फेरि पनि उठ्नेछौं

विभेदरहित समाजको परिकल्पना र जनताको अधिकार संरक्षण गर्न संविधानको निर्माण गरिएको हो । संविधान केवल देशको मूल कानुन मात्र होइन, गरिब, निमुखा र पीडितहरूको बाँच्ने आधार पनि हो ।

कार्तिक १६, २०८२

विशाल लम्साल

We will rise again.

नेताहरूले आफूलाई भगवान्कै दर्जामा राखेर विभेदको साम्राज्य खडा गरे । अन्यायको थिति बसाए । शक्तिको उन्मादमा मात्तिएका बुज्रुकहरूले जनताको ढाडमा टेकेर नाङ्गो नाच देखाए । अझै पनि समाजलाई दिग्भ्रमित पार्ने प्रपञ्च रचिरहेका छन् । अब भने युवाहरू ब्युँझिएका छन् ।

समाजको श्रुतिबिम्बबाट समानता, एकता र भाइचारा अगाडि बढाउँदै संविधान रक्षाका खातिर हामी ज्यानकै बलि दिएर हिँडिसकेका छौं । देश र जनताको भावनाभन्दा माथि अरू केही छैन । विभेदरहित समाजको परिकल्पना र जनताको अधिकार संरक्षण गर्न संविधानको निर्माण गरिएको हो । संविधान केवल देशको मूल कानुन मात्र होइन, गरिब, निमुखा र पीडितहरूको बाँच्ने आधार पनि हो ।

कुनै बेला विकासको दाँजोमा हाम्रै हाराहारीमा रहेका देशहरू आज शिखरमा पुगिसकेका छन् । उदाहरण कोरिया हो । विकासको तीव्र गतिको सम्भावनालाई जापानको उदाहरणबाट हेर्न सकिन्छ । जापानका ठूला भनिने सहरहरू हिरोसिमा र नागासाकीमा कुनै बेला एटम बम प्रहार गरिएको थियो । हजारौं मानिसको निधन भएको थियो । भौतिक संरचनालाई करिब शून्यमा पुर्‍याइएको थियो । हिरोसिमा र नागासाकीले भौगोलिक बनावट मात्र गुमाएन, हजारौंहजार फmत्रिँदै गरेका नयाँ सपनाका बीउ पनि गुमाए । तर कुशल नेतृत्वका कारण देशको मुहार फेरियो । विनाश र विकास एउटा सिक्काका दुई पाटा हुन् भन्ने मनन गर्दै अगाडि बढे नेपाल पनि स्वर्ग बन्न धेरै बेर लाग्दैन । आखिर हामीले समातेको डोरी कहाँ कमजोर भयो ? हाम्रा पाइला कता लडखडाए ? कस्तुरी खोज्न हिँडेको मृग जस्तै, आफ्नै स्वर्गभूमिलाई चिन्न सकेनौं । यसैले त हामी पिल्सिरहेका छौं । छिमेकीबाट दबाइएका छौं । अझ भनौं, वीर गोर्खालीको वजनदार इतिहास नामेट पारिरहेका छौं ।

रोजगारीका लागि अरूको देशमा अपमान सहनुपर्ने किन भयौं ? हामीले बाटो कहाँ बिरायौं ? यहाँ उत्पादन न्यून छ । उत्पादनलाई जोड दिने परिपाटी छैन । हरेक ठाउँमा घूस र भ्रष्टाचार, हरेक ठाउँमा राजनीतिक घुसपैठ छ । अनि कसरी हुन्छ, विकास ? 

देश बिगार्ने पनि हामीले नै रोजेका प्रतिनिधि हुन् । हामीद्वारा नै सप्रिनुपर्छ । सप्रिन्छन् पनि । हामी आफैंले आफैंलाई पनि हेर्नुपर्छ । इर्ष्या मात्र भरिएको दिमागले विकास सोच्न सक्दैन । परिवर्तन सोच्न सक्दैन । सबैभन्दा पहिले हामी आफैंले आफैंलाई बदल्नुपर्छ । भनिन्छ नि, एक प्रतिबद्घताले दस प्रतिबद्घता जन्माउँछ, दसले सय, सयले हजार, अनि हजार प्रतिबद्घताले परिवर्तन ल्याउँछ ।

हामी देश विकासका लागि परिश्रम बेच्न चाहन्छौं, आफ्नै मातृभूमिमा दस औंला खियाउन चाहन्छौं । जसरी पुर्खाले देशलाई विश्वमा चिनाए, हामी नयाँ पहिचान थप्न चाहन्छौं । प्राकृतिक सुन्दरताले भरिएको यो देशलाई संसारले माया साट्ने मनोरम स्थान बनाउन चाहन्छौं । लाखौं पर्यटक भित्र्याएर अर्बौं आम्दानी गर्न चाहन्छौं ।

२३ र २४ भदौको आन्दोलनले विध्वंस मात्र मच्चाएन, भ्रष्ट र कलंकहरूको सातो पनि लगेको छ । अर्बौंको क्षति भएको, दर्दनाक मानवीय क्षति भएको यी चक्षुबाट ओभाएको छैन । देशले मलम खोजेको छ । सहारा खोजेको छ । हिमाल जस्तै अडिग रहन बलियो आधार खोजेको छ । हामी लडेका हौं, मरेका छैनौं । सहिदहरूको पनि हिसाबकिताब हुनेछ, शंका छैन ।

अब हामी नेपालभर उत्पादनलाई प्राथमिकता दिन चाहन्छौं । पर्यटन प्रवर्द्धन र विकास गर्न चाहन्छौं । देशलाई स्विट्जरल्यान्ड बनाउनु छैन, अमेरिका वा चीन बनाउनु छैन । नेपाललाई नेपाल जस्तै बनाउनु छ । विश्वले भनोस्, एक दिन हामी पनि नेपाल जस्तै बन्नेछौं ।

अग्रजले आर्जेको देशलाई बिग्रन नदिई भावी पुस्तामा सुम्पिनु छ । सहिष्णुता र मानवताको धर्म सिकाउनु छ । कुर्सी र सत्ताका लागि लड्नु छैन । समय बितेको छैन, बादलले घाम छेक्दैमा दिन सकियो कहाँ भन्न सकिन्छ र ? विकासका आगामी दिनहरूमा हजारौं क्रान्ति हुनेछन् । फेरि पनि महाभारत हुनेछ । पापका विरुद्घ धर्मकै जित हुनेछ । कलियुगमा पनि रामकै जित हुनेछ । यसमा कुनै शंका छैन । 

युवाद्वारा गरिएको क्रान्ति पक्कै पनि डग्मगाउने छैन । छिट्टै देशमा अमनचयन कायम हुनेछ । ढलेका र जलेका धरोहर मजबुतीका साथ फेरि उठ्नेछन् । छिट्टै स्वर्गको पर्यायवाची नेपाल बन्नेछ । उत्पादन र बजारीकरणभन्दा बाहिरबाट देश विकास सम्भव छैन । परिष्कृत संयन्त्र र भूगोलअनुरूपको उत्पादनलाई जोड दिँदै दिनानुदिन विदेसिन बाध्य गराइएका दाजुभाइहरूलाई देशमै आश्रय दिन सके मात्र देशले काँचुली फेर्न धेरै बेर लगाउने छैन ।

विशाल लम्साल लम्साल युवा उद्यमी तथा विद्यार्थी हुन्।

Link copied successfully