विश्वको जुनसुकै स्थानमा बसेर विज्ञापन गर्न सकिने सुविधाका कारण कमजोर नियमन भएका देशका जनता बढी प्रभावित हुने भएकाले नियमनलाई सशक्त र प्रभावकारी बनाउनु आवश्यक छ ।
What you should know
काठमाडौँ — कुनै पनि वस्तु र सेवाका बारेमा उपभोक्तालाई जानकारी दिन, प्रयोग विधि र लाभबारे बताउन र त्यस्ता वस्तु र सेवाको उपभोगका लागि उपभोक्तालाई उत्प्रेरित गर्न विज्ञापन गरिन्छ । विज्ञापन सञ्चारको प्रभावकारी साधन हो ।
यो सःशुल्क प्रकाशन, प्रसारण तथा प्रदर्शन गरिन्छ । जसमा विज्ञापनदाताको परिचय खुल्नु अनिवार्य हुन्छ । विज्ञापनले उत्पादकका उत्पादनलाई उपभोक्तासँग जोड्न मद्दत गर्छ भने वस्तु र सेवालाई बजार उपलब्ध गराउँछ । उपभोक्ताले वस्तु र सेवाको छनोट गर्ने अवसर विज्ञापनकै कारण प्राप्त गर्छन् ।
बजार अर्थशास्त्रका दृष्टिकोणले हेर्ने हो भने विज्ञापनले बजार विस्तार गर्छ, साना र तथा मझौला उद्योगलाई ठूला र ठूला राष्ट्रिय उद्योगलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन मद्दत गर्छ । त्यसैले विज्ञापनले मुलुकको अर्थतन्त्रको विकास र विस्तार गर्न प्रत्यक्ष सघाउ पुर्याउँछ । विज्ञापन कुनै पनि विज्ञापनदाताको खर्च नभई लगानी हो, जसले तत्काल र दीर्घकालसम्म प्रतिफल प्रदान गराउँछ र वस्तु तथा सेवाको ब्रान्डिङ गर्छ । यो बजारीकरणको प्रमुख माध्यम पनि हो ।
विज्ञापन नै किन ?
विज्ञापन उपभोक्ताको रुचि र चाहना जगाउन, आर्थिक गतिविधि बढाउन र लगानीको प्रतिफल प्राप्त गर्ने गरिन्छ । विज्ञापनले आर्थिक गतिविधिका साथै बजार विस्तार गर्न, ब्रान्ड निर्माण गर्न, उपभोक्तालाई सम्झाउन र बिक्री बढाउन उपयोगी हुन्छ । यसले वस्तु, सेवा तथा ब्रान्डप्रति सकारात्मक सोच बनाउँछ । वस्तु र सेवालाई विकाउन मात्र नभई बजारमा टिकाउन पनि विज्ञापन गरिरहनु आवश्यक हुन्छ । विज्ञापनले प्रतिस्पर्धी ब्रान्डलाई जित्न नदिन र उपभोक्तालाई सम्झाइरहन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।
सत्यतथ्यमा आधारित सिर्जनशील विज्ञापनले वस्तु र सेवालाई उपभोक्ताबीच लोकप्रिय बनाउँछ भने भ्रमपूर्ण विज्ञापनले एक पटक र तत्काल फाइदा दिए पनि दीर्घकालसम्म टिक्न र बिक्न सक्दैन । त्यसैले विज्ञापन सत्य तथा तथ्यमा आधारित हुनुपर्छ । नाफा कमाउने होडमा गरिने भ्रमपूर्ण विज्ञापनलाई नियमन गर्नु विज्ञापन व्यवसायी र सरकारको काम हो । अतः विश्वभर विज्ञापनको नियमन गर्ने गरिन्छ ।
विश्वभर विज्ञापनको नियमन मूलतः दुई प्रकारले गरिएको छ । सरकारी नियमन तथा स्वनियमन । नेपालको विज्ञापन बजार प्रारम्भदेखि नै स्वनियमनमा सञ्चालन हुँदै आएको पाइन्छ । स्वनियमन भनिए पनि नियमनका कुनै विधि र प्रक्रिया निर्धारण नभएको र नियमनबिना नै सञ्चालन हुँदै आएका कारण अनेकौं विकृति र विसंगति देखा परेको छ । विज्ञापन व्यवसायीको माग र सम्मानित सर्वोच्च अदालतको पटक–पटकको आदेशका कारण २०७६ मंसिर ८ मा विज्ञापन (नियमन गर्ने) ऐन जारी भएयता नेपालमा विज्ञापनको नियमनको कार्य बल्ल प्रारम्भ भएको छ ।
कतिपय मुलुकमा वस्तु तथा सेवा र सञ्चारमाध्यम विशेषमा समेत भिन्न नियमन हुने गरेको पाइन्छ । नेपालमा विभिन्न कानुनी व्यवस्थाका कारण यस्तो अवस्था विद्यमान छ । कतिपय वस्तु वा सेवाको उत्पादन र बिक्री वितरण गर्न अनुमति दिने गरिए पनि विज्ञापन गर्न नदिने गरिएको पाइन्छ । बजारको विकास र विस्तार गर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिने, उत्पादनलाई उपभोक्तासम्म जोड्ने र लगानीको प्रतिफल प्राप्त गर्नेजस्तो काममा विज्ञापन महत्त्वपूर्ण साधन भएकाले अनुमानको भरमा गरिने नियमनले विज्ञापन बजार खुम्च्याउने मात्र नभई स्वदेशी अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने गरेको छ । जसको ज्वलन्त उदाहरणका रूपमा मदिराको विज्ञापनमाथि लगाइएको प्रतिबन्धलाई लिन सकिन्छ ।
वस्तु र सेवाको बिक्री बढाउने, लगानीको प्रतिफल प्राप्त गर्ने तथा आफ्नो वस्तु र सेवा राम्रो अर्काको नराम्रो भन्ने, होच्याउने, उपभोक्तालाई भ्रममा पार्ने, नभएको गुण र तत्त्व रहेको दाबी गरी उपभोक्तालाई ठग्ने र बढी मूल्य राख्नेजस्ता कार्य आमरूपमा विज्ञापन बजारमा हुने गरेको पाइन्छ । उपभोक्ताको सत्यतथ्यमा आधारित सूचना पाउने हकको रक्षा गर्न र उपभोक्ता ठगिएमा क्षतिपूर्तिको व्यवस्था गर्नसमेत विज्ञापनको नियमन गर्ने गरिएको हुन्छ । विज्ञापन कारोबारसँग सम्बन्धित विषयसमेत भएकाले पारदर्शिता कायम गर्न पनि नियमन आवश्यक हुन्छ । विज्ञापन बजारमा सबैले स्वतन्त्र रूपमा विचरण गर्न पाउने वातावरण तयार गर्न नियमन आवश्यक छ । विज्ञापनदातालाई विज्ञापनका लागि दिने दबाबलाई कम गर्न, उनीहरूले चाहेको सञ्चारमाध्यममा विज्ञापन गर्न सक्ने वातावरण निर्माण गर्न र विज्ञापनको प्रतिफल मापनयोग्य बनाउन पनि विज्ञापनको नियमन आवश्यक हुन्छ ।
विज्ञापन कुनै देश, प्रदेश वा समाजको मात्र सरोकारको विषय होइन । बहुराष्ट्रिय कम्पनीहरूका कारण वस्तु तथा सेवा विश्वव्यापी हुँदै गएका छन् । त्यस्ता वस्तु तथा सेवाको अन्तर्राष्ट्रिय सरोकार र चासो रहने र सञ्चारमाध्यमको विश्वव्यापी पहुँचले पनि यसलाई विश्वव्यापी बनाउन मद्दत गरेको छ । अतः विज्ञापनको नीति तथा नियमनमा अन्तर्राष्ट्रिय अभ्यास र परम्पराअनुरूप हुने गरी निर्माण गर्नु र नियमन गर्नु आवश्यक छ ।
इन्टरनेटको विकासले अहिले विज्ञापन बजारमा नयाँ आयाम थपिदिएको छ । अब विज्ञापन विश्वभरबाट गर्न सकिने, कुनै देश र स्थानलाई लक्षित गर्न सकिने भएको छ । विश्वको जुनसुकै स्थानमा बसेर विज्ञापन गर्न सकिने सुविधाका कारण कमजोर नियमन भएका देशका जनता बढी प्रभावित हुने भएकाले नियमनलाई सशक्त र प्रभावकारी बनाउनु आवश्यक छ । त्यसका लागि डिजिटल माध्यम तथा सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमनको दायरामा ल्याउन प्रभावकारी कानुन र संयन्त्रको आवश्यकता छ ।
इन्टरनेटको विकासले परम्परागत सञ्चारमाध्यममा हुने र भइरहेको विज्ञापन डिजिटल माध्यमतर्फ मोडिन थालेको छ । विज्ञापन गर्ने तरिकामा समेत आमूल परिवर्तन आएको छ । विज्ञापन बजार डिजिटल माध्यमतर्फ आकर्षित हुँदा परम्परागत सञ्चारमाध्यममा समस्या उत्पन्न भएको छ । विश्वका ठूलाठूला र पुराना छापा माध्यम बन्द हुने तथा डिजिटलमा रूपान्तरण गर्ने प्रक्रिया प्रारम्भ भएको छ । सर्च इन्जिनमा वस्तु वा सेवाको विज्ञापन गर्ने तथा विज्ञापनलाई व्यक्तिगत रूपमा लक्षितसमेत गर्न मिल्ने भएकाले त्यसको प्रभाव परेको हो । तुलनात्मक रूपमा सस्तो हुनु र आर्टिफिसियल इन्टेलिजेन्समार्फत मानवीय रुचिअनुसारको विज्ञापन प्रेषित गर्ने क्षमताका कारण विज्ञापन बजार व्यक्तिकेन्द्रित भएको छ ।
विज्ञापन बजार र सरोकारवाला
विज्ञापन बजारमा पाँच पक्षको महत्त्वपूर्ण भूमिका हुने गर्दछ । जसलाई विज्ञापन चक्रसमेत भन्ने गरिएको छ । विज्ञापनदाता, विज्ञापन एजेन्सी, सञ्चारमाध्यम, उपभोक्ता र सरकार गरी विज्ञापन चक्रमा पाँच पक्ष छन् । प्रत्येकको आ–आफ्नै जिम्मेवारी हुने भएकाले उनीहरूको भूमिका महत्त्वपूर्ण हुन्छ ।
विज्ञापनदाता विज्ञापनका स्रोत हुन् । वस्तु वा सेवाको विज्ञापन गर्ने नगर्ने, कहाँ गर्ने, कहिले गर्ने जस्ता विषयको निर्णय विज्ञापनदाताले गर्दछन् । विज्ञापनदाताको विज्ञापनप्रतिको चाहना जगाउने र त्यसको फाइदाका बारेमा जानकारी गराउने काम विज्ञापन एजेन्सीले गर्ने गर्छन् । विज्ञापन एजेन्सीले विज्ञापनदाताको रुचि र चाहनाअनुरूप विज्ञापन उत्पादन गरी उसका लक्षित उपभोक्तासम्म पुर्याउन विज्ञापनको रणनीतिक योजना निर्माण, अनुसन्धान, विज्ञापन उत्पादन, मिडिया प्लानिङ तथा विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने गराउने काम विज्ञापन एजेन्सीले गर्छन् । विज्ञापन एजेन्सीले विज्ञापन प्रकाशन र प्रसारणबाट विज्ञापनदातालाई भएको फाइदाको समेत जानकारी गराउने भएकाले विज्ञापन एजेन्सीमा काम गर्ने व्यक्ति विज्ञापनका व्यावसायिक व्यक्ति हुने गर्दछन् ।
सञ्चारमाध्यम विज्ञापनका वाहक हुन् । उनीहरूले विज्ञापनदाताले भनेको समय, स्थानमा विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने गर्छन् । त्यसबापत विज्ञापनदाताले सञ्चारमाध्यमलाई भुक्तानी गर्ने भएकाले विज्ञापन सञ्चारमाध्यमको आम्दानीको प्रमुख स्रोत पनि हो । आमसञ्चारमाध्यमका साथै बाह्य विज्ञापन, सामाजिक सञ्जाल एवं इन्टरनेटमा हुने विज्ञापन, मेला महोत्सवमा हुने विज्ञापनमार्फत पनि वस्तु र सेवा उपभोक्तासँग जोडिएका हुन्छन् । त्यसैले उपभोक्ता विज्ञापन बजारले लक्ष्य गर्ने क्षेत्र हो । उपभोक्ताको खरिद प्रक्रिया र निर्णयमा विज्ञापनले प्रभाव पार्ने भएकाले सबैको लक्ष्य उनीहरूलाई प्रभावित गर्नु रहेको हुन्छ । सिर्जनात्मक विज्ञापनले उपभोक्तालाई प्रभाव पार्ने भएकाले सशक्त र प्रभावकारी विज्ञापनको उत्पादनमा सबैको ध्यान गएको हुन्छ ।
सरकार विज्ञापनदाताका साथै नियामक पनि हो । विज्ञापन बजारलाई व्यवस्थित बनाउने, विकास र विस्तार गर्ने, भ्रमपूर्ण विज्ञापनबाट उपभोक्तालाई जोगाउने, विज्ञापन बजारमा स्वच्छ वातावरण निर्माण गर्ने काम सरकारको हो । विज्ञापनचक्रका सबै सहभागीबीच समन्वय र सहकार्यको वातावरण बनाउने काम पनि सरकारकै हो ।
भ्रमपूर्ण विज्ञापन र नैतिकताको प्रश्न
तत्काल मुनाफा कमाउने होडमा तथ्यहीन, भ्रमपूर्ण र आधारहीन विज्ञापन गर्ने र क्षणिक मुनाफाका लागि उपभोक्तालाई भ्रममा पार्ने सम्भावना हुन्छ । उपभोक्ताले त्यस्ता विज्ञापन भ्रमपूर्ण वा बढाइचढाइ गरिएका हुन् या होइनन् भन्ने झ्वाट्ट थाहा पाउन गाह्रो हुन्छ । कतिपय उत्पादनले मानव स्वास्थ्यमा समेत असर पुर्याउन सक्छ । सामाजिक सञ्जालको तीव्र विकासले झूटो प्रचारबाट उपभोक्ता झुक्किने अवस्था छ । सामान्य उपभोक्तादेखि चर्तित व्यक्तिहरूको प्रयोग गरी त्यसको गुण र फाइदाका बारेमा बोल्न लगाई पोस्ट गर्ने र आमउपभोक्तालाई प्रभावित गर्ने गरिन्छ । त्यस्ता कार्यबाट उपभोक्तामा पुग्ने क्षति रोक्न विज्ञापन नियमन आवश्यक हुन्छ ।
महिलालाई वस्तुका रूपमा प्रयोग गर्ने, महिलाको अंग प्रदर्शन गराउने, महिलालाई परम्परागत भूमिकाहरू जस्तै खाना बनाउने, लुगा धुने, पतिको सेवामा जुट्ने जस्ता घरायसी कार्यमा सीमित गराउने खालका विज्ञापनको उत्पादन तथा प्रकाशन प्रसारण हुने गर्छ । परम्परागतवादी सोच र अवधारणाबाट मुक्त नभएको समाजमा विज्ञापन उत्पादन तथा निर्णय प्रक्रियामा महिला सहभागी नहुँदा यस्ता खाले विज्ञापन प्रकाशन तथा प्रसारणमा आउने गरेका छन् ।
बालबालिकाको स्वास्थ्यमा असर पर्ने, मानसिक अवस्थामा प्रभाव पार्ने तथा बालबालिकाको व्यक्तित्व विकासमा अवरोध गर्ने खालका विज्ञापनको प्रचलन पनि अधिक मात्रामा पाइन्छ । खासगरी बाल स्वास्थ्य, आमाको दूधको प्रतिस्थान गर्ने अन्य वस्तुको विज्ञापनले बाल स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले पनि विश्वभर विज्ञापनमा नियमन गर्ने गरिएको छ ।
पिछडिएको वर्ग, क्षेत्र, भाषाभाषी, जातजाति, यौनिक अल्पसंख्यक जस्ता वर्ग र समुदायको हितविपरीत तथा उनीहरूको भावनाविपरीतका विज्ञापन गर्न गराउन नहुने भएकाले पनि नियमन जरुरी छ । युरोपेली युनियनले डिजिटल मिडियामा बालबालिकालाई लक्षित गरी गरिने विज्ञापनमा कडा नियमन जारी गरेको छ भने हालै अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई युट्युबमा प्रतिबन्ध लगाएको छ । अमेरिकाले समेत १३ वर्षमुनिका बालबालिकाको व्यक्तिगत विवरण लिन नपाउने व्यवस्था गरेको छ । विभिन्न अनलाइन गेमहरूमा बालबालिकाको पहुँच विश्वभर चासो र चिन्ताको विषय बन्दै गएको छ । अधिक समय गेममा बस्ने र मानसिक तथा शारीरिक स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्ने भएकाले अनलाइन गेमहरूमा नियमन गर्नु उत्तिकै जरुरी छ ।
विज्ञापन उत्प्रेरक हो वा भ्रम उत्पन्न गर्ने सञ्चार प्रक्रिया हो भन्ने छुट्याउने काम कठिन र चुनौतीपूर्ण हुन्छ । व्यावसायिक व्यक्तिले मात्र त्यस्तो भिन्नता थाहा पाउन सक्छ । सामान्य मानिसले आकर्षक ढंगले बनाएका र चर्चित व्यक्तित्व सहभागी भएका वस्तु तथा सेवाका बारेमा सहजै पत्याउने भएकाले त्यसको निगरानी गर्नु जरुरी छ । विज्ञापन कुनै पनि वस्तु तथा सेवाका बारेमा बढाइचढाइ गर्न नहुने, उपभोक्तालाई झुक्याउन नहुने, आफ्नो मात्र राम्रो अरूको नराम्रो भन्न नहुने मात्र नभई यो एक नैतिक आचरण, सामाजिक मूल्य र मान्यता तथा वस्तु वा सेवा उत्पादकको प्रतिष्ठासमेतको विषय हो ।
गलत विज्ञापनले मानव स्वास्थ्य, बाल स्वास्थ्यलगायतका समस्या निम्त्याउन सक्छ । विज्ञापनले बिक्री बढाउने र आयआर्जन बढी हुने भएकाले बढाइचढाइ वा भ्रमपूर्ण विज्ञापन हुन सक्ने सम्भावना निकै हुन्छ । अतः त्यस्ता क्रियाकलाप हुन नदिन नियमन र स्वनियमका साथै जनचेतना र उपभोक्ता सचेतना आवश्यक छ ।
–हुमागाईं विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष हुन् ।
