जेन–जीहरूको देवत्वकरण र दानवीकरण दुवै सिंगो पुस्ताको समग्रीकरणको अल्पदृष्टि हो, अहिले जेन–जी समूह र तिनका विविध एजेन्डाको पहिचान–सम्बोधन गर्न सक्ने अवस्था नआउनुको मूल कारण पनि बिनासुझबुझ गरिएको सम्पूर्ण जेन–जीहरूको समग्रीकरण नै हो।
नेपालको कुल जनसंख्याको लगभग एकतिहाइ हिस्सा जेन–जी उमेर समूहले ओगटेको तथ्यांकले देखाउँछ भने तिनको सालाखाला संख्या झन्डै पौने करोडभन्दा बढी हुन जान्छ । जुन कुल मतदाता संख्याको आधाभन्दा अधिक हो ।
त्यसो त यही मुलुकको एकतिहाइ जनसंख्यालाई नै लक्षित गर्दै भदौ २३ र २४ को आन्दोलन अघि र पछि दुई प्रकारका समाचारहरूले विशेष स्थान पाए । आन्दोलनअघि यो उमेर समूहलाई समग्रीकरण गर्दै तिनको देवत्वकरण गर्ने लहड नै चलेको थियो । जेन–जी पुस्ताको तारिफ गर्दै तिनलाई हौस्याउने प्रवृत्ति हाबी भयो । आन्दोलनपश्चात् भने फेरि आपराधिक गतिविधिहरूसँग जोडेर जेन–जी पुस्तामाथिका समाचारहरू निरन्तर आइरहे ।
जेन–जीहरूको देवत्वकरण र अपराधीकरण दुवै सिंगो पुस्ताको समग्रीकरणको अल्पदृष्टि हो । अहिले जेन–जी समूह र तिनका विविध एजेन्डाको पहिचान–सम्बोधन गर्न सक्ने अवस्था नआउनुको मूल कारण पनि बिनासुझबुझ गरिएको सम्पूर्ण जेन–जीहरूको समग्रीकरण नै हो ।
केही वर्षयता यस प्रवृत्तिले एउटा सिंगो पुस्तालाई समग्रीकरण गर्दै आशा, प्रगति र डिजिटल सशक्तीकरणका प्रतीकका रूपमा अर्थ्यायो । तिनलाई सिर्जनात्मकता, आत्मविश्वास र अनलाइन माध्यमबाट जनमत जगाउने क्षमता भएका नयाँ प्रकारको सक्रिय र डिजिटल सहभागिताको संस्कृतिको जन्मदाताका रूपमा उभ्यायो । तर, यो समग्रीकरणले कुनै निश्चित उमेर समूहबीच पनि भौगोलिक, सांस्कृतिक, आर्थिक, सामाजिक आदि पृष्ठभूमि फरक हुन सक्छन्, विचारधारा, सोच, पहिचान र सुझबुझ अलग हुन सक्छ भन्ने विषयको पूर्णतः बेवास्ता गरेको छ । तसर्थ जेन–जीमाथिको समग्रीकरण र देवत्वकरण एकातिर आन्दोलनलाई उग्र बनाउने प्रभावशाली उत्प्रेरक भयो भने अर्कोतिर यसले उक्त समूहलाई पहिचानका विविध आयामबाट अलग्यायो ।
यो समग्रीकरणले आन्दोलनका लागि ठूलो बल पुर्यायो तर दुःखको विषय आन्दोलन केका लागि थियो, कसको थियो र त्यसले के परिणाम निम्त्याउँदै थियो भन्ने निचोड अझै निस्किएको छैन । त्यति मात्र होइन, खास आन्दोलन कसको थियो, यसको श्रेय कसले लिने अनि आन्दोलन सँगसँगैको विध्वंसको जिम्मेवारी कसको पोल्टामा हाल्ने– यी सबै जिज्ञासा अझै अनुत्तरित छन् ।
यस्तो अवस्थामा विभिन्न जेन–जी समूह अन्तरविरोधी माग र एजेन्डासहित आउनु स्वाभाविकै हो । यसले थप अन्योल सिर्जना गरेको छ भने जेन–जीभित्रको बहुलता र आन्तरिक अन्तरविरोधले पुनः परम्परागत राजनीतिक शक्तिहरूलाई खेल्ने मौका पनि दिइरहेको छ । समग्रमा त्यत्रो क्षति र विध्वंसचाहिँ खास केका लागि थियो भन्ने जिज्ञासा पनि कायमै छ । मुलुक र राजनीति दीर्घकालीन सुशासनतिर अग्रसर हुनेछ भन्ने खास आधार अझै पनि देखिँदैन । त्यसो भए के जेन–जी आन्दोलन अनावश्यक थियो ? तर, त्यस्तो पनि होइन ।
जेन–जी आन्दोलन : एक पूरक आन्दोलन
परम्परागत राजनीतिक शक्तिले निम्त्याएका कुशासन, बेथिति र भ्रष्टाचारविरुद्ध ठोस एजेन्डासहितको एउटा जिम्मेवार आन्दोलन आवश्यक थियो । यो ठोस एजेन्डा र पहिचानबिनाको निश्चित उमेर समूहका नाममा गरिएको आन्दोलनले पुरातन राजनीतिक शक्तिलाई गलहत्याउन त सफल भयो तर यसले खास क्षतिको तुलनामा नवीन उपलब्धि भने दिन सकेन ।
यस अर्थमा जेन–जी आन्दोलनलाई खास आन्दोलन मान्न सकिन्न । बरु आन्दोलनको टड्कारो आवश्यकता भएको यस क्षण त्यसको परिपूर्तिमा अचानक आएको यो आन्दोलनलाई पूरक (सप्लिमेन्ट) आन्दोलनका रूपमा हेरिनुपर्छ ।
अनि यस आन्दोलनका आधारमा निर्माण भएको अहिलेको कामचलाउ सरकार पनि पूरक सरकार हो, जससँग एकदमै न्यून भूमिका मात्रै छ । जस्तै– फागुन २१ मा चुनाव गर्ने र आन्दोलनको निष्पक्ष छानबिन अघि बढाउने । र, यस सरकारको खास काम समयमै चुनाव सम्पन्न गराएर नयाँ जनमतद्वारा नयाँ जनउत्तरदायी सरकार निर्माण गर्ने हो ।
यसर्थ तत्कालका लागि सरकारको अभाव (खाडल) पूरा गर्न बनेको वर्तमान सरकार पूरक सरकार मात्रै हो, जसरी एजेन्डा र दिशाविहीन जेन–जी आन्दोलन पनि खास आन्दोलन नभई आन्दोलनको पूरक मात्रै हो । पूरकका सवालमा सम्भवतः पहिलो पटक जाँ ज्याक रुसोले आफ्नो पुस्तक कन्फेसनमा उल्लेख गरेका छन् । उनले ‘द्याट डेन्जरस सप्लिमेन्ट’ भन्दै यसलाई हानिकारक भएको करार गरेका छन् ।
पूरकलाई ‘खतरनाक’ करार गर्न रुसोले आफ्नै तर्क अघि सारेका छन् । जस्तै उनी भन्छन्– नकरात्मकता सधैं पूरककै रूपमा प्रस्तुत हुन्छ भने पूरक सधैं अर्काको हातबाट परिचालित हुन्छ । अनि पूरक भनेको त्यो विषय हो, जसलाई न प्रकृतिले सहन सक्छ, न त विवेकले स्विकार्न । अनि यो ‘खतरनाक पूरक’ जसलाई रुसो ‘घातक लाभ’ पनि भन्छन्– स्वभावतः मोहक हुने गर्छ । अनि यस खतरनाक पूरकले प्रकृतिले स्वस्फूर्त रूपमा बिस्तारै निर्माण र सञ्चित गरेका शक्ति र अनुभवहरूलाई अत्यन्तै छिटो नष्ट गरिदिन्छ ।
पूरक स्वस्फूर्त लयभन्दा बाहिर जान्छ । रुसोकै पूरकको अवधारणालाई लिएर जेन–जी आन्दोलनलाई हेर्दा केही स्पष्ट खाका पाउन सकिन्छ । जस्तै जेन–जीले सुरु गरेको स्वस्फूर्त आन्दोलनमा कुन–कुन समूह र तप्काले घुसपैठ गरेर विध्वंस मच्चायो भन्नेमा स्वयं जेन–जी पनि अनभिज्ञ छन् । अनि आन्दोलनमा सम्पूर्ण हात र भूमिका जेन–जीको थिएन अरू धेरै स्वार्थ समूहको थियो भन्ने पनि देखिएको छ ।
निश्चय नै यो आन्दोलन प्राकृतिक वा स्वस्फूर्त मात्रै थिएन बरु उत्प्रेरक र मोहक थियो । पुराना राजनीतिक शक्तिलाई पाखा लगाएको यस आन्दोलनले अझ प्रत्युत्पादक बन्दै झन्डै वर्तमान संविधान र व्यवस्थामाथि पनि संकट सिर्जेको थियो । यस अर्थमा यो पूरक आन्दोलन एउटा ‘घातक लाभ’ जस्तो पनि देखिन्छ ।
त्यसो त फरक–फरक विरोधाभासपूर्ण मागहरू बोकेका विभिन्न जेन–जी समूहको दबाबमा वर्तमान सरकार छ । यो पनि स्वतन्त्र र स्वाभाविक छैन । यससँग निष्पक्ष चुनाव गराउनेबाहेक अरू खास म्यान्डेट पनि छैन । अधिकार र वैधानिकता पनि छैन । यस अर्थमा पूरक आन्दोलनपश्चात् बनेको पूरक सरकारसँग राख्नैपर्ने अपेक्षा पनि खासै केही छैन । यसपछि पनि हामीले पाउने उपलब्धि भने नगण्य नै हुनेछ । किनकि यसले पनि अर्को जननिर्वाचित संसद् र सरकार चुनावबाटै निर्माण गर्ने हो । यतिका लागि मात्रै हो भने यत्रो विध्वंस र वितण्डा केका लागि ? यो प्रश्न पनि अनुत्तरित छ ।
पूरककै सम्बन्धमा ज्याक डेरिडाले रुसोको विचारलाई आलोचनात्मक दृष्टिकोणसहित थप अघि बढाएका छन् । डेरिडाका अनुसार, पूरकले पूर्ण अनुपस्थिति र पूर्ण उपस्थितिबीचको अभावलाई पुर्छ । त्यसो त पूरक आफैंमा पूर्ण भने कहिल्यै हुँदैन । त्यसले थप सिलसिलेवार रूपमा थप पूरकहरू मागिरहन्छ । जस्तो यो पूरक सरकारलाई दीर्घकालीन सुशासन र सुधारका लागि खास कामहरू गर्ने अख्तियार पनि छैन ।
त्यसका लागि हामीलाई फागुनपछि खास जननिर्वाचित सरकार चाहिन्छ । तर, यसको अर्थ यो पनि होइन कि ‘पूरक’ ‘खास’ मानिएको भन्दा कमसल हुन्छ । डेरिडाकै अनुसार, पूरक केवल ‘मूल’ को थप वा अतिरिक्त मात्रै होइन, बरु त्यसलाई प्रतिस्थापन गर्ने सामर्थ्य भएको अर्को ‘खास’ नै हो । यस अर्थमा अघिल्लो जननिर्वाचित सरकार निश्चय नै यो पूरक सरकारभन्दा गतिलो थिएन, असीमित कमजोरीहरूको पोको थियो । त्यसैले नै अस्वाभाविक ढंगले त्यसको प्रतिस्थापन भयो ।
खास समस्या त यहाँनेर छ– अब यस पूरक सरकारले निर्वाचनपश्चात् बनाउने जनमतधारी सर्वशक्तिमान ‘खास सरकार’ पनि योभन्दा लायक या गतिलो बन्छ भन्ने कुनै ग्यारेन्टी छैन । यो मुलुकमा हामीले यस्ता ‘पूरक’ र ‘मूल’ सरकारका फेरबदल लामो समयदेखि भोग्दै आइरहेका छौं ।
खासमा, अग्रगामी सुधार र परिवर्तनका लागि अस्तिको पूरकरूपी जेन–जी आन्दोलनका अतिरिक्त एजेन्डासहितका थप आन्दोलन र खबरदारीका कार्यक्रमहरू चाहिन्छन् । यी दुवै पूरक जेन–जी आन्दोलन र पूरक सरकारले जति छिटो आफ्नो सहज र स्पष्ट भूमिका निभाउन सक्दैनन्, राजनीतिक र संवैधानिक संकट झनै लम्बिन सक्छ । र, यी पूरकहरू आफैंले झन् ठूलो समस्या निम्त्याउन सक्छन् । यी दुवै खतरनाक पूरक सावित हुन सक्नेछन् ।
एउटा विरोधाभास यहाँनेर प्रस्ट देखिएको छ । जेन–जीका विभिन्न समूहहरू फरक–फरक मागहरू लिएर सरकारलाई दबाब सिर्जिरहेका छन् । अर्को जटिलता यहाँनेर छ कि कुनचाहिँ माग जेन–जीको हो, कुनचाहिँ होइन वा कुन समूह आधिकारिक आन्दोलनकारी जेन–जी हो र कुन होइन भन्ने कदापि छुट्याउन सकिँदैन । जेन–जी कुनै निश्चित एजेन्डासहितको जिम्मेवार राजनीतिक समूह होइन र हुन सक्दैन । अझ यो कुनै निश्चित उमेर समूहभन्दा पनि निश्चित समयसीमाभित्र जन्मिएका व्यक्तिहरूको पहिचानको समग्रीकरण मात्रै हो ।
त्यो घातक जेन–जीको समग्रीकरण
सन् १९९० को दशकको बीचदेखि २०१० को दशकको सुरुवातमा जन्मिएका मानिसहरूका लागि प्रयोग गरिने पदावली ‘जेन–जी’ मूलतः पश्चिमी समाजशास्त्रीय र बजार या उपभोक्ता संस्कृतिको भाषामा जन्मिएको हो । तर, यो देख्दा सामान्य र तटस्थ जस्तो लागे पनि, यसभित्र पूरा पुस्ताको नामकरण गर्ने खतरनाक राजनीति पनि लुकेको छ । पुस्ता–वर्गीकरण, खासमा तिनको उपभोक्ता व्यवहार, सांस्कृतिक प्रवृत्ति र राजनीतिक धारणा बुझ्ने उपकरण नै हो ।
बिस्तारै यो ‘पुस्तागत वर्गीकरण’ ले मानिसहरूको पहिचान बनाउने र नियन्त्रण गर्ने माध्यमका रूपमा काम गर्न थाल्यो । यसले विविध सामाजिक, आर्थिक, भौगोलिक अनुभवहरूलाई एउटै लेबलभित्र थुन्ने प्रयास गर्यो । यो नामकरणले ‘जेन–जी’ लाई बजारको एउटा खण्डमा रूपान्तरण गरेर समाजशास्त्रीय मात्र होइन, व्यावसायिक उद्देश्य पनि पूरा गर्छ ।
ठूला कम्पनी, विज्ञापनदाता र सरकारहरूले यो शब्द प्रयोग गरी उपभोग व्यवहार अध्ययन गर्छन्, भविष्यको प्रवृत्ति अनुमान गर्छन् । युवाको चाहना र असन्तोषलाई बजारका वस्तुमा परिणत गर्छन् । यसरी युवाको पहिचान उपभोक्ता पहिचानसँग मिसिन्छ, विद्रोहलाई ‘ब्रान्ड’ मा रूपान्तरण गरिन्छ र ‘स्वाभाविकता’ लाई बजारीकरण गरिन्छ । र, असमानता, जातीयता र शक्तिसँग सम्बन्धित सवालहरूलाई छायामा पारिदिन्छ ।
त्यस्तै जब ‘जेन–जी’ शब्द बिनासमीक्षा दक्षिण एसिया वा अफ्रिकाजस्ता समाजमा प्रयोग गरिन्छ, यसले त्यहाँको ऐतिहासिक, आर्थिक र भाषिक विविधतालाई बेवास्ता गर्छ । किनभने धेरै ठाउँमा इन्टरनेट पहुँच, वर्गीय असमानता वा राजनीतिक अस्थिरताले युवाको अनुभवलाई पनि फरक–फरक बनाउँछ । एउटा सिंगो उमेर समूहलाई ‘जेन–जी’ लेबलअन्तर्गत राख्ने अभ्यास कहिलेकाहीँ फासीवादी सोचसँग मिल्दोजुल्दो देखिन्छ किनकि यो एकल पहिचान युवाहरूको स्वतन्त्र सोच, विविधता र कल्पना शक्तिलाई नियन्त्रण गर्न प्रयोग गरिन्छ ।
नेपालमा ‘जेन–जी’ को अवधारणा अब युवाको विविधता होइन, नियन्त्रण गर्न सकिने एउटा प्रतीकमा सीमित भएको छ, जसले वर्ग, जात, लिंग र भूगोलको भिन्नतालाई बेवास्ता गर्छ । फासीवादको मूल स्वरूप नै एकरूपता र नियन्त्रणमा केन्द्रित हुन्छ । तिनका बहुआयामिक पहिचान र अस्तित्वलाई बेवास्ता गरिन्छ । त्यसैले ‘जेन–जी’ लाई सामान्यीकरण गर्नु केवल समाजशास्त्रीय वर्गीकरण मात्रै होइन, यो एक ज्ञानात्मक हिंसा पनि हो ।
समग्रमा, नेपालको राजनीतिमा जेन–जेड आन्दोलन एक ‘खतरनाक पूरक’ जस्तो मात्रै भएको छ । यसले आन्दोलनको आवश्यकतालाई केही हदसम्म पूर्ति गर्दै पुरानो, जर्जर राजनीतिक संरचनालाई चुनौती त दिएको छ तर निकास दिनुको साटो झन् ठूलो अस्थिरता निम्त्याउने पनि सम्भावना छ । राजनीतिक र सामाजिक परिवेशमा यसको ‘साइड इफेक्ट’ उत्तिकै विकराल हुने सम्भावना पनि छ ।
लोकतन्त्रको संविधानरूपी शरीरले यो पूरक अंग या सप्लिमेन्टलाई सहजै स्विकार्ने छनक देखिँदैन । जब एजेन्डा र मागमा एकरूपता आउँदैन तब आन्दोलन स्वयंको पनि कुनै औचित्य रहँदैन, जुनसुकै स्वार्थ समूहले जसरी पनि खेल्न सक्छ । अनि यो समस्याको चुरो कारण भनेकै निश्चित उमेर समूहको त्यो खतरनाक ‘जेनेरलाइजेसन–जी’ नै हो ।
