नयाँ दलहरूको मध्यावधि समीक्षा

नयाँ दलको नेतृत्वले पनि विचार र आदर्शको चर्चा गर्नेभन्दा पार्टी शीर्ष नेतृत्वको ‘जय’ भन्नेलाई मात्रै रुचाएको छ।

भाद्र ६, २०८२

बीपी साह

Mid-term review of new parties

What you should know

नेपालीभाषी बाहुल्य भएको, टेलिभिजन र इन्टरनेटको प्रभाव रहेको सहरिया क्षेत्रबाट स्वतन्त्र शब्दको पनि उपयोग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भयो । मधेशीभाषी बाहुल्य भएको ग्रामीण क्षेत्रबाट जनमत पार्टी र थारूभाषी बाहुल्य भएको क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीले संसद् भवनमा प्रवेश पाए ।

यी तीनवटै दलको उत्पत्तिको प्रकृति र मागमुद्दा फरक थिए । तर, तीनवटै दलका मतदातामा विकल्पको खोजी, सुशासन, गुणस्तरीय सेवा, राजनीतिक सुधार र भविष्य राम्रो हुने आशा थियो । ०७९ को चुनावपछिको मध्यावधिसम्म आउँदा यी दल र व्यक्तिले जनतामा आशालाई जगाइराख्न सकेका छन् त ? यिनीहरूले मुद्दागत, जनचाहना र आवश्यकताअनुसार गर्दै छन् त ? यी र यस्ता कैयौं प्रश्न उब्जिन थालेका छन् ।

नयाँ राजनीतिक पार्टीको उदयलाई प्रचलित राजनीतिक संरचनाको असफलता वा कमजोरीप्रतिको प्रतिक्रियाका रूपमा हेर्ने चलन छ । लोकतन्त्रमा यसले नागरिकलाई शासन, प्रतिनिधित्व र न्यायको वैकल्पिक दृष्टिकोण राख्ने अधिकारको प्रतिनिधित्व गरेको अनुभूत गराउँछ । तर कुनै पनि नयाँ पार्टीको सफलता वा असफलता केवल यसको नवीनतामा मात्र निर्भर हुँदैन ।

माओवादी संघर्ष, मधेश आन्दोलन र अन्य पहिचान पक्षधरको आन्दोलनपश्चात् पहिलो संविधानसभाको निर्वाचनबाट २५ दलले संविधानसभामा प्रवेश पाएका थिए तर दोस्रो संविधानसभाको निर्वाचनसम्म पुग्दा धेरै दलको अवस्था खस्किएको थियो । यसैगरी विवेकशील दल र साझा पार्टीजस्ता दल उदय भएर सकिने अवस्थामा पुगे । नेपालको पहिलो राजनीतिक दल नेपाल प्रजा परिषद् इतिहासमा मात्र बाँकी छ । कहीँकतै २०७९ को निर्वाचनपछि जन्मिएका दलहरू पनि पतनतिर गइरहेका त छैनन् ? 

भ्रष्टाचार, अक्षमता र पुराना दलहरूको निष्क्रियताविरुद्धको जनआक्रोशलाई उपयोग गर्दै रास्वपाले निर्वाचन जित्यो । सामाजिक सञ्जालमा प्रभावशाली उपस्थिति, सहरी युवाहरू, पहिलो पटकका मतदाता र विदेशमा रहेका नेपालीमाझ आकर्षण थियो । सुशासन, पारदर्शिता र दक्षतामाथि जोड दिएको रास्वपा वैचारिक अस्पष्टता, व्यक्तिवादी नेतृत्वमा निर्भरतामा फसेको छ । संस्थागत कमजोरीको आलोचना सहन नसक्नु र पार्टीलाई वैचारिक दिशा नदिएर व्यक्तिमा केन्द्रित हुँदै जानुले यस दललाई पनि यथास्थितिवादी शक्तिको नयाँ संस्करण बन्नेतिर लगेको छ । 

मधेशका उपेक्षित आवाजको प्रतिनिधित्व गर्ने दलका रूपमा स्थापित भएको जनमत पार्टी मधेशी पहिचान, अधिकार र विकासको पक्षमा आवाज उठाउने नयाँ राजनीतिक शक्ति बनेको छ । पृथकतावादी विचार लिएर संघर्ष गर्दै मूलधारको लोकतान्त्रिक प्रक्रियामा आएको यो पार्टीको यात्रा चुनौतीपूर्ण छ । भूगोल र समुदाय विशेषको प्रतिनिधित्व गर्ने भएकाले तीव्र क्षेत्रीय प्रतिस्पर्धाको सामना गर्नुपर्नेछ । कार्यकर्ता र समर्थकमाझका उग्र अपेक्षाको सन्तुलन कायम गर्नुपर्नेछ । काठमाडौं पसेपछि नेतृत्वमा क्षेत्रीय नेताको रूपमा लाग्ने ट्यागबाट भाग्न कथित राष्ट्रिय नेता बन्ने भोकलाई पछ्याउन सक्नु ठूलो चुनौती हो । 

टीकापुर घटनापछि जेल परेका रेशम चौधरीलाई उन्मुक्ति दिलाउन गठन भएको नागरिक उन्मुक्ति पार्टीले थारू समुदाय र राज्यद्वारा गरिएका अन्यायविरुद्ध आवाज उठाउने कार्य गरेको छ । नेतृत्व अत्यधिक व्यक्तिनिष्ठ र सीमित एजेन्डामा केन्द्रित देखिएको छ भने एक मात्र मुद्दा–आधारित पार्टी रहेकाले यसको चुनौती पनि ठूलै छ । आन्दोलनबाट शासनमा रूपान्तरणको चुनौती छ भने पार्टीभित्रको आन्तरिक कलह व्यवस्थापन महत्त्वपूर्ण छ । यो पार्टीको भविष्य अरू उपेक्षित समुदायको आवाज पनि उठाउन सक्नेछ र फराकिलो दृष्टिकोण विकास गर्न सक्नेछ वा छैन भन्नेमा निर्भर छ । 

रास्वपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले परिवर्तन, न्याय र समावेशिताको जनआकांक्षा बोकेका छन् । यिनीहरूले पुराना दलद्वारा खाली गरिएका ठाउँ भरेका छन् र लोकतन्त्रमा नयाँ आशा पैदा गरेका छन् । तर, यिनीहरूको परीक्षण सुरु भइसकेकाले शासन, नीति र राजनीतिक परिपक्वताको खोजी भने अवश्य गरिएको छ । लोकतन्त्रमा ताजगी मात्र होइन, परिणाम पनि चाहिन्छ । यी तीनवटै दलमा यतिछिट्टै विकृतिले डेरा जमाइसकेको छ ।

नेपालका नयाँ दलसँग भारतको आमआदमी पार्टी (आप)सँग तुलनात्मक अध्ययन गरेर हेरौं । गठन प्रक्रिया, एजेन्डा र प्रवृत्ति आप र नेपालका पार्टीहरूको पनि मिल्दोजुल्दो छ । आपकै बारेमा आपका पूर्वनेता मायंक गान्धी र श्रेय साहको पुस्तक ‘आप एन्ड डाउन’ मा पार्टीको समीक्षा गरिएको छ । पुस्तकमा आपको पतनतिर जाँदै गर्नुको कारण र प्रवृत्ति केलाइएको छ । 

भ्रष्टाचारविरुद्धको आन्दोलनबाट सुरु भएको आप पारदर्शिता र सामूहिक निर्णयको आदर्श बोकेको भए पनि अध्यक्ष अरविन्द केजरीवालले पार्टीलाई एउटा केन्द्रीकृत, समूह–नियन्त्रित संस्थामा परिणत गरे, जहाँ असहमतिको कुनै स्थान थिएन । केजरीवालको प्रवृत्ति नेपालका नयाँ दलमा पनि देखिन थालेको छ । रास्वपाका संस्थापक महामन्त्री संगठनको अवस्था र नेतृत्वको आलोचना गर्दा पार्टीबाट निकालिए । जनमतमा पनि संस्थापक पदाधिकारीमाथि कारबाहीको डन्डा चलेको छ । नागरिक उन्मुक्तिका संस्थापक नेताहरू लक्ष्मण थारू र सुरेन्द्र चौधरीहरू त किनारा नै लगाइएका छन् ।

केजरीवालको भनाइ उद्धृत गर्दै गान्धी लेख्छन्, ‘मलाई पार्टीमा बुद्धिजीवी होइन, ‘भारत माता की जय’ भन्नेहरू चाहिन्छ ।’ हो, यस्तै प्रवृत्ति नेपालका नयाँ दलमा पनि मौलाएको छ । नयाँ दलको नेतृत्वले पनि विचार र आदर्शको चर्चा गर्नेभन्दा पार्टी शीर्ष नेतृत्वको ‘जय’ भन्नेलाई मात्रै रुचाएको छ । यिनीहरूले पनि आफूले पाएको मत, मतदाता समूह, मतदाताको चाहना र आफ्नो जनाधार क्षेत्रमा नमुना कार्य गरेर बलियो बन्नुभन्दा शक्तिको भोकमा भौंतारिनतिरै लागेको देखिन्छ ।

आप पनि परम्परागत राजनीतिकजस्तै भ्रष्टाचार, जातीयता, धार्मिक ध्रॅवीकरण र खोक्रा भाषणमा फस्यो । आपका कार्यकर्ता विकास होइन, आन्दोलन र अवरोधका लागि भर्ती गरिन्थे, गान्धीको भनाइमा ‘हामी टकरावका माहिर थियौं, प्रणाली निर्माणकर्ता होइन ।’ यसरी नै रास्वपाले पनि सभापति लामिछाने सहकारी प्रकरणमा मुछिँदा आफ्ना कार्यकर्तालाई टकराव र आरोपप्रत्यारोपमा उतारेको छ । जनमतमा आफ्नै नेताविरुद्धमा कार्यकर्ताबाट आक्रमण भएको छ । कार्यकर्तालाई संस्थागत विकास र दीर्घकालीन प्रभावका कार्यमा लगाउनुभन्दा पार्टी नेतृत्वको रक्षामा लठैत खडा गर्न तम्सिएकाले यी पार्टीको संस्थागत विकास र आन्दोलन रोकिएको छ । 

नेपालमा उदाएका यी तीन दलले राजनीतिक चरित्रको व्यवहार देखाउनुभन्दा व्यावसायिक कार्यालयजस्तो पार्टी सञ्चालन गरेको देखिन्छ । यी दलमा देखिएको अर्को विकृति भनेको भिक्टिम कार्डको बारम्बार प्रयोग पनि हो । उदाहरणका लागि रास्वपा सभापतिमाथि नागरिकता र सहकारी प्रकरणमा छानबिन हुँदा आफूलाई पुराना दलले वा सरकारले सिध्याउन खोजेको भन्दै आफ्ना कमजोरी लुकाएर जनताबाट भावनात्मक समर्थन खोजे । यस्तै कार्डको प्रयोग अन्य दलले पनि गरिरहेका छन् । तर, यस्तो भिक्टिम कार्डको प्रयोग गरी अरूमाथि दोषारोपण गर्दै आफ्नो जिम्मेवारीबाट भाग्ने, असफलता र कमजोरी लुकाएर नयाँ दलले जनसमर्थन निरन्तर पाइराख्न सक्दैन । 

नयाँ दलले जनताको भाषा निरन्तर बोलेर आफ्नो नयाँपन वा वैकल्पिक धारलाई जोगाइराख्नुपर्ने थियो । प्रणाली सुधारका लागि सरकार, सडक, सदन र सोसल मिडियाको आन्दोलनलाई निरन्तरता दिनुपर्ने थियो । तर, यिनीहरूले संसद् प्रवेश गरेसँगै उही पुराना दलसँग गठजोड गरेर सत्ता भोगमा लाग्दै सिंहदरबारले बोल्ने परम्परागत भाषा र स्थायी सत्ताले देखाउने चरित्र देखाउन थाले । सत्ताको प्यास र उन्माद थाम्न नसकेपछि यिनीहरूको छयीकरण त्यहीँबाट सुरु भयो । सत्तामा गएर काम गरेर देखाउँछु भनेर तर्क गर्नेहरू पनि थिए । तर, काम गरेर पनि देखाउन सकेनन्, बरु पुराना दलभन्दा पनि बढी विकृत घटना देखाए । 

वैकल्पिक धार कायम राख्न वैकल्पिक विचार ल्याउनुपर्नेमा यी दलले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै सयौं नेतृत्व उत्पादन गर्नुपर्नेमा एकल नेतृत्वमा निर्भरता बढाउँदै लगे । विचार र सांगठनिक संरचनामा जोड दिने नेतालाई सिध्याउँदै गए । व्यक्तिगत पार्टी बनाएर वा एक्लै मसिहा बनेर चटकको भरमा टिक्न सकिन्छ भन्ने भ्रम नयाँ दलका नेतृत्वमा आएकै हो । किशोर वा जेन्जीहरूले नयाँ दलमाथि विश्वास गरेको देखिन्छ ।

त्यो विश्वास कायम राख्न र समर्थन बढाउन नयाँ दललाई ठूलो चुनौती छ । पछिल्लो प्रदेश तथा प्रतिनिधिसभा र स्थानीय तहको उपनिर्वाचनको नतिजाले नयाँ दलप्रति पनि जनताले भरोसा गर्न छोडेको भान गराउँछ । यी दलमा सुधार आएको खण्डमा २०८४ को निर्वाचनमा यिनीहरू थप बलियो भएर आउन सक्ने सम्भावना भने जीवितै छ । तर, नयाँ दल व्यक्ति केन्द्रित हुँदै जाने, तानाशाही प्रवृत्ति बढ्दै जाने, विचार र संगठनभन्दा पार्टी प्रमुखको भाषणमा सीमित हुने र प्रगतिशील तथा लोकतान्त्रिक प्रक्रियालाई मिच्दै जाने हो भने नयाँ दल सकिने वा पुरानै दलको अर्को सानो फोटोकपी बनेर बस्ने निश्चित छ ।

बीपी साह जनमत पार्टीका सचिव हुन् ।

Link copied successfully