प्राध्यापकलाई वैचारिक बनाउनेभन्दा पनि संगठित रूपमै दलीय कार्यकर्ता बनाउने कुरामा मात्र यी संगठनको ध्यान गएको देखिन्छ, विश्वविद्यालयमा देखिएको दलीय भागबन्डाको मुख्य कारक यिनै प्राध्यापक संगठन भएका छन्।
What you should know
नेपालमा विश्वविद्यालयको सुधारका बारेमा विभिन्न कोणबाट विश्लेषण र बहस भइरहेका छन् । विश्वविद्यालयका समस्या बहुआयामिक छन् । सार्वजनिक बहसमा राज्यको कमजोर लगानी, स्पष्ट नीतिको अभाव र चरम दलीयकरणले गर्दा विश्वविद्यालयले सोचेजस्तो गति लिन नसकेको चर्चा बढी छ ।
त्रिभुवन विश्वविद्यालयलाई केन्द्रमा राखेर भइरहेका यस्ता बहसले दलीय भागबन्डाले सिर्जना गरेका समस्यालाई बढी उठाउने गरेका छन् । तर, विश्वविद्यालयले गति लिन नसक्नुमा प्राध्यापककै भूमिकाचाहिँ कति जिम्मेवार छ भन्ने विषयमा त्यति छलफल हुन सकेको छैन । यस लेखमा हामीले त्रिभुवन विश्वविद्यालयमा भएका प्राध्यापकका ‘वैचारिक’ संगठनहरूको क्रियाकलापका अध्ययनका आधारमा विचार र ज्ञान निर्माणका लागि प्राध्यापकले खेल्न सक्ने भूमिकाका बारेमा छलफल गरेका छौं ।
प्राध्यापक एक चिन्तक
प्राध्यापक एक चिन्तक हुन् । उनीहरूको चिन्तनको कुनै भौगोलिक सीमा हुँदैन । प्राध्यापकले गर्ने अध्ययन–अनुसन्धान र प्रकाशनले विश्वविद्यालयको विशिष्ट पहिचान निर्माण गर्छ । अनुसन्धानमुखी विचारले शिक्षा र समाज विकासमा विशिष्ट योगदान गरेको हुन्छ । बीसौं शताब्दीको सुरुवाततिर समाज निर्माणमा शिक्षाको भूमिका कस्तो हुनुपर्ने भन्ने बहस चलिरहेका बेला सिकागो विश्वविद्यालयका प्राध्यापकको चिन्तनले ‘सिकागो स्कुल अफ थट’ जन्मायो । यही स्कुलले शिक्षा, अर्थशास्त्र र समाजमा उदारवादको जग तयार गर्यो ।
शिक्षाको सवालमा मुख्य गरेर जोन डिवीजस्ता प्राध्यापकहरूले शिक्षाले मानिसलाई प्राविधिक वस्तुका रूपमा मात्र चित्रित गर्न नहुने र परम्परागत एकोहोरो ज्ञान जम्मा गर्ने प्रणालीका विरुद्ध शिक्षालाई सक्रिय, अनुभवमूलक र ‘गरेर सिक्ने’ माध्यमका रूपमा अघि सार्यो । ‘प्रोग्रेसिभ एजुकेसन’ का रूपमा चिनिने यो चिन्तनले शिक्षालाई पुरातन ज्ञानको ठेली पढाउनेभन्दा वर्तमानका समस्या र जटिलतासँग जुध्न सक्ने बनाउन नयाँ वैचारिक आन्दोलनको रूप लियो । यो चिन्तनले शिक्षालाई प्रजातान्त्रीकरण र स्वतन्त्रता प्राप्तिको साधन बनाउनुपर्ने तर्क अघि सार्यो ।
जोन डिवीले सिकागो विश्वविद्यालयमा आफ्नो प्रगतिशील शिक्षाको अवधारणालाई परीक्षण र लागू गर्न एउटा ल्याब स्कुल नै स्थापना गरे । सिकागो स्कुलको विचारका आधारमा अमेरिका तथा विश्वव्यापी रूपमा ‘कोर करिकुलम’ को अवधारणाको निर्माण भयो । यही अवधारणालाई आधार मानेर आज विश्वभरिका विद्यालय तथा विश्वविद्यालयमा आधारभूत मानवीय मूल्य मान्यता र प्रजातान्त्रिक चिन्तनलाई सबैले सिक्नुपर्ने विषयका रूपमा राखेर पाठ्यक्रम निर्माण गरिने प्रचलन छ ।
सोही बेला युरोपतिरका प्राध्यापकहरूले शिक्षालाई आलोचनात्मक चेत निर्माण गर्ने र यथास्थितिमाथि प्रश्न गर्ने सशक्त माध्यमका रूपमा विकास गरे । ‘फ्र्यांकफर्ट स्कुल’ का नामले चिनिने यो चिन्तनले शिक्षामा विभिन्न आलोचनात्मक सिद्धान्तको निर्माण र पैरवी गर्यो ।
म्याक्स होर्खेइमर, हर्बट मार्कुज तथा युर्गेन
ह्याबरमासजस्ता अनुसन्धाता र प्राध्यापकहरूको प्राज्ञिक कार्यले वर्गीय समाजमा स्रोत साधन र पुँजीको अधिकारबाट वञ्चित समुदायको सशक्तीकरण, समानता र न्यायका लागि शिक्षाले कसरी काम गर्नुपर्छ भन्ने नयाँ दृष्टिकोण जन्मायो । यही स्कुलले शिक्षा, समाज र अर्थशास्त्रमा स्पष्ट ‘समाजवादी’ दृष्टिकोणको आधार तयार गर्यो । सिकागो र फ्र्यांकफर्ट स्कुलले आजका दुई ठूला विश्वव्यापी विचारधाराको प्रतिनिधित्व गरेका छन् ।
पछिल्लो समयमा लन्डन स्कुल अफ इकोनोमिक्सका प्राध्यापक एन्थोनी गिडेन्सले ‘थर्ड वे’ विचारधाराको निर्माण गरे । यो विचारधाराले सिकागो स्कुल र फ्र्यांकफर्ट स्कुलको बीचको नयाँ बाटो रोज्यो । गिडेन्सले प्रस्तुत गरेको ‘थर्ड वे’ ले परम्परागत समाजवाद र बजारमुखी नवउदारवादी अर्थतन्त्रभन्दा सामाजिक न्याय र बजारीकृत अर्थतन्त्रबीचको सन्तुलनमा जोड दिएको छ । यो विचारधारा यति बलियो र प्रभावकारी भयो कि बेलायतका तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयर र उनको न्यु लेबर पार्टीले
आफ्नो मुख्य राजनीतिक दर्शनका रूपमै यसलाई अघि सार्यो । यो विचारधाराले अहिले युरोप, ल्याटिन अमेरिका, अस्ट्रेलिया र एसियाका कैयौं देशको राजनीतिक दिशालाई प्रभाव पारेको छ ।
यसरी प्राध्यापकहरूले विश्वविद्यालयमा आर्थिक, सामाजिक र राजनीतिक विचारधारा निर्माण गर्छन् । विज्ञान र प्रविधिका नयाँ–नयाँ चिन्तन र आविष्कारहरूको सिर्जना गर्छन् । आज ज्ञान र प्रविधिले यति ठूलो फड्को मार्न र मानव जीवनलाई यति सहज बनाउन सम्भव गराउने तिनै ज्ञानकर्मी र चिन्तक प्राध्यापक हुन् ।
विचारबिनाका ‘वैचारिक’ संगठन
हाम्रा विश्वविद्यालयमा विभिन्न ‘वैचारिक’ संगठनहरू क्रियाशील छन् । हामीलाई लाग्थ्यो– ‘वैचारिक’ भनेर दाबी गरिसकेपछि यी संगठनले शिक्षा र समाज परिवर्तनमा चाहिने सिद्धान्त, विचार, ज्ञान निर्माण र पैरवीमा सशक्त भूमिका खेल्छन् ।
‘प्रजातान्त्रिक’, ‘प्रगतिशील’ तथा ‘समाजवादी’ नाम भएका यस्ता प्राध्यापक संगठनहरूले शिक्षा, समाज र राष्ट्र निर्माणका लागि आवश्यक ज्ञान र दर्शन निर्माण गर्नुपर्ने होइन र ? हामीलाई लाग्थ्यो आफूलाई ‘प्रजातान्त्रिक’ दाबी गर्ने प्राध्यापकले नेपालको शिक्षा र समाज निर्माणमा चाहिने प्रजातान्त्रिक सिद्धान्त, दर्शन र चिन्तनको अध्ययन–अनुसन्धान, निर्माण, पैरवी र प्रकाशन गर्नुपर्ने हो ।
त्यस्तै ‘प्रगतिशील’ प्राध्यापकले शिक्षामा प्रगतिशील चिन्तन, ज्ञान र अध्ययन–अनुसन्धानको प्राज्ञिक नेतृत्व गर्नुपर्ने हो । विडम्बना ! यी संगठन विचार निर्माण गर्नेभन्दा दलका भ्रातृ संगठनका रूपमा दलीय स्वार्थ प्राप्तिमै व्यस्त रहेका देखिन्छन् । यिनीहरूले विगत दुई दशकमा गरेका कार्य र प्रकाशनको हाम्रो अध्ययनले यी संगठनमा वैचारिक चिन्तन र ज्ञान निर्माणमा हुनुपर्ने जिम्मेवारी र भूमिका शून्यप्रायः नै छ भन्ने देखाउँछ ।
वैचारिक प्राध्यापक संगठनको विगत दुई दशकको कार्य विश्लेषण गर्दा यिनीहरू मुख्यतया निम्न चार कार्यमा बढी तल्लीन देखिन्छन् । पहिलो, दलीय आधारमा सदस्यता वितरण, नवीकरण र अधिवेशन गर्ने र दलको कार्यक्रममा सहभागिता जनाउने । कतिपय यस्ता अधिवेशनमा राजनीतिक गुटको प्रतिनिधित्व गर्दै नेतृत्व प्राप्त गर्न लबिइङ गर्ने ।
दोस्रो, विश्वविद्यालयका विभिन्न पदमा भागबन्डा गर्न दलीय शक्ति प्रयोग गरेर मानवशास्त्री डोरबहादुर विष्टले भनेझैं ‘आफ्नो मान्छे’ नियुक्ति गर्न–गराउन पहल गर्ने । अनि आफूअनुकूल नियुक्ति नभए त्यस्तो नेतृत्वलाई असहयोग गर्ने, दबाब दिने वा तालाबन्द गर्ने । तेस्रो, सेवा र सुविधाका लागि मागपत्र, ज्ञापनपत्र प्रस्तुत गर्ने र आन्दोलन गर्ने ।
चौथो, सामाजिक कार्यहरू जस्तै शुभकामना आदानप्रदान, स्वागत, बिदाइ, सम्मान, चियापान, पिकनिक आदि कार्यक्रम गर्ने । यस्ता कार्यक्रममा आफ्ना दलका नेताहरू बोलाएर अतिथि बनाउने, चाकडी गर्ने र उनीहरूको भाषण सुन्ने । यस्ता कार्यले प्राध्यापकमा पेसागत विभाजन मात्र ल्याएको छैन, प्राध्यापकीय ओज र मर्यादामाथि निर्मम रूपले प्रहार पनि गरेको छ ।
यदाकदा समसामयिक विषयमा छलफल चलाउने र केही मुखपत्र तथा जर्नल प्रकाशन गरेको पाइन्छ तर त्यस्ता कार्य केवल प्राविधिक र औपचारिकतामा मात्र सीमित छन् । यस्ता कार्यको निरन्तरता, दिशा, चिन्तन, दर्शन र प्रभाव शून्यजस्तै छ ।
प्राध्यापकीय भूमिकाको केन्द्रमा ज्ञानमा आधारित विचार, चिन्तन निर्माण र पैरवी गर्ने काम हुन्छ । विश्वविद्यालयको प्रतिष्ठा र पहिचान तथा सार्वजनिक वृत्तले गर्ने विश्वास प्राध्यापकको सामूहिक वैचारिक योगदानमा भर पर्छ । विडम्बना ! विगत दुई दशकको अनुभवले विश्वविद्यालय सुधारका लागि चाहिने चिन्तनको निर्माण र अध्ययन–अनुसन्धानमा कसरी प्राध्यापक संगठनको ध्यान गएको छैन भन्ने देखाउँछ ।
प्राध्यापकलाई वैचारिक बनाउनेभन्दा पनि संगठित रूपमै दलीय कार्यकर्ता बनाउने कुरामा मात्र यी संगठनको ध्यान गएको देखिन्छ । विश्वविद्यालयमा देखिएको दलीय भागबन्डाको मुख्य कारक यिनै प्राध्यापक संगठन भएका छन् । विश्वविद्यालयलाई निर्देश गर्ने दर्शन, ज्ञान र अवधारणाका बारेमा प्राज्ञिक बहस र अनुसन्धान नगरेपछि विश्वविद्यालयको सुधार कसरी हुन्छ ?
अबको बाटो : प्राध्यापकीय बौद्धिक चिन्तन
दार्शनिक मिचेल फुकोले आफ्नो किताब ‘राजनीति, दर्शन र संस्कृति’ मा भनेका छन् कि बौद्धिक व्यक्ति र समूहको मुख्य काम भनेको कसैको राजनीतिक इच्छा प्राप्त गर्न सहयोग गर्ने होइन । आ–आफ्नो क्षेत्रमा अनुसन्धान र विश्लेषणका आधारमा स्वतः सिद्ध मानिएका मानकलाई निरन्तर प्रश्न गर्दै ‘राजनीतिक इच्छाशक्ति’ निर्माणमा अर्थपूर्ण सहभागिता जनाउनु हो ।
बौद्धिक व्यक्तिहरू यथास्थितिवादलाई आफूले निर्माण गरेको ज्ञानका आधारमा प्रश्न गर्दै समाज परिवर्तन र सत्यको पक्षमा उभिन्छन् । दार्शनिक आन्तिनियो ग्राम्सीले पनि भनेका छन् कि बौद्धिक जमातले आफ्नो विचारका आधारमा समाज परिवर्तन गर्न ‘वर्चस्ववादी चिन्तन’ लाई प्रश्न गर्न र बदल्न भूमिका खेल्नुपर्छ । कठिन कालखण्डमा सामाजिक–आर्थिक परिवर्तनको संवाहक बौद्धिक जमात नै हुने गरेका छन् । प्राध्यापकहरू जागिरे मात्रै होइनन्, उनीहरू ज्ञान र चिन्तन निर्माण गर्ने बौद्धिक जमात हुन् भन्ने सर्वस्वीकार्य मान्यता छ ।
उच्च शिक्षाको दिशा के हुने ? विश्वविद्यालयहरूको संरचनागत र प्राज्ञिक चिन्तन कस्तो हुने ? विश्वविद्यालयले कसरी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आफ्नो छविलाई उच्च राख्ने ? यस्ता प्रश्नका बारेमा चिन्तन गर्न हाम्रा प्राध्यापकका संगठन दलीय नभई प्राज्ञिक तथा दार्शनिक चिन्तनको अध्ययन–अनुसन्धान र बहस गर्ने स्वतन्त्र र खुला ‘स्पेस’ हुनुपर्दछ ।
दलीय आबद्धताभन्दा माथि उठेर आफ्ना विचार, चिन्तन र अध्ययन–अनुसन्धानका आधारमा प्राध्यापकले विभिन्न ‘स्कुल अफ थट’ निर्माण गर्दै त्यसलाई विश्वविद्यालयको पुनःसंरचना तथा कार्यक्रम, पाठ्यक्रम, शिक्षण सिकाइ र अनुसन्धानहरूलाई समयानुकूल परिमार्जन गर्न चाहिने वैचारिक आधार र दृष्टिकोणका रूपमा प्रयोग गर्नुपर्ने हो । यसका लागि सर्वप्रथम प्राध्यापक संगठनले आफ्नो ‘वैचारिक’ धरातलको स्वमूल्यांकन गर्न जरुरी छ ।
कुनै दलको ‘कार्यकर्ता’ भन्दा पनि दलहरूकै चिन्तनलाई बदल्ने सामार्थ्य राख्नुपर्छ । राज्यको शिक्षा र अन्य नीतिमा दलहरूलाई स्पष्ट दिशानिर्देश गर्न सक्ने वैचारिक सामर्थ्य हाम्रा प्राध्यापक संगठनमा हुनुपर्छ । त्यसका लागि चाहिने अध्ययन–अनुसन्धान, बहस–पैरवी तथा लेखन–प्रकाशनजस्ता विशिष्ट भूमिकामा प्राध्यापकहरू निरन्तर लाग्न जरुरी छ ।
प्राध्यापक संगठनहरूले यस दिशातिर ध्यान दिने हो भने हाम्रा विश्वविद्यालय साँच्चिकै जीवन्त हुनेछन् । प्राध्यापकहरूले आफूलाई ‘थिंक ट्यांक’ का रूपमा प्रस्तुत हुने सामर्थ्य राखेपछि मात्र विश्वविद्यालयमा दलीय भागबन्डाको युगको अन्त्य हुनेछ अनि बल्ल हाम्रा विश्वविद्यालयमा साँच्चिकै प्राज्ञिक सुधारको बाटो खुल्नेछ ।
