शिक्षकलाई केवल सूचना प्रदायकका रूपमा मात्र हेरिनु हुँदैन । नयाँ युगका शिक्षकले विद्यार्थीलाई ‘के सिक्ने ?’ भनेर निर्देशन दिनुको सट्टा ‘कसरी सिक्ने ?’ भन्नेमा सहयोग गर्नुपर्छ ।
What you should know
केही वर्षअघिसम्म ‘राम्रो विद्यालय’ भन्नासाथ सबैका मनमा एउटै चित्र आउँथ्यो– ‘जहाँका विद्यार्थीले परीक्षामा उत्कृष्ट अंक ल्याउँछन् र एसईई वा कक्षा १२ को नतिजा बोर्डभरि टाँसिन्छ ।’ त्यस्ता विद्यालयमा भर्ना गराउन अभिभावक लालायित हुन्थे । तर समयसँगै यो अवधारणामा परिवर्तन आएको छ ।
अहिलेका अभिभावकले प्रमाणपत्रमा थुप्रै विषयमा ‘ए+’ वा समग्रमा जीपीए ४ ल्याए पनि जीवनको परीक्षामा असफल हुनुको पीडा कस्तो हुन्छ भनेर राम्रोसँग बुझेको हुनुपर्छ । अहिलेका अभिभावकले खोजेको विद्यालय अब नतिजाको कारखाना मात्र होइन, बालबालिकाको सर्वाङ्गीण विकासको केन्द्र हो ।
हरेक नयाँ पुस्तासँग समाजमा नयाँ विचार, नयाँ सपना र नयाँ चुनौती आउँछन् । अहिलेको ‘जेनजी’ पुस्ता अर्थात् सन् १९९७ देखि २०१२ को बीचमा जन्मेका युवा, नेपालको सन्दर्भमा एक अभूतपूर्व परिवर्तनको प्रतिनिधित्व गर्छन् । उनीहरू यस्तो डिजिटल युगमा हुर्किए, जहाँ सूचनाको कुनै कमी छैन र विश्वभरिको ज्ञान एक क्लिकमै उपलब्ध छ । उता, उनीहरूका अभिभावक, जो प्रायः ‘जेन एक्स’ पुस्ताका छन्, उनीहरूको बुझाइ र योजना अलि फरक छ । उनीहरूले सीमित स्रोत–साधन, परम्परागत समाज र कम प्रतिस्पर्धात्मक शैक्षिक वातावरणमा संघर्ष गरेका थिए । यही फरक पृष्ठभूमिका कारण यी दुई पुस्ताका रुचि, चाहना र योजनामा ठूलो अन्तर देखिएको छ ।
नेपालको शैक्षिक प्रणाली लामो समयदेखि सैद्धान्तिक ज्ञानमा आधारित र परीक्षाकेन्द्रित रहँदै आएको छ । सरकारी र निजी विद्यालयबीचको गुणस्तरको खाडल फराकिलो छ । धेरैजसो विद्यालयमा विद्यार्थीलाई घोकाउने र परीक्षामा उत्कृष्ट अंक ल्याउन प्रेरित गर्ने शिक्षण विधि अपनाइन्छ । यसले गर्दा विद्यार्थीले किताबी ज्ञान त प्राप्त गर्छन् तर त्यसलाई वास्तविक जीवनमा कसरी प्रयोग गर्ने भन्ने कुरामा कमजोर हुन्छन् । हाम्रो शिक्षा प्रणालीले ‘किन ?’ भन्दा पनि ‘के ?’ मा बढी जोड दिएको छ । विद्यार्थीले कुनै पनि कुराको गहिरो अर्थ नबुझीकन कण्ठस्थ गर्छन् । यसले उनीहरूको सिर्जनात्मक सोच र समालोचनात्मक विश्लेषणको क्षमतालाई विकास हुन दिँदैन ।
हामीले प्रमाणपत्रलाई सफलताको मापदण्ड मान्ने गरेका छौं । राम्रो अंक ल्याउने र राम्रो कलेजमा नाम निकाल्ने सोचका कारण विद्यार्थीहरू आफूलाई मन नपर्ने विषय पनि पढ्न बाध्य छन् । यसले उनीहरूको व्यक्तिगत रुचि र क्षमतालाई मार्छ । त्यस्तै गरी विद्यालयमा सिकाइने धेरै विषयवस्तु हाम्रो दैनिक जीवन र समाजसँग जोडिएका छैनन् । उदाहरणका लागि, कृषिप्रधान देशमा धेरैजसो विद्यार्थीले खेतीपातीको व्यावहारिक ज्ञान पाउन सकेका छैनन् । यो खाडलले बालबालिकालाई आफ्नो देश र समाजसँग जोड्न बाधा पुर्याएको छ ।
फरक पुस्ता, फरक रुचि
जेनजी पुस्तालाई अक्सर ‘डिजिटल नेटिभ’ भनिन्छ । उनीहरूका रुचि मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल वरिपरि घुम्छन् । धेरैजसो जेनजी युवा परम्परागत जागिरको पछि लाग्नुभन्दा आफ्नै व्यवसाय, युट्युब च्यानल वा सामाजिक सञ्जालमा ‘कन्टेन्ट क्रिएटर’ बन्न चाहन्छन् । उनीहरू आफ्नो समय र कामको शैलीमा स्वतन्त्रता खोज्छन् । यो पुस्ता आफ्नो मानसिक स्वास्थ्यप्रति धेरै सचेत छ ।
उनीहरू मानसिक तनाव, चिन्ता र डिप्रेसनलाई खुलेर कुरा गर्न डराउँदैनन् र यसको समाधानका लागि पनि तयार हुन्छन् । यिनीहरू परम्परागत ‘किताबी ज्ञान’ भन्दा सिर्जनात्मक सीपलाई बढी महत्त्व दिन्छन् । यसमा ग्राफिक डिजाइन, भिडियो सम्पादन, डिजिटल आर्ट, संगीत उत्पादन र लेखनजस्ता विषय पर्छन् । यो पुस्ता सामाजिक न्यायका मुद्दा, जस्तै– जलवायु परिवर्तन, लैंगिक समानता र जातीय विभेदप्रति बढी सचेत छ । उनीहरू यस्ता मुद्दामा आफ्नो विचार राख्न र आवाज उठाउन हिचकिचाउँदैनन् ।
अभिभावकहरू विद्यालयको छनोट गर्दा परीक्षाफल, विद्यालयको अनुशासन, शिक्षकहरूको योग्यता र विद्यालयको सामाजिक प्रतिष्ठा हेर्छन् । उनीहरूका लागि विद्यालय ‘उत्कृष्ट नतिजा’ उत्पादन गर्ने कारखाना हो । यसको विपरीत जेनजी युवाले त्यस्तो विद्यालय चाहन्छन्, जहाँ उनीहरूको सर्वाङ्गीण विकास हुन्छ । उनीहरू कला, संगीत, खेलकुद र सामाजिक गतिविधिलाई महत्त्व दिने विद्यालयमा आकर्षित हुन्छन् । उनीहरूलाई त्यस्तो वातावरण चाहिन्छ, जहाँ उनीहरूलाई प्रश्न गर्न र आफ्नो विचार व्यक्त गर्न प्रोत्साहन दिइन्छ ।
यसका अतिरिक्त अभिभावक र जेनजी पुस्ताबीच विषय र संकायका रुचिमा पनि अहिले ठूलो खाडल देखिन्छ । अभिभावक आफ्ना सन्तानलाई विज्ञान वा व्यवस्थापन विषय पढ्न जोड दिन्छन् किनकि यी विषयले भविष्यमा ‘राम्रो जागिर’ को ग्यारेन्टी गर्छ भन्ने उनीहरूको बुझाइ छ ।
उनीहरूले आफ्ना सन्तानले कला वा मानविकीजस्ता विषय पढ्दा भविष्यमा केही गर्न सक्दैनन् भन्ने सोच्छन् । तर, जेनजी युवाहरूले आफ्नो रुचिअनुसारका विषय, जस्तै– समाजशास्त्र, मनोविज्ञान, फिल्म मेकिङ, ग्राफिक डिजाइन र डिजिटल मार्केटिङजस्ता विषयमा रुचि देखाउँछन् । उनीहरूले परम्परागत विषयभन्दा सिर्जनात्मकता र डिजिटल सीपले भविष्यमा ठूलो अवसर सिर्जना गर्न सक्छ भन्ने बुझेका छन् ।
दुवै पुस्ताको सोचमा रहेको यो खाडललाई पुर्न नसके यसले पारिवारिक सम्बन्धमा तनाव मात्र होइन, युवाहरूको भविष्यमा पनि नकारात्मक असर पार्न सक्छ ।
शिक्षण विधिमा परिवर्तनको खाँचो
पारम्परिक ‘शिक्षक बोल्छन्, विद्यार्थी सुन्छन्’ भन्ने विधि अब अप्रभावकारी भइसकेको छ । अहिलेका अभिभावकले खोजेका विद्यालयले विद्यार्थीलाई निष्क्रिय श्रोता होइन, सक्रिय सिकारु बनाउनुपर्छ । अबको समय शिक्षक सक्रिय होइन, विद्यार्थी सक्रिय रहने समय हो, जसका लागि यी विधि महत्त्वपूर्ण र प्रभावकारी हुन सक्छन् :
परियोजनामा आधारित सिकाइ : विद्यार्थीलाई पाठ्यक्रममा आधारित कुनै एक परियोजनामा काम गर्न लगाइन्छ, जहाँ उनीहरूले सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा प्रयोग गर्न पाउँछन् । उदाहरणका लागि, विद्यार्थीलाई ‘नेपालको सांस्कृतिक सम्पदा’ विषयमा एउटा परियोजना दिन सकिन्छ । यस परियोजनामा उनीहरूले आफ्नो नजिकैको मन्दिर, गुम्बा वा ऐतिहासिक ठाउँबारे अनुसन्धान गर्न सक्छन्, स्थानीय मानिससँग कुराकानी गर्न सक्छन् र त्यसको इतिहास र महत्त्वबारे लेख्न सक्छन् । यसबाट उनीहरूको किताबी ज्ञान मात्र होइन, अनुसन्धान गर्ने र अरूसँग संवाद गर्ने सीप पनि विकास हुन्छ ।
अनुभवमा आधारित सिकाइ : विद्यार्थीलाई कक्षाकोठाभन्दा बाहिरको संसारसँग जोड्नुपर्छ । विभिन्न शैक्षिक भ्रमणहरू, ऐतिहासिक स्थलहरूको अवलोकन र उद्योग वा संस्था भ्रमणले उनीहरूको ज्ञानलाई अझ जीवन्त बनाउँछ । विद्यालयले विद्यार्थीलाई चिया बगान, जलविद्युत् आयोजना वा कृषि अनुसन्धान केन्द्रको भ्रमण गराउन सक्छ । यसबाट उनीहरूले आफ्नो देशको विकास र आर्थिक गतिविधिलाई नजिकबाट बुझ्न सक्छन् ।
महसुसमा आधारित सिकाइ ः यो शिक्षण विधिले विद्यार्थीलाई कुनै पनि विषय वा घटनाप्रतिको आफ्नो भावना र सोचाइ व्यक्त गर्न प्रेरित गर्छ । यसमा छलफल, भूमिका निर्वाह र नाटकजस्ता माध्यमबाट संवेगात्मक र सामाजिक बुद्धिमत्ताको विकास हुन्छ । शिक्षकले विद्यार्थीलाई भावना व्यक्त गर्न प्रोत्साहित गर्छन् र यसबाट उनीहरूले आफूलाई र अरूलाई बुझ्न सक्छन् । यो विधिले विद्यार्थीलाई जातीय, भाषिक र धार्मिक भिन्नतालाई सम्मान गर्न पनि सिकाउँछ ।
अब शिक्षक गुरु मात्रै होइन, सहयोगी पनि
शिक्षकलाई केवल सूचना प्रदायकका रूपमा मात्र हेरिनु हुँदैन । नयाँ युगका शिक्षकले विद्यार्थीलाई ‘के सिक्ने ?’ भनेर निर्देशन दिनुको सट्टा ‘कसरी सिक्ने ?’ भन्नेमा सहयोग गर्नुपर्छ । उनीहरूले विद्यार्थीलाई प्रश्न गर्न, नयाँ कुरा रचना तथा सिर्जना गर्न र आफ्ना विचार व्यक्त गर्न प्रेरित गर्नुपर्छ । शिक्षक कक्षाकोठामा ज्ञानको स्रोत नभई ज्ञानको खोजमा विद्यार्थीको साथी बन्नुपर्छ । शिक्षक र विद्यार्थीबीचको सम्बन्ध डरमा होइन, विश्वासमा आधारित हुनुपर्छ । शिक्षकले विद्यार्थीको व्यक्तिगत समस्यालाई सुन्ने र समाधानका लागि उचित मार्गदर्शन दिन सक्नुपर्छ । त्यसैले अबको शिक्षक साथी बन्नुपर्छ र यस्तो सम्बन्धले विद्यार्थीमा विद्यालयप्रतिको अपनत्वको भावनासमेत बढाउँछ ।
एक असल शिक्षक आफैं पनि निरन्तर सिक्ने क्रममा हुन्छ । नयाँ प्रविधि, शिक्षण विधि र विषयवस्तुमा अद्यावधिक रहनु शिक्षकको दायित्व हो । शिक्षकहरूको क्षमता विकासका लागि सरकारले नियमित तालिम कार्यक्रम सञ्चालन गर्नुपर्छ । शिक्षकलाई नयाँ शिक्षण विधि, बाल मनोविज्ञान र प्रविधिको प्रयोगबारे प्रशिक्षित गर्नुपर्छ र मात्र विद्यार्थीलाई सोहीअनुसार अघि बढाउन सकिन्छ ।
अहिलेको समय सूचना र प्रविधिको समय हो । प्रविधि आजको शिक्षाको एक अपरिहार्य अंग हो । कक्षाकोठामा इन्टरनेट, प्रोजेक्टर र कम्प्युटरको उपलब्धता हुनुपर्छ । शिक्षकले यी प्रविधिलाई शैक्षिक सामग्रीका रूपमा मात्र नभई, विद्यार्थीलाई रचनात्मक र सिर्जनात्मक काममा प्रेरित गर्न प्रयोग गर्नुपर्छ ।
र, अन्त्यमा
जेनजी पुस्ता र उनीहरूका अभिभावकबीच राम्रो विद्यालय कस्तो हो भन्ने बुझाइमा रहेको अन्तर केवल व्यक्तिगत रोजाइको मात्र नभई समाजमा आएको ठूलो परिवर्तनको प्रतिविम्ब हो । परम्परागत रूपमा परीक्षामा उत्कृष्ट अंक ल्याउने र प्रमाणपत्रमा मात्र जोड दिने सोचबाट अबको शिक्षा सिर्जनात्मक सीप र सर्वाङ्गीण विकासमा केन्द्रित हुनुपर्ने आवश्यकतालाई यसले उजागर गर्छ ।
यो खाडललाई पुर्नका लागि दुवै पुस्ताबीच खुला र इमानदार संवाद अपरिहार्य छ । अभिभावकले आफ्ना बालबालिकाको रुचिलाई बुझेर नयाँ क्षेत्रमा अगाडि बढ्न प्रोत्साहन दिनुपर्छ भने जेनजी पुस्ताले पनि अभिभावकको अनुभव र चिन्तालाई सम्मान गर्नुपर्छ ।
जब दुवै पुस्ताले एकअर्कालाई सुन्छन् र सँगै काम गर्छन्, तब मात्र परम्परागत ज्ञान र आधुनिक सीपको संयोजनबाट नयाँ नेपालको भविष्य निर्माण गर्न सक्ने एक सक्षम र सन्तुलित पुस्ता तयार हुन्छ । यसका साथै शिक्षा नीति, पाठ्यक्रम र शिक्षण विधिमा पनि समयसापेक्ष परिवर्तन गर्नु अपरिहार्य छ ।
