प्रारम्भिक अवलोकन अनुसार भैरवकुण्ड र रसुवामा देखिएका दुई अलग प्रकोपमा उल्लेखनीय समानता रहेका छन् । दुवै घटनामा जलविज्ञान अध्ययन अधुरो थियो र चरम मौसमी परिदृश्य तथा हिमताल विस्फोटको सम्भावनालाई नजरअन्दाज गरिएको थियो
What you should know
नेपालजस्ता हिमाली देशका लागि जलविद्युत् स्वच्छ, नवीकरणीय र दिगो ऊर्जाको मुख्य स्रोत हो । तर पछिल्ला वर्षमा जलवायु परिवर्तन, बाढी र हिमताल विस्फोटका घटनाले जलविद्युत् आयोजनामा जोखिम बढाइरहेका छन् । यस्ता जोखिम न्यूनीकरण गर्न जलविज्ञान, भूगर्भ र मौसम जोखिमको वैज्ञानिक मूल्यांकन आवश्यक छ ।
विश्वव्यापी रूपमा तापमान वृद्धिका कारण विश्वभर मौसम चक्र असामान्य बन्दै गएको छ । नेपालमा हिमनदीहरू तीव्र गतिमा पग्लिन थालेका छन्, जसले हिमताल विस्फोटको जोखिम बढाएको छ । असामान्य वर्षा, असिनापात र उच्च उष्णताका कारण जलचक्रमा ठूलो असन्तुलन देखिएको छ । यसले कृषि, पर्यटन, पूर्वाधार र जलस्रोतमा दीर्घकालीन असर पारिरहेको छ । यसबाट नेपालसमेत प्रभावित बनिरहेको छ । जलवायु परिवर्तनबाट सिर्जित यस्ता जोखिम जलविद्युत् आयोजनाको दिगो विकासमा मुख्य चुनौतीका रूपमा देखा परेका छन् ।
जस्तो कि, हामीले भैरवकुण्डबाट सिक्नैपर्ने पाठ सिकेनौं । २०७२ सालको भूकम्पपछि आएको मनसुनको बाढीले सिन्धुपाल्चोकस्थित भैरवकुण्ड (३ मेगावाट) आयोजना पूर्ण रूपमा क्षतिग्रस्त बन्यो । यो आयोजना उच्च हिमाली क्षेत्रको भैरवकुण्ड खोलामा आधारित थियो, जहाँ नदी प्रवाहको चरम मौसमी भिन्नता र भूगर्भीय अस्थिरता देखिन्छ । आयोजनाको डिजाइनमा तीव्र बहाव, हिमताल विस्फोटको जोखिम र भूकम्पीय क्षेत्रको संवेदनशीलतालाई पर्याप्त रूपमा समेटिएको थिएन । पेनस्टकको सामग्री तथा जडानमा संरचनागत कमजोरी थियो र सुरुङ (टनेल) को भित्तोमा पर्याप्त वाटरप्रफिङ गरिएको थिएन । भूगर्भीय परीक्षण पनि सतही मात्र गरिएको थियो ।
भूकम्पले सुरुङ र पेनस्टकमा दरारहरू निम्त्यायो भने बाढीले डाइभर्सन वियर (पानीको स्तर बढाउन र पानीलाई मोड्न खोला वा नदीपारि बनाइएको संरचना) पूर्ण रूपमा बगायो । सेटलिङ बेसिन गादले अवरुद्ध भयो र प्रसारणलाइन र स्विचयार्डसमेत बगाए । पावरहाउस र कार्यालय भवन नदी किनारमै बनाइएका कारण ती पनि बाढीको चपेटामा आए । पूर्वसूचना प्रणालीको अभाव र आपत्कालीन प्रतिक्रिया संरचनाको कमीले गर्दा आयोजनाको सञ्चालन रोकिन पुग्यो । डिजाइनका क्रममा जलविज्ञान तथा भूगर्भ अध्ययन अपूरो रहनु, जोखिमयुक्त स्थानको छनोट र संरचनागत लचिलोपनको अभाव नै प्रमुख कारण रहे ।
भैरवकुण्डको पुनरावृत्ति रसुवा बाढी हो । भैरवकुण्ड घटनाको विश्लेषण गर्दा देखिन्छ कि त्यहाँ आधुनिक जलविज्ञान अध्ययन र व्यावहारिक वातावरणीय प्रभाव मूल्यांकन जस्ता विषय सायदै विचार गरिएको थियो । भैरवकुण्डमा संरचनात्मक निर्णय वैज्ञानिक डेटा र पूर्वानुमानका आधारमा भन्दा पनि परम्परागत अभ्यास र लागत प्राथमिकताका आधारमा गरिएकाले यस्तो भएको हुन सक्छ ।
२०८२ असार २४ मा रसुवामा आएको विनाशकारी बाढीले जलविद्युत् आयोजना ध्वस्त गर्यो । प्रारम्भिक अनुसन्धान अनुसार चीनको सीमावर्ती सुप्राग्लेसियल ताल विस्फोट यस बाढीको मुख्य कारण थियो । यसले २ सय मेगावाटभन्दा बढी उत्पादन प्रभावित पार्यो, ९ जनाको मृत्यु भयो र नेपाल–चीन सीमावर्ती व्यापार ठप्प बन्यो ।
रसुवागढी (१११ मेगावाट) आयोजनाको हेडवर्क्स र ड्याम पूर्ण रूपमा ध्वस्त भयो । त्रिशूली थ्री–ए (६० मेगावाट) का स्विचगेटहरू बगाए, देवीघाट र त्रिशूली आयोजनामा टेलरेस (बिजुली उत्पादन गरेपछि पानी फाल्ने) सम्म पानी चढेर उत्पादन अवरुद्ध गर्यो । चीन–नेपाल जोड्ने मितेरी पुल बग्दा आयातनिर्यात र आपूर्ति शृंखला रोकिएको छ । विद्युत् ग्रिडमा करिब ८ प्रतिशत क्षति पुगेको छ भने चार्जिङ स्टेसन, ट्रक, कन्टेनर, सवारीसाधन, भन्सार यार्डजस्ता संरचना पूर्ण रूपमा नष्ट भएका छन् । बाढीले स्थानीय बासिन्दाको आवास र जीविकोपार्जनमा समेत दीर्घकालीन असर पुर्याएको छ ।
भैरवकुण्ड घटना विश्लेषण गर्दा त्यहाँ आधुनिक जलविज्ञान अध्ययन र व्यावहारिक वातावरणीय प्रभाव मूल्यांकनजस्ता विषय सायदै विचार गरिएको थियो भन्ने देखिन्छ । यद्यपि विस्तृत प्राविधिक विवरण उपलब्ध छैनन्, हिमताल विस्फोटको जोखिम, मौसमी परिदृश्यको परिवर्तन वा जलप्रवाहको चरम उतारचढावजस्ता तत्त्व डिजाइनका आधारमा समावेश गरिएको सम्भावना अत्यन्त न्यून देखिन्छ । त्यति मात्र होइन, जलस्रोतको दीर्घकालीन व्यवहारलाई समेट्ने जलविज्ञान मोडेलिङ, भूगर्भिक स्थायित्व मूल्यांकन र आकस्मिक बाढी सिमुलेसनसमेत उपेक्षित भएको अनुमान गर्न सकिन्छ । वातावरणीय प्रभाव मूल्यांकन पनि प्रायः कागजी रूपमा सीमित भएको र कार्यान्वयन तथा निगरानी पक्ष कमजोर रहेको देखिन्छ ।
प्रारम्भिक अवलोकन अनुसार भैरवकुण्ड र रसुवामा देखिएका दुई अलग प्रकोपमा उल्लेखनीय समानता रहेका छन् । दुवै घटनामा जलविज्ञान अध्ययन अधुरो थियो र चरम मौसम परिदृश्य तथा हिमताल विस्फोटको सम्भावनालाई नजरअन्दाज गरिएको थियो । संरचना जोखिमयुक्त स्थानमा बनाइएका थिए, जस्तै नदी किनार, पहिरो सम्भावित क्षेत्र वा अवस्थित ढुंगामा आधारित भूगर्भीय स्थायित्व मूल्यांकन नगरी । पूर्वसूचना प्रणालीको अभाव, वातावरणीय प्रभाव मूल्यांकनको केवल कागजी रूप र कार्यान्वयनमा कमजोरी साझा समस्या थिए । साना तथा मध्यम लगानीकर्ताको प्राविधिक तथा वित्तीय तयारी न्यून देखियो, जसले आपत्कालीन व्यवस्थापन र पुनर्निर्माणमा ढिलाइ गर्यो । बिमा सुरक्षा प्रणाली पर्याप्त थिएन, जसले क्षति पुगेपछि द्रुत राहत सम्भव बनाउने संरचनालाई कमजोर बनायो । यी समानताले देखाउँछन् कि हामीले विगतका त्रासदीबाट गम्भीर पाठ सिक्न नसकेको सम्भावना प्रबल छ ।
यस्तो विनाशकारी बाढीमा हेडवर्क्स र ड्याममा क्षति हुनु अपेक्षित हो, तर पावरहाउस, कार्यालय र आवासीय भवनसमेत क्षतिग्रस्त हुनु भनेको प्राविधिक डिजाइनको कमजोरी हो । यी संरचना सुरक्षात्मक उच्च भूभागमा बनाइनुपर्नेमा जोखिमयुक्त स्थानमा बनाइएका कारण थप क्षति भयो । यसले स्पष्ट रूपमा देखाउँछ कि संरचनागत योजनामा जोखिम मूल्यांकन र सुरक्षित स्थानको छनोटमा गम्भीर त्रुटि भएको थियो ।
हिमताल विस्फोटको सम्भावित क्षेत्रमा पूर्वसूचना प्रणाली स्थापना गर्नुपर्छ । जलविज्ञान अध्ययनमा भविष्यका मौसमी परिदृश्य समावेश गर्नुपर्नेछ । संरचना निर्माणका लागि सुरक्षित भौगोलिक स्थान छनोट र अनिवार्य भूगर्भ परीक्षण, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन कार्यान्वयन सुनिश्चित गर्न निगरानी संयन्त्र सशक्त बनाउने, साना लगानीकर्तालाई प्राविधिक सहायता र बिमा प्रणाली सुधार गर्नुपर्नेछ । यस्तै, सीमापार तथ्यांक एवं सूचना आदानप्रदानलाई सुदृढ बनाउनु जरुरी छ ।
यससँगै बिमा कम्पनीहरू पनि जोखिम मूल्यांकनको अस्पष्टता र क्षतिपूर्ति दाबीको चापका कारण प्रभावित छन् । बिमाको लागत बढ्ने र बिमा पद्धति कडाइ हुने संकेत देखिन्छ । जलविद्युत् आयोजनासम्बन्धी जोखिम अब केवल प्राविधिक नभई वित्तीय र रणनीतिक दृष्टिले पनि गम्भीर चासोको विषय बनेको छ । यी जलविध्वंसात्मक घटनाले केवल पूर्वाधारमा मात्र होइन, वित्तीय प्रणालीमा पनि गहिरो असर पारेका छन् । जलविद्युत् आयोजनामा लगानी गरेका बैंकहरूले उल्लेखनीय जोखिम सामना गरेका छन् । विशेष गरी साना तथा मध्यम आयोजनासम्बन्धी ऋण समयमा फिर्ता हुन नसक्दा गैर–कर्जात्मक सम्पत्तिको स्तर बढ्न सक्छ, जसले तरलता र जोखिम व्यवस्थापनमा असर गर्छ ।
हिजोको भैरवकुण्ड र आजको रसुवा यसका दुःखद उदाहरण हुन् । यदि हामीले यी घटनाबाट गम्भीर पाठ सिकेनौं भने भविष्यमा यस्ता प्रकोपले अझ धेरै ज्यान, लगानी र विकासमा बाधा पुर्याउनेछन् । त्यसैले, जलविद्युत् आयोजना अब केवल ऊर्जा उत्पादनको परियोजना मात्र होइन, राष्ट्रिय सुरक्षा र दिगोपनाको आधारसमेत बन्नुपर्छ ।
