आन्दोलनहरूमा प्रायः लिंगभेदी र महिलाद्वेषी शब्द व्यापकै प्रयोग हुन्छन् । जस्तो भर्खरै देशमा सम्पन्न जेन–जी आन्दोलनमा पनि यस्तै–यस्तै दृश्य देखियो ।
What you should know
समाज रूपान्तरणका लागि आन्दोलन अनिवार्य हुन्छन् । प्रायः आन्दोलन सामाजिक असमानता, अन्याय, अत्याचारविरुद्ध र अधिकार प्राप्तिकै लागि गरिन्छन् । ती सबै सकारात्मक परिवर्तनका लागि घटित भए पनि कहिलेकाहीँ आन्दोलनमा प्रयोग गरिने नारा र क्रियाकलाप महिलाद्वेषी बनिदिन्छन् ।
आन्दोलनहरूमा प्रायः लिंगभेदी र महिलाद्वेषी शब्द व्यापकै प्रयोग हुन्छन् । जस्तो भर्खरै देशमा सम्पन्न जेन–जी आन्दोलनमा पनि यस्तै–यस्तै दृश्य देखियो ।
पछिल्लो युवा विद्रोहमा अघिल्ला सरकारका नेताविरुद्ध सडकमा शब्दहरू प्रकट भए । तर, त्यहाँ लागेका नाराहरू महिलाद्वेषी थिए, जुन विषयमा युवा वर्ग पनि सचेत देखिएनन् । तिनले आमा र सम्पूर्ण आमाहरूसँग जोडेर लगाएका, नेपाली समाजले ‘अश्लील’ भन्ने नाराहरूको सम्बन्ध केपी शर्मा ओली वा अरू नेताहरूसँग थिएन । जो नेताका आमामाथि तिनले सडकमा समाजले अपाच्य मान्ने शब्दावली जोडेर नारा लगाए, सायद ती धेरै नेताका आमाले यो संसार छाडेको निकै वर्ष बितिसक्यो ।
समाजले आक्रोश पोख्दा प्रयोग गरिने अपशब्दहरू किन महिला लक्षित हुन्छन् ? पुरुषलाई गाली गर्दा उसकी आमा तान्नु कसैको एक आमामाथि होइन, समग्र महिलामाथिकै गम्भीर अपमान हो भनेर परिपक्व देखिने एक मानिस किन स्विकार्न सक्दैन ?
भाद्र २३ को जेन–जी पुस्ताले भ्रष्टचारविरुद्ध शान्तिपूर्ण आन्दोलन गरेका थिए । आन्दोलन शान्तिपूर्ण होउन्जेल नाराहरू पनि सभ्य र प्रगतिशील थिए । तर, आन्दोलनको प्रक्रिया अघि बढ्दै गर्दा जब राज्यद्वारा १९ जनाको हत्या हुन पुग्यो, तब हिंसात्मक बनेको आन्दोलनसँगै नाराहरूले पनि रूप फेर्न थाले । राज्यले मच्चाएको हिंसात्मक घटनाकै कारण जनमानसमा रुष्टता र आक्रोशको सीमा नाघ्यो, जुन स्वाभाविक थियो । राज्यको चरम दमन, अन्याय, वितृष्णाप्रति विद्रोहका आवाज र नाराहरू प्रकट हुन थाले । जनताको त्यो आक्रोश र विद्रोह तत्कालीन प्रधानमन्त्री र सरकारप्रति थियो । सरकार र केपी शर्मा ओलीमाथि लक्षित थुप्रै नाराका साथ जेन–जीलगायत अन्य समूह पनि सडकमा ओर्लिए । थुप्रै नारा सुन्नमा आए । जस्तो ‘केपी सरकार राजीनामा दे’, ‘नो नेपो बेबिज, आवर फ्युचर इज नट फर सेल’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’ आदि । यी समाज रूपान्तरणका लागि क्रान्तिकारी तथा प्रगतिशील नाराहरू थिए । तर, दुःखद घटना के भने बिस्तारै ती नारा त्यत्तिमै सीमित रहेनन्, तिनमा महिलाद्वेषी र लिंगभेदी शब्दहरू व्यापक रूपमा प्रयोग हुन थाले । विगतका अरू आन्दोलनझैं जेन–जी पुस्ताको आन्दोलनमा पनि महिलालाई होच्याउने नारा सुन्नमा आयो । सभ्य समाजले नपचाउने, सुन्न नरुचाउने र अश्लील मान्ने ती आमाकेन्द्रित नाराहरू हरेक पुस्तासँगै जेन–जी विशेष गरी पुरुषहरूको ओठको प्रिय शब्द बन्न पुग्यो । टोल–टोल र गल्ली–गल्लीमा बच्चादेखि जेन–जी र अन्य पुस्ताले तिनै शब्द चिच्याए । आक्रोश केपी ओली वा रमेश लेखकमाथि थियो तर त्यसको मूल्य उनीहरूकी आमाले चुकाइरहेकी थिइन् । तर, नारा यत्तिमै सीमित रहेन । त्यो अपशब्द झन् अपाच्य सुनियो । आन्दोलनमा प्रयोग भएका प्ले–कार्डमा पनि ती नारा देखिए । प्ले–कार्ड र आन्दोलनकारीको मुखमा झुन्डिएका नारा भित्तामा पनि देखिन थाले ।
आन्दोलनका नाराहरूमा महिला माथिका अपशब्द प्रयोगमा आउनु नौलो विषय होइन र यो पहिलो पटक भएको घटना पनि होइन । विगतका धेरै आन्दोलनमा महिलामाथि अपशब्दहरू प्रहार गरिएको छ । तर, ती नाराहरू र अपशब्दहरूलाई हामीले बोल्ने भाषाहरूमा सामान्यीकरण गर्दै गयौं । महिला स्वयंले यसलाई सहज तरिकाले लिन थाले । त्यसैको प्रतिफल आज जेन–जी पुस्ताबाट पनि महिलामाथि प्रहार हुन थाल्यो । र, दुःखलाग्दो कुरा, जेन–जी पुस्ता पनि यस्ता किसिमका भद्दा नारामा रमाउन थाले । उसो त आन्दोलनमा पुरुषहरू नै हाबी थिए । सिंहदरबार, सर्वोच्च अदालत, वडा कार्यालय, स्वास्थ्य चौकीलगायत अन्य सार्वजनिक र निजी कार्यालय जलाउन अधिकांश पुरुषहरू नै अग्रसर देखिए । त्यो हाल सामाजिक सञ्जालमा भाइरल भएका आन्दोलनका भिडियोबाट पनि स्पष्टै छ । महिलामाथि हुने दमन, चाहे भ्रष्टाचारविरुद्धका आन्दोलन होऊन् वा झैंझगडा वा कसैमाथि पोखिएको आक्रोश– त्यहाँ महिलासँग जोडिएका अपशब्द बर्सिइहाल्छन् ।
कतिपय ‘भद्र–भलाद्मी’ हरू ‘महिलालाई होच्याएर यस्ता शब्द प्रयोग गर्न मन लाग्दैन’ भन्छन् । तर, ती सोच्छन् सायद गाली गलौजका अपशब्द नै यिनै हुन् त म के भनेर गाली गरौं ? आक्रोशमा छँदा अधिकांश मानिस ‘फोहोरी’ र ‘अश्लील’ लाग्ने अपाच्य शब्द प्रयोग गर्छन् तर ती शब्द प्रयोगको सामाजिक जरोमाथि तिनले घोत्लिनु पर्दैन ? त्यस्ता शब्दले के अर्थ राख्छन् ? कसलाई के फरक पर्छ ? ती शब्दको निर्माणकर्ता को हुन् ? र, त्यसले को–को प्रभावित हुन्छन् ?
पितृसत्तात्मक समाजमा महिलालाई होच्याउन र बदनाम गर्न अनेकन अपाच्य शब्द र शब्दावली सिर्जना गरियो । महिलाको चरित्र हत्या गर्न शब्दलाई हतियार बनाइयो । तर, महिलालाई होच्याउन निर्माण गरिएका ती शब्द महिलामाथि मात्रै प्रयोग हुँदैनन् । पुरुषले पुरुषलाई होच्याउन र गाली गर्न पनि ती शब्दको सहारा लिने गर्छन् । पुरुष–पुरुषबीचको मनमुटाव र आक्रोशमा प्रयोग गरिने आमा, दिदीबहिनी र श्रीमती लक्षित ती शब्द तिनीहरू कति सजिलै उच्चारण गरिदिन्छन् । तिनलाई सामान्य बोध पनि हुँदैन कि तिनीहरू आफ्नै आमा, दिदीबहिनी, श्रीमतीको बदनाम गरिरहेका छन् । ‘आफ्ना’ हरूको बदनाम नगरीकन तिनीहरूको झगडा टुंगो लाग्दैन र तिनले विजय हासिल गरेको महसुस गर्दैनन् ।
अब त सामाजिक सञ्जालमा पनि त्यस्ता शब्दहरूको प्रयोग बढ्दो देखिन्छ । मानवहरू प्रगतिशील दिशामा उन्मुख हुन खोज्छन्, जसस्वरूप मानव सभ्यता र विकासको स्तरमा निरन्तर प्रगति भइरहेको छ । यद्यपि बोलीचालीमा समाजले ‘अश्लील’ वा अपाच्य मान्ने त्यस्ता महिलाद्वेषी शब्दहरूले चाहिँ सधैं मानव सभ्यतामै विशेष स्थान पाइरहेका छन् । सायद पितृसत्तात्मक समाज यसैलाई सामान्यीकरण गरेर स्थापित गर्न चाहन्छ । अघिल्ला पुस्ताहरूले ‘अश्लील’ शब्द प्रयोग भएका नारालाई प्रतिबन्ध लगाउन नसकेकै कारण त्यस्ता शब्द जेन–जी पुस्तामा पनि पुस्तान्तरण हुन पुग्यो । यस सन्दर्भमा जेन–जीहरूमा पनि संवेदनशीलताको अभाव रह्यो । र, यो पुस्ताले पनि आन्दोलनका नाराहरूमा तिनै अपाच्य शब्द नै प्रयोग गर्यो । ती शब्दहरूलाई बोलीचालीको भाषामा जस्तै आन्दोलनका नाराहरूमा पनि ‘ग्यामराइज’ गरियो ।
महिलाद्वेषी र लिंगभेदी नाराहरू नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमा हुने गरेका आन्दोलनमा पनि प्रशस्तै प्रयोग भएको देखिन्छ । मेलबर्नमा ‘नयाँ आपत्कालीन सेवा र स्वयंसेवक कोष कर’ विरुद्ध गत मे महिनामा भएको आन्दोलनमा भिक्टोरिया राज्यकी प्रमुख जासिन्टा एलनलाई लक्षित गरी अत्यन्तै भद्दा र महिलाद्वेषी नारा लगाइएको थियो । महिलावादी अभियन्ता, नागरिक समाज र विपक्षी पार्टीका नेता ब्रेड ब्याटिनले उक्त नारा महिलाद्वेषी रहेको दाबी गरेका थिए र राजनीतिमा लिंगभेद हाबी रहेको पनि उनीहरूको निष्कर्ष थियो । त्यसैगरी, केही वर्षअघि ब्रिसबेनमा ‘विकेड पिकेट्स’ नामक एक समूहले ‘विकेड क्याम्पर्स’ को भ्यानमा कोरिएका नारामा प्रयोग भएका शब्दहरू महिलाविरुद्ध र आपत्तिजनक भएकै कारण ती शब्दविरुद्ध प्रदर्शन गरेका थिए । कतिले नारालाई ‘मज्जाको’ बनाउन ती शब्दहरूको प्रयोग गरिएको बताएका थिए ।
महिलावादी भनिने आन्दोलनको हिस्साले पनि समाजमा सामान्य जसरी प्रयोग भए–आएका कारण होला, ती र त्यस्ता शब्द चयनलाई गौण मान्ने र आफैं आक्रोशित हुँदा पनि त्यस्तै शब्द टिपेर गाली गर्ने गरेका उदाहरण पाइन्छन् । तर, कुनै पनि आन्दोलनमा लिंगभेदलाई बढावा दिने खालका नारा प्रयोग गरिन्छ भने नागरिक समाज र महिलावादीहरू त्यसविरुद्ध उभिन सक्नुपर्छ । घोक्रो सुक्ने गरी आन्दोलनमा महिलामाथि अपशब्द प्रयोग गरेर नारा कराउँदा समर्थन होइन, त्यस्ता आन्दोलनका नारालाई महिलाले बहिष्कार गर्न सक्नुपर्छ । सरकारले पनि त्यस्ता आपत्तिजनक र महिलालाई होच्याउने लिंगभेदी शब्दहरू प्रयोग भएमा कानुनअनुसार कारबाही गर्न सक्नुपर्छ । युवा र जेन–जी पुस्ताले पनि महिलाद्वेषी नारा नबनाउन र प्रयोग नगर्न अरूलाई खबरदारी गर्न सक्नुपर्छ । र, आफू पनि अत्यन्तै संवेदनशील हुनुपर्छ ।
