करिअर छनोटमा जेनजी र अभिभावकबीचको द्वन्द्व

शिक्षकलाई केवल सूचना प्रदायकका रूपमा मात्र हेरिनु हुँदैन । नयाँ युगका शिक्षकले विद्यार्थीलाई ‘के सिक्ने ?’ भनेर निर्देशन दिनुको सट्टा ‘कसरी सिक्ने ?’ भन्नेमा सहयोग गर्नुपर्छ ।

भाद्र १२, २०८२

सुशील खनाल

Conflict between Genji and parents over career choice

What you should know

केही वर्षअघिसम्म ‘राम्रो विद्यालय’ भन्नासाथ सबैका मनमा एउटै चित्र आउँथ्यो– ‘जहाँका विद्यार्थीले परीक्षामा उत्कृष्ट अंक ल्याउँछन् र एसईई वा कक्षा १२ को नतिजा बोर्डभरि टाँसिन्छ ।’ त्यस्ता विद्यालयमा भर्ना गराउन अभिभावक लालायित हुन्थे । तर समयसँगै यो अवधारणामा परिवर्तन आएको छ ।

अहिलेका अभिभावकले प्रमाणपत्रमा थुप्रै विषयमा ‘ए+’ वा समग्रमा जीपीए ४ ल्याए पनि जीवनको परीक्षामा असफल हुनुको पीडा कस्तो हुन्छ भनेर राम्रोसँग बुझेको हुनुपर्छ । अहिलेका अभिभावकले खोजेको विद्यालय अब नतिजाको कारखाना मात्र होइन, बालबालिकाको सर्वाङ्गीण विकासको केन्द्र हो । 

हरेक नयाँ पुस्तासँग समाजमा नयाँ विचार, नयाँ सपना र नयाँ चुनौती आउँछन् । अहिलेको ‘जेनजी’ पुस्ता अर्थात् सन् १९९७ देखि २०१२ को बीचमा जन्मेका युवा, नेपालको सन्दर्भमा एक अभूतपूर्व परिवर्तनको प्रतिनिधित्व गर्छन् । उनीहरू यस्तो डिजिटल युगमा हुर्किए, जहाँ सूचनाको कुनै कमी छैन र विश्वभरिको ज्ञान एक क्लिकमै उपलब्ध छ । उता, उनीहरूका अभिभावक, जो प्रायः ‘जेन एक्स’ पुस्ताका छन्, उनीहरूको बुझाइ र योजना अलि फरक छ । उनीहरूले सीमित स्रोत–साधन, परम्परागत समाज र कम प्रतिस्पर्धात्मक शैक्षिक वातावरणमा संघर्ष गरेका थिए । यही फरक पृष्ठभूमिका कारण यी दुई पुस्ताका रुचि, चाहना र योजनामा ठूलो अन्तर देखिएको छ । 

नेपालको शैक्षिक प्रणाली लामो समयदेखि सैद्धान्तिक ज्ञानमा आधारित र परीक्षाकेन्द्रित रहँदै आएको छ । सरकारी र निजी विद्यालयबीचको गुणस्तरको खाडल फराकिलो छ । धेरैजसो विद्यालयमा विद्यार्थीलाई घोकाउने र परीक्षामा उत्कृष्ट अंक ल्याउन प्रेरित गर्ने शिक्षण विधि अपनाइन्छ । यसले गर्दा विद्यार्थीले किताबी ज्ञान त प्राप्त गर्छन् तर त्यसलाई वास्तविक जीवनमा कसरी प्रयोग गर्ने भन्ने कुरामा कमजोर हुन्छन् । हाम्रो शिक्षा प्रणालीले ‘किन ?’ भन्दा पनि ‘के ?’ मा बढी जोड दिएको छ । विद्यार्थीले कुनै पनि कुराको गहिरो अर्थ नबुझीकन कण्ठस्थ गर्छन् । यसले उनीहरूको सिर्जनात्मक सोच र समालोचनात्मक विश्लेषणको क्षमतालाई विकास हुन दिँदैन । 

हामीले प्रमाणपत्रलाई सफलताको मापदण्ड मान्ने गरेका छौं । राम्रो अंक ल्याउने र राम्रो कलेजमा नाम निकाल्ने सोचका कारण विद्यार्थीहरू आफूलाई मन नपर्ने विषय पनि पढ्न बाध्य छन् । यसले उनीहरूको व्यक्तिगत रुचि र क्षमतालाई मार्छ । त्यस्तै गरी विद्यालयमा सिकाइने धेरै विषयवस्तु हाम्रो दैनिक जीवन र समाजसँग जोडिएका छैनन् । उदाहरणका लागि, कृषिप्रधान देशमा धेरैजसो विद्यार्थीले खेतीपातीको व्यावहारिक ज्ञान पाउन सकेका छैनन् । यो खाडलले बालबालिकालाई आफ्नो देश र समाजसँग जोड्न बाधा पुर्‍याएको छ । 

फरक पुस्ता, फरक रुचि

जेनजी पुस्तालाई अक्सर ‘डिजिटल नेटिभ’ भनिन्छ । उनीहरूका रुचि मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल वरिपरि घुम्छन् । धेरैजसो जेनजी युवा परम्परागत जागिरको पछि लाग्नुभन्दा आफ्नै व्यवसाय, युट्युब च्यानल वा सामाजिक सञ्जालमा ‘कन्टेन्ट क्रिएटर’ बन्न चाहन्छन् । उनीहरू आफ्नो समय र कामको शैलीमा स्वतन्त्रता खोज्छन् । यो पुस्ता आफ्नो मानसिक स्वास्थ्यप्रति धेरै सचेत छ ।

उनीहरू मानसिक तनाव, चिन्ता र डिप्रेसनलाई खुलेर कुरा गर्न डराउँदैनन् र यसको समाधानका लागि पनि तयार हुन्छन् । यिनीहरू परम्परागत ‘किताबी ज्ञान’ भन्दा सिर्जनात्मक सीपलाई बढी महत्त्व दिन्छन् । यसमा ग्राफिक डिजाइन, भिडियो सम्पादन, डिजिटल आर्ट, संगीत उत्पादन र लेखनजस्ता विषय पर्छन् । यो पुस्ता सामाजिक न्यायका मुद्दा, जस्तै– जलवायु परिवर्तन, लैंगिक समानता र जातीय विभेदप्रति बढी सचेत छ । उनीहरू यस्ता मुद्दामा आफ्नो विचार राख्न र आवाज उठाउन हिचकिचाउँदैनन् ।

अभिभावकहरू विद्यालयको छनोट गर्दा परीक्षाफल, विद्यालयको अनुशासन, शिक्षकहरूको योग्यता र विद्यालयको सामाजिक प्रतिष्ठा हेर्छन् । उनीहरूका लागि विद्यालय ‘उत्कृष्ट नतिजा’ उत्पादन गर्ने कारखाना हो । यसको विपरीत जेनजी युवाले त्यस्तो विद्यालय चाहन्छन्, जहाँ उनीहरूको सर्वाङ्गीण विकास हुन्छ । उनीहरू कला, संगीत, खेलकुद र सामाजिक गतिविधिलाई महत्त्व दिने विद्यालयमा आकर्षित हुन्छन् । उनीहरूलाई त्यस्तो वातावरण चाहिन्छ, जहाँ उनीहरूलाई प्रश्न गर्न र आफ्नो विचार व्यक्त गर्न प्रोत्साहन दिइन्छ ।

यसका अतिरिक्त अभिभावक र जेनजी पुस्ताबीच विषय र संकायका रुचिमा पनि अहिले ठूलो खाडल देखिन्छ । अभिभावक आफ्ना सन्तानलाई विज्ञान वा व्यवस्थापन विषय पढ्न जोड दिन्छन् किनकि यी विषयले भविष्यमा ‘राम्रो जागिर’ को ग्यारेन्टी गर्छ भन्ने उनीहरूको बुझाइ छ ।

उनीहरूले आफ्ना सन्तानले कला वा मानविकीजस्ता विषय पढ्दा भविष्यमा केही गर्न सक्दैनन् भन्ने सोच्छन् । तर, जेनजी युवाहरूले आफ्नो रुचिअनुसारका विषय, जस्तै– समाजशास्त्र, मनोविज्ञान, फिल्म मेकिङ, ग्राफिक डिजाइन र डिजिटल मार्केटिङजस्ता विषयमा रुचि देखाउँछन् । उनीहरूले परम्परागत विषयभन्दा सिर्जनात्मकता र डिजिटल सीपले भविष्यमा ठूलो अवसर सिर्जना गर्न सक्छ भन्ने बुझेका छन् ।

दुवै पुस्ताको सोचमा रहेको यो खाडललाई पुर्न नसके यसले पारिवारिक सम्बन्धमा तनाव मात्र होइन, युवाहरूको भविष्यमा पनि नकारात्मक असर पार्न सक्छ ।

शिक्षण विधिमा परिवर्तनको खाँचो

पारम्परिक ‘शिक्षक बोल्छन्, विद्यार्थी सुन्छन्’ भन्ने विधि अब अप्रभावकारी भइसकेको छ । अहिलेका अभिभावकले खोजेका विद्यालयले विद्यार्थीलाई निष्क्रिय श्रोता होइन, सक्रिय सिकारु बनाउनुपर्छ । अबको समय शिक्षक सक्रिय होइन, विद्यार्थी सक्रिय रहने समय हो, जसका लागि यी विधि महत्त्वपूर्ण र प्रभावकारी हुन सक्छन् :

परियोजनामा आधारित सिकाइ : विद्यार्थीलाई पाठ्यक्रममा आधारित कुनै एक परियोजनामा काम गर्न लगाइन्छ, जहाँ उनीहरूले सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा प्रयोग गर्न पाउँछन् । उदाहरणका लागि, विद्यार्थीलाई ‘नेपालको सांस्कृतिक सम्पदा’ विषयमा एउटा परियोजना दिन सकिन्छ । यस परियोजनामा उनीहरूले आफ्नो नजिकैको मन्दिर, गुम्बा वा ऐतिहासिक ठाउँबारे अनुसन्धान गर्न सक्छन्, स्थानीय मानिससँग कुराकानी गर्न सक्छन् र त्यसको इतिहास र महत्त्वबारे लेख्न सक्छन् । यसबाट उनीहरूको किताबी ज्ञान मात्र होइन, अनुसन्धान गर्ने र अरूसँग संवाद गर्ने सीप पनि विकास हुन्छ ।

अनुभवमा आधारित सिकाइ : विद्यार्थीलाई कक्षाकोठाभन्दा बाहिरको संसारसँग जोड्नुपर्छ । विभिन्न शैक्षिक भ्रमणहरू, ऐतिहासिक स्थलहरूको अवलोकन र उद्योग वा संस्था भ्रमणले उनीहरूको ज्ञानलाई अझ जीवन्त बनाउँछ । विद्यालयले विद्यार्थीलाई चिया बगान, जलविद्युत् आयोजना वा कृषि अनुसन्धान केन्द्रको भ्रमण गराउन सक्छ । यसबाट उनीहरूले आफ्नो देशको विकास र आर्थिक गतिविधिलाई नजिकबाट बुझ्न सक्छन् ।

महसुसमा आधारित सिकाइ ः यो शिक्षण विधिले विद्यार्थीलाई कुनै पनि विषय वा घटनाप्रतिको आफ्नो भावना र सोचाइ व्यक्त गर्न प्रेरित गर्छ । यसमा छलफल, भूमिका निर्वाह र नाटकजस्ता माध्यमबाट संवेगात्मक र सामाजिक बुद्धिमत्ताको विकास हुन्छ । शिक्षकले विद्यार्थीलाई भावना व्यक्त गर्न प्रोत्साहित गर्छन् र यसबाट उनीहरूले आफूलाई र अरूलाई बुझ्न सक्छन् । यो विधिले विद्यार्थीलाई जातीय, भाषिक र धार्मिक भिन्नतालाई सम्मान गर्न पनि सिकाउँछ ।

अब शिक्षक गुरु मात्रै होइन, सहयोगी पनि

शिक्षकलाई केवल सूचना प्रदायकका रूपमा मात्र हेरिनु हुँदैन । नयाँ युगका शिक्षकले विद्यार्थीलाई ‘के सिक्ने ?’ भनेर निर्देशन दिनुको सट्टा ‘कसरी सिक्ने ?’ भन्नेमा सहयोग गर्नुपर्छ । उनीहरूले विद्यार्थीलाई प्रश्न गर्न, नयाँ कुरा रचना तथा सिर्जना गर्न र आफ्ना विचार व्यक्त गर्न प्रेरित गर्नुपर्छ । शिक्षक कक्षाकोठामा ज्ञानको स्रोत नभई ज्ञानको खोजमा विद्यार्थीको साथी बन्नुपर्छ । शिक्षक र विद्यार्थीबीचको सम्बन्ध डरमा होइन, विश्वासमा आधारित हुनुपर्छ । शिक्षकले विद्यार्थीको व्यक्तिगत समस्यालाई सुन्ने र समाधानका लागि उचित मार्गदर्शन दिन सक्नुपर्छ । त्यसैले अबको शिक्षक साथी बन्नुपर्छ र यस्तो सम्बन्धले विद्यार्थीमा विद्यालयप्रतिको अपनत्वको भावनासमेत बढाउँछ । 

एक असल शिक्षक आफैं पनि निरन्तर सिक्ने क्रममा हुन्छ । नयाँ प्रविधि, शिक्षण विधि र विषयवस्तुमा अद्यावधिक रहनु शिक्षकको दायित्व हो । शिक्षकहरूको क्षमता विकासका लागि सरकारले नियमित तालिम कार्यक्रम सञ्चालन गर्नुपर्छ । शिक्षकलाई नयाँ शिक्षण विधि, बाल मनोविज्ञान र प्रविधिको प्रयोगबारे प्रशिक्षित गर्नुपर्छ र मात्र विद्यार्थीलाई सोहीअनुसार अघि बढाउन सकिन्छ । 

अहिलेको समय सूचना र प्रविधिको समय हो । प्रविधि आजको शिक्षाको एक अपरिहार्य अंग हो । कक्षाकोठामा इन्टरनेट, प्रोजेक्टर र कम्प्युटरको उपलब्धता हुनुपर्छ । शिक्षकले यी प्रविधिलाई शैक्षिक सामग्रीका रूपमा मात्र नभई, विद्यार्थीलाई रचनात्मक र सिर्जनात्मक काममा प्रेरित गर्न प्रयोग गर्नुपर्छ । 

र, अन्त्यमा

जेनजी पुस्ता र उनीहरूका अभिभावकबीच राम्रो विद्यालय कस्तो हो भन्ने बुझाइमा रहेको अन्तर केवल व्यक्तिगत रोजाइको मात्र नभई समाजमा आएको ठूलो परिवर्तनको प्रतिविम्ब हो । परम्परागत रूपमा परीक्षामा उत्कृष्ट अंक ल्याउने र प्रमाणपत्रमा मात्र जोड दिने सोचबाट अबको शिक्षा सिर्जनात्मक सीप र सर्वाङ्गीण विकासमा केन्द्रित हुनुपर्ने आवश्यकतालाई यसले उजागर गर्छ । 

यो खाडललाई पुर्नका लागि दुवै पुस्ताबीच खुला र इमानदार संवाद अपरिहार्य छ । अभिभावकले आफ्ना बालबालिकाको रुचिलाई बुझेर नयाँ क्षेत्रमा अगाडि बढ्न प्रोत्साहन दिनुपर्छ भने जेनजी पुस्ताले पनि अभिभावकको अनुभव र चिन्तालाई सम्मान गर्नुपर्छ । 

जब दुवै पुस्ताले एकअर्कालाई सुन्छन् र सँगै काम गर्छन्, तब मात्र परम्परागत ज्ञान र आधुनिक सीपको संयोजनबाट नयाँ नेपालको भविष्य निर्माण गर्न सक्ने एक सक्षम र सन्तुलित पुस्ता तयार हुन्छ । यसका साथै शिक्षा नीति, पाठ्यक्रम र शिक्षण विधिमा पनि समयसापेक्ष परिवर्तन गर्नु अपरिहार्य छ ।

सुशील खनाल काठमाडौं महानगरपालिका, शिक्षा विभागका स्रोत शिक्षक हुन् ।

Link copied successfully