यदि हरेक चुनाव स्पष्ट दृष्टिकोण र तर्कपूर्ण बहसले होइन, विपक्षीलाई गाली र लाञ्छनाको खतरनाक हतियारमार्फत जितिन्छ भने लोकतन्त्र अन्ततः कटु वाक्युद्धको अवस्थामै सीमित हुने खतरा रहन्छ ।
What you should know
नेपालको चुनावी रंगमञ्चमा गम्भीर विमर्शभन्दा बढी तमासा हाबी हुने गरेको छ । यस बेला व्यक्तिगत आक्रमण, चारित्रिक हत्या र राजनीतिक विरोधीलाई बदनाम गर्ने कार्य सामान्य भइसकेको छ । नागरिकले सार्वजनिक नीतिनिर्माणका विचार वा शासन व्यवस्थाका जटिल संयन्त्रबारे गहिरो र अर्थपूर्ण बहस बिरलै सुन्न पाउँछन् ।
बरु, सार्वजनिक सभा, टिकटकका क्षणिक भिडियो र टेलिभिजन अन्तर्वार्ता अपमानजनक व्यंग्य, उपहासपूर्ण बोलीले भरिएका हुन्छन् । कसैकसैलाई यो लोकतान्त्रिक प्रतिस्पर्धाको स्वाभाविक उथलपुथलजस्तो लाग्न सक्छ तर गालीगलौजको यो निरन्तर शैलीले बताउँछ— हाम्रो आमविमर्शको अवस्था चिन्ताजनक, विकृत र भद्दा छ । रूपन्देहीमा आउँदो कात्तिकमा उपचुनावको घोषणा भइसकेको परिप्रेक्ष्यमा समग्र चुनावी माहौलमा नयाँ र पुराना दुवै आकांक्षीले एकअर्कालाई खुइल्याउन किन रुचाउँछन् भन्ने चिन्तनको प्रयास यस लेखले गर्नेछ ।
आक्रोशको तमासा
लोकतान्त्रिक व्यवस्थामा निर्वाचन भनेको लोकतन्त्रलाई सबल बनाउने दूरदृष्टिको प्रतिस्पर्धा र राजनीतिक चिन्तनको भद्र लडाइँ हो, जहाँ राजनीतिक दलले समग्र समाजको उन्नतिका लागि आफ्ना मार्गचित्र प्रस्तुत गर्छन् र तर्कपूर्ण बहसमार्फत जनतालाई मनाउँछन् । तर, नेपाल, भारत र अमेरिकालगायत थुप्रै अन्य राष्ट्रमा चुनावका बेला राजनीतिक कार्यक्रम भद्दा कलामा रूपान्तरित हुने गरेको छ । यी यस्ता थलो भएका छन्, जहाँ आक्रोशको भद्दा तमासा मात्रै देखिन्छ । चुनावका प्रतिस्पर्धीको रेटोरिक (वक्तृत्व) आममानिसलाई आकर्षित गर्न होइन, सार्वजनिक भड्कावबाट एकापसको व्यक्तित्व क्षयीकरणका लागि मात्रै हुन्छ । र, यो प्रक्रियाको सबैभन्दा शक्तिशाली काम हो– भ्रष्ट, खतरनाक, खोक्रो, ‘अदर’ (अर्को) अर्थात् बदनाम विरोधीको सुझबुझपूर्ण निर्माण ।
विगत केही दशकमा अपमान र गालीगलौजको प्रयोग स्वतःस्फूर्त अभिव्यक्त हुँदै सुनियोजित रणनीतिमा विकसित भएको छ । नेपाली परिप्रेक्ष्यमा, नयाँ राजनीतिक दलले आफूलाई स्थापित भनिएका दलबाट भिन्न देखाउन खोजिरहेका छन् । यो होडमा सबभन्दा पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । विस्तृत नीतिगत खाका वा गम्भीर विमर्शबाट भन्दा पनि कायम राजनीतिक व्यवस्था वा नेता वा राज्यको निश्चित संस्थाको चरित्रमाथि निरन्तर आक्रमण गरेर उसले आममानिसको सहानुभूति पायो र चुनावको अस्वाभाविक अंकगणितबाट हौसियो । उनीहरूको जनतासँगको विमर्श प्रायःजसो, पाका दललाई भ्रष्ट, अक्षम र दिवालियाजस्ता लेबलिङमा मात्रै अद्यापि कायम छ । यो यिनीहरूको मात्रै भाष्य होइन, पाकापुराना पनि उस्तै त छन्, जस्तो, आफ्नो आलोचना गर्ने जोकोहीलाई केपी ओलीले जस्तो तीव्र घृणासाथ अनेक उपमा भिडाएर गालीगलौज गर्न कसले सक्ला र ! नवप्रवेशी वा पुरानै किन नहुन्, सबैको सन्दर्भमा चुनावी तमासाको शब्द, स्वर र संगीतको लय एउटै छ संसारैभर । यो समूहको तरिका हो, समाजको जटिल कथालाई राम्रो र खराबमा ट्याक्क सरलीकरण गर्ने र विरोधीलाई सबै सामाजिक खराबीको प्रतिरूप हो भन्दै ‘बलिको बोको’ बनाउने र निराश र हताश मतदाताको भित्रभित्रै उम्लिरहेको आक्रोशलाई झ्याप्प कब्जा गर्ने !
केही वर्षअघि मात्रै सीके राउतको जनमत पार्टी पनि मधेशको आमअसन्तुष्टिको लहरमा मूलधारे चुनावी राजनीतिमा प्रवेश गर्यो । मधेशको ऐतिहासिक सीमान्तकरण र बहिष्करणको गम्भीर आलोचनाका रूपमा सुरु भएको कुरा चुनावी मैदानमा प्रायः काल्पनिक शत्रुहरूसँगको टकरावमा परिणत भयो । अझ राउतले त देशै टुक्र्याउने भड्कावलाई भजाउने प्रयास पनि गरे । जनताको साँचो गुनासो र अप्ठेरोलाई सहज सम्बोधन गर्ने स्थायी ओखती त थिएन, त्यसैले त्यस्ता सामाजिक राजनीतिक आमगुनासोलाई दमनकारी र दमितको न्यारेटिभमा सीमित गरिदियो ।
बडो सानदार शैलीमा काठमाडौंमा अचानक नेताका रूपमा उदाएर बालेन शाहले पनि व्यापक प्रशंसा कमाए । काठमाडौंको फोहोरको समस्या समाधान नगरी विजयको माला पहिरिन इन्कार गरेका यिनले त्यो ‘विजयको माला’ कहिले पहिरिने हुन् कुन्नि ! थुप्रै कामकाज छाडेर उनी अहिले आफ्नै प्रशासकीय अधिकृतसँगको लफडामै मग्न छन् । आफ्ना आलोचकलाई तर्कसंगत प्रतिवादले चुनौती दिनुको सट्टा यथास्थितिवादी भनी खारेज गरेर मौन रहस्यमै रमाएका छन् । यस्ता पपुलिस्टहरूको प्रस्ट भाष्य हुन्छ, कोही कि ‘हामीसँग हुन्छ कि हामीविरुद्धमा’ ।
पपुलिस्टलाई शत्रु चाहिन्छ
पपुलिजमको प्रवृत्ति आमराजनीतिको हस्ताक्षर नै बनिसक्यो । यो प्रवृत्ति सहमति निर्माण गर्ने कठिन कार्यमा भन्दा द्वैधता निर्माण गर्ने सुविधाजनक काममा हलक्क बढ्छ र भाष्य बनाउँछ ‘निर्दोष जनता’ भर्सेस ‘भ्रष्ट अभिजात वर्ग’ वा ‘पीडित’ भर्सेस ‘खलनायक’ । यसलाई ‘वि भर्सेस देम’ (हामीविरुद्ध उनीहरू) भनेर रटान लगाइन्छ । यस विकृत राजनीतिक सोचमा प्रतिपक्षीलाई गाली गर्नु केवल स्वीकार्य मात्रै होइन, मानौं अनिवार्य नै हो । कल्पित ‘चित्र’ नै त्यो कथाको मुख्य जिम्मेवार हो— जसले अभियानलाई दिशा दिन्छ, कार्यकर्तालाई एकताबद्ध गर्छ र जुन काम सकारात्मक विचारधाराले गर्नुपर्ने हो, त्यही भूमिका निभाउँछ ।
यो पपुलिजमको शैली नेपालमा मात्र सीमित छैन, यो दक्षिण एसिया र अन्यत्र पनि व्यापक छ । उदाहरणका लागि, भारतमा नरेन्द्र मोदीका शब्दाभियान प्रायः प्रतिद्वन्द्वीको खिल्ली उडाउने कलामा निर्भर रहन्छन्, कांग्रेस पार्टीलाई अभिजात वर्ग भनी उपहास गर्नेदेखि धार्मिक अल्पसंख्यकविरुद्ध सूक्ष्म र अप्रत्यक्ष टिप्पणी प्रयोग गर्नेसम्म । उता कांग्रेस पार्टीले फेरि मोदीको पारिवारिक अवस्था र भुइँबाट आएको कुरालाई नकारात्मक टिप्पणीले खिल्ली उडाइरहन्छ । यस्तो बठ्याइँले जनतामाझ साझा शत्रु को हो भन्ने देखाएर आफ्नो आधार सुदृढ पार्छ ।
नेपालमा पुराना दलहरू– कांग्रेस, एमाले र माओवादीप्रतिको गहिरो निराशाले द्वन्द्वोत्तर लोकतान्त्रिक संक्रमणमा यस्तै पपुलिस्ट स्वरका लागि उर्वर भूमि तयार गर्यो । धोका र विसंगतिको गहिरो अनुभूति वैकल्पिक, सुसंगत नीतिगत खाका बनाउनतर्फ निर्देशित हुनुपर्ने थियो । तर त्यो ऊर्जा, भावनात्मक रूपमा उत्तेजक र नैतिक पतनको कथा निर्माणमा परिणत भयो । यस्तो परिवेशमा विपक्षीलाई गाली गर्नु केवल भाषिक आक्रमण मात्र नभएर एक किसिमको राजनीतिक अनुष्ठानजस्तै हो । जसले शत्रुतिर चोर औँला देखाउँदै समर्थकहरूतिर संकेत गर्छ, ‘हेर ! हामी उनीहरू होइनौं, हामी त असली जनसेवक हौं ।’ छोटो अवधिमा जनमत उचाल्न यस्तो शैली प्रभावकारी हुन सक्छ, तर यसको असर दीर्घकालीन र संक्रामक हुन्छ ।
विमर्शबाट निन्दातिरः सार्वजनिक वृत्तको क्षयीकरण
लोकतन्त्र आँखाको नानी हो, यो साझा सोचविचारको थलो हो । यसको मूलखाँबो खुला बहसको प्रतिबद्धतामा छ— जहाँ समाजका विविध सदस्यको प्राथमिकता के हुने, मूल्य र मान्यता कस्तो हुने र सार्वजनिक हितका लागि कस्ता संस्था निर्माण गर्ने भन्ने विषयमा छलफल र सम्झौता हुन्छ । तर जब यो स्थान क्रोध, उपहास र गाली–गलौजले भरिन्छ, तब लोकतन्त्रको आधारभूत काम नै कमजोर हुन्छ र तर्कमा आधारित संवादका सहभागी अन्ततः अन्त्यहीन व्यक्तिगत खिचातानी हेर्ने बेकामे दर्शकमा मात्र सीमित हुन्छन् !
यो लोकतन्त्रको धरातलीय गिरावट सामाजिक सञ्जालको बाढीपहिरोमा भयावह भएको छ, जहाँ भाइरल हुने चाहले चरमपन्थ र सतहीपनलाई पुरस्कृत गरिरहन्छ । नेपालको डिजिटल सार्वजनिक वृत्त यस्ता तमासाले भरिएका छन्, जहाँ अपमानले भरिएका भाषण संसदीय बहस वा बजेटका जटिलताभन्दा बढी फैलिन्छन् । जुर्गेन हबर्मासहरूले लामो समयदेखि चेतावनी दिएका छन्, लोकतन्त्रको उन्नतिको बाटोमा ‘कम्युनिकेटिभ एक्सन’ को साटो ‘स्ट्राटेजिक एक्सन’ हाबी भयो भने त्यहाँ लोकतन्त्रको गहिरो क्षय हुन्छ । किनभने ‘स्ट्राटेजिक एक्सन’ लक्ष्यमुखी हुन्छ, जसको उद्देश्य अरूलाई प्रभावित वा नियन्त्रित गर्दै अपारदर्शी तरिकाले आफूले चाहेको नतिजा हासिल गर्नु हुन्छ । यसको विपरीत, ‘कम्युनिकेटिभ एक्सन’ पारस्परिक समझदारी र सहमति हासिलउन्मुख हुन्छ र यसमा तर्कसंगत बहस र संवादद्वारा सहमति खोजिन्छ । त्यसैले, राजनीतिमा हुने तल्लो स्तरको गालीगलौज, ठट्टा वा शाब्दिक अलंकार मात्र नभएर लोकतन्त्रको क्षयीकरणको एक गम्भीर लक्षण हो, तर्कसंगत वा आलोचनात्मक विमर्शको बाटोबाट दार्शनिक विचलन हो ।
विरेचन र बलिको बोको
यहाँ छलफल गरिएको पपुलिजमको प्रवृत्ति बुझ्न, गालीको भावनात्मक रसायनशास्त्र भनेको के हो, त्यो मनन गर्नु आवश्यक छ । गहिरो असमानता, सर्वव्यापी अविश्वास र मृगमरीचिका न्याय प्रणालीले ग्रसित नेपालजस्तो समाजमा सांकेतिक विजयले मनोवैज्ञानिक सान्त्वनाको गहिरो प्रभाव पार्छन् । जब कुनै नेताले सार्वजनिक रूपमा कसैलाई ‘आफ्नो ठाउँमा राखे’ जस्तो लाग्ने गरी बोल्छ, त्यसले आमजनतामा क्षणिक भए पनि शक्ति र राहतको अनुभूति त्यस्तो अवस्थामा गराउँछ जब वास्तविक, प्रणालीगत परिवर्तन असम्भव जस्तै लागिरहेको हुन्छ । ठीक यही बेला राजनीतिक गाली निराशाको (झूटो) निकास बन्छ र आमअनुभूतिहरूको प्रतिनिधि बन्छ ।
रेने जिरार्डको स्केपगोट (बलिको बोको) को सिद्धान्तको समाजशास्त्रीय अन्तर्दृष्टि छ । गहिरो संकटमा रहेका समाजहरू, आन्तरिक तनाव र चिन्ताहरूसँग जुझिरहेका मानिस प्रायः सहजै बाह्य शत्रुलाई दोष दिन खोज्छन् । राजनीतिक नेता, अन्तर्निहित संरचनात्मक संकटलाई सामना गर्दै समाधान गर्नु सट्टा, सुविधाजनक लागेको ‘बलिको बोको’ प्रस्ताव गर्छन्, जसमा पर्छन् प्रतिद्वन्द्वी दल, विशिष्ट जातीय समूह वा क्षेत्रगत जनसंख्या । यो रणनीतिक विचलनले साझा असन्तुष्टि र तोकिएको ‘अर्को’ (अदर) प्रति सामूहिक शत्रुतामार्फत समूहको एकतालाई कायम राख्न मद्दत गर्दछ । यो रणनीतिले अस्थायी एकता प्रदान गरे पनि यसले अपरिहार्य रूपमा द्वन्द्वको स्थायी चक्र जन्माउँछ, जहाँ आजको प्रशंसित नायक भोलिको बदनाम खलनायक बन्ने निश्चित हुन्छ र ऊ एक अनन्त प्रतिद्वन्द्वितामा फसिसकेको हुन्छ ।
लोकतान्त्रिक भाषणको पुनःकल्पना
नेपालको लोकतन्त्र नवजातै छ, यसका संस्था नाजुक छन् र राजनीतिक संस्कृति अझै निर्माणकै क्रममा छ । हामी राजनीतिक रूपमा परिपक्व हुनै बाँकी छ, चाहे नेता वा जनता । पछिल्ला वर्षमा नयाँ राजनीतिक शक्तिको उदयले पुरानालाई गजबको झट्का दिएको छ— यो एक अत्यावश्यक र स्वागतयोग्य परिवर्तन हो । तर यससँगै केही खतरनाक प्रवृत्ति पनि जन्मिएका छन् । यदि हरेक चुनाव स्पष्ट दृष्टिकोण र तर्कपूर्ण बहसले होइन, विपक्षीलाई गाली र लाञ्छनाको खतरनाक हतियारमार्फत जितिन्छ भने लोकतन्त्र अन्ततः कटु वाक्युद्धको अवस्थामै सीमित हुने खतरा रहन्छ ।
नेपालसामु उभिएको चुनौती केवल राजनीतिक नेतृत्वको होइन । यो नागरिक, शिक्षक, सञ्चारकर्मी र बौद्धिक वर्गमाथि परेको गहिरो दार्शनिक जिम्मेवारी हो । जनतामा केवल इमानदारी होइन, बौद्धिक विनम्रता पनि चाहिन्छ, कडा आलोचना मात्र होइन, सहनशील र रचनात्मक कल्पनाशीलता पनि आवश्यक छ, जसले वैकल्पिक समाधान देख्न र प्रस्तुत गर्न सकोस् । अर्थपूर्ण लोकतान्त्रिक संवाद कसले ठूलो स्वरमा गाली गर्न सक्छ भन्ने आधारमा होइन, कसले साझा समस्यालाई गहिरो समझदारीसाथ सोच्न सक्छ, फरक मतलाई कसले अधिक सहानुभूतिपूर्वक सुन्न सक्छ र कसले साझा भविष्यप्रति उत्तरदायित्वबोधका साथ बोल्न सक्छ भन्ने आधारमा मापन हुन्छ ।
नेपालको लोकतान्त्रिक अभ्यासको स्थायित्व आगामी रूपन्देही उपनिर्वाचन वा कुनै एक प्रतिस्पर्धाको नतिजामाथि मात्र होइन, फरक विचार र पहिचानसँग कसरी बोल्ने र व्यवहार गर्ने भन्ने हाम्रो सामूहिक बुद्धिमत्तामाथि निर्भर छ— बिनाघृणा, बिनातुच्छता र सबैभन्दा महत्त्वपूर्ण आफ्ना नागरिक वा राजनीतिक प्रतिद्वन्द्वीलाई शत्रुका रूपमा नहेरी तर्कसंगत, सम्मानजनक र जिम्मेवार भाषामा प्रतिबद्धता जनाउनु नै दार्शनिक जग हो । र, यसैबाट स्थायी र संवादमुखी लोकतन्त्र निर्माण हुन्छ ।
