भूमिलाई माया नगर्ने मानिस यो संसारमा सायदै होलान् । जोसँग ज्ञान र आर्थिक स्रोत छ, उनीहरूसँग धेरै भूमिको स्वामित्व छ । अरूका लागि उर्वर भूमि बनाइदिने तर आफ्नो भूमिचाहिँ नभएर भूमिहीन जीविका बिताउन बाध्य नवलपरासी बर्दघाट सुस्ता पूर्वका माझी–मुसहर समुदायको अवस्था धेरै दुःखलाग्दो र पीडादायी छ ।
What you should know
नवलपुरका मुसहर–माझी समुदाय असार महिनामा भूमि, जलदेवी, गोही, सिंह, बाघ, गैंडा र प्रकृतिलाई पूजा गरी असारे बार्ना (पूजा) मनाउँछन् । प्रकृतिलाई जसले बुझ्छ, चिन्छ र मान्छ, उसलाई केही दुःख, संकट हुँदैन भन्ने मान्यता यहाँका मानिसमा छ । प्रकृति पुज्ने र संरक्षण गर्ने आदिवासी माझी–मुसहर समुदाय भूमिहीन हुन बाध्य छन् । भूमि मान्छेको अन्नदाता हो । मानवलाई बाँच्न र जीविका चलाउन भूमि चाहिन्छ । भूमि छ त प्राणीहरूको जीविका चलेको छ ।
भूमिलाई माया नगर्ने मानिस यो संसारमा सायदै होलान् । जोसँग ज्ञान र आर्थिक स्रोत छ, उनीहरूसँग धेरै भूमिको स्वामित्व छ । अरूका लागि उर्वर भूमि बनाइदिने तर आफ्नो भूमिचाहिँ नभएर भूमिहीन जीविका बिताउन बाध्य नवलपरासी बर्दघाट सुस्ता पूर्वका माझी–मुसहर समुदायको अवस्था धेरै दुःखलाग्दो र पीडादायी छ ।
आदिवासी भनेर चिनिए पनि भूमि नहुँदा यहाँका माझी–मुसहर दुःखमा छन् । चितवन राष्ट्रिय निकुञ्जले यहाँको अधिकांश जग्गा आफ्नो घेरामा राखेको छ । नारायणघाट पुल निर्माण नहुँदै घाटमा बसी काठको डुंगाबाट नारायणी नदीमा मान्छेलाई वारिपारि तार्ने काम हाम्रा पुर्खाहरू गर्थे । माछा मार्ने, साग, सिस्नो, कन्दमूल संकलन गरी जीविका चलाउने आदिवासीका सन्तान हौं हामी ।
नदीमा घाट चलाएबापत राज्यले लालमोहर छाप लगाएर दिएको प्रमाण अझै यहाँका बासिन्दासँग सुरक्षित छ । यो प्रमाणले हाम्रा पुर्खा यहीँका स्थायी बसोबासी हुन् भन्न पर्याप्त आधार दिन्छ । तर, अहिले त निकुञ्ज र मध्यवर्ती क्षेत्रको घेरामा राखिदिएपछि यहाँका आदिवासीको परम्परागत पेसा खोसिएको छ ।
माझी–मुसहरहरू धेरैजसो सानो आकारको जमिनमा, सानो जस्तापाता, खर, छाप्रो जस्तो घरमा दुःख–सुखले बस्नुपरेको छ । कपडा र बोराले बार बनाएर संयुक्त परिवार बस्न बाध्य हुनुपरेको छ । कतिपयको घर शौचालयविहीन छ । कुखुरा, हाँस, बाख्रा, बस्तुभाउ त्यही साँघुरो ठाउँमै पाल्नुपरेको छ । जीविका र दैनिकी अत्यन्तै कठिन छ ।
यहाँका मानिसहरू बसोबास गरेको जग्गाबाट समेत उठीबास लाग्ने अवस्था छ । मध्यवर्ती वन समितिले उठीबास लगाउन खोज्दै छन् । मध्यवर्तीले माझी–मुसहरको हक, अधिकार र बसोबास सुरक्षाको विषयमा बोलेको छैन । ‘यिनीहरू यहाँ परापूर्वकालदेखि नै बसोबास गर्दै आएका हुन्’ भन्ने उनीहरू भुल्छन् र दुःख दिन्छन् ।
साविक कुमारवर्ती गाविस ढकहामा २०५६ मा माझी–मुसहर बस्तीमा तत्कालीन सीडीओको समेत निर्देशनमा सेना र प्रहरीले छाप्रा बस्ती जलाउने काम गरेका थिए । साविक अग्यौली गाविस वडा नं. ५ शेरगन्जमा वनको कर्मचारी र गैंडा गस्तीले बस्ती नै आगजनी गरी दुःख दिएको थियो । साविक कावासोती गाविस वडा नं. ८ रतवलमा २०४२ मा ऐलानी भूमि खनजोत गर्दा महिला र पुरुष दुवैलाई समातेर वन डिभिजन कार्यालय कावासोतीमा लगी थुनिएका घटनाहरू पनि छन् । यस्ता घटना बेलाबेला हाम्रो समुदायले भोग्नुपरेकै छ ।
पुस्तौंदेखि बस्दै आएको ठाउँबाट कहिले जंगल सिमाना, कहिले सडक विस्तार, कहिले बालीनाली चोरी, हानि नोक्सानीको आरोप लाग्छ । नदीको कारणले बाढीपीडित हुनुपर्छ । नदीमा आश्रित माझी–मुसहरको समस्याबारे सरकारबाट कहिल्यै चासो नदिइएको अवस्था छ ।
हामीले निकुञ्ज र मध्यवर्तीलाई भनिरहेका छौं– ‘हामी यहाँका आदिवासी हौं, हामीलाई जमिनको अधिकार देऊ, बासको सुरक्षा गरिदेऊ, हामीले परम्परादेखि नै उपभोग गर्दै आएको नदीमा माछा मार्ने पेसा खुला गरिदेऊ ।’ तर, उनीहरू त्यस्तो गर्न चाहिरहेका छैनन् । हामीलाई त्यहाँबाट विस्थापित गर्न खोजिरहेका छन् । कतिसम्म भने नारायणी, राप्ती नदीमा माछा मार्ने क्रममा निकुञ्जको सेना र प्रशासनले भेट्नेबित्तिकै अपशब्द बोल्ने, गाली गर्ने, हप्काउने, धम्क्याउने गर्छन् । कहिलेकाहीँ त निकुञ्जको कार्यालयमा लगी थुनिदिन्छन् र जरिवानासमेत लिने गर्छन् ।
माझी–मुसहर भूमिमाथिको हक, अधिकार सावित गर्ने निर्णायक ठाउँमा पुग्न सक्दैनन् । सरकारले पटकपटक भूमि आयोग गठन गर्छ तर हामी सहयोग पाउँदैनौं । गैरसुकुम्बासीहरू आयोगमा नियुक्त हुन्छन् र अरूले नै फाइदा लिन्छन् ।
सरकारलाई हाम्रो अनुरोध छ– हामी बसेको ठाउँ सुरक्षित गरिदिनुहोस् । हाम्रो बस्ती जोगाइदिनुहोस् । बसेको ठाउँको लालपुर्जा दिने कार्य गरिदिनुहोस् । हामी र हाम्रो समुदायले गर्दै आएको पेसा व्यवसायलाई सम्मानपूर्वक गर्न दिने वातावरण बनाइदिनुहोस् ।
हाम्रो बालबच्चाले निःशुल्क शिक्षा पाउने वातावरण बनाइदिनुहोस् । राज्यको नागरिक हामी पनि भएको हुँदा अन्यले पाएसरह राज्यबाट पाउने सुविधाहरू उपयोग गर्ने वातावरण सुनिश्चित गरिदिनुहोस् । हामीलाई पनि राज्यको नागरिक हौं भन्ने महसुस गर्ने वातावरण बनाइदिनुस् ।
