इतिहासले भाइरल पात्रलाई होइन, भरोसाजनक र निरन्तर काम गर्नेहरूलाई सम्झन्छ ।
What you should know
राष्ट्र यस्तो मोडमा आइपुगेको छ, जहाँ केवल सत्ता होइन, सत्यको स्वरूप नै परीक्षणमा छ– यो पंक्ति आजको नेपाली मनोविज्ञान बुझाउन पर्याप्त छ । हामी एकैसाथ आक्रोशित, निराश तर आशावादी छौं ।
इतिहासको लामो कालखण्ड पार गरेर, अनेकौं संक्रमणकाल भोगेर, रगत र पसिनाले लेखिएको संविधान हुँदै यहाँसम्म आइपुगेका छौं । तर एउटा प्रश्नले हामीलाई सधैं लखेटिरहन्छ– पद्धति त फेरियो तर जनताको स्तर किन फेरिएन ? हिजो भविष्य खोज्न मुगलान र बर्मा जाने लर्को, आज रियाद र डालसको लर्कोमा परिणत भएको छ । लर्कोको निरन्तरताले हाम्रो राजनीतिक नेतृत्वको सफलता वा असफलताको स्पष्ट चित्र कोर्दछ । यसबाट सिर्जित निराशाको विस्फोट नै भदौ विद्रोह हो ।
यस पृष्ठभूमिमा, अबको नेता कस्तो हुनुपर्छ ? भन्ने प्रश्न केवल नयाँ र पुरानोको छनोट मात्र होइन । यो चरित्र र सुविधा, संस्था र स्वार्थबीचको छनोट हो ।
पुराना नेताहरूको संघर्ष र सत्तासम्मको यात्रा
पुराना पुस्ताका नेताहरूको उदयलाई अवमूल्यन गर्न मिल्दैन । उनीहरूको काँधमा इतिहासको एउटा ठूलो जिम्मेवारी थियो– निरंकुशताको अन्त्य र प्रजातन्त्रको स्थापना । त्यसका लागि उनीहरूको संघर्ष आदर्शबाट प्रेरित थियो । कोही बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादबाट प्रेरित थिए, कोही पुष्पलालको वैज्ञानिक साम्यवादबाट । उनीहरूले आफ्नो व्यक्तिगत जीवन, परिवार र सुखसयललाई तिलाञ्जली दिएर वर्षौं जेल, नेल र निर्वासन भोगे । उनीहरूले सडकमा रगत बगाए, भूमिगत भए र लोकतन्त्रको सपना देखे ।
उनीहरू पनि आफ्नो समयको यथास्थितिप्रति असन्तुष्ट थिए र त्यसलाई बदल्न चाहन्थे । उनीहरूले समाजलाई एउटा नयाँ भाष्य दिए– जनता नै शक्तिको स्रोत हो । उनीहरूले त्याग, बलिदान र समर्पणको गाथा कोरे । तर, हरेक क्रान्तिको एउटा दुःखद पक्ष हुन्छ । इतिहासकार विल डुरान्ट भन्छन्, ‘क्रान्तिहरूले प्रायः एउटा तानाशाहीलाई अर्कोले प्रतिस्थापन मात्र गर्छन् ।’
सत्ताबाट सत्तासम्मको चक्रीय यात्रा
२०४६ जनआन्दोलन, विशेषतः २०६२/६३ को गणतान्त्रिक आन्दोलनपछि पुराना पुस्ताको नेताहरूको दोस्रो अध्याय सुरु भयो । यो अध्याय संघर्षको नभई सत्ता–व्यवस्थापनको थियो । तर यो छिट्टै सत्ता–चक्रमा बदलियो । उनीरूले उद्देश्य भुले, सत्ता नै उद्देश्य हुन पुग्यो । आदर्शको ठाउँ अवसरले लियो । उनीहरूले क्रान्ति त गरे, तर क्रान्तिपछिको राज्य सञ्चालनमा कमजोर रहे ।
उनीहरूले भागबन्डाको राजनीति चलाए । राज्यका अंगहरूलाई सुधार नभई कब्जा गर्ने र आफ्ना मान्छे भर्ने थलो बनाए । त्यस्तै, संस्थागत क्षयीकरण गरे । सत्तामा टिक्नका लागि जस्तोसुकै सम्झौता गर्ने प्रवृत्तिले उनीहरूको आदर्शवादी छवि ध्वस्त भयो । जनताको भविष्य होइन, केवल अर्को चुनाव मात्रै देख्न थाले ।
कहाँ र कसरी चुके ?
उनीहरूले राजनीतिमा आउनुको उद्देश्य नै बिर्सिए । उनीहरू शासक बने, सेवक बन्न सकेनन् । उनीहरूमा संस्थागत निष्ठाको पनि अभाव रह्यो । एउटा असल नेताले आफूलाई होइन, संस्थालाई बलियो बनाउँछ । तर, उनीहरूले आफूलाई संस्थाभन्दा माथि राखे । संसद्, अदालत र अख्तियारजस्ता संस्थाहरूलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गरे । यसले गर्दा लोकतन्त्रको जग नै कमजोर हुन पुग्यो ।
उनीहरू असमानताको खाडलविरुद्ध लडेका थिए, तर अन्ततः आफैं एउटा नयाँ ‘कुलीन वर्ग’ मा परिणत भए । उनीहरूका सन्तान, नातागोता र आसेपासेहरू ‘नेपो किड’ का रूपमा राजनीति र राज्यका निकायहरूमा हावी भए । यसले इमानदार कार्यकर्ता र आमजनतामाझ वितृष्णा पैदा गर्यो ।
उनीहरू चुके, किनकि उनीहरूले सुन्न छोडे । उनीहरू आफू मात्रै बन्छु भन्ने सोचले ग्रसित भए । उनीहरूले आफ्नो जयजयकार गर्नेहरूको भीड मात्र जम्मा गरे ।
अब कहाँ नचुक्ने ?
२३ भदौको आन्दोलनले स्पष्ट सन्देश दिएको छ– नयाँ अनुहार, पुरानै चरित्र अब स्वीकार्य छैन । अब चुक्न नहुने ठाउँ स्पष्ट छन् ।
व्यक्तिभन्दा संस्था शक्तिशाली हुनुपर्छ । नेताले आफूलाई कानुनभन्दा माथि होइन, कानुनको अधीनमा राख्नुपर्छ । अब नियुक्तिमा चुक्नु हुँदैन । राज्य सञ्चालनको मूल मन्त्र योग्यता हुनु अनिवार्य छ । अब योग्यता र समावेशितालाई सँगसँगै अघि बढाउने रणनीति अपनाउनुपर्छ, योग्य व्यक्तिहरूलाई अवसर प्राप्त होस् र प्रतिनिधित्व पनि सुनिश्चित होस् ।
पारदर्शिता र जवाफदेहिता ‘व्यवहार’ मै प्रतिबिम्बित हुनुपर्छ । नेतामा आफ्नो असफलता स्वीकार गर्ने आँट गर्नुपर्छ । जनतालाई सूचनाको पहुँचबाट वञ्चित गर्नु वा भ्रम फैलाउने काम गर्नु हुँदैन । पारदर्शी सञ्चारले मात्र जनविश्वास र लोकतन्त्र मजबुत बनाउँछ ।
इतिहासले भाइरल पात्रलाई होइन, भरोसाजनक र निरन्तर काम गर्नेहरूलाई सम्झन्छ । डिजिटल चकचकी वा शब्दको क्रान्तिले क्षणिक चर्चा दिन सक्ने भए पनि संस्थागत परिवर्तन गर्दैन । नेतृत्वले माग्ने संयमता र निरन्तरतामा अब चुक्नु हुँदैन । सडकमा उत्रनु सजिलो छ, तर नैतिकता र अनुशासनमा अडिन सक्नु नै नेतृत्वको वास्तविक परीक्षा हो ।
अबको नेतामा हुनुपर्ने गुण
हामीले नयाँ पुस्ता त खोज्यौं, तर हामीलाई नयाँ चेतना चाहिएको रहेछ । पुरानो पुस्ताको त्याग र नयाँ पुस्ताको ऊर्जा त चाहियो नै, तर अबको जटिल विश्व र विभाजित समाजले केही थप र परिष्कृत गुण खोज्छन् ।
हामीलाई हाम्रो कुरा सुन्ने नेता चाहिएको छ । यो भनेको केवल गुनासो सुन्ने मात्रै होइन । असहमतिको आवाज, विज्ञको सल्लाह र सीमान्तकृतको पीडालाई मनन गर्ने र त्यसलाई कार्यान्वयन गर्ने इच्छाशक्ति हो ।
अबको युग चमत्कारको होइन, क्षमताको हो । विषयगत ज्ञान भएको नेताको अभावमा देशले ठूलो मूल्य चुकाइरहेको छ । अर्थतन्त्र, जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय सम्बन्ध र प्रविधिजस्ता गम्भीर विषयमा भाषण होइन, ज्ञान र दृष्टि भएको नेता चाहिएको छ ।
नेता आफैं भ्रष्ट नहुनु मात्र पनि काफी छैन । उसले यस्तो प्रणाली बनाउनुपर्छ, जहाँ भ्रष्टाचार नहोस् । उसको चरित्र र पारदर्शिताले नै नेतृत्वको मूल्य तय गर्छ ।
हामीलाई समस्या पर्नेबित्तिकै छोडेर भाग्ने नेता चाहिएको छैन । हामीलाई चुनौती र विवादको समयमा अडिग रहन सक्ने नेता चाहिएको छ । साँचो नेतृत्व आरामदायी समयको मूल्यांकनबाट होइन, कठिन परिस्थितिमा निर्णय र साहस प्रदर्शन गर्न सक्ने क्षमताबाट नापिन्छ । यस्तो नेता मात्र असल निर्णय लिन, जनताको विश्वास जित्न र स्थायी परिवर्तन ल्याउन योग्य हुन्छ ।
नेतृत्वको सबैभन्दा दुर्लभ र महत्त्वपूर्ण गुण हो, विवेक । अब हामीलाई विवेक सम्पन्न नेता चाहिएको छ, जो विश्व परिवेश बुझ्न सक्छ तर व्यक्तिगत स्वार्थमा फस्दैन । जो अन्तर्राष्ट्रिय मञ्चमा संवाद गर्न सक्षम छ, तर आफ्नो राष्ट्रिय हित दृढतापूर्वक राख्छ सक्छ ।
निष्कर्ष
पुराना नेताहरू भ्रष्ट, दिशाहीन र हामीभन्दा टाढा देखिए । तर भदौ आन्दोलनपछि ‘नेता हौं’ भनेर अघि सरेर ‘नयाँ’ पात्रहरूमा पनि ‘पुरानै चरित्र’ देखियो भने हाम्रो भविष्य फेरि अँध्यारोमै फस्नेछ । त्यसैले अब नेता त्यो हो, जो न आफ्नो वंशको प्रतिनिधि हो, न अवसरको व्यापारी । ऊ विवेक, सत्य र सेवाको आवाज हुनुपर्छ । अन्त्यमा, हामीले नेता खोजिरहँदा, हामी आफैं कस्तो नागरिक हौं भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ । किनकि, इतिहास साक्षी छ, जनता जस्ता हुन्छन्, उनीहरूले नेता पनि त्यस्तै पाउँछन् र बनाउँछन् ।
