अहिलेको जेन–जी प्रदर्शनले सहरको भौतिक स्वरूप र वास्तुकला बनोटको अन्तर–सम्बन्धले पनि प्रदर्शनको आकार र प्रकारलाई निर्दिष्ट गर्न सक्छ भनी देखाएको छ।
What you should know
सधैंझैं नियमित लयमा रहनुपर्ने काठमाडौंका सडक, संगम–चोकलगायत अन्य सार्वजनिक स्थल २०८२ भदौ २३ मा अचानक फरक उद्देश्यसहित हजारौं जेन–जी युवाले भरिए । सम्भवतः पहिलो पटक सडकमा उत्रिएका युवाको उद्देश्य सरकारले लादेको सत्तात्मक कुशासन, राजनीतिक वृत्तमा व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी गरिएको सामाजिक सञ्जाल प्रतिबन्धको शान्तिपूर्ण विरोध गर्नु थियो ।
‘डिजिटल प्लेटफर्म’ जस्ता प्रविधि–आधारित पूर्वाधारको प्रयोगसँगै निर्माण हुने सामाजिक तथा प्रतीकात्मक स्थान–अनुभव गर्न सकिने सामाजिक सञ्जालमा विभिन्न युवा समूह संगठित भई नेपो–किड्स नामक सामूहिक अभियानबाट सुरु भएको यो पहल क्रमशः भर्चुअल स्थानबाट सहरका सार्वजनिक भौतिक स्थानतर्फ प्रदर्शनका रूपमा विस्तारित भयो । यसै क्रममा भदौ २३ मा संसद् भवन र वरिपरिको सडकमा सत्तापक्षद्वारा गरिएको कठोर दमनबाट कम्तीमा डेढ दर्जन युवाको मृत्यु भएको समाचार द्रुत गतिमा फैलिँदा यो प्रदर्शनले राष्ट्रियस्तरमै प्रभाव देखायो ।
फलतः दोस्रो दिनको विरोध प्रदर्शन हिंसात्मक बन्दै जाँदा सहरका मुख्य सडक र भित्री गल्ली, नदी करिडोर र खुला स्थलमा भिडन्त, आगजनी र तोडफोड भए । संघीय संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता प्रमुख प्रशासनिक र न्यायिक संरचना क्षतिग्रस्त भए भने पूर्वप्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताहरूका निवास लगायतका निजी सम्पत्ति, कान्तिपुर मिडिया ग्रुप मुख्यालयजस्ता सञ्चारगृह र जेल/कारागारसम्म निसानामा परे ।
अभियानदेखि प्रदर्शनसम्म
जेन–जीको यो पहल आन्दोलनभन्दा बढी अभियान र यसले जन्माएको प्रदर्शन भनी बुझ्न सकिन्छ । भर्चुअल–स्पेसबाट सुरु भएको अभियानको उत्कर्षका रूपमा मुखरित यस किसिमको प्रदर्शनको मानवीय, राजनीतिक, सामाजिक, आर्थिक पाटाहरूको चर्चा–परिचर्चा विभिन्न कोणबाट भए पनि यसका स्थानीय आयाम तथा स्थानीय अभिव्यक्तिलाई नेपालको सन्दर्भमा त्यति विमर्श गरिएको पाइँदैन ।
यस किसिमको प्रदर्शनलाई बुझ्न स्थानीय आयाम र स्थानीय अभिव्यक्तिको अन्वेषण महत्त्वपूर्ण हुन्छ । किनभने सडक, चोक, पुल, शक्ति केन्द्र वा सांस्कृतिक स्थलजस्ता स्थानीय आयामले प्रदर्शनको दिशा निर्धारण गर्छन् भने यस्ता सार्वजनिक स्थलमा जुलुस, प्रतिस्पर्धा, नियन्त्रण, हिंसा, कब्जाजस्ता स्थानीय अभिव्यक्तिमा प्रदर्शन प्रत्यक्ष रूपमा प्रकट हुन्छ । यसै सन्दर्भमा भदौ २३ र २४ को आन्दोलन र प्रदर्शनको स्थानीय आयाम र स्थानीय अभिव्यक्तिका बारेमा प्रकाश पार्नु वाञ्छनीय होला ।
प्रतीकात्मक केन्द्रहरूको नियन्त्रण
प्रदर्शन कहाँ हुन्छ र कुन स्थानलाई निसाना बनाइन्छ भन्ने आफैंमा अर्थपूर्ण कुरा हो । स्थानीय अभिव्यक्तिको हिसाबले जेन–जीको प्रदर्शनमा सर्वप्रथम पहिलो दिन युवाहरूले मुख्य सार्वजनिक स्थलहरूमा आफ्नो उपस्थिति जनाई तिनलाई अस्थायी रूपमा ओगटेका थिए । सामाजिक आन्दोलनको अनुसन्धानकर्ता प्रसिद्ध जर्मन सामाजिक वैज्ञानिक प्रिसका डाफीका अनुसार चोक, पार्क वा सरकारी भवनजस्ता ठूला प्रतीकात्मक स्थल कब्जा गर्नु र त्यहाँ सार्वजनिक प्रदर्शन गर्नु प्रदर्शनकारीका लागि आन्दोलनको शक्ति र सन्देश प्रकट गर्ने मुख्य माध्यम हुन् ।
मिस्रको तहरिर स्क्वायर वा इस्तानबुलको गेजी पार्कजस्तै, जेन–जीले काठमाडौंमा व्यस्त सहरी संस्कृतिको पर्याय नयाँ बानेश्वरका सडक तथा माइतीघर मण्डलाजस्ता सहरी संगम–चोक र यी वरिपरि रहेका सत्ताको प्रतिनिधित्व गर्ने केन्द्रहरू संसद् भवनलगायत अन्य महत्त्वपूर्ण प्रशासनिक तथा न्यायिक भवन संरचनालाई पहिले ओगटेर फेरि अस्थायी नियन्त्रणमा लिएका थिए । यो प्रतिरोध युवाहरूले फगत विश्वास गुमाएको भ्रष्ट राज्यसत्ता चलाउन प्रयोग हुने संरचना–आधारहरूप्रतिको अस्वीकारोक्ति थियो, सत्ताको प्रतीकात्मक अर्थलाई चुनौती दिएको सन्देश थियो ।
ठूला सडक र संगम–चोक केन्द्रित यो असन्तुष्टि र विरोध क्रमशः विस्तार हुँदै गल्ली–टोल, बागमती नदी किनार तथा त्यहाँका पुलहरूमुनिका उपेक्षित कुनाकाप्चासम्म प्रतिरोध प्रकट गर्ने ठाउँको रूपमा देखिएको थियो । यसरी, सार्वजनिक स्थलहरू केवल भूगोल मात्र बनेनन्, बरु ती प्रतिरोध, नियन्त्रण र हिंसाका प्रतिस्पर्धी मञ्च बने । यी स्थानहरूमा जेन–जीको नियन्त्रित प्रतिरोध, राज्यसत्ताको घेराबन्दीमार्फतको नियन्त्रण र अराजक तेस्रो पक्षको हिंसा एकैचोटि प्रकट भए– जसले प्रदर्शन र सहरको खुला सार्वजनिक क्षेत्रहरूको स्थिति र तिनमा अभिव्यक्त प्रतीकात्मक स्थानीयलाई दर्शाएका थिए ।
सडक र संकुचन बिन्दुहरू
स्थानीय आयामको दृष्टिकोणले जेन–जीको प्रदर्शन सुरुमा सडक र नयाँ बानेश्वर र माइतीघरजस्ता व्यस्त सडक संगम–चोकहरूमा केन्द्रित थियो । यहाँ भएका युवाहरूको भेला र नाराबाजीले आन्दोलनलाई चाँडै दृश्यात्मक र प्रभावकारी बनाएको थियो । सामाजिक आन्दोलनका अध्ययनकर्ता युवान सुका अनुसार प्रदर्शन शान्तिपूर्ण चरणबाट हिंसात्मक चरणमा पुग्न सडक संरचना, बाटोमा हुने अवरोध र भीडको गतिशास्त्रको महत्त्वपूर्ण भूमिका हुन्छ ।
सार्वजनिक रूपमा सबैभन्दा सहजै तथा सुलभ पहुँच भएका सडक तथा चोक क्षेत्रबाट सुरु भएको जेन–जीको स्वाभाविक प्रारम्भिक प्रदर्शन छिट्टै गल्ली–करिडोर, बागमती नदी किनार र पुलमुनिका अँध्यारा कुनाकाप्चाजस्ता संकुचन बिन्दुहरूमा प्रकट भयो । युवाहरूको प्रदर्शनले यी क्षेत्रलाई अस्थिर तथा चलायमान बनाए, जसले उनीहरूलाई छिट्टै भेला हुन, छिटो फैलिन, लुक्न र प्रहरी घेराबन्दी तोड्न एउटा स्थानीय परिवेश प्रदान गरे । त्यसैगरी संकुचन बिन्दुहरूले अवरोध पनि पनि सिर्जना गरे, जसले प्रहरीलाई बल प्रयोग गर्न सजिलो बनायो ।
फ्रान्सेली समाजशास्त्री हेनरी लेफब्रेको अवधारणालाई सापटी लिने हो भने काठमाडौंका सार्वजनिक स्थान केवल नक्सामा देखिने भौतिक संरचना मात्र भएनन्, ती प्रदर्शनकारीका योजना, नियन्त्रण र प्रत्यक्ष अनुभवको संगम बने । यी स्थानहरूले एकातिर प्रदर्शनलाई सशक्त बनाए भने अर्कोतिर हिंसात्मक भिडन्तलाई तीव्र बनाउन मद्दत गरे । महत्त्वपूर्ण सार्वजनिक भवन र तिनका प्रांगणहरू अन्ततः प्रतीकात्मक कब्जाको स्थल बने ।
सहरी संरचनाका यी आयाम अपरिपक्व राजनीतिक निर्णय, प्रहरी रणनीति, भ्रष्टाचार, सामाजिक–आर्थिक असन्तुष्टिबाट उत्पन्न युवा भीडको आक्रोशसँग मिसिन पुग्यो र यी स्थानहरू त्यसलाई प्रतिबिम्बित गर्ने भौतिक परिवेश बन्न पुगे । जसले सहरी योजनाको स्थानीय आयामलाई प्रकट गर्छ ।
डिजिटल स्पेस र मिश्रित सार्वजनिक वृत्त
तीव्र रूपमा परिवर्तन भइरहेको आजको डिजिटल युगमा समसामयिक विषयमा छलफल गर्न जेन–जीलाई उपलब्ध सुविधाहरूमध्ये धेरै हदसम्म भर्चुअल स्थान नै हो, जसले उनीहरूमाझ एउटा भर्चुअल सार्वजनिक वृत्तको निर्माण गर्न मद्दत पुर्यायो । यसरी सुरुवात भई सामाजिक सञ्जालमा विस्तारित यो भर्चुअल सार्वजनिक–वृत्त, नेपो–किड्स तथा भ्रष्टाचारविरोधी डिजिटल अभियानमा आबद्ध युवालाई संगठनात्मक समूहहरूमा जोड्ने कारक तत्त्व बन्यो ।
राज्यसत्ताद्वारा यो वृत्तलाई नियन्त्रण गर्न खोजेपछि युवाहरू भर्चुअल स्थानबाट सडक, चोकजस्ता भौतिक स्थानहरूमा निस्किएर सहरमा उपलब्ध सार्वजनिक स्थानमा सामूहिक प्रदर्शन गरे, जसले अस्थायी रूपमै भए पनि मिश्रित–सार्वजनिक वृत्तको निर्माण गर्यो ।
यसै सन्दर्भमा प्रसिद्ध जर्मन चिन्तक युर्गेन हाबरमासले सार्वजनिक वृत्तलाई नागरिकले स्वतन्त्र रूपमा छलफल गर्ने र राज्यलाई चुनौती दिने थलोका रूपमा व्याख्या गरेका छन् । त्यस्तै स्पनिस समाजशास्त्री मानुएल कास्तेल्सले भनेझैं प्रदर्शनका लागि फेसबुक, ट्विटर र टिकटकजस्ता डिजिटल प्लेटफर्महरूबाट जेन–जीले सुरु गरेको छलफल र यसको सञ्जालीकृत विस्तारले प्रदर्शनका मुद्दाका लागि आवश्यक वैचारिक आधार निर्माण गरे । साथसाथै यस्तो मिश्रित सार्वजनिक वृत्तको निर्माणका क्रममा देखिएको अर्को भनेको संज्ञानात्मक पाटो हो, जसले प्रदर्शनकारीको स्थान–प्रयोगको मानसिक प्रक्रिया, सोच्ने–बुझ्ने शक्तिलाई कसरी प्रयोग गरे भन्ने हो । जसअन्तर्गत तिनले सामाजिक सञ्जाल प्रयोग गरी सूचना आदानप्रदान, सडकमा साझा उपस्थितिको सुनिश्चितता, दिशाबोध–नियमन र सुरक्षित क्षेत्रहरूसम्बन्धी मानसिक नक्साका लागि आवश्यक रणनीतिको निर्माण गरे, जसको वास्तविकता सत्तापक्षले नकारेको देखियो ।
यो नकारात्मकताले सहरमा विद्यमान सार्वजनिक स्थलहरू सामाजिक सञ्जालमा निर्मित विचारधारा अभिव्यक्त गर्ने हिसाबले एकअर्काका पर्याय भए । भौतिक हिसाबले राज्यसत्ताद्वारा नियमित गरिएका सहरका सार्वजनिक स्थान सामाजिक सञ्जालको प्रयोगकर्ताको नियन्त्रणमा पुगे । यस अर्थमा, अभिव्यक्ति स्वतन्त्रताको हिसाबले भर्चुअल र भौतिक स्थानहरू अलग–अलग नभई अन्तरसम्बधित तथा परिपूरक बने । भर्चुअल स्थानले प्रदर्शनलाई विचार प्रदान गरे भने सार्वजनिक स्थलले त्यसलाई मूर्तरूप दिन भौतिक परिवेश उपलब्ध गराए, जसले प्रदर्शनको स्थानीय आयामलाई प्रकट गर्यो ।
वास्तुकला र सहरी योजना
यो प्रदर्शनले देखाएको अर्को पक्ष भनेको स्थानीय अभिव्यक्ति कसरी वास्तुकला र सहरी योजनासँग गाँसिएका छन् भन्ने हो । कसरी सडक लगायतका सार्वजनिक स्थान, संकुचन बिन्दुहरू, सहरी सचेतना र मिश्रित सार्वजनिक वृत्त, सहरी स्थानीय योजनाको ढाँचा तथा बनोट र प्रतीकात्मक वास्तुकला– संरचनासँग सम्बन्धित हुन्छ भन्ने हो ।
प्रचलित सामाजिक आन्दोलनका अध्ययनहरू प्रायः विद्यमान शासन प्रणालीको कमजोरी र सामाजिक सञ्जालजस्ता प्रविधिका पक्षमा बढी केन्द्रित भएको देखिए पनि यो जेन–जी प्रदर्शनले सहरको भौतिक स्वरूप र वास्तुकला बनोटको अन्तर–सम्बन्धले पनि प्रदर्शनको आकार र प्रकारलाई निर्दिष्ट गर्न सक्छ भनी देखाएको छ ।
उदाहरणार्थ माइतीघर–नयाँ बानेश्वर सडकको चौडाइले प्रदर्शनका क्रममा भीडलाई आकर्षित गर्यो भने वरिपरिको सडकसँगैको बाक्लो आवास क्षेत्रहरूबीचको संकुचन बिन्दुहरूले भीडको गतिशास्त्र र प्रहरीको नियन्त्रण क्षमतालाई निर्धारण गरेको देखियो । यस्तै गरी सहरको स्थानीय सडक संरचना, उच्च सीमा–पर्खालद्वारा घेरिएका सर्वसाधारणका लागि पहुँचविहीन ठूला भवन–संरचना प्रदर्शनको विविध स्थानीय आयामलाई उजागार गर्ने कारक तत्त्वका रूपमा देखियो ।
दशकौंदेखि सत्ताको प्रतीकका रूपमा खडा संसद् भवन, सिंहदरबार, शीतल निवासजस्ता ठूला प्रशासनिक भवनको वास्तुकला सत्ता र अधिकारको अभिव्यक्ति मानी प्रदर्शनकारीले यसको विनाशलाई प्रतीकात्मक लक्ष्यका रूपमा लिएको पाइयो । वास्तुकलाको स्थानीय आयामको पर्याय विराट भवन, उच्च सीमा–पर्खाल, विशाल प्रांगण, नियन्त्रित पहुँच र जन–विमुख यी संरचनालाई प्रदर्शनकारीहरूले कमजोर सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रतीक मानी निसाना बनाए । यसले शासनविरुद्धको मात्र होइन, वास्तुकलामा निहित भ्रष्ट सत्ताको अभिव्यक्तिलाई प्रतीकात्मक बहिष्कार र असमानताको अस्वीकारोक्तिलाई पनि प्रकट गर्यो ।
सहरी स्थानीय योजनामा उपेक्षित, संकुचित, पहुँच विखण्डित नदी किनार/करिडोर वा पुलमुनिका अँध्यारा र अव्यवस्थित खाली नकारात्मक स्थानहरूले प्रदर्शनका क्रममा प्रदर्शनकारीका लागि रणनीतिक महत्त्वको स्थान बनेर असुरक्षित तर प्रभावकारी आक्रमण/आश्रय स्थलहरूका रूपमा काम गरे । खाली ठाउँहरूले असुरक्षित भए पनि प्रतिरोध गर्ने, लुकेर बस्न वा आक्रमण गर्ने स्थल उपलब्ध गराए । प्रहरीलाई नदीतिर धकेलिनु र त्यहाँ ढुंगामुढाबाट मृत्यु/घाइते हुनु यसैको प्रत्यक्ष परिणाम थियो ।
यसै सन्दर्भमा विगतको प्रदर्शन र आन्दोलन स्थलको इतिहास केलाउने हो भने यो प्रदर्शनमा भएको सार्वजनिक सम्पत्तिको विनाश धेरै हदसम्म काठमाडौंको अव्यवस्थित स्थानीय विस्तार योजनासँग सम्बन्धित देखिन्छ । उदाहरणका लागि असंख्य राजनीतिक आन्दोलनहरूको मुख्य केन्द्रका रूपमा प्रसिद्ध रत्नपार्कको खुलामञ्च क्षेत्रको सीमित भूमिकामा देख्न सकिन्छ ।
खुलामञ्च क्षेत्र चारैतिर सडक चौडा पार्ने, सवारी चाप बढाउने र वरिपरिको क्षेत्रलाई सार्वजनिक पैदल यात्रीका लागि दुरुह बनाउने गरी गरिएका अपरिपक्व सहरी योजनासम्बन्धी निर्णयका कारण रत्नपार्कको राजनीतिक भेला–स्थलका रूपमा यसको भूमिका संकुचित भएको देखिन्छ । परिमाणतः जेन–जी युवाहरूले माइतीघर–नयाँ बानेश्वरलाई प्रदर्शनका लागि प्राथमिक स्थलका रूपमा रोजे, जसको कारण तोडफोड र आगजनीबीच रत्नपार्क क्षेत्र अपेक्षाकृत रूपमा सुरक्षित रह्यो । यसले सार्वजनिक स्थानको संरचनात्मक रूपान्तरणले कसरी राजनीतिक प्रदर्शनको स्थानीय अभिव्यक्तिलाई प्रभावित गर्छ भन्ने देखाएको छ ।
निष्कर्ष
जेन–जी प्रदर्शनले कसरी सहरका सार्वजनिक स्थान तटस्थ हुँदैनन् र तिनका स्थानीय ढाँचा र स्वरूपले प्रदर्शनलाई आकार र प्रकार दिन सक्छन् भन्ने देखाएको छ । वास्तुकला र सार्वजनिक स्थान भौतिक, डिजिटल वा मिश्रित किन नहुन्, प्रदर्शनका लागि ती केवल निष्क्रिय पृष्ठभूमि मात्र होइनन् । बरु ती यो प्रक्रियामा सक्रिय सह–भागीदार हुन्– जसले प्रदर्शनमा अन्तर्निहित प्रतिरोध र सत्ताबीचको तनावलाई स्थानीय अभिव्यक्ति दिने माध्यमका रूपमा भूमिका खेल्छन् ।
तीव्र गतिमा विकास भइरहेको प्रविधि र सहरीकरणले सार्वजनिक स्थानको परिभाषालाई निरन्तर बदलिरहेको सन्दर्भमा जेन–जी प्रदर्शनले दिएको पाठले राजनीतिक वा अन्य बेथितिविरुद्ध विरोध प्रदर्शनजस्ता लोकतान्त्रिक अभ्यासका क्रममा सार्वजनिक स्थलहरूको स्थानीय आयाम र अभिव्यक्तिबारे निरन्तर विमर्श अपरिहार्य छ ।
