जलविद्युत् आयोजनामा दोहोरिँदो जोखिम

प्रारम्भिक अवलोकन अनुसार भैरवकुण्ड र रसुवामा देखिएका दुई अलग प्रकोपमा उल्लेखनीय समानता रहेका छन् । दुवै घटनामा जलविज्ञान अध्ययन अधुरो थियो र चरम मौसमी परिदृश्य तथा हिमताल विस्फोटको सम्भावनालाई नजरअन्दाज गरिएको थियो

श्रावण १२, २०८२

सुरेन्द्र पौडेल

Recurring risks in hydropower projects

What you should know

नेपालजस्ता हिमाली देशका लागि जलविद्युत् स्वच्छ, नवीकरणीय र दिगो ऊर्जाको मुख्य स्रोत हो । तर पछिल्ला वर्षमा जलवायु परिवर्तन, बाढी र हिमताल विस्फोटका घटनाले जलविद्युत् आयोजनामा जोखिम बढाइरहेका छन् । यस्ता जोखिम न्यूनीकरण गर्न जलविज्ञान, भूगर्भ र मौसम जोखिमको वैज्ञानिक मूल्यांकन आवश्यक छ ।

विश्वव्यापी रूपमा तापमान वृद्धिका कारण विश्वभर मौसम चक्र असामान्य बन्दै गएको छ । नेपालमा हिमनदीहरू तीव्र गतिमा पग्लिन थालेका छन्, जसले हिमताल विस्फोटको जोखिम बढाएको छ । असामान्य वर्षा, असिनापात र उच्च उष्णताका कारण जलचक्रमा ठूलो असन्तुलन देखिएको छ । यसले कृषि, पर्यटन, पूर्वाधार र जलस्रोतमा दीर्घकालीन असर पारिरहेको छ । यसबाट नेपालसमेत प्रभावित बनिरहेको छ । जलवायु परिवर्तनबाट सिर्जित यस्ता जोखिम जलविद्युत् आयोजनाको दिगो विकासमा मुख्य चुनौतीका रूपमा देखा परेका छन् ।

जस्तो कि, हामीले भैरवकुण्डबाट सिक्नैपर्ने पाठ सिकेनौं । २०७२ सालको भूकम्पपछि आएको मनसुनको बाढीले सिन्धुपाल्चोकस्थित भैरवकुण्ड (३ मेगावाट) आयोजना पूर्ण रूपमा क्षतिग्रस्त बन्यो । यो आयोजना उच्च हिमाली क्षेत्रको भैरवकुण्ड खोलामा आधारित थियो, जहाँ नदी प्रवाहको चरम मौसमी भिन्नता र भूगर्भीय अस्थिरता देखिन्छ । आयोजनाको डिजाइनमा तीव्र बहाव, हिमताल विस्फोटको जोखिम र भूकम्पीय क्षेत्रको संवेदनशीलतालाई पर्याप्त रूपमा समेटिएको थिएन । पेनस्टकको सामग्री तथा जडानमा संरचनागत कमजोरी थियो र सुरुङ (टनेल) को भित्तोमा पर्याप्त वाटरप्रफिङ गरिएको थिएन । भूगर्भीय परीक्षण पनि सतही मात्र गरिएको थियो ।

भूकम्पले सुरुङ र पेनस्टकमा दरारहरू निम्त्यायो भने बाढीले डाइभर्सन वियर (पानीको स्तर बढाउन र पानीलाई मोड्न खोला वा नदीपारि बनाइएको संरचना) पूर्ण रूपमा बगायो । सेटलिङ बेसिन गादले अवरुद्ध भयो र प्रसारणलाइन र स्विचयार्डसमेत बगाए । पावरहाउस र कार्यालय भवन नदी किनारमै बनाइएका कारण ती पनि बाढीको चपेटामा आए । पूर्वसूचना प्रणालीको अभाव र आपत्कालीन प्रतिक्रिया संरचनाको कमीले गर्दा आयोजनाको सञ्चालन रोकिन पुग्यो । डिजाइनका क्रममा जलविज्ञान तथा भूगर्भ अध्ययन अपूरो रहनु, जोखिमयुक्त स्थानको छनोट र संरचनागत लचिलोपनको अभाव नै प्रमुख कारण रहे ।

भैरवकुण्डको पुनरावृत्ति रसुवा बाढी हो । भैरवकुण्ड घटनाको विश्लेषण गर्दा देखिन्छ कि त्यहाँ आधुनिक जलविज्ञान अध्ययन र व्यावहारिक वातावरणीय प्रभाव मूल्यांकन जस्ता विषय सायदै विचार गरिएको थियो । भैरवकुण्डमा संरचनात्मक निर्णय वैज्ञानिक डेटा र पूर्वानुमानका आधारमा भन्दा पनि परम्परागत अभ्यास र लागत प्राथमिकताका आधारमा गरिएकाले यस्तो भएको हुन सक्छ ।

२०८२ असार २४ मा रसुवामा आएको विनाशकारी बाढीले जलविद्युत् आयोजना ध्वस्त गर्‍यो । प्रारम्भिक अनुसन्धान अनुसार चीनको सीमावर्ती सुप्राग्लेसियल ताल विस्फोट यस बाढीको मुख्य कारण थियो । यसले २ सय मेगावाटभन्दा बढी उत्पादन प्रभावित पार्‍यो, ९ जनाको मृत्यु भयो र नेपाल–चीन सीमावर्ती व्यापार ठप्प बन्यो ।

रसुवागढी (१११ मेगावाट) आयोजनाको हेडवर्क्स र ड्याम पूर्ण रूपमा ध्वस्त भयो । त्रिशूली थ्री–ए (६० मेगावाट) का स्विचगेटहरू बगाए, देवीघाट र त्रिशूली आयोजनामा टेलरेस (बिजुली उत्पादन गरेपछि पानी फाल्ने) सम्म पानी चढेर उत्पादन अवरुद्ध गर्‍यो । चीन–नेपाल जोड्ने मितेरी पुल बग्दा आयातनिर्यात र आपूर्ति शृंखला रोकिएको छ । विद्युत् ग्रिडमा करिब ८ प्रतिशत क्षति पुगेको छ भने चार्जिङ स्टेसन, ट्रक, कन्टेनर, सवारीसाधन, भन्सार यार्डजस्ता संरचना पूर्ण रूपमा नष्ट भएका छन् । बाढीले स्थानीय बासिन्दाको आवास र जीविकोपार्जनमा समेत दीर्घकालीन असर पुर्‍याएको छ ।

भैरवकुण्ड घटना विश्लेषण गर्दा त्यहाँ आधुनिक जलविज्ञान अध्ययन र व्यावहारिक वातावरणीय प्रभाव मूल्यांकनजस्ता विषय सायदै विचार गरिएको थियो भन्ने देखिन्छ । यद्यपि विस्तृत प्राविधिक विवरण उपलब्ध छैनन्, हिमताल विस्फोटको जोखिम, मौसमी परिदृश्यको परिवर्तन वा जलप्रवाहको चरम उतारचढावजस्ता तत्त्व डिजाइनका आधारमा समावेश गरिएको सम्भावना अत्यन्त न्यून देखिन्छ । त्यति मात्र होइन, जलस्रोतको दीर्घकालीन व्यवहारलाई समेट्ने जलविज्ञान मोडेलिङ, भूगर्भिक स्थायित्व मूल्यांकन र आकस्मिक बाढी सिमुलेसनसमेत उपेक्षित भएको अनुमान गर्न सकिन्छ । वातावरणीय प्रभाव मूल्यांकन पनि प्रायः कागजी रूपमा सीमित भएको र कार्यान्वयन तथा निगरानी पक्ष कमजोर रहेको देखिन्छ ।

प्रारम्भिक अवलोकन अनुसार भैरवकुण्ड र रसुवामा देखिएका दुई अलग प्रकोपमा उल्लेखनीय समानता रहेका छन् । दुवै घटनामा जलविज्ञान अध्ययन अधुरो थियो र चरम मौसम परिदृश्य तथा हिमताल विस्फोटको सम्भावनालाई नजरअन्दाज गरिएको थियो । संरचना जोखिमयुक्त स्थानमा बनाइएका थिए, जस्तै नदी किनार, पहिरो सम्भावित क्षेत्र वा अवस्थित ढुंगामा आधारित भूगर्भीय स्थायित्व मूल्यांकन नगरी । पूर्वसूचना प्रणालीको अभाव, वातावरणीय प्रभाव मूल्यांकनको केवल कागजी रूप र कार्यान्वयनमा कमजोरी साझा समस्या थिए । साना तथा मध्यम लगानीकर्ताको प्राविधिक तथा वित्तीय तयारी न्यून देखियो, जसले आपत्कालीन व्यवस्थापन र पुनर्निर्माणमा ढिलाइ गर्‍यो । बिमा सुरक्षा प्रणाली पर्याप्त थिएन, जसले क्षति पुगेपछि द्रुत राहत सम्भव बनाउने संरचनालाई कमजोर बनायो । यी समानताले देखाउँछन् कि हामीले विगतका त्रासदीबाट गम्भीर पाठ सिक्न नसकेको सम्भावना प्रबल छ ।

यस्तो विनाशकारी बाढीमा हेडवर्क्स र ड्याममा क्षति हुनु अपेक्षित हो, तर पावरहाउस, कार्यालय र आवासीय भवनसमेत क्षतिग्रस्त हुनु भनेको प्राविधिक डिजाइनको कमजोरी हो । यी संरचना सुरक्षात्मक उच्च भूभागमा बनाइनुपर्नेमा जोखिमयुक्त स्थानमा बनाइएका कारण थप क्षति भयो । यसले स्पष्ट रूपमा देखाउँछ कि संरचनागत योजनामा जोखिम मूल्यांकन र सुरक्षित स्थानको छनोटमा गम्भीर त्रुटि भएको थियो ।

हिमताल विस्फोटको सम्भावित क्षेत्रमा पूर्वसूचना प्रणाली स्थापना गर्नुपर्छ । जलविज्ञान अध्ययनमा भविष्यका मौसमी परिदृश्य समावेश गर्नुपर्नेछ । संरचना निर्माणका लागि सुरक्षित भौगोलिक स्थान छनोट र अनिवार्य भूगर्भ परीक्षण, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन कार्यान्वयन सुनिश्चित गर्न निगरानी संयन्त्र सशक्त बनाउने, साना लगानीकर्तालाई प्राविधिक सहायता र बिमा प्रणाली सुधार गर्नुपर्नेछ । यस्तै, सीमापार तथ्यांक एवं सूचना आदानप्रदानलाई सुदृढ बनाउनु जरुरी छ । 

यससँगै बिमा कम्पनीहरू पनि जोखिम मूल्यांकनको अस्पष्टता र क्षतिपूर्ति दाबीको चापका कारण प्रभावित छन् । बिमाको लागत बढ्ने र बिमा पद्धति कडाइ हुने संकेत देखिन्छ । जलविद्युत् आयोजनासम्बन्धी जोखिम अब केवल प्राविधिक नभई वित्तीय र रणनीतिक दृष्टिले पनि गम्भीर चासोको विषय बनेको छ । यी जलविध्वंसात्मक घटनाले केवल पूर्वाधारमा मात्र होइन, वित्तीय प्रणालीमा पनि गहिरो असर पारेका छन् । जलविद्युत् आयोजनामा लगानी गरेका बैंकहरूले उल्लेखनीय जोखिम सामना गरेका छन् । विशेष गरी साना तथा मध्यम आयोजनासम्बन्धी ऋण समयमा फिर्ता हुन नसक्दा गैर–कर्जात्मक सम्पत्तिको स्तर बढ्न सक्छ, जसले तरलता र जोखिम व्यवस्थापनमा असर गर्छ ।

हिजोको भैरवकुण्ड र आजको रसुवा यसका दुःखद उदाहरण हुन् । यदि हामीले यी घटनाबाट गम्भीर पाठ सिकेनौं भने भविष्यमा यस्ता प्रकोपले अझ धेरै ज्यान, लगानी र विकासमा बाधा पुर्‍याउनेछन् । त्यसैले, जलविद्युत् आयोजना अब केवल ऊर्जा उत्पादनको परियोजना मात्र होइन, राष्ट्रिय सुरक्षा र दिगोपनाको आधारसमेत बन्नुपर्छ ।

सुरेन्द्र

Link copied successfully