कान्छा शेर्पा : सगरमाथाका सच्चा भक्त

प्रथम सफल सगरमाथा आरोहण दलका अन्तिम जीवित सदस्य कान्छा शेर्पा बरोबर भनिरहन्थे– देउता सम्झेर हिमाल चढ्नु ! ती ‘देउता’ आरोहीका हरेक कदममा हुन्थे ।

कार्तिक ३, २०८२

ज्ञानेन्द्रकुमार श्रेष्ठ

Kanchha Sherpa: A true devotee of Mount Everest

What you should know

थम सफल सगरमाथा आरोहण दलका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा गत साता निधन भयो । उनको निधनपछि त्यो ऐतिहासिक आरोहण हाम्रो प्रत्यक्ष स्मृतिबाट टुटेको छ ।

सन् १९५३ मा तेन्जिङ नोर्गे र एडमन्ड हिलारी चुचुरो पुग्नुमा कान्छाजस्ता शेर्पाहरूको साहस र समर्पणले काम गरेको थियो । कान्छा सहितका शेर्पाहरूले करिब ८ हजार मिटरभन्दा माथिल्लो उचाइमा खडा गरिदिएको उतिबेलाको अन्तिम क्याम्पमा बसेरै तेन्जिन–हिलारीले चुचुरो टेकेका थिए ।

सगरमाथा आरोहणको त्यस घटना थियो– नेपालका लागि विश्वमञ्चमा आफ्नो पहिचान बदल्ने एक मोड । त्यस अभियानका एक निर्णायक सदस्य कान्छा जीवनका अन्तिम क्षणसम्मै आरोहणका ती दिन सम्झेर रोमाञ्चित हुन्थे । ७ दशकदेखि नाम्चे बजारको आफ्नो घरमा बसेर सगरमाथा आरोहण र खुम्बु पदयात्रामा जाने हजारौं यात्रीलाई उनले त्यो ऐतिहासिक आरोहणका रोमाञ्चक स्मृतिहरू अनगिन्ती पटक सुनाइरहे । उनको घरलाई आरोहीहरू पवित्र धाम मान्थे । खुम्बु पदयात्रामा जानेहरूको एक सपना हुन्थ्यो– कान्छा शेर्पालाई भेट्नु । कान्छाबिनाको खुम्बु अब खल्लो–खल्लो हुनेछ ।

कान्छाको साख र साथ

हालैका वर्षहरूमा एकै याममा शेर्पा र आरोही गरी पाँच–छ सयको संख्यामा सगरमाथा चुचुरोमा मानिसहरू पुग्छन् । पछिल्ला दुई दशकमा पटक–पटक कान्छालाई भेट्दा उनी त्यो तथ्य सुनेर आश्चर्यले मुस्कुराउँथे । भन्थे– ‘कसरी चढ्छन् यति धेरै मान्छे ?’ त्यसपछि उनी आफ्नो आरोहणको पुरानो दिनतिर बरालिन्थे, ‘उतिबेला हाम्ले तेन्जिङ र हिलारीलाई अन्तिम क्याम्प त बनाइदियौं तर त्यसपछि उनीहरू कहाँ, कसरी टप गर्लान् भन्ने थाहा पाउन सकेका थिएनौं ।’ दन्त्य कथाझैं लाग्ने त्यस्ता स्मृति अब सुन्न पाइने छैन ।

सगरमाथा आरोहण गर्दा सन् १९५३ मा कान्छा किशोर थिए । धेरैलाई तिलस्मी पात्रजस्ता लाग्ने तेन्जिङका कथा कान्छा अन्तिम समयसम्मै सुनाइरहन्थे– ‘पैताला मुसारेर मलाई उनले न्यानो पारेका थिए..., निकै रेखदेख गर्थे..., उनमा चढ्नैपर्छ भन्ने अचम्मको सोच थियो..., उनी त राजाजस्तै थिए ।’ उनीबाट तेन्जिङ–गाथा सुन्नु एक विशिष्ट अनुभव हुन्थ्यो ।

तेन्जिङजस्तै रातारात सेलेब्रिटी बनेका मानिस संसारमा सायद कमै छन् । उनी सर्वोच्च शिखर उक्लिँदा संसारका लागि शेर्पा जातिको कुनै अस्तित्व थिएन । तर, शिखरबाट झर्दा तेन्जिङसँगै सम्पूर्ण शेर्पा जाति नै संसारका लागि मूल्यवान र विशेष बनेको थियो । सगरमाथाबाट ओर्लेपछि कान्छाले सहज र सरल जीवन रोजे, फेरि कहिल्यै चुचुरो टेक्ने महत्त्वाकांक्षा पालेनन्, कहिले गाइड भए, कहिले भरिया । ‘जीवन दाउमा राखेर हिमाल नजान’ श्रीमतीको आग्रह सुने । र, हिमालबाट कमाएको पैसाले नाम्चेमा लज खोले ।

हिमाललाई कान्छाले सदैव ‘साँच्चिकै देउता’ कै रूपमा पुजिरहे । गत वर्ष नाम्चेमै भेट्दा उनलाई बुढ्यौलीले थप गलाएको थियो । उत्तरतिर टोलाउँदै मधुरो स्वरमा उनले हिमालको चिन्ता गरेका थिए, ‘अब देउता रिसाए ।’ हिमालमा कम हिउँ परिरहेको, दुर्घटना धेरै भइरहेको, फोहोर थुप्रिरहेको बारे उनी छोरा–नाति र पदयात्रीहरूबाट जानकारी लिइरहेका हुन्थे ।

कान्छासँग केही समय बिताउनु र उनका कुरा सुन्नुको अर्थ विगतमा फर्कनु मात्रै हुँदैनथ्यो । सुन्नेहरूलाई लाग्थ्यो, उनी जलवायु परिवर्तनले पारेको असर र हिमाल बुझ्ने एक ऐना हुन् । हस्ताक्षर गर्नकै लागि आफ्नो नाम लेख्न सिकेको कान्छा बताउँथे । पछिल्ला दशकमा उनी भनिरहेका हुन्थे– अब हिमाललाई आराम दिनुपर्छ । व्यवसायीकरणको छायामा उनको चिन्ता बुझ्ने र त्यसमाथि काम गर्नेहरूको कमी थियो । तर, उनले आफ्नो कुरा भनिरहन कहिल्यै छाडेनन् ।

अब दस्ताबेजमा इतिहास

तेन्जिङ–हिलारीका नाति–नातिनीहरू खुम्बु पुग्दा कान्छाको दर्शन गर्थे, आशीर्वाद लिन्थे । सायद उनीहरूका लागि कान्छा थिए– दिवंगत हजुरबुबाको आत्मा भेट्ने एक सम्पर्कबिन्दु । कान्छा उनीहरूलाई तेन्जिङ–हिलारीका महानताका कथा र व्यक्तिगत स्मृतिहरू सुनाउँथे । सन् १९५३ को ऐतिहासिक आरोहण एउटा सामूहिक प्रयासको प्रतिफल भए पनि कर्म र धर्मका कारण तेन्जिङ र हिलारी त्यसको असली हकदार भएको विश्वास कान्छाको थियो । पहिलो रोजाइको चुचुरो पुग्ने दलमा तेन्जिङ–हिलारी दुवै थिएनन् । त्यसअघिका दुई ब्रिटिस आरोही चुचुरो पुग्न नसकेर फर्किएपछि टोली नेता कर्णेल जोन हन्टको निर्देशनमा उनीहरूको पालो आएको थियो । त्यसैले ‘हिमालमा बलभन्दा देउताको विश्वास बढ्ता चल्ने’ कान्छा बताइरहन्थे ।

थामेमा तेन्जिङ हुर्केको घरको नामोनिसान भेट्न गाह्रो छ । तर, कान्छा नरहे पनि उनको घरलाई एउटा संग्रहालयका रूपमा राख्न जरुरी छ । उनले दर्शाएका चिन्ता बुझ्न जरुरी छ । चौंरी चराएर उनी हुर्केको खुम्बुमा अब याकका नाकका घाँटीमा झुन्डिने घण्टीका धुनभन्दा हेलिकोप्टरका झर्कालाग्दा आवाज धेरै सुनिन्छन् । त्यहाँका मानिसको जीवन सपनाजसरी फेरिएको छ । तर, ‘देउता रिसाउने गरी मानिसले काम गर्नु भनेको स्वार्थी हुनु हो’ भनिरहन्थे कान्छा । अब पवित्र मनले हिमालको चिन्ता गर्ने सगरमाथाका सच्चा भक्त हामीले सदाका लागि गुमाएका छौं ।

प्रविधिभन्दा पर, श्रद्धाको मन

विज्ञान प्रविधिको तीव्र विकास र विस्तारले सगरमाथामाथि श्रद्धा र सम्मान कम हुँदै गइरहेको छ । कीर्तिमानी दौडका लागि आरोहीले नियम–कानुन तोडेकोदेखि नैतिकताको कसीसम्ममा खराब कामको खबर सुनिन्छन् ।

कान्छा सधैं भनिरहन्थे– देउता सम्झेर हिमाल चढ । उनले भन्ने ‘देउता’ सिर्फ शिखरमा बस्दैनन्, आरोहीका हरेक कदममा हुन्छन् । हिमाल आरोहण सहज छैन । त्यसैले त भनिन्छ– आरोहण अरूसँगको होइन, आफैंसँगको प्रतिस्पर्धा हो । कान्छाले मधुरो स्वरमा सधैं यही प्रतिस्पर्धाको व्याख्या गरिरहे । 

–श्रेष्ठ नेपाल सरकारका शाखा अधिकृत तथा सगरमाथा आरोही हुन् । 

ज्ञानेन्द्रकुमार ज्ञानेन्द्रकुमार श्रेष्ठ नेपाल सरकारका अधिकृत हुन् ।

Link copied successfully