जेन-जीको देवत्वकरण र दानवीकरण

जेन–जीहरूको देवत्वकरण र दानवीकरण दुवै सिंगो पुस्ताको समग्रीकरणको अल्पदृष्टि हो, अहिले जेन–जी समूह र तिनका विविध एजेन्डाको पहिचान–सम्बोधन गर्न सक्ने अवस्था नआउनुको मूल कारण पनि बिनासुझबुझ गरिएको सम्पूर्ण जेन–जीहरूको समग्रीकरण नै हो।

कार्तिक २०, २०८२

युवराज भट्टराई

The deification and demonization of Zen-ji

नेपालको कुल जनसंख्याको लगभग एकतिहाइ हिस्सा जेन–जी उमेर समूहले ओगटेको तथ्यांकले देखाउँछ भने तिनको सालाखाला संख्या झन्डै पौने करोडभन्दा बढी हुन जान्छ । जुन कुल मतदाता संख्याको आधाभन्दा अधिक हो ।

त्यसो त यही मुलुकको एकतिहाइ जनसंख्यालाई नै लक्षित गर्दै भदौ २३ र २४ को आन्दोलन अघि र पछि दुई प्रकारका समाचारहरूले विशेष स्थान पाए । आन्दोलनअघि यो उमेर समूहलाई समग्रीकरण गर्दै तिनको देवत्वकरण गर्ने लहड नै चलेको थियो । जेन–जी पुस्ताको तारिफ गर्दै तिनलाई हौस्याउने प्रवृत्ति हाबी भयो । आन्दोलनपश्चात् भने फेरि आपराधिक गतिविधिहरूसँग जोडेर जेन–जी पुस्तामाथिका समाचारहरू निरन्तर आइरहे । 

जेन–जीहरूको देवत्वकरण र अपराधीकरण दुवै सिंगो पुस्ताको समग्रीकरणको अल्पदृष्टि हो । अहिले जेन–जी समूह र तिनका विविध एजेन्डाको पहिचान–सम्बोधन गर्न सक्ने अवस्था नआउनुको मूल कारण पनि बिनासुझबुझ गरिएको सम्पूर्ण जेन–जीहरूको समग्रीकरण नै हो । 

केही वर्षयता यस प्रवृत्तिले एउटा सिंगो पुस्तालाई समग्रीकरण गर्दै आशा, प्रगति र डिजिटल सशक्तीकरणका प्रतीकका रूपमा अर्थ्यायो । तिनलाई सिर्जनात्मकता, आत्मविश्वास र अनलाइन माध्यमबाट जनमत जगाउने क्षमता भएका नयाँ प्रकारको सक्रिय र डिजिटल सहभागिताको संस्कृतिको जन्मदाताका रूपमा उभ्यायो । तर, यो समग्रीकरणले कुनै निश्चित उमेर समूहबीच पनि भौगोलिक, सांस्कृतिक, आर्थिक, सामाजिक आदि पृष्ठभूमि फरक हुन सक्छन्, विचारधारा, सोच, पहिचान र सुझबुझ अलग हुन सक्छ भन्ने विषयको पूर्णतः बेवास्ता गरेको छ । तसर्थ जेन–जीमाथिको समग्रीकरण र देवत्वकरण एकातिर आन्दोलनलाई उग्र बनाउने प्रभावशाली उत्प्रेरक भयो भने अर्कोतिर यसले उक्त समूहलाई पहिचानका विविध आयामबाट अलग्यायो ।

यो समग्रीकरणले आन्दोलनका लागि ठूलो बल पुर्‍यायो तर दुःखको विषय आन्दोलन केका लागि थियो, कसको थियो र त्यसले के परिणाम निम्त्याउँदै थियो भन्ने निचोड अझै निस्किएको छैन । त्यति मात्र होइन, खास आन्दोलन कसको थियो, यसको श्रेय कसले लिने अनि आन्दोलन सँगसँगैको विध्वंसको जिम्मेवारी कसको पोल्टामा हाल्ने– यी सबै जिज्ञासा अझै अनुत्तरित छन् । 

यस्तो अवस्थामा विभिन्न जेन–जी समूह अन्तरविरोधी माग र एजेन्डासहित आउनु स्वाभाविकै हो । यसले थप अन्योल सिर्जना गरेको छ भने जेन–जीभित्रको बहुलता र आन्तरिक अन्तरविरोधले पुनः परम्परागत राजनीतिक शक्तिहरूलाई खेल्ने मौका पनि दिइरहेको छ । समग्रमा त्यत्रो क्षति र विध्वंसचाहिँ खास केका लागि थियो भन्ने जिज्ञासा पनि कायमै छ । मुलुक र राजनीति दीर्घकालीन सुशासनतिर अग्रसर हुनेछ भन्ने खास आधार अझै पनि देखिँदैन । त्यसो भए के जेन–जी आन्दोलन अनावश्यक थियो ? तर, त्यस्तो पनि होइन ।

जेन–जी आन्दोलन : एक पूरक आन्दोलन 

परम्परागत राजनीतिक शक्तिले निम्त्याएका कुशासन, बेथिति र भ्रष्टाचारविरुद्ध ठोस एजेन्डासहितको एउटा जिम्मेवार आन्दोलन आवश्यक थियो । यो ठोस एजेन्डा र पहिचानबिनाको निश्चित उमेर समूहका नाममा गरिएको आन्दोलनले पुरातन राजनीतिक शक्तिलाई गलहत्याउन त सफल भयो तर यसले खास क्षतिको तुलनामा नवीन उपलब्धि भने दिन सकेन ।

यस अर्थमा जेन–जी आन्दोलनलाई खास आन्दोलन मान्न सकिन्न । बरु आन्दोलनको टड्कारो आवश्यकता भएको यस क्षण त्यसको परिपूर्तिमा अचानक आएको यो आन्दोलनलाई पूरक (सप्लिमेन्ट) आन्दोलनका रूपमा हेरिनुपर्छ । 

अनि यस आन्दोलनका आधारमा निर्माण भएको अहिलेको कामचलाउ सरकार पनि पूरक सरकार हो, जससँग एकदमै न्यून भूमिका मात्रै छ । जस्तै– फागुन २१ मा चुनाव गर्ने र आन्दोलनको निष्पक्ष छानबिन अघि बढाउने । र, यस सरकारको खास काम समयमै चुनाव सम्पन्न गराएर नयाँ जनमतद्वारा नयाँ जनउत्तरदायी सरकार निर्माण गर्ने हो ।

यसर्थ तत्कालका लागि सरकारको अभाव (खाडल) पूरा गर्न बनेको वर्तमान सरकार पूरक सरकार मात्रै हो, जसरी एजेन्डा र दिशाविहीन जेन–जी आन्दोलन पनि खास आन्दोलन नभई आन्दोलनको पूरक मात्रै हो । पूरकका सवालमा सम्भवतः पहिलो पटक जाँ ज्याक रुसोले आफ्नो पुस्तक कन्फेसनमा उल्लेख गरेका छन् । उनले ‘द्याट डेन्जरस सप्लिमेन्ट’ भन्दै यसलाई हानिकारक भएको करार गरेका छन् । 

पूरकलाई ‘खतरनाक’ करार गर्न रुसोले आफ्नै तर्क अघि सारेका छन् । जस्तै उनी भन्छन्– नकरात्मकता सधैं पूरककै रूपमा प्रस्तुत हुन्छ भने पूरक सधैं अर्काको हातबाट परिचालित हुन्छ । अनि पूरक भनेको त्यो विषय हो, जसलाई न प्रकृतिले सहन सक्छ, न त विवेकले स्विकार्न । अनि यो ‘खतरनाक पूरक’ जसलाई रुसो ‘घातक लाभ’ पनि भन्छन्– स्वभावतः मोहक हुने गर्छ । अनि यस खतरनाक पूरकले प्रकृतिले स्वस्फूर्त रूपमा बिस्तारै निर्माण र सञ्चित गरेका शक्ति र अनुभवहरूलाई अत्यन्तै छिटो नष्ट गरिदिन्छ ।

पूरक स्वस्फूर्त लयभन्दा बाहिर जान्छ । रुसोकै पूरकको अवधारणालाई लिएर जेन–जी आन्दोलनलाई हेर्दा केही स्पष्ट खाका पाउन सकिन्छ । जस्तै जेन–जीले सुरु गरेको स्वस्फूर्त आन्दोलनमा कुन–कुन समूह र तप्काले घुसपैठ गरेर विध्वंस मच्चायो भन्नेमा स्वयं जेन–जी पनि अनभिज्ञ छन् । अनि आन्दोलनमा सम्पूर्ण हात र भूमिका जेन–जीको थिएन अरू धेरै स्वार्थ समूहको थियो भन्ने पनि देखिएको छ ।

निश्चय नै यो आन्दोलन प्राकृतिक वा स्वस्फूर्त मात्रै थिएन बरु उत्प्रेरक र मोहक थियो । पुराना राजनीतिक शक्तिलाई पाखा लगाएको यस आन्दोलनले अझ प्रत्युत्पादक बन्दै झन्डै वर्तमान संविधान र व्यवस्थामाथि पनि संकट सिर्जेको थियो । यस अर्थमा यो पूरक आन्दोलन एउटा ‘घातक लाभ’ जस्तो पनि देखिन्छ । 

त्यसो त फरक–फरक विरोधाभासपूर्ण मागहरू बोकेका विभिन्न जेन–जी समूहको दबाबमा वर्तमान सरकार छ । यो पनि स्वतन्त्र र स्वाभाविक छैन । यससँग निष्पक्ष चुनाव गराउनेबाहेक अरू खास म्यान्डेट पनि छैन । अधिकार र वैधानिकता पनि छैन । यस अर्थमा पूरक आन्दोलनपश्चात् बनेको पूरक सरकारसँग राख्नैपर्ने अपेक्षा पनि खासै केही छैन । यसपछि पनि हामीले पाउने उपलब्धि भने नगण्य नै हुनेछ । किनकि यसले पनि अर्को जननिर्वाचित संसद् र सरकार चुनावबाटै निर्माण गर्ने हो । यतिका लागि मात्रै हो भने यत्रो विध्वंस र वितण्डा केका लागि ? यो प्रश्न पनि अनुत्तरित छ ।

पूरककै सम्बन्धमा ज्याक डेरिडाले रुसोको विचारलाई आलोचनात्मक दृष्टिकोणसहित थप अघि बढाएका छन् । डेरिडाका अनुसार, पूरकले पूर्ण अनुपस्थिति र पूर्ण उपस्थितिबीचको अभावलाई पुर्छ । त्यसो त पूरक आफैंमा पूर्ण भने कहिल्यै हुँदैन । त्यसले थप सिलसिलेवार रूपमा थप पूरकहरू मागिरहन्छ । जस्तो यो पूरक सरकारलाई दीर्घकालीन सुशासन र सुधारका लागि खास कामहरू गर्ने अख्तियार पनि छैन ।

त्यसका लागि हामीलाई फागुनपछि खास जननिर्वाचित सरकार चाहिन्छ । तर, यसको अर्थ यो पनि होइन कि ‘पूरक’ ‘खास’ मानिएको भन्दा कमसल हुन्छ । डेरिडाकै अनुसार, पूरक केवल ‘मूल’ को थप वा अतिरिक्त मात्रै होइन, बरु त्यसलाई प्रतिस्थापन गर्ने सामर्थ्य भएको अर्को ‘खास’ नै हो । यस अर्थमा अघिल्लो जननिर्वाचित सरकार निश्चय नै यो पूरक सरकारभन्दा गतिलो थिएन, असीमित कमजोरीहरूको पोको थियो । त्यसैले नै अस्वाभाविक ढंगले त्यसको प्रतिस्थापन भयो । 

खास समस्या त यहाँनेर छ– अब यस पूरक सरकारले निर्वाचनपश्चात् बनाउने जनमतधारी सर्वशक्तिमान ‘खास सरकार’ पनि योभन्दा लायक या गतिलो बन्छ भन्ने कुनै ग्यारेन्टी छैन । यो मुलुकमा हामीले यस्ता ‘पूरक’ र ‘मूल’ सरकारका फेरबदल लामो समयदेखि भोग्दै आइरहेका छौं । 

खासमा, अग्रगामी सुधार र परिवर्तनका लागि अस्तिको पूरकरूपी जेन–जी आन्दोलनका अतिरिक्त एजेन्डासहितका थप आन्दोलन र खबरदारीका कार्यक्रमहरू चाहिन्छन् । यी दुवै पूरक जेन–जी आन्दोलन र पूरक सरकारले जति छिटो आफ्नो सहज र स्पष्ट भूमिका निभाउन सक्दैनन्, राजनीतिक र संवैधानिक संकट झनै लम्बिन सक्छ । र, यी पूरकहरू आफैंले झन् ठूलो समस्या निम्त्याउन सक्छन् । यी दुवै खतरनाक पूरक सावित हुन सक्नेछन् ।

एउटा विरोधाभास यहाँनेर प्रस्ट देखिएको छ । जेन–जीका विभिन्न समूहहरू फरक–फरक मागहरू लिएर सरकारलाई दबाब सिर्जिरहेका छन् । अर्को जटिलता यहाँनेर छ कि कुनचाहिँ माग जेन–जीको हो, कुनचाहिँ होइन वा कुन समूह आधिकारिक आन्दोलनकारी जेन–जी हो र कुन होइन भन्ने कदापि छुट्याउन सकिँदैन । जेन–जी कुनै निश्चित एजेन्डासहितको जिम्मेवार राजनीतिक समूह होइन र हुन सक्दैन । अझ यो कुनै निश्चित उमेर समूहभन्दा पनि निश्चित समयसीमाभित्र जन्मिएका व्यक्तिहरूको पहिचानको समग्रीकरण मात्रै हो । 

त्यो घातक जेन–जीको समग्रीकरण

सन् १९९० को दशकको बीचदेखि २०१० को दशकको सुरुवातमा जन्मिएका मानिसहरूका लागि प्रयोग गरिने पदावली ‘जेन–जी’ मूलतः पश्चिमी समाजशास्त्रीय र बजार या उपभोक्ता संस्कृतिको भाषामा जन्मिएको हो । तर, यो देख्दा सामान्य र तटस्थ जस्तो लागे पनि, यसभित्र पूरा पुस्ताको नामकरण गर्ने खतरनाक राजनीति पनि लुकेको छ । पुस्ता–वर्गीकरण, खासमा तिनको उपभोक्ता व्यवहार, सांस्कृतिक प्रवृत्ति र राजनीतिक धारणा बुझ्ने उपकरण नै हो ।

बिस्तारै यो ‘पुस्तागत वर्गीकरण’ ले मानिसहरूको पहिचान बनाउने र नियन्त्रण गर्ने माध्यमका रूपमा काम गर्न थाल्यो । यसले विविध सामाजिक, आर्थिक, भौगोलिक अनुभवहरूलाई एउटै लेबलभित्र थुन्ने प्रयास गर्‍यो । यो नामकरणले ‘जेन–जी’ लाई बजारको एउटा खण्डमा रूपान्तरण गरेर समाजशास्त्रीय मात्र होइन, व्यावसायिक उद्देश्य पनि पूरा गर्छ ।

ठूला कम्पनी, विज्ञापनदाता र सरकारहरूले यो शब्द प्रयोग गरी उपभोग व्यवहार अध्ययन गर्छन्, भविष्यको प्रवृत्ति अनुमान गर्छन् । युवाको चाहना र असन्तोषलाई बजारका वस्तुमा परिणत गर्छन् । यसरी युवाको पहिचान उपभोक्ता पहिचानसँग मिसिन्छ, विद्रोहलाई ‘ब्रान्ड’ मा रूपान्तरण गरिन्छ र ‘स्वाभाविकता’ लाई बजारीकरण गरिन्छ । र, असमानता, जातीयता र शक्तिसँग सम्बन्धित सवालहरूलाई छायामा पारिदिन्छ । 

त्यस्तै जब ‘जेन–जी’ शब्द बिनासमीक्षा दक्षिण एसिया वा अफ्रिकाजस्ता समाजमा प्रयोग गरिन्छ, यसले त्यहाँको ऐतिहासिक, आर्थिक र भाषिक विविधतालाई बेवास्ता गर्छ । किनभने धेरै ठाउँमा इन्टरनेट पहुँच, वर्गीय असमानता वा राजनीतिक अस्थिरताले युवाको अनुभवलाई पनि फरक–फरक बनाउँछ । एउटा सिंगो उमेर समूहलाई ‘जेन–जी’ लेबलअन्तर्गत राख्ने अभ्यास कहिलेकाहीँ फासीवादी सोचसँग मिल्दोजुल्दो देखिन्छ किनकि यो एकल पहिचान युवाहरूको स्वतन्त्र सोच, विविधता र कल्पना शक्तिलाई नियन्त्रण गर्न प्रयोग गरिन्छ ।

नेपालमा ‘जेन–जी’ को अवधारणा अब युवाको विविधता होइन, नियन्त्रण गर्न सकिने एउटा प्रतीकमा सीमित भएको छ, जसले वर्ग, जात, लिंग र भूगोलको भिन्नतालाई बेवास्ता गर्छ । फासीवादको मूल स्वरूप नै एकरूपता र नियन्त्रणमा केन्द्रित हुन्छ । तिनका बहुआयामिक पहिचान र अस्तित्वलाई बेवास्ता गरिन्छ । त्यसैले ‘जेन–जी’ लाई सामान्यीकरण गर्नु केवल समाजशास्त्रीय वर्गीकरण मात्रै होइन, यो एक ज्ञानात्मक हिंसा पनि हो । 

समग्रमा, नेपालको राजनीतिमा जेन–जेड आन्दोलन एक ‘खतरनाक पूरक’ जस्तो मात्रै भएको छ । यसले आन्दोलनको आवश्यकतालाई केही हदसम्म पूर्ति गर्दै पुरानो, जर्जर राजनीतिक संरचनालाई चुनौती त दिएको छ तर निकास दिनुको साटो झन् ठूलो अस्थिरता निम्त्याउने पनि सम्भावना छ । राजनीतिक र सामाजिक परिवेशमा यसको ‘साइड इफेक्ट’ उत्तिकै विकराल हुने सम्भावना पनि छ । 

लोकतन्त्रको संविधानरूपी शरीरले यो पूरक अंग या सप्लिमेन्टलाई सहजै स्विकार्ने छनक देखिँदैन । जब एजेन्डा र मागमा एकरूपता आउँदैन तब आन्दोलन स्वयंको पनि कुनै औचित्य रहँदैन, जुनसुकै स्वार्थ समूहले जसरी पनि खेल्न सक्छ । अनि यो समस्याको चुरो कारण भनेकै निश्चित उमेर समूहको त्यो खतरनाक ‘जेनेरलाइजेसन–जी’ नै हो ।

युवराज भट्टराई युवराज प्रकृति,संस्कृति र समसामयिक बिषयमा लेख्छन् ।

Link copied successfully