अबको नेता कस्तो हुनुपर्छ ?

इतिहासले भाइरल पात्रलाई होइन, भरोसाजनक र निरन्तर काम गर्नेहरूलाई सम्झन्छ ।

कार्तिक २२, २०८२

सुस्मिता क्षेत्री

What should the next leader be like?

What you should know

राष्ट्र यस्तो मोडमा आइपुगेको छ, जहाँ केवल सत्ता होइन, सत्यको स्वरूप नै परीक्षणमा छ– यो पंक्ति आजको नेपाली मनोविज्ञान बुझाउन पर्याप्त छ । हामी एकैसाथ आक्रोशित, निराश तर आशावादी छौं ।

इतिहासको लामो कालखण्ड पार गरेर, अनेकौं संक्रमणकाल भोगेर, रगत र पसिनाले लेखिएको संविधान हुँदै यहाँसम्म आइपुगेका छौं । तर एउटा प्रश्नले हामीलाई सधैं लखेटिरहन्छ– पद्धति त फेरियो तर जनताको स्तर किन फेरिएन ? हिजो भविष्य खोज्न मुगलान र बर्मा जाने लर्को, आज रियाद र डालसको लर्कोमा परिणत भएको छ । लर्कोको निरन्तरताले हाम्रो राजनीतिक नेतृत्वको सफलता वा असफलताको स्पष्ट चित्र कोर्दछ । यसबाट सिर्जित निराशाको विस्फोट नै भदौ विद्रोह हो ।

यस पृष्ठभूमिमा, अबको नेता कस्तो हुनुपर्छ ? भन्ने प्रश्न केवल नयाँ र पुरानोको छनोट मात्र होइन । यो चरित्र र सुविधा, संस्था र स्वार्थबीचको छनोट हो ।

पुराना नेताहरूको संघर्ष र सत्तासम्मको यात्रा

पुराना पुस्ताका नेताहरूको उदयलाई अवमूल्यन गर्न मिल्दैन । उनीहरूको काँधमा इतिहासको एउटा ठूलो जिम्मेवारी थियो– निरंकुशताको अन्त्य र प्रजातन्त्रको स्थापना । त्यसका लागि उनीहरूको संघर्ष आदर्शबाट प्रेरित थियो । कोही बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादबाट प्रेरित थिए, कोही पुष्पलालको वैज्ञानिक साम्यवादबाट । उनीहरूले आफ्नो व्यक्तिगत जीवन, परिवार र सुखसयललाई तिलाञ्जली दिएर वर्षौं जेल, नेल र निर्वासन भोगे । उनीहरूले सडकमा रगत बगाए, भूमिगत भए र लोकतन्त्रको सपना देखे ।

उनीहरू पनि आफ्नो समयको यथास्थितिप्रति असन्तुष्ट थिए र त्यसलाई बदल्न चाहन्थे । उनीहरूले समाजलाई एउटा नयाँ भाष्य दिए– जनता नै शक्तिको स्रोत हो । उनीहरूले त्याग, बलिदान र समर्पणको गाथा कोरे । तर, हरेक क्रान्तिको एउटा दुःखद पक्ष हुन्छ । इतिहासकार विल डुरान्ट भन्छन्, ‘क्रान्तिहरूले प्रायः एउटा तानाशाहीलाई अर्कोले प्रतिस्थापन मात्र गर्छन् ।’

सत्ताबाट सत्तासम्मको चक्रीय यात्रा

२०४६ जनआन्दोलन, विशेषतः २०६२/६३ को गणतान्त्रिक आन्दोलनपछि पुराना पुस्ताको नेताहरूको दोस्रो अध्याय सुरु भयो । यो अध्याय संघर्षको नभई सत्ता–व्यवस्थापनको थियो । तर यो छिट्टै सत्ता–चक्रमा बदलियो । उनीरूले उद्देश्य भुले, सत्ता नै उद्देश्य हुन पुग्यो । आदर्शको ठाउँ अवसरले लियो । उनीहरूले क्रान्ति त गरे, तर क्रान्तिपछिको राज्य सञ्चालनमा कमजोर रहे ।

उनीहरूले भागबन्डाको राजनीति चलाए । राज्यका अंगहरूलाई सुधार नभई कब्जा गर्ने र आफ्ना मान्छे भर्ने थलो बनाए । त्यस्तै, संस्थागत क्षयीकरण गरे । सत्तामा टिक्नका लागि जस्तोसुकै सम्झौता गर्ने प्रवृत्तिले उनीहरूको आदर्शवादी छवि ध्वस्त भयो । जनताको भविष्य होइन, केवल अर्को चुनाव मात्रै देख्न थाले ।

कहाँ र कसरी चुके ?

उनीहरूले राजनीतिमा आउनुको उद्देश्य नै बिर्सिए । उनीहरू शासक बने, सेवक बन्न सकेनन् । उनीहरूमा संस्थागत निष्ठाको पनि अभाव रह्यो । एउटा असल नेताले आफूलाई होइन, संस्थालाई बलियो बनाउँछ । तर, उनीहरूले आफूलाई संस्थाभन्दा माथि राखे । संसद्, अदालत र अख्तियारजस्ता संस्थाहरूलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गरे । यसले गर्दा लोकतन्त्रको जग नै कमजोर हुन पुग्यो ।

उनीहरू असमानताको खाडलविरुद्ध लडेका थिए, तर अन्ततः आफैं एउटा नयाँ ‘कुलीन वर्ग’ मा परिणत भए । उनीहरूका सन्तान, नातागोता र आसेपासेहरू ‘नेपो किड’ का रूपमा राजनीति र राज्यका निकायहरूमा हावी भए । यसले इमानदार कार्यकर्ता र आमजनतामाझ वितृष्णा पैदा गर्‍यो ।

उनीहरू चुके, किनकि उनीहरूले सुन्न छोडे । उनीहरू आफू मात्रै बन्छु भन्ने सोचले ग्रसित भए । उनीहरूले आफ्नो जयजयकार गर्नेहरूको भीड मात्र जम्मा गरे ।

अब कहाँ नचुक्ने ?

२३ भदौको आन्दोलनले स्पष्ट सन्देश दिएको छ– नयाँ अनुहार, पुरानै चरित्र अब स्वीकार्य छैन । अब चुक्न नहुने ठाउँ स्पष्ट छन् ।

व्यक्तिभन्दा संस्था शक्तिशाली हुनुपर्छ । नेताले आफूलाई कानुनभन्दा माथि होइन, कानुनको अधीनमा राख्नुपर्छ । अब नियुक्तिमा चुक्नु हुँदैन । राज्य सञ्चालनको मूल मन्त्र योग्यता हुनु अनिवार्य छ । अब योग्यता र समावेशितालाई सँगसँगै अघि बढाउने रणनीति अपनाउनुपर्छ, योग्य व्यक्तिहरूलाई अवसर प्राप्त होस् र प्रतिनिधित्व पनि सुनिश्चित होस् ।

पारदर्शिता र जवाफदेहिता ‘व्यवहार’ मै प्रतिबिम्बित हुनुपर्छ । नेतामा आफ्नो असफलता स्वीकार गर्ने आँट गर्नुपर्छ । जनतालाई सूचनाको पहुँचबाट वञ्चित गर्नु वा भ्रम फैलाउने काम गर्नु हुँदैन । पारदर्शी सञ्चारले मात्र जनविश्वास र लोकतन्त्र मजबुत बनाउँछ ।

इतिहासले भाइरल पात्रलाई होइन, भरोसाजनक र निरन्तर काम गर्नेहरूलाई सम्झन्छ । डिजिटल चकचकी वा शब्दको क्रान्तिले क्षणिक चर्चा दिन सक्ने भए पनि संस्थागत परिवर्तन गर्दैन । नेतृत्वले माग्ने संयमता र निरन्तरतामा अब चुक्नु हुँदैन । सडकमा उत्रनु सजिलो छ, तर नैतिकता र अनुशासनमा अडिन सक्नु नै नेतृत्वको वास्तविक परीक्षा हो ।

अबको नेतामा हुनुपर्ने गुण

हामीले नयाँ पुस्ता त खोज्यौं, तर हामीलाई नयाँ चेतना चाहिएको रहेछ । पुरानो पुस्ताको त्याग र नयाँ पुस्ताको ऊर्जा त चाहियो नै, तर अबको जटिल विश्व र विभाजित समाजले केही थप र परिष्कृत गुण खोज्छन् ।

हामीलाई हाम्रो कुरा सुन्ने नेता चाहिएको छ । यो भनेको केवल गुनासो सुन्ने मात्रै होइन । असहमतिको आवाज, विज्ञको सल्लाह र सीमान्तकृतको पीडालाई मनन गर्ने र त्यसलाई कार्यान्वयन गर्ने इच्छाशक्ति हो ।

अबको युग चमत्कारको होइन, क्षमताको हो । विषयगत ज्ञान भएको नेताको अभावमा देशले ठूलो मूल्य चुकाइरहेको छ । अर्थतन्त्र, जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय सम्बन्ध र प्रविधिजस्ता गम्भीर विषयमा भाषण होइन, ज्ञान र दृष्टि भएको नेता चाहिएको छ ।

नेता आफैं भ्रष्ट नहुनु मात्र पनि काफी छैन । उसले यस्तो प्रणाली बनाउनुपर्छ, जहाँ भ्रष्टाचार नहोस् । उसको चरित्र र पारदर्शिताले नै नेतृत्वको मूल्य तय गर्छ ।

हामीलाई समस्या पर्नेबित्तिकै छोडेर भाग्ने नेता चाहिएको छैन । हामीलाई चुनौती र विवादको समयमा अडिग रहन सक्ने नेता चाहिएको छ । साँचो नेतृत्व आरामदायी समयको मूल्यांकनबाट होइन, कठिन परिस्थितिमा निर्णय र साहस प्रदर्शन गर्न सक्ने क्षमताबाट नापिन्छ । यस्तो नेता मात्र असल निर्णय लिन, जनताको विश्वास जित्न र स्थायी परिवर्तन ल्याउन योग्य हुन्छ ।

नेतृत्वको सबैभन्दा दुर्लभ र महत्त्वपूर्ण गुण हो, विवेक । अब हामीलाई विवेक सम्पन्न नेता चाहिएको छ, जो विश्व परिवेश बुझ्न सक्छ तर व्यक्तिगत स्वार्थमा फस्दैन । जो अन्तर्राष्ट्रिय मञ्चमा संवाद गर्न सक्षम छ, तर आफ्नो राष्ट्रिय हित दृढतापूर्वक राख्छ सक्छ ।

निष्कर्ष

पुराना नेताहरू भ्रष्ट, दिशाहीन र हामीभन्दा टाढा देखिए । तर भदौ आन्दोलनपछि ‘नेता हौं’ भनेर अघि सरेर ‘नयाँ’ पात्रहरूमा पनि ‘पुरानै चरित्र’ देखियो भने हाम्रो भविष्य फेरि अँध्यारोमै फस्नेछ । त्यसैले अब नेता त्यो हो, जो न आफ्नो वंशको प्रतिनिधि हो, न अवसरको व्यापारी । ऊ विवेक, सत्य र सेवाको आवाज हुनुपर्छ । अन्त्यमा, हामीले नेता खोजिरहँदा, हामी आफैं कस्तो नागरिक हौं भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ । किनकि, इतिहास साक्षी छ, जनता जस्ता हुन्छन्, उनीहरूले नेता पनि त्यस्तै पाउँछन् र बनाउँछन् ।

सुस्मिता

Link copied successfully