अवकाशपछि मानसिक स्वास्थ्य

सकारात्मक दृष्टिकोण, परिवार र समुदायको सहकार्य, मानसिक स्वास्थ्यप्रति सचेतना र सक्रिय सहभागिताले अवकाशपछि पनि वृद्धहरूको जीवन स्वस्थ, खुसी र अर्थपूर्ण बनाउन सक्छ ।

मंसिर २५, २०८२

प्रवीणराज पाण्डे

Mental health after retirement

वर्षौंको मिहिनेतपछि प्राप्त आरामदायी समय हो– अवकाश । यो आफ्नै रुचिअनुसार काम गर्ने, परिवारका सदस्यसँग समय बिताउने र विश्राम गर्ने समय पनि हो । तर, धेरैका लागि अवकाश केवल दिनचर्या परिवर्तन होइन, यसले भावनात्मक र मानसिक चुनौती पनि ल्याउन सक्छ ।

नेपालको सन्दर्भमा वृद्ध जनसंख्या तीव्र बढ्दै छ । २०७८ को जनगणनाअनुसार, ६० वर्ष र सोभन्दा माथिका करिब २९ लाख व्यक्ति छन्, जुन कुल जनसंख्याको १० प्रतिशतभन्दा धेरै हो । वृद्धहरूको जनसंख्या वृद्धिसँगै अवकाशपछि मानसिक स्वास्थ्यको महत्त्व बढ्दो छ ।

अवकाश मानव जीवनको एउटा स्वाभाविक तर महत्त्वपूर्ण मोड हो । यसले मानिसको पहिचान, उद्देश्य र आत्ममूल्यलाई पुनःपरिभाषित गर्छ ।

वृद्ध जनसंख्यामा मानसिक स्वास्थ्य चुनौतीहरू उल्लेखनीय छन् । अध्ययनहरूले देखाएका छन्– नेपालमा वृद्धहरूमा डिप्रेसनको प्रचलन २५.५ देखि ६०.६ प्रतिशतसम्म छ । नेपाल जर्नल अफ मनोवैज्ञानिक अध्ययन–२०२४ को प्रतिवेदनअनुसार, २८.९ प्रतिशत वृद्धमा डिप्रेसन पाइएको थियो, जसमा प्रायः हल्का डिप्रेसन थियो ।

वृद्धाश्रममा बस्ने व्यक्तिमा यो दर अझ उच्च ७४.६ प्रतिशतसम्म पुग्छ, समुदायमा बस्नेमा ४१.८ प्रतिशत मात्रै छ । डिप्रेसनसँगै एन्जाइटी २१.७–३२.३ प्रतिशत वृद्धमा पाइन्छ । यसका साथै एक्लोपन, निद्रासम्बन्धी समस्या, स्मरणशक्ति गिरावट र डिमेन्सियाका लक्षण पनि व्यापक छन् । यी तथ्यांकले अवकाश र वृद्धावस्थासँगै मानसिक स्वास्थ्यलाई गम्भीर सामाजिक–मनोवैज्ञानिक मुद्दा बनाएको छ ।

अवकाशले उद्देश्यको कमी, आत्मपहिचानको संकट र सामाजिक अलगाव ल्याउन सक्छ । जागिर अन्त्यपछि सामाजिक भूमिका हराउँदा उद्देश्यहीनता, निराशा र आत्ममूल्य ह्रास हुन्छ । यसरी उद्देश्यको कमीले डिप्रेसन, चिन्ता र तनाव बढाउँछ । 

अवकाशले सकारात्मक असर पनि पार्न सक्छ । एक्टिभिटी थ्योरीका अनुसार, सामाजिक र मानसिक रूपमा सक्रिय वृद्धहरूले बढी खुसी, स्वस्थ्य र सन्तुष्टि अनुभव गर्छन् । अध्ययनहरूले देखाएका छन्– अवकाशपछि डिप्रेसन–तनाव घट्छ र जीवन सन्तुष्टि बढ्छ ।

अवकाशले रुचिअनुसारका गतिविधि, व्यायाम, स्वयंसेवा, ध्यान वा आध्यात्मिक अभ्यास गर्न समय दिन्छ, जसले भावनात्मक सन्तुलन र आत्मसन्तुष्टि बढाउँछ । जर्नल अफ एजिङ एन्ड मेन्टल हेल्थको अध्ययनले देखाएको छ– ६५ वर्षपछि पनि काम गर्ने वृद्धमा मृत्युदर करिब ९–११ प्रतिशत कम हुन्छ । यसले आर्थिक सुरक्षा मात्रै होइन सामाजिक सम्बन्ध, आत्ममूल्य र उद्देश्य पनि कायम राख्छ । नेपालको सन्दर्भमा कुरा गर्दा स्वयंसेवा, धार्मिक गतिविधि वा समुदाय सेवामा संलग्नताले वृद्धहरूको आत्मपहिचान सुदृढ पार्न सक्छ ।

नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी सबैभन्दा ठूलो चुनौती ‘कल्चरल स्टिग्मा’ हो । मानसिक स्वास्थ्य समस्या खुलाएर भन्न अझै कठिन छ । सामान्यतया मानसिक रोगलाई ‘पागलपन’ का रूपमा बुझिन्छ । यसले गर्दा धेरै वृद्धले उपचार वा परामर्श लिन सक्दैनन् । सहरीकरण र परिवार विभाजनले परम्परागत पारिवारिक समर्थन कमजोर पारेको छ, जसले वृद्धलाई अझ अलग–थलग बनाइरहेको छ । 

यी चुनौतीबीच पनि अवकाशपछिको मानसिक स्वास्थ्य राम्रो बनाउन विभिन्न उपाय अवलम्बन गर्न सकिन्छ । पहिलो, आर्थिक योजना राम्रो हुनु जरुरी हुन्छ किनकि वित्तीय असुरक्षाले चिन्ता बढाउँछ । त्यसैले पेन्सन, बचत वा सामाजिक सुरक्षा योजनाले वृद्धलाई आत्मविश्वास दिन्छ ।

दोस्रो, सामाजिक सम्बन्ध कायम राख्नु महत्त्वपूर्ण हुन्छ । परिवार, साथी वा समुदायसँग नियमित अन्तरक्रिया एक्लोपना घटाउने प्रभावकारी माध्यम हो । तेस्रो, मानसिक स्वास्थ्य समर्थन– जस्तै परामर्श, समूह छलफल वा काउन्सेलिङले डिप्रेसन र चिन्तासँग जुध्न मद्दत गर्छ । चौथो, जीवनभर सिकाइ– जस्तै नयाँ सीप सिक्ने, पढाइ गर्ने वा बौद्धिक गतिविधिमा संलग्न हुनेले दिमागलाई सक्रिय राख्छ ।

पाँचौं, उद्देश्यपूर्ण गतिविधि– जस्तै स्वयंसेवा, धार्मिक अभ्यास वा समुदाय सेवाले वृद्धलाई आत्ममूल्य र जीवनको अर्थ दिन्छ । यी सबै उपायले अवकाशलाई जागिरको अन्त्य मात्रै नभई नयाँ सुरुवातका रूपमा अर्थपूर्ण बनाउन सक्छ ।

त्यसैले अवकाश जीवनको मात्रै नयाँ चरण होइन, मनोवैज्ञानिक रूपान्तरणको अवसर पनि हो । नकारात्मक चुनौती– जस्तै डिप्रेसन, चिन्ता, सामाजिक अलगाव र संज्ञानात्मक गिरावट कम गर्न उद्देश्यपूर्ण जीवन, सामाजिक समर्थन, निरन्तर मानसिक सक्रियता र वित्तीय सुरक्षा आवश्यक हुन्छ । सकारात्मक दृष्टिकोण, परिवार र समुदायको सहकार्य, मानसिक स्वास्थ्यप्रति सचेतना र सक्रिय सहभागिताले अवकाशपछि पनि वृद्धहरूको जीवन स्वस्थ, खुसी र अर्थपूर्ण बनाउन सक्छ ।

प्रवीणराज

Link copied successfully