पहाडमा सडक बन्नु हुँदैन भन्ने होइन, तर अहिले जुन किसिमको विकासको भाष्य निर्माण भएको छ, त्यसले समग्र पहाडको ऐतिहासिक, जैविक, सांस्कृतिक, पर्यावरणीय, शैक्षिक र सामाजिक स्वास्थ्य कमजोर बनाएको छ
What you should know
सार्वजनिक विद्यालय सुधार गर्नका लागि राज्यले शैक्षिक कार्यक्रमलाई राष्ट्रिय विकास योजनामा समाहित गर्न थालेको दशकौं बितिसक्यो । ९० को दशकदेखि ‘सबैका लागि शिक्षा’ हुँदै अहिलेको ‘दिगो विकास लक्ष्य’सम्म आइपुग्दा नेपालले अन्तर्राष्ट्रिय शैक्षिक आयोजनाको एक मुख्य साझेदारका रूपमा आफूलाई स्थापित गरिसकेको छ ।
विभिन्न नीति, कार्यक्रम र योजनामार्फत राज्यले शिक्षालाई ‘विकास’ को अभिन्न अंगका रूपमा लिइसकेको छ । तर शिक्षालाई विकासका रूपमा परिभाषित र लागू गर्न चाहिने सामाजिक र राजनीतिक चिन्तनको अभावमा शिक्षा, समाज र विकासको सम्बन्धमा तादात्म्यता देखिँदैन । विकासको भाष्य र अभ्यासमा शिक्षा र समाजको मुद्दा प्रभावकारी रूपमा समेटिन नसक्दा पहाडका सार्वजनिक विद्यालय रित्तिँदै छन् ।
पहाड र विनाशकारी विकासको भाष्य
गत महिना आफू जन्मे–हुर्केको इलाम र पाँचथरका दुर्गम पहाडका गाउँमा केही साता बिताएको थिएँ । झापाको दमकमा केही दिन गर्मी खाएर पहाड उक्लिँदा कुनै कठोर सजायबाट मुक्ति पाएजस्तो अनुभव हुन्थ्यो ।
लगभग तीन दशक लामो इतिहास बोकेको दमक–लारुम्बा–रवि सडक मार्गले इलाम पश्चिम र पाँचथर दक्षिणका पहाडलाई मधेशसँग जोड्छ । दमकबाट फोरह्वील ट्याक्सी यही मार्ग हुँदै पहाड उक्लिन्छन् । तर यो सडकमा राज्यले अंगीकार गरेको डाङ्डुंगे विकासको कुरूप अनुहार पनि देखिन्छ ।
यति लामो इतिहास बोकेको सडकले अहिलेसम्म स्थायित्व पाउन नसक्दा वर्षा सुरु भएपछि रतुवा दोभानदेखि पञ्चमीसम्मको सडक खण्डमा केही महिना पहाडका जनताले सास्ती भोग्नुपर्छ । यो सास्तीबाट छुटकारा पाउन अहिले टोड्के–कुसुन्डे हुँदै चिसोपानी पञ्चमीसम्म वैकल्पिक मार्ग बनेको रहेछ । टोड्के–कुसुन्डे इलाम र पाँचथरका पहाडी जनताको संघर्षको साक्षी हो । केही वर्षअघिसम्म यही पैदल मार्गबाट नै मधेशबाट पहाडमा नुन–तेल, साबुन, लत्ताकपडा र चिनी पुग्थ्यो ।
जेठ–कात्तिक महिनाबाहेक टोड्के–कुसुन्डेमा पैदल यात्री, भरिया र खरितेहरूको ट्राफिक जामजस्तै हुन्थ्यो । पहाडबाट ढाकरका ढाकर सुन्तला, कागती र अलैंची यही बाटो हुँदै मधेश पुग्थे । पहाडका अम्लिसो, अलैंची, बेसार, रिट्ठा बेच्न टोड्के–कुसुन्डे हुँदै पेरुंगे–मावाखोला भएर मधेशका मधुमल्ला र दमक बजार झर्नु पर्थ्यो । तर यो ऐतिहासिक पदमार्गको अस्तित्व अहिले संकटमा परेको छ ।
पहाडमा सडक बन्नु हुँदैन भन्ने होइन, तर अहिले जुन किसिमको विकासको भाष्य निर्माण भएको छ, त्यसले समग्र पहाडको ऐतिहासिक, जैविक, सांस्कृतिक, पर्यावरणीय, शैक्षिक र सामाजिक स्वास्थ्य कमजोर बनाएको छ ।
टोड्के–कुसुन्डेको तारेभीर हुँदै पहाडका खोला–खोल्सी, टोल–टोल, पाखा–पखेरा र वनजंगलको कुनाकुनामा दीर्घकालीन योजनाबिना बनाइएका बाटा नै विकासको मानक भएका छन् । बाटो, पुल, हाइड्रो, गेट र भ्युटावरजस्ता भौतिक निर्माणलाई मात्रै विकासको मुख्य भाष्य बनाइएको छ ।
स्थानीय पालिकाको विकास योजनामा समानता, पर्यावरण र सामाजिक चेत निर्माण गर्ने कार्यमा ध्यान दिएको पाइँदैन । यस्तो चेतबिनाको विकासले बजेट खर्च गर्न सजिलो बनाएको छ । साथै आमजनतालाई आफ्ना प्रतिनिधिले केही देखिने काम गरे भन्ने पनि लागेको छ । तर यस्तो डाङ्डुंगे विकासले कसरी पहाडको प्राकृतिक र सामाजिक सुन्दरता र बनावटलाई शिथिल पार्दै त्यहाँ भएका ज्ञानलाई नष्ट गर्दै छ भन्ने प्रश्नमाथि गहिरो छलफल भएको छैन ।
अहिले निर्माण भइरहेका बाटा, हाइड्रो र अन्य भौतिक संरचना हेर्दा पहाडमा विकास होइन, विनाश र दोहन भइरहेको भान हुन्छ । भौतिक विकासले पहाडका रैथाने ज्ञान, भाषा, संस्कृति, वनस्पति, बीउबिजन, खाद्यपदार्थ र मधेश झर्ने सयौं खोलाको अस्तित्वमाथि धावा बोलिरहेको महसुस हुन्छ । यस्तो विकासले कालान्तरमा पहाड बस्न अयोग्य बन्दै छ ।
पहाडमा के छ, के छैन ?
कवि मीनबहादुर विष्टले ४० को दशकमा लेख्नुभएको ‘साला पहाड में क्या है’ कवितामा भनिएझैं पहाडमा धेरै चिज सकिँदै छन् । पहाडमा ‘विकास’ पुगेको छ तर बिस्तारै रित्तो हुँदै छ । बाटो पुगेको छ तर यो पहिलेको जस्तो गुल्जार छैन । पुर्खाहरूले ढुंगा र माटोले बनाएका सुन्दर घर क्रमशः खण्डहर हुँदै छन् । नवमी, पञ्चमी र रवि जस्ता तिथिमा लाग्ने स्थानीय हाटको अस्तित्व विकाससँगै समाप्त भएको छ ।
जनताले उत्पादन गरेका कृषिजन्य वस्तुको बेचबिखन गर्ने र भेटघाट गर्ने यस्ता हाट पहाडका ‘कन्ट्याक्ट जोन’ हुन् । खरले छाएका साना–साना घरमा बिहानैदेखि सेल रोटी, आलु र स्कुसको चप, थुक्पा, स्थानीय जाँड र रक्सीको बेचबिखन हुने यी हाटमा बेंसीबाट काँक्रा, करेला, फर्सी, हरियो मकै, दाल, बेसार आदि थुन्सेमा बोकेर हाम्रा बजू, आमा, फुपू र काकीहरू हाट जानु हुन्थ्यो । केही बिक्थे, केही बिक्दैनथे । नबिकेका सामान एकअर्कामा साटासाट हुन्थ्यो । काँक्रासँग गुन्द्रुक साटिन्थे ।
पहाडका अर्थ सामाजिक केन्द्रको रूपमा निर्माण भएका यी हाट पहाडका ‘हार्ट’ नै हुन् । यिनीहरूले पहाडलाई जीवन्त राख्न रक्तसञ्चार गरेका थिए । यिनीहरूको स्वास्थ्य कमजोर हुनु भनेको सम्पूर्ण पहाडको स्वास्थ्य बिग्रिनु हो ।
विडम्बना ! पहाडका गुल्जार यिनै हाट अहिले सुनसान छन् । फाकफोकथुमको खडकुडे नवमी बजार आसपास मात्रै २० भन्दा बढी घरमा ताला लागेका छन् । भएका घरहरू पनि कति बेला बन्द हुने हुन्, थाहा छैन । पहाडका मानिस अहिले गाउँमा होइन, मधेशका नयाँ सहरमा भेटिन्छन् । गाउँमा बाटो, पुल, बजेट, गाडी पुग्यो । तर युवाहरू हराउँदै छन् । को कहिले फर्किने हुन्, टुंगो छैन । मुरी–मुरी धान र मकै फल्ने खेतबारी अहिले झाडी र जंगलमा परिणत भएका छन् । अहिले बाँदर, मृग, दुम्सी, कालिज आँगनमा देखिन थालेका छन् ।
खेती गर्ने आँट अब सकिएजस्तै छ । सहरबाटै चामल, दाल, आलु र तेल गाउँ पुग्न थालेपछि खेती गर्ने जोस किन हुन्छ र ? पहाड एक किसिमले एक्जिस्टेन्सियल क्राइसिसको चरणबाट गुज्रिरहेको छ ।
सुनसान पहाड र सुनसान विद्यालय
पहाड सुनसान भएपछि विद्यालय पनि सुनसान हुने नै भए । अपबादबाहेक आधारभूत तहका प्रत्येक कक्षामा १० जना विद्यार्थी पाउन मुस्किल रहेछ । मैले प्राथमिक तह अध्ययन गरेको जालपा स्कुलका प्रअ लैनबहादुर बस्नेत भन्नुहुन्छ, ‘पहिले विद्यार्थी संख्या धेरै हुँदा बनाएका कक्षाकोठा अहिले काम नलाग्ने भए ।’
अब भवन बनाउँदा २० जना अट्ने बनाए हुने उहाँको तर्क छ । त्यस्तै मैले एसएलसी उत्तीर्ण गरेको महेन्द्रोदय माविका प्रअ हरि बराल भन्नुहुन्छ, ‘भौतिक संरचना सुधार भए पनि विद्यार्थी संख्या घट्दै गएकामा चिन्ता लागेको छ ।’
कुनै बेला झन्डै सय जनाभन्दा बढी विद्यार्थी एउटै कक्षामा हुने यो स्कुलमा आज सबै कक्षाका विद्यार्थी संख्या जोड्दा पनि मुस्किलले एक सय नाघ्ने स्थिति छ । खेलमैदान ठूलो बनेको छ तर खाली छ । पहाडका मूल बाटामा स्कुल जाने–आउने समयमा विद्यार्थीको ताँती हुन्थ्यो । तर अहिले ती मूल बाटा सुनसान छन् । एक किसिमले पहाडका विद्यालय कुनै बेला बन्द हुने दिशामा छन् ।
त्यतिबेला सक्नेहरू मधेश झरेर आफ्ना बालबच्चालाई स्कुल पठाउने छन् । नसक्नेले आफ्नो भाग्यलाई दोष दिँदै बस्नुबाहेक उपाय छैन । सार्वजनिक विद्यालय खाली भएपछि पहाड एक किसिमले भूतघरसरह हुनेछ । विकासले गर्दा विद्यालयका भवन पहिलेका भन्दा राम्रा भएका छन् ।
कम्प्युटर ल्याब, स्मार्ट बोर्ड, ट्वाइलेट, खानेपानी र क्यान्टिनको सुविधा अहिले प्रायः स्कुलमा उपलब्ध छ । तर पनि पहाडका विद्यालय किन रित्तिँदै छन् त ? यो प्रश्नको उत्तर सजिलो छैन तर अब यसका बारेमा चिन्तन, छलफल र विश्लेषण गर्न ढिला गरिनु हुन्न ।
बसाइँसराइ र घट्दो जन्मदरलाई पहाडका विद्यालय सुनसान हुँदै जाने दुई मुख्य कारकका रूपमा लिइन्छ । अवश्य पनि बसाइँसराइ र कम जनसंख्या भएपछि विद्यार्थी संख्या घट्ने नै भए । पहाडमा अब माइला/माइली, साइँला/साइँली, अन्तरे/अन्तरीहरू भेटिँदैनन् । हिजो एउटै घरबाट ४–५ जना विद्यार्थी निस्किन्थे । अहिले मुस्किलले १–२ जना हुन्छन् । भएकाहरूले पहाड छोड्ने दर बढेको छ ।
मधेशमा भेटिएका अभिभावकको ‘राम्रो शिक्षा’ र ‘स्वास्थ्य उपचार’ का लागि पहाड छोड्नु बाध्य भएको गुनासो छ । पहाडमा रहेका अभिभावक पनि आफ्ना बच्चालाई मधेश लाने ‘सपना’ बुन्दै छन् । पहाडका शिक्षक पनि मधेशका विद्यालयमा सरुवा भई जान जोडबल गर्नु हुँदो रहेछ । पहाड ‘दुःख’, ‘असफलता’ र ‘पिछडापन’ भएको ‘डेफिसिट स्पेस’का रूपमा चित्रित भइरहेको छ । यस्ता चिन्तनलाई अहिलेको विकासको मोडेल र भाष्यले मलजल पुर्याएको छ ।
स्थानीय सरकारका योजना हेर्दा पहाडमा सार्वजनिक विद्यालय सुधार गर्ने मुद्दा समग्र विकासको भाष्यमा पर्न सकेको छैन । अपवादबाहेक धेरै पालिकाले आफ्नो शिक्षा नीति र योजना पनि निर्माण गर्न सकेका छैनन् । शिक्षा नीति र योजना बनाएकाहरूले पनि शिक्षा, समाज र विकासबीचको अन्तरसम्बन्धलाई बुझ्न सकेका छैनन् ।
शिक्षा सुधारमा वैचारिक शून्यता नै छ । शैक्षिक योजना निर्माण र लागू गर्ने कामलाई टेन्डर खोलेर पुल, बाटो र भवन निर्माण सम्पन्न गरेजस्तो प्राविधिक विषयका रूपमा मात्र लिइएको पाइन्छ । स्थानीय विषय र मातृभाषा शिक्षालाई उदाहरणका रूपमा लिन सकिन्छ ।
शिक्षालाई समाज, संस्कृति, भाषा, जनजीविका र स्थानीय ज्ञानसँग जोड्ने उद्देश्य भएको यी विषयको योजना निर्माण र कार्यान्वयनमा प्रायः पालिकाले बोलपत्र आह्वान गरेर बिना छलफल कमजोर सामग्री निर्माण गर्नुका साथै त्यस्ता सामग्रीको कार्यान्वयनमा उदासीनता देखाएका छन् । धेरै पालिकाले गैरकानुनी रूपमा कम्प्युटर र अतिरिक्त अंग्रेजीलाई स्थानीय विषयका रूपमा लागू गरेका छन् । शिक्षकको पेसागत विकासको एजेन्डा स्थानीय विकासको योजनामा खासै नपर्ने रहेछ ।
अब के गर्नुपर्ला ?
पहाडमा शिक्षा, समाज र विकासको अन्तरसम्बन्धलाई नबुझी सुनसान विद्यालयको साख फर्काउन कठिन छ । यसका लागि समग्र पहाडमा विकासको भाष्य बदल्न जरुरी छ ।
पाठ्यक्रम निर्माण, प्रभावकारी शिक्षण र गुणस्तरीय शिक्षाका लागि शिक्षकको पेसागत विकास, अनुसन्धान, अतिरिक्त क्रियाकलाप तथा विद्यालय, समाज र पर्यावरणको अन्तरसम्बन्धका बारेमा चिन्तन, छलफल, योजना निर्माण र कार्यान्वयनको विषयले विकासको भाष्यमा अर्थपूर्ण स्थान पाउनुपर्छ । तर विडम्बना ! विद्यालय शिक्षा सुधार गर्ने एजेन्डा प्रचलित विकासको भाष्यमा पर्न छोडेको देखिन्छ ।
तर, नीति निर्माताले बुझ्नुपर्ने कुरा के हो भने सार्वजनिक विद्यालय सुधार नगरी समग्र पहाडलाई जीवन्त बनाउन सकिन्न । सार्वजनिक विद्यालयले अभिभावकको विश्वास जित्न सके ‘राम्रो शिक्षा’का नाममा आफ्नो घर–जमिन छोडेर मधेश झर्न बाध्य भएका पहाड फर्किने छन् ।
यसका लागि कम्तीमा अबको दुई दशक राज्यले सार्वजनिक शिक्षालाई केन्द्रमा राखेर पहाडको समग्र विकासको भाष्य र योजना परिवर्तन गर्न जरुरी छ । विद्यालयलाई प्राविधिक संस्थाका रूपमा नहेरेर यसलाई समाज परिवर्तनको अभिन्न अंगका रूपमा लिनुपर्छ । यसका लागि फराकिलो, दीर्घकालीन तथा नयाँ दार्शनिक र राजनीतिक संकल्पको जरुरत छ ।
सार्वजनिक विद्यालयलाई सुधार गर्न सकिए पहाडको भविष्य बदल्न सकिन्छ । पहाडको प्राकृतिक, पर्यावरणीय, सामाजिक र सांस्कृतिक स्वास्थ्य सुध्रिए मधेशको जनघनत्व सन्तुलन र मरुभूमीकरणलाई रोक्न सकिन्छ । यसका लागि सर्वप्रथम पहाडका सार्वजनिक विद्यालयलाई सुधार गर्न जरुरी छ । त्यसपछि कवि विष्टले भनेझैं पहाडमा ‘जरुर’ केही हुनेछ । पहाडमा आशा र सपना फुल्नेछन् ।
– फ्याक कोलम्बिया विश्वविद्यालय, न्युयोर्कमा प्राध्यापन गर्छन् ।
