जेन–जी आन्दोलनपछिको नेपाली शिक्षा प्राविधिक र व्यावसायिक हुनुपर्छ, बहुआयामिक, बहुपक्षीय र व्यावहारिक शिक्षाबिना देश विकास सम्भव छैन ।
जेन–जी नेतृत्वमा भएको विद्रोहले आमनेपालीको भावनामा पनि परिवर्तन ल्याएको छ । यो आन्दोलनले नेपालीको भावना प्रतिनिधित्व गरेको छ । जेन–जी आन्दोलनपछिको शिक्षा प्राविधिक र व्यावसायिक हुनुपर्छ । र, राजनीतिक भागबन्डाले कुरूप बनाउँदै ल्याएको शिक्षा क्षेत्रमा अब व्यापक सुधार हुनुपर्छ । शैक्षिक बेथितिको सुधार गर्ने नाममा तयार पारिएको शिक्षा विधेयक अन्योल र अनेक रापतापमा अल्झियो ।
हालसम्मको नेपालको शिक्षा विकास सन्दर्भ बुझन् १०४ वर्ष अविच्छिन्न शासन गरेका राणाको हुकुमी शासन बुझ्नुपर्छ । त्यो शासन २००७ सालको क्रान्तिले समाप्त पार्यो र प्रजातन्त्रको उदय भयो । अनि मात्रै देशमा शिक्षाको लहर सर्वत्र फैलन थाल्यो ।
२००७ सालको क्रान्ति नै नेपालको आधुनिक इतिहासमा सबैभन्दा ठूलो परिवर्तन र चेतनाको दियो हो । त्यो क्रान्तिपछि नै रैती मानिँदै आएका जनताले नागरिकका रूपमा आफ्नो अधिकार उपभोग गर्न पाए, जनता सार्वभौम र अधिकारसम्पन्न बने, आमनागरिकको मौलिक अधिकारको सुनिश्चितता हुन थाल्यो । अब जनताले पढ्न, लेख्न पाउने भए । यसरी शिक्षालगायत हरक्षेत्रमा २००७ सालको क्रान्तिले ठूलो फड्को मार्यो ।
हुन त नेपालमा आधुनिक शिक्षाको स्थापना वि.सं. १९१० तिरकै समयबाट आरम्भ भएको भनिन्छ । त्यसलाई शिक्षाको जगबसेको मान्नसम्म सकिएला । त्यसपछि स्थापित रानीपोखरी संस्कृत पाठशाला, दरबार स्कुल, त्रिचन्द्र कलेजले शिक्षाको ज्योति बाल्न मद्दत गरे । २००७ को प्रजातन्त्र उदयपछि शिक्षा क्षेत्रमा व्यापक हौसला र चाख बढ्दै आयो । शिक्षामा सरकारी तह र जनताको सक्रियताबाट धेरै कार्य सम्पन्न हुँदै आए । सरकारी लगानी अलवा निजी क्षेत्रबाट समेत शिक्षा क्षेत्रमा व्यापक प्रगति हुन थाल्यो । फलस्वरूप थुप्रै विद्यालय खुल्न थाले । राष्ट्रको सांस्कृतिक परम्पराको संरक्षण गर्न कला एवं विज्ञान र अरू व्यावसायिक क्षेत्रको पनि विकास हुन थाल्यो । परिणामतः वि.सं. २०१६ मा त्रिभुवन विश्वविद्यालयको स्थापना भयो ।
यसरी प्राथमिक शिक्षादेखि उच्च शिक्षालय स्थापना हुँदै आए । शिक्षामा भएको विकास र विस्तारका साथै शिक्षक र कर्मचारी संख्यामा पनि अभिवृद्धि हुँदै आयो । अझ २०२८ सालपछि विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका क्षेत्रमा कर्मचारीको संख्यात्मक वृद्धि निकै हुन थाल्यो । शिक्षकहरूको वृद्धि त हजारौंबाट लाखौं पुग्न थाल्यो । सरकारको अनुदान पनि शिक्षण संस्थाहरूका लागि अत्यधिक वृद्धि हुँदै आयो ।
२०१५ सालमा बहुदलीय प्रजातान्त्रिक पद्धतिका आधारमा आमचुनाव सम्पन्न भयो । उक्त चुनावमा नेपाली कांग्रेसका नेता बीपी कोइराला निर्वाचित भए । आमनेपाली जनतामा ठूलो उत्साह र उमंग छायो । तत्कालीन निर्वाचित लोकप्रिय नेता बीपीको नेतृत्वमा सरकार गठन भयो । सर्वत्र खुसीको लहर छायो । तत्कालीन सरकारले पञ्चवर्षीय योजनादेखि अन्य ठूला योजना र कार्यक्रमसमेत जनतासामु ल्यायो । यसै अन्तर्गत भूमि सुधार, राजा रजौटा उन्मूलन, किसानको हकहितका सवाल आदि कार्य गरिरहेकै अवस्थामा २०१७ साल पुस १ गते राजा महेन्द्रले निर्वाचित लोकप्रिय सरकारलाई अपदस्थ गरे । बहुदलीय प्रजातन्त्र र संसदीय व्यवस्था समाप्त भयो । दलहरूलाई प्रतिबन्ध लगाए । प्रतिबन्धित दलहरू भ्ाूमिगत भए । ठाउँ ठाउँमा भूमिगत अवस्थामै पनि कार्यकर्ताबाट विरोधका गतिविधि भइरहेका थिए । प्रतिरोध तत्कालीन कतिपय विद्यालयहरूबाट पनि भयो । पञ्चायती सरकारले समग्र शिक्षा क्षेत्रमा सुविचारित तवरबाट हस्तक्षेप गर्न थाल्यो ।
राजा महेन्द्रकै कार्यकालमा नयाँ शिक्षा योजना लागू भयो । नयाँ शिक्षा प्रणाली मुलुकको वास्तविकतालाई प्रतिबिम्बित गर्ने विकास र आधुनिकीकरणका लागि ल्याइएको योजना भनिए पनि कैयौंले यस शिक्षा प्रणाली पञ्चायती व्यवस्था टिकाउन ल्याइएको हो भने । हुन त २००७ सालपछि हामीले जति पनि शिक्षा प्रणाली अँगाल्यौं, देशको माटोसँग नभिजेको आभास भएको छ । यसरी राष्ट्रिय विकासलाई टेवा दिनुको साटो राष्ट्रिय भार बन्ने खालको शिक्षाको प्रयोजन रह्यो । र, देशमा अहिले पनि हाम्रा विश्वविद्यालयबाट उत्पादित जनशक्ति स्वदेशमा बिक्न नसकेर विदेसिने प्रथा बढ्दो छ । जुन शिक्षाबाट स्वदेशमै बसी स्वरोजगार सिर्जना गर्ने र देशको माया गर्ने जनशक्ति बन्दैन त्यो शिक्षा के का लागि हुन्छ ?
२००७ सालको क्रान्तिपछि मुलुकमा अर्कै युगको प्रारम्भ भएको भयो । राजनीतिले अपेक्षित दिशा पकड्न सकेन, दलहरूबीच आपसी समन्वयको ठूलो फड्को यथावत् नै रह्यो । बीपी जस्तो सुझबुझ भएका, दूरदर्शी नेतृत्व पाएर पनि मुलुकले सदुपयोग गर्न पाएन । यो नै दुर्भाग्यपूर्ण थियो ।
पञ्चायती कार्यकालको शैक्षिक हस्तक्षेपलाई जति गाली गरे पनि त्यसको दूरगामी प्रभाव आजसम्म हुनुपर्ने अवश्य होइन । बहुदलीय व्यवस्था पुनःस्थापना भएको ३५ वर्ष पुग्दा पनि त्यही पथ–निर्भरता हुनु कहाँसम्म ठीक हो ? २१ औं शताब्दीको ज्ञान, प्रविधि र नवप्रवर्धनको युगमा आएर पनि यथास्थितिकै सोचबाट हाम्रो शिक्षा माथि उठ्न सकेन । तीव्रगतिले बदलिँदै आएको समयमा हरेक व्यक्तिको सोच, व्यवहार र सीपमा पनि तदनुरूप परिवर्तनको खाँचो छ । सिर्जनात्मक सोच, समस्या समाधान गर्ने क्षमता, नवप्रवर्तनात्मक भाव अभिवृद्धि गर्ने शिक्षा चाहिन्छ । शिक्षाले विद्यार्थीलाई जीवनमा प्रयोग गर्न सक्ने सीप, उद्यमशीलता, अनुसन्धान र परियोजनामा आधारित अभ्यास र राष्ट्रिय/अन्तर्राष्ट्रिय ज्ञान–सीप सिकाउने हो ।
हामीले चाहिँ अझै शिक्षालाई ज्ञान हस्तान्तरणको विधि ठान्यौं । यसरी शिक्षाको उद्देश्य पूरा हुँदैन । आजको शिक्षाले विद्यार्थीलाई भविष्यका लागि सक्षम, जागरुक र जिम्मेवार नागरिक बनाउने हो । यसका लागि केटाकेटीलाई सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक शिक्षा पढाउनु आवश्यक छ ।
शिक्षाले ज्ञान, सीप र सिर्जनाका अपार सम्भावनाको क्षितिज उघार्छ । व्यक्ति, परिवार, समुदाय, समाज र राष्ट्रको भविष्य निर्माण गर्ने जनशक्ति उत्पादन गर्छ शिक्षाले । विद्यार्थीले समाज र राष्ट्रका लागि उपयोगी हुने ज्ञान, सीप, प्रविधि, व्यवहार, नीतिको गहन अध्ययन गर्छन् । त्यसैले बहुआयामिक, बहुपक्षीय र व्यावहारिक शिक्षाबिना देशको विकास सम्भव छैन ।
