प्रवासी नेपालीका लागि ‘ब्लकचेन भोटिङ’

अहिलेको कानुनले मताधिकारलाई आफ्नै निर्वाचन क्षेत्रमा मात्र सीमित गरेको छ, प्रणालीगत हिसाबमा पनि मताधिकारलाई सर्वव्यापी बनाउने यो राम्रो अवसर पनि हो।

आश्विन १३, २०८२

सञ्जय शर्मा

'Blockchain voting' for expatriate Nepalis

२०७५ सालमा सर्वोच्च अदालतले २०७२ सालको संविधान अनुसार प्रत्येक नागरिकको मताधिकारको मौलिक हकलाई सुरक्षित गर्न सरकारलाई स्पष्ट आदेश दियो– विदेशमा बस्ने नेपालीले भोट हाल्न पाउने व्यवस्था गरिनुपर्छ । अन्तर्राष्ट्रिय मानवअधिकार सन्धि (आईसीसीपीआर, धारा २५) ले पनि नागरिकलाई चुनावमा भाग लिन पाउने अधिकार सुनिश्चित गरेको छ ।

कुनै पनि प्रजातान्त्रिक देशले आफ्ना नागरिकलाई मतदानबाट वञ्चित गर्न पाइन्न– त्यो त नैसर्गिक अधिकार हनन हुन पुग्छ । तर, सर्वोच्चको त्यो आदेशको सात वर्षपछि पनि कानुनी, आर्थिक, प्राविधिक र व्यवस्थापकीय कारण देखाउँदै सरकारले यो अधिकार कार्यान्वयन गरेको छैन । सरकारले कार्यान्वयन नगरेपछि सर्वोच्चले भर्खरै २०८२ साउनमा फेरि सरकारलाई यो लागू गर्न ‘सम्झाएको’ थियो । 

नेपालको जनगणना २०७८ का अनुसार देशका कम्तीमा २० लाखभन्दा बढी नागरिक विदेशमा बसोबास गर्छन् । कतिपय मानिस यो संख्या ५०–६० लाखको हाराहारीमा रहेको पनि ठोकुवा गर्छन् । कतिले त ८० लाखसम्म पनि भन्छन् । विदेशिएकामध्ये अधिकांश काम र शिक्षाका लागि देशबाहिर छन् भने उनीहरूमध्ये कति विदेशमै लामो समयदेखि बसोबास गर्दै आइरहेका छन् । तर, लोकतन्त्रको आधारभूत मतदान गर्ने अधिकार प्रयोग गर्न पाएका छैनन् । उता अल्जेरियाले 

आफ्नो ३८२ सदस्यीय प्रतिनिधिसभामा ८ सदस्य आफ्ना विदेशमा बस्ने नागरिकबाट चुन्छ, इक्वेडरले ६ जनालाई यसरी नै चुनावमार्फत छान्छ । यता नेपालमा विदेशबाट त के नेपालभित्रै पनि आफ्नो मतदान क्षेत्र बाहिरबाट भोटै हाल्न पाइँदैन । 

अझै, देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा लगभग एक–चौथाइ बराबरको रेमिट्यान्स पठाउने र देशको आर्थिक अवस्था प्रतिकूल रहेका बेला पनि अर्थतन्त्रलाई टेको दिने मानिसलाई मताधिकारबाट वञ्चित गर्नु न्यायसम्मत र नैतिक हुँदैन । 

किन चाहिन्छ बसाइँ सरेका र प्रवासीलाई मताधिकार ?

देशभित्रै बसाइँ सरेका र विदेशमा बस्ने नेपालीले पनि आफ्नो आवाज लोकतान्त्रिक प्रक्रियाबाट सुनाउनका लागि उनीहरूको मताधिकार सुनिश्चित गर्नुपर्छ । भोट हाल्न पाउने उमेर पुगेका नेपाली नागरिकको अधिकार हो । विदेशमा रहेका नेपालीले हरेक वर्ष खर्बौं रुपैयाँ रेमिट्यान्स पठाउँछन्, जसले नेपालको अर्थतन्त्रलाई धानेको छ । तसर्थ, उनीहरूलाई लोकतान्त्रिक प्रक्रियाबाट बाहिर राख्नु अन्याय र अनैतिक हो । ‘जब कैदीबन्दीले समेत भोट हाल्न पाउँछन् भने विदेशमा बस्ने नेपाली किन वञ्चित हुन्छन् ?’ भनी प्रश्न गर्ने मानिस पनि थुप्रै छन् । 

विदेशमा रहेका नेपालीले आफ्ना परिवारका मत खसाल्ने व्यक्तिलाई फलानो पार्टी वा फलानो उम्मेदवारलाई भोट हाल्नु भनेर सल्लाह वा निर्देशन मात्र दिन सक्छन् । तर, उनीहरूले आफैं भोट पनि हाल्न पाउने हुँदा उनीहरूको देशप्रतिको सरोकार र अपनत्व बढ्छ । ‘देशबाट युवा पलायन हुँदैछन्’ भन्ने भाष्यलाई पनि उनीहरूलाई मत खसाल्न दिँदा युवालाई मतदानमार्फत सिधै लोकतान्त्रिक प्रक्रियामा सहभागी बनाउन सकिन्छ । वैदेशिक पलायन सिधै रोक्न त नसकिएला तर आफूले छानेको राम्रो मान्छेले देश बनाउँछ भन्ने आशाको सञ्चार भने यो प्रक्रियाले पक्कै गर्छ । 

चलनचल्तीका उपाय

चलनचल्तीमा विदेशबाट मतदान गर्ने मुख्य चार तरिका छन् । पहिलो, दूतावास वा सरकारले तोकेका निश्चित ठाउँमा गएर मतपेटिकामा मतपत्र खसाल्ने । आउँदो निर्वाचनमा नेपालले केही छानिएका देशमा आफ्नो राजदूतावासमा मतपेटिका राख्ने व्यवस्था गर्न सक्छ । यी देश मलेसिया, कतारलगायत पनि हुन सक्छन् । तर किन कुनै ठाउँमा मतदान गर्न दिइयो, कतै दिइएन भन्ने प्रश्नको उत्तर पनि नेपाल सरकारसँग हुनुपर्छ । दोस्रो, हुलाकमार्फत आफ्नो भोट नेपालमा पठाउने । यो प्रक्रिया ढिलो हुन्छ र मत बीचमै परिवर्तन वा गायब हुन सक्ने सम्भावना पनि हुन्छ । 

तेस्रो, विदेशमा रहेको व्यक्तिले आफूले विश्वास गरेको निश्चित मानिसलाई आफ्नो प्रतिनिधि बनाउने र त्यस्तो ‘प्रोक्सी’ प्रतिनिधिले नेपालमै प्रवासीको नामको मत खसाल्ने । नेपालले यो प्रणाली सजिलैसँग लागू त गर्न सक्छ तर सो प्रतिनिधिले विदेशमा बस्ने नेपालीको मत उसले भनेकै चुनाव चिह्नमा खसाल्यो कि खसालेन भनेर रुजु गर्न मिल्दैन । यो केवल विश्वासको आधारमा हुन्छ । कहींकतै माथिका मिश्रित प्रणाली पनि लागू गर्ने चलन छ । चौथो, हाल धेरै प्रयोगमा आउन थालेको अनलाइन मतदान, जसमा मतदाताले घरमै बसेर अनलाइनमार्फत आफ्नो मत खसाल्छ र सुरक्षित डाटाबेसमा आएर त्यो मत बस्छ । 

राजनीतिक र कानुनी अड्चन

विदेशमा बस्ने नेपालीका लागि भोटिङ सुनिश्चित गर्न मुख्य चुनौती राजनीतिक इच्छाशक्ति हो । अहिलेको परिवर्तित राजनीतिक अवस्थामा यो राजनीतिक अड्चन धेरै हदसम्म पन्छिएको छ । प्रवासी नेपालीलाई मताधिकार दिने यो अति नै राम्रो समय हो । 

हालसम्मका ‘ठूला’ भनिने दलका नेताहरूले सार्वजनिक रूपमा समर्थन गरे पनि व्यावहारिक रूपमा यसलाई प्राथमिकतामा राखेका थिएनन् । ‘ठूला’ राजनीतिक दलहरूले सर्वोच्च अदालतले भने पनि आफ्ना मुख्य मतदाता नेपालभित्र रहेको भन्ने अनुमान र विदेशमा रहेका नेपाली आफूहरूसँग रिसाएका कारणले आफूहरूलाई भोट हाल्दैनन् र नयाँ पार्टीलाई भोट हाल्छन् भन्ने बुझाइ पनि रहेकाले विदेशमा रहेका नेपालीको मताधिकार हालसम्म सुनिश्चित नभएको हो । 

त्यसमा हामीलाई कागजको मतपत्रमा छाप लगाएर मतपेटिकामा हाल्ने बानी छ । साथै, मतपत्र रुजु गर्दा पनि सबै राजनीतिक दलका प्रतिनिधि बसेर सबै भोट हरेर मात्र गन्ने चलन छ । 

कतिपय राजनीतिक दलहरूमा आफ्नो आन्तरिक मतदान पनि मतपत्रबाटै हुन्छ तर अनलाइन वा ई–भोटिङ गर्ने चलन छैन । पार्टीको आन्तरिक चुनावमा मतपत्र नै टंकीमा खसालेको पनि हामीले देख्यौं । अरू केही राजनीतिक दलबाट आफ्नो नेता छान्दा मतदान गराउने वा लोकतान्त्रिक प्रक्रिया मान्ने चलनै छैन ।

यो अवस्थामा विदेशबाट आउने मतपत्रमा शंका गरिने र अनलाइन भोटिङ जस्ता उपायलाई बेवास्ता गरिने नै भयो । त्यसमाथि ‘मुख्य’ राजनीतिक दलका दोस्रो तहका नेताहरू कोही–कोही विदेशमा बस्ने नेपालीका लागि मताधिकार सुनिश्चित गर्नका लागि कतै केही बोल्थे तर ‘ठूला’ दलका ‘ठूला’ नेता भने यसमा प्रायः मौन थिए । 

तर, हालको बदलिएको समयमा यो राजनीतिक समस्या समाधान गर्न निर्वाचन आयोगलाई अगाडि राखेर अहिलेको अन्तरिम सरकारले गर्न सक्छ । यसका लागि अहिलेको सरकारले निर्वाचन ऐन संशोधन गर्नुपर्ने हुन्छ । अहिलेको कानुनले मताधिकारलाई आफ्नै निर्वाचन क्षेत्रमा मात्र सीमित गरेको छ । प्रणालीगत हिसाबमा पनि मताधिकारलाई सर्वव्यापी बनाउन यो राम्रो बेला हो । अवसर पनि हो ।

आर्थिक, प्रशासनिक र कूटनीतिक बाधा

विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित नहुनुको अर्को कारण यसको आर्थिक पक्ष पनि हो । किनभने, नेपालबाट भौगोलिक रूपमा धेरै टाढा रहेका देश, जस्तैः क्यानडामा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्न नेपालबाट मतपेटिका बोकेर जान, कर्मचारी लिएर जान, त्यहाँ मतदान गराउन र ती मतपेटिका र कर्मचारी फिर्ता लिएर आउन धेरै पैसा लाग्छ । यो प्रशासनिक र व्यवस्थापकीय दृष्टिकोणले पनि निकै जटिल छ । यस कारणले पनि थुप्रै मान्छेले विदेशमा बस्ने नेपालीका लागि तुरुन्तै भोट हाल्न पाउने अधिकार लागू गर्न नसकिने कुरा बताउँछन् । 

अन्तर्राष्ट्रिय अनुभव अनुसार विदेशमा बसोबास गर्ने नागरिकको मताधिकार सुनिश्चित गर्दा सामान्यभन्दा ५–१० गुणा बढी खर्चिलो हुन्छ । मेक्सिकोले सो मतदान प्रणाली लागू गर्दा प्रतिमतको लागत १३ हजार नेपाली रुपैयाँभन्दा बढी थियो । त्यति धेरै पैसा खर्च गर्न नेपालको आर्थिक हैसियत नपुग्न सक्छ । 

त्यसबाहेक, साउदी अरेबियाजस्ता गैरलोकतान्त्रिक मुलुकमा नेपालीलाई राजदूतावासभन्दा बाहिर सार्वजनिक ठाउँमा मतपेटिकामा मतदान गर्न दिने हो भने सम्बन्धित सरकारसँग द्विपक्षीय सम्झौता गर्नुपर्छ । नेपाली राजदूतावासभित्र निर्वाचन गर्दा त समस्या नहोला तर सबैको पहुँच पुग्ने र समावेशी चुनाव गराउन ठूला देशहरूमा धेरै ठाउँमा भोटिङ बुथ राख्ने हो भने नेपालले कूटनीतिक पहलकदमी गर्नु अत्यावश्यक छ । व्यवस्थापकीय दृष्टिकोणले पनि धेरै खर्च लाग्ने, ढुवानीमा समस्या, नक्कली भोटको डर वा साइबर आक्रमणलगायत अन्य थुप्रै समस्याको सामना नेपालले गर्नुपर्छ । 

अझ ठूलो समस्या भनेको विदेशमा रहेका लाखौं नेपाली मतदाता नामावलीमा दर्ता नहुनु पनि हो । हालै निर्वाचन आयोगले यो दर्ता प्रक्रिया सुरु त गर्‍यो तर यो अझै प्रशासनिक र व्यवस्थापकीय हिसाबले जटिल छ । मतदाता नामावलीलाई सजिलो बनाउन पूर्ण रूपमा अनलाइनमार्फत गर्ने र पासपोर्ट, नागरिकता, राष्ट्रिय परिचयपत्र, ड्राइभिङ लाइसेन्सजस्ता अन्य सरकारी प्रमाणपत्रलाई आधार मान्ने प्रावधान राखिदिँदा विदेशमा भएका वा नेपालभित्रै अन्य निर्वाचन क्षेत्रमा रहेका मानिसले यसको फाइदा उठाउन सक्थे । 

'ब्लकचेन भोटिङ’

थुप्रै आर्थिक, प्रशासनिक, व्यवस्थापकीय चुनौतीको सजिलो समाधान भनेको अनलाइन भोटिङ नै हो । जस्तो कि, ब्लकचेनको प्रयोगबाट हुने मतदान पनि हुन सक्छ । ब्लकचेनलाई कानुनी मान्यताभित्र ल्याएर सरकारले यो प्रविधिको माध्यमले विदेशमा बस्ने नेपाली र नेपालभित्रै बसाइँ सरेका नागरिकको मताधिकार सुनिश्चित गर्न सक्छ । ब्लकचेन प्रविधिमा प्रत्येक भोट सुरक्षित ब्लकका रूपमा दर्ता हुन्छ, जसलाई परिवर्तन गर्न वा नक्कली बनाउन सकिँदैन । 

मतदाताको गोपनीयता सुनिश्चित गर्दै ब्लकचेन प्रविधिले मत रुजु गर्न पनि सहयोग गर्छ, जसका कारण राजनीतिक दलले पनि बसेर प्रत्येक मतलाई मतपत्र रुजु गरेको जसरी प्रमाणित गर्न सक्छन् । मतदातालाई डिजिटल आईडी (मतदाता प्रमाणपत्र वा नागरिकता वा पासपोर्ट) बाट दर्ता गर्न सकिन्छ । त्यो आईडी एउटा मतदाताले एकपल्ट मात्र प्रयोग गर्न पाउँछ र मतदान एपमा प्रवेश गरेर भोट हाल्न सक्छ । भोट हालिसकेपछि सो मत ब्लकचेनमा स्थायी रूपमा सुरक्षित हुन्छ । यस्तो मत निर्वाचन आयोग, दल, पर्यवेक्षक र मतदातासमेतले पारदर्शी तर गोप्य रूपमा परिणाम हेर्न सक्छन् । कसले कसलाई भोट खसाल्यो भन्ने कुरा थाहा हुँदैन । 

यसमा साइबर सुरक्षासम्बन्धी चुनौती नरहेको होइन, तर तुलनात्मक रूपमा ब्लकचेन हालसम्मकै सुरक्षितमध्येमा पर्छ । कम्प्युटर इन्जिनियर र आईटी विज्ञहरूले साइबर सुरक्षालाई पनि चुस्त बनाउन सक्छन् । 

यो प्रविधि मेक्सिकोले सन् २०२४ को आफ्नो राष्ट्रपतीय निर्वाचनका बेला पनि प्रयोग गरेको थियो । एउटा ब्लकचेन सेवा प्रदायकसँगको मेरो कुराकानीका आधारमा उसले प्रत्येक भोटर अमेरिकी डलर १ (लगभग नेरु १४०) मा यो सेवा प्रदान गर्न सक्छ । यो रकम नेपालको २०७९ सालको चुनावको लागतभन्दा निकै कम हो । नेपालमै ब्लकचेनमा काम गर्न सक्ने प्राविधिकलाई नेपाली मतदान एप नै बनाउन लगाउन पनि सकिन्छ । 

ब्लकचेन प्रविधिमार्फत आर्थिक रूपमा मात्र नभई प्रशासनिक र व्यवस्थापकीय हिसाबमा पनि सरल, सुलभ र सर्वव्यापी बनाउन सकिन्छ । मतदाता नामावलीलाई पूर्ण डिजिटल बनाएर मोबाइलमै सजिलो इन्टरफेसद्वारा डिजिटल दर्ता प्रणाली बनाएर प्रत्येक मतदातालाई अनुबन्ध गर्न सकिन्छ । त्यसलगत्तै बृहत् डिजिटल साक्षरता कार्यक्रम चलाएर मतदातालाई तालिम र कम्तीमा दूतावास र प्रत्येक वडामा सहयता कक्ष राखेर मतदान प्रणालीबारे सिकाउन सकिन्छ । 

आगामी चुनावमा प्रवासी र आफ्ना मतदान क्षेत्रबाहिर रहेका मानिसलाई ब्लकचेन मतदान गर्न लगाएर सोको सफलताको आँकडा हेरी त्यसपछिका चुनावमा ब्लकचेन प्रणालीलाई नेपालभित्रै लागू गर्नेबारे पनि सोच्न सकिन्छ । 

तर, नेपालीहरू चाहे विदेशमा हुन् वा नेपालभित्रै, उनीहरूको डिजिटल साक्षरता असमान छ । कतिपय अति शिक्षित युवाले सजिलै अनलाइन प्रणाली प्रयोग गर्न सक्लान् तर धेरै मानिसलाई स्मार्टफोन एप वा वेबसाइट प्रयोग गर्न गाह्रो हुन्छ । यसमा डिजिटल साक्षरताको अहम् भूमिका हुन्छ । 

लोकतन्त्र सबैको हो, नेपालभित्रै बसाइँ सरेकाहरूको र विदेशमा रहेका नेपालीहरूको पनि उत्तिकै हो, जति आफ्नो मतदान क्षेत्रमा सजिलै भोट खसाल्न सक्नेहरूको हो । अहिलेको अवस्था असामान्य अवस्था हो र यस्ता असामान्य काम गर्ने राम्रो अवसर पनि हो ।

सञ्जय शर्मा

Link copied successfully