा सभामुखले संविधान अनुसार राष्ट्रपतिले गर्ने काम गर्ने व्यवस्था छ । तर, प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएका कारण सभामुख पदसमेत रिक्त भएको अवस्थामा कार्यवाहक राष्ट्राध्यक्षको आवश्यकता परे के गर्ने भन्नेमा संविधान मौन छ । यसको अर्थ राजनीतिक संकट व्यवस्थापनका लागि मात्रै होइन, कार्यान्वयनमा देखिन सक्ने सम्भावित चुनौतीसमेतलाई मध्यनजर गरी संविधानको वस्तुनिष्ठ समीक्षा आवश्यक छ । यो काम प्रतिनिधिसभाको राजनीतिक सरगर्मीमा होइन, राष्ट्रिय सभाका सदस्यहरूले राख्नुपर्ने राष्ट्रिय दृष्टिकोण र परिपक्वताका आधारमा गर्न सकिन्छ । संविधानको धारा २८० ले सभामुखलाई दिएको अधिकार राष्ट्रिय सभाका ज्येष्ठ सदस्यलाई दिनु उपयुक्त हुन्छ, जुन पद कहिल्यै रिक्त हुँदैन ।

सरकार र निर्वाचन आयोगले चुनावको तयारी गरिरहेकै बेला राष्ट्रिय सभाले संविधानको समग्र समीक्षा र संशोधनको मार्गचित्र तयार गर्न सके नयाँ, पुराना सबै शक्तिलाई आ–आफ्ना एजेन्डा प्रस्ट पार्न सहयोग पुग्छ र कर पनि लाग्छ । शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीयताको स्वरूप र जनप्रतिनिधिको संख्या जस्ता विषयमा विचार मिल्नेहरूले निर्वाचनअघि नै मोर्चाबन्दी गरी सार्थक परिणामको प्रयास गर्ने मौका पाउँछन् । अर्कोतर्फ निर्वाचनअघि गरिने यस्तो प्रतिबद्धताले संविधानको सार्थक विकास, लोकतन्त्रको सुदृढीकरण र शान्तिपूर्ण शक्ति हस्तान्तरण सुनिश्चित गर्न मद्दत गर्छ । यस्तो प्रयासले निर्वाचनपछि सहज रूपमा बहुमतको सरकार बनाउन, वैचारिक निकटताका आधारमा गठबन्धन चलाउन, राजनीतिक निकासका लागि मध्यमार्गी समाधान खोज्न पनि सहयोग पुर्‍याउँछ । 

पहिलो संविधानसभा निर्वाचनअघि तत्कालीन सात राजनीतिक दलले गरेको गणतन्त्र कार्यान्वयनसम्बन्धी निर्णयलाई यहाँ सान्दर्भिक उदाहरणका रूपमा हेर्न सकिन्छ । निर्वाचनअघि नै उनीहरूले संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको औपचारिक बिदाइ गर्ने प्रतिबद्धता जनाएका कारण गणतन्त्रका विषयमा जनमतसंग्रहको आवश्यकतै परेन । अर्थात् सात दलमध्ये जसले जति सिट जितेको भए पनि त्यो गणतन्त्रका पक्षमा प्राप्त मत मानियो भने ६०१ सदस्यीय संविधानसभामा राजतन्त्र पक्षधर राप्रपा नेपालले जम्मा ४ सिट प्राप्त गरेको थियो । जसले गर्दा अन्तरिम संविधानको प्रावधान अनुसार नयाँ संविधान नबन्दै सहज रूपमै गणतन्त्र कार्यान्वयन सम्भव भएको थियो । 

अस्थिरताको नयाँ अध्याय

प्रधानमन्त्रीको ‘म्युजिकल चेयर’ हेर्दाहेर्दा वाक्क भएर पनि होला, झट्ट हेर्दा धेरैलाई सरकार परिवर्तन र राजनीतिक अस्थिरता उस्तै लाग्छ । तर, यी नितान्त फरक विषय हुन् । लामो समय एउटै सरकार रहँदा पनि त्यहाँ राजनीतिक स्थायित्व नहुन सक्छ । कतिपय बहुआयामिक द्वन्द्वग्रस्त मुलुकका बलिया शासकलाई यसको उदाहरणका रूपमा हेर्न सकिन्छ । अर्कोतर्फ जापानमा जस्तो छिटो–छिटो सरकार परिवर्तन भएर पनि राजनीतिक स्थिरता भएका विकसित मुलुकहरू छन् । हाम्रो सन्दर्भमा संविधानसभाले जारी गरेको संविधान कार्यान्वयनमा आए पनि देशले राजनीतिक स्थिरता पाएको थियो । 

हो, यसबीच पनि सरकारको स्थिरता भने थिएन । दस वर्षमा जति पटक सरकार फेरिए पनि प्रधानमन्त्री भएका तीन दलका तीन जना नेता (एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) मात्रै हुन् । पहिलो प्रतिनिधिसभा नै दुई–दुई पटक विघटन गरिए पनि सर्वोच्च अदालतले त्यसलाई बदर गरिदिएको थियो । संसद्ले सरकार नै बनाउन नसकेको अवस्थाबाहेक प्रतिनिधिसभाको मध्यावधि निर्वाचनलाई सर्वोच्चले निषेध गरेको हो । तर, सुशासनको मागमा सुरु भएको जेन–जी विद्रोहको बैठक प्रतिनिधिसभा विघटनमा भएको छ । 

सरकार गठनसम्बन्धी संविधानको कुनै पनि धाराले प्रतिनिधिसभाको सदस्यबाहेकलाई प्रधानमन्त्री नियुक्त हुने बाटो दिएको छैन । तर, पृष्ठभूमिमा उल्लिखित विशेष अवस्थामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम सर्वस्वीकार्य भयो । अबको शासकीय स्वरूप यथावत् रहने कि प्रत्यक्ष निर्वाचित कार्यकारीतर्फ लाग्ने भन्नेमा जेन–जी उमेर समूहका युवाहरू मात्रै होइन, राजनीतिमै कपाल फुलाएको प्रौढ पुस्ता पनि विभाजित छ । राणाशाहीविरुद्धको २००७ को क्रान्तिदेखि सुरु भएको शासकीय स्वरूपको बहस संविधानसभाले सुधारिएको संसदीय व्यवस्थामा टुंग्याएको हो । बहुलवादी लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता जस्तै संघीयता पनि सार्वभौम जनप्रतिनिधिले बनाएको संविधानको आधारभूत स्तम्भ हुन् । अस्थिरताको आरोप खेपेको शासकीय स्वरूपदेखि बोझिलो र खर्चिलो देखिने संघीयतासम्मका संविधानसभाकालीन बहस अब ब्युँतिएका छन् । हो, अबचाहिँ मुलुक अस्थिरतामा प्रवेश गरेको छ । देशको इतिहास, राजनीतिक संस्कृति, आन्तरिक शक्ति सन्तुलन र भूराजनीतिलाई अनदेखा गरेर शासकीय स्वरूपको अन्तर्य बुझन् सकिँदैन । 

आपत्‌कालीन सरकार गठनको ढोका

जेन–जी विद्रोह लगत्तैको जस्तो संकटमा प्रतिनिधिसभा बाहिरबाट अन्तरिम सरकार गठन गर्न सकिने वैकल्पिक व्यवस्था अबको संविधान संशोधनमा समेट्नु उत्तिकै आवश्यक छ । नियमित आमनिर्वाचनका लागि पनि तटस्थ अन्तरिम सरकारको आवश्यकता पर्दा राष्ट्रिय सभा सदस्यको नेतृत्वमा नागरिक समाजका प्रतिनिधि सम्मिलित अन्तरिम सरकार उपयुक्त विकल्प हुन सक्छ ।

भारतमा सन् २००४ देखि २०१४ सम्म कंग्रेस आई नेतृत्वको गठबन्धन सरकारका प्रधानमन्त्री रहेका डा. मनमोहन सिंह सन् १९९१ देखि २०१९ सम्मै माथिल्लो सदन राज्यसभा सदस्य थिए । सन् १९६६ मा पहिलो पटक प्रधानमन्त्री नियुक्त हुँदा इन्दिरा गान्धी पनि राज्यसभाकै सदस्य थिइन् । सन् १९६४ देखि १९६७ सम्म राज्यसभा सदस्य रहकी गान्धी त्यसपछि मात्रै लोकसभा सदस्यमा निर्वाचित भएकी हुन् । सन् १९९७ मा छोटो समय प्रधानमन्त्री भएका आई. के. गुजराल पनि राज्यसभा सदस्य नै थिए । नेपालको सन्दर्भमा भारतमा जस्तो नियमित अवस्थामा नभई निर्वाचन वा अन्य विशेष अवस्थामा मात्रै माथिल्लो सदनबाट सरकार गठन गर्ने मौलिक प्रणालीको विकल्पमा छलफल गर्नु आवश्यक छ । 

सरकार गठनको वैकल्पिक प्रबन्ध, निर्वाचन प्रणालीदेखि जनप्रतिनिधिको संख्या कटौतीसम्मका यावत् विषयमा राष्ट्रिय सभा र यसअन्तर्गतका समितिहरूले तत्कालै सार्थक संवाद र छलफल थाल्नुपर्छ । जेन–जी मात्रै होइन, जेन–अल्फा उमेर समूहका युवासँग समेत खुला र अर्थपूर्ण छलफल गरी संविधान संशोधनको मार्गचित्रमा राजनीतिक दलहरूलाई समेत मार्गदर्शन गर्नु स्थायी सदनको कर्तव्य हो । यस्तो छलफलबाट निस्कने निष्कर्षले एजेन्डा छनोटमा दलहरूलाई मात्रै होइन, आमनिर्वाचनका बेला आमनागरिकलाई समेत सहयोग पुग्छ । नयाँ–पुराना सबै दलहरूले संविधान संशोधनको स्पष्ट मार्गचित्र लिएर निर्वाचनमा जाँदा मात्रै नयाँ बन्ने प्रतिनिधिसभाले संविधान संशोधनसहित राजनीतिक संकटको दीर्घकालीन समाधान दिन सक्छ । 

– अधिवक्ता फुयाल राष्ट्रिय सभाका पूर्वसचिव हुन् ।

राजेन्द्र फुयाल

Link copied successfully