शैक्षिक सुधारमा छुटेको बहस

हामीले कस्तो क्षेत्रमा कति जनशक्ति आगामी केही दशकभित्र खपत गर्न सक्छौं वा आवश्यक पर्दछ भन्ने कुरा यकिन नगरीकन लगानी गरिएको शिक्षाले चाहेजस्तो उपलब्धि दिन सक्दैन, 

श्रावण १, २०८२

रमेश पौडेल

A missing debate on educational reform

संघीय संसद् शिक्षासम्बन्धी विधेयकहरू छलफलका क्रममा छन् । विगतमा शिक्षकहरूसँग गरिएका सम्झौता वा सहमतिअनुसार पनि देशले सकेसम्म शिक्षा प्रणालीका सन्दर्भमा सबै कुराहरू समेटेर राष्ट्रिय नीति निर्माण गर्ने गरी सम्बन्धित ऐन र विनियमहरू बनाइसक्नुपर्नेछ । तर यहाँनेर बिर्सिएको एउटा पक्ष के छ भने हामीले देशका लागि कति जनशक्ति उत्पादन गर्ने ? कस्तो जनशक्ति आवश्यक छ ?

अथवा विदेशमै युवाहरू पठाउने हो भने पनि कस्तो कस्तो योग्यताका युवाहरू पठाउँदा कुन कुन देशहरूबाट अहिले आइरहेको विप्रेषणभन्दा धेरै गुणा बढी आउन सक्छ ? जस्ता प्रश्नहरूको गहन उत्तर खोजेर यी प्रक्रियाहरूलाई अगाडि बढाउनुपर्ने थियो । तर दुर्भाग्य, त्यसतर्फ छलफल केन्द्रित हुनै सकेन । दबाब समूहहरू, यस क्षेत्रमा क्रियाशील स्वार्थ समूहहरू र विभिन्न क्षेत्रमा क्रियाशील शिक्षक र कर्मचारीका युनियनहरू मात्रै हाबी हुँदा उक्त प्रश्नहरूमाथिको गहन छलफलमा चासो देखिएको छैन, देशका लागि यो ठूलो दुर्भाग्य नै मान्नुपर्छ ।

नेपालको सन्दर्भमा कस्तो जनशक्तिले राष्ट्रिय उत्पादन बढाउन योगदान गर्न सक्छ भन्ने कुरा आजको सबैभन्दा जटिल र सबैको ध्यान केन्द्रित हुनुपर्ने सन्दर्भ हो । यो प्रश्न दशकौंका लागि महत्त्वपूर्ण छ । सोह्रौं योजनाले प्राविधिक जनशक्ति आवश्यक छ भन्ने औंल्याएको छ, तर त्यसलाई पुष्टि गर्न र गहन अध्ययन एवं अनुसन्धानका आधारमा काम गर्नुपर्ने हो, त्यो बाँकी नै छ ।

आज हामीले हचुवाकै भरमा विभिन्न प्रकारका शिक्षा दिइरहेका छौं तर त्यसबाट उत्पादित जनशक्ति कहाँ गएर रोजगार वा स्वरोजगारमा लाग्ने हो, त्यसको यकिन छैन । शिक्षा र स्वास्थ्य जस्तो नीति बजारको माग र आपूर्तिका आधारमा मात्र तय गर्दा हामीले सोचेको योजनाबद्ध विकास गर्न सक्दैनौं । माग र आपूर्तिलाई मात्र हेरेर नीतिहरू बनाउँदा त्यसले १० वर्षपछि नै सान्दर्भिकता गुमाउँछ ।

त्यसैले हामीले कस्तो क्षेत्रमा कति जनशक्ति आगामी केही दशकभित्र खपत गर्न सक्छौं वा आवश्यक पर्दछ भन्ने कुरा यकिन नगरीकन लगानी गरिएको शिक्षाले चाहेजस्तो उपलब्धि दिन सक्दैन । न त त्यसले राष्ट्रिय उत्पादनमै सोचेजस्तो बढोत्तरी ल्याउन सक्छ । यति गम्भीर विषयमा कतै उल्लेख्य छलफल भएको देखिन्न । 

शिक्षाले या त रोजगारमा बढोत्तरी ल्याउनुपर्‍यो या त स्वरोजगारीमा, अहिलेको अवस्थामा दुवैतर्फ हाम्रो शिक्षा असफल छ । यो असफलतालाई शिक्षा विधेयकहरूमा चलेका छलफलले पनि छुन सकेका छैनन् । यसै कुरालाई मध्यनजर गरेर नै १६ औं योजनाले ७० प्रतिशत विद्यार्थी प्राविधिक र व्यावसायिक शिक्षातर्फ अध्यापन गराउनुपर्छ भनेको हो । 

जनशक्ति निर्देशित प्रणाली

कस्तो खालको जनशक्तिबाट देशको अर्थतन्त्रलाई चलायमान बनाउन चाहन्छौं भन्ने कुराको यकिन गरिसकेपछि मात्र त्यसअनुसारको जनशक्ति उत्पादन गर्नका लागि चाहिने शिक्षा प्रणालीको विकास गर्न आवश्यक छ । हामीले आगामी दुई/तीन दशक निर्माणका कामहरू कति गर्न सक्छौं ? त्यसका लागि चाहिने जनशक्ति कस्तो र कति हो ? अर्थात् कति इन्जिनियर, कति ओभरसियर र कति सहायक जनशक्तिहरू चाहिने हुन् त्यसको यकिन नभईकन इन्जिनियरिङ शिक्षाको विकास गरिरहेका छौं । स्वास्थ्यको क्षेत्रमा पनि त्यस्तै छ ।

कति मेडिकल अफिसरहरू, कति अप्रेसन गर्न सक्ने दक्ष चिकित्सकहरू, नर्सहरू र औषधि व्यवसायीहरू चाहिने हुन्, हामीसँग अहिले पनि यकिन तथ्यांक छैन । कृषिप्रधान देश भनिरहेका छौं तर अहिले पनि नेपालमा कति कृषिसँग सम्बन्धित दक्ष जनशक्ति आवश्यक पर्छ भन्ने यकिन छैन । अहिले पनि सेवा क्षेत्रमा कति जनशक्ति आगामी १० वर्षका लागि आवश्यक छ भनेर सोच्ने हो भने हामीसँग उत्तर छैन । 

विभिन्न स्तरका विद्यालय र उच्च शिक्षालयहरूमा कुन कुन विधामा कति कति विद्यार्थीहरू पढाउनुपर्छ भन्ने यकिन आधार पनि हामीसँग छैन । विदेशमा कति विद्यार्थीहरू पढ्न गइरहेका छन् भन्ने जानकारी छैन । शैक्षिक क्षेत्रका तथ्यांक प्रणाली आज पनि परम्परागत नै छन् । यी कुराहरूलाई सुधार्नका लागि न संस्थाको नेतृत्व गर्ने मान्छेहरूले पहल गर्न पाइरहेका छन् या सकिरहेका छन् ।

पार्टीको स्वार्थबाट चल्ने मानिसहरूको जमातबाट यी सबै कुरा अपहरित छन् । त्यसैले दिगो उत्पादनका लागि चाहिने कस्तो जनशक्ति हो भन्ने कुरा र ती जनशक्ति कसरी उत्पादन गर्ने भन्ने कुरासँग सरोकार नराखीकन हामीले शिक्षा नीतिसँग सम्बन्धित विधेयकहरू, नियमहरू र उपनियमहरू बनाउने जमर्को गरिरहेका छौं । यसैबाट प्रस्ट हुन्छ, हामी यो मुलुकलाई कता लैजाँदै छौं भनेर । लोकतन्त्रमा पार्टीहरूका नेतृत्वले यस्ता कुरा नसोच्ने हो भने व्यवस्था कसरी फलदायी बन्न सक्छ ?

व्यर्थको विवाद

शिक्षा प्रणालीको सन्दर्भमा नेपालमा व्यर्थको बहस बेलाबेला चल्ने गर्छ । त्यो हो शिक्षामा निजी क्षेत्रलाई प्रतिबन्ध गर्ने कुरा, जुन न त व्यवहारबाट सम्भव छ न त लगानीको हिसाबले नै सम्भव छ । हामी अल्पविकसित देशबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने कुरा गरिरहेका छौं, त्यो स्तरलाई धान्नका लागि पनि हामीलाई प्रशस्त लगानीको आवश्यकता छ ।

पूर्वाधारका लगानीहरू अहिले पनि दिगो पूर्वाधारमा कमै मात्र केन्द्रित छन् । पूर्वाधार लगानीमै पर्याप्त स्रोत जुटाउन सकेको अवस्था छैन । भएकै सार्वजनिक विद्यालयहरूलाई आवश्यकताभन्दा धेरै न्यून बजेट राज्यले खर्च गरेको अवस्था छ । यसैबीच, हामी अचानक शिक्षामा निजी लगानी प्रतिबन्धको कुरा गर्छौं । यसबाट शिक्षामा लगानी बढ्ने कुरा त परै जाओस्, भएकै लगानीकर्ताहरूको पनि विश्वास गुमिरहेको अवस्था छ ।

हामीले निजी लगानीलाई यसरी निरुत्साहित गर्छौं र सार्वजनिक लगानी बढाउन सक्दैनौं भने प्रस्ट छ, हाम्रा विद्यार्थीहरू विदेशमा पढ्न जानेछन् र यो क्रम बढ्नेछ । ताजुब लाग्ने कुरा त के छ भने, जसले यस्तो हल्ला बढी गर्छन्, उनीहरूले नै विद्यार्थीहरू बिदेसिए भनेर ठूलो स्वरमा भाषण गर्छन् । समस्या राम्रोसँग नबुझीकन नीति निर्माणमा सुझाउँदाको परिणाम हुने त यस्तै हो ।

सार्वजनिक शिक्षाको गुणस्तर राम्रो हुँदा कुन चाहिँ अभिभावकले निजी विद्यालयमा बढी पैसा खर्च गरेर आफ्ना बच्चाहरूलाई भर्ना गर्थ्यो होला र ? के सार्वजनिक विद्यालयको गुणस्तर राम्रो बनाउँदा निजी विद्यालय फस्टाउन सक्छन् र ? त्यति सामान्य कुरा पनि नबुझीकन निजी विद्यालयविरुद्धमा कुरा गर्ने राजनीतिज्ञहरूलाई के भन्ने ? फेरि निजी विद्यालयलाई फस्ट्याउनका लागि सरकारी विद्यालयहरू बिगार्नुपर्छ भन्ने मान्यता पनि सर्वथा गलत हो ।

त्यसैले निजी विद्यालयहरू आफ्नो प्रतिस्पर्धात्मक क्षमतामा बाँच्न सक्नुपर्छ भने सार्वजनिक विद्यालयहरूको गुणस्तर राज्यले सुधार्नुपर्छ । सार्वजनिक विद्यालयको गुणस्तर सुध्रिएमा तिनीहरू नै शिक्षा क्षेत्रका मानक बन्दा रहेछन् भन्ने कुरा त रूपन्देही जिल्लामा सञ्चालित नमुना विद्यालयहरूले प्रमाणित गरेकै छन् नि । यस्ता उदाहरण अन्य जिल्लामा पनि केही छन्, यो क्रम बढ्दै जाला । हो, हामीले कसरी निजी र सरकारी विद्यालयहरूका बीचको पाठ्यक्रमबीचमा तादात्म्य मिलाउने भन्ने कुरा सरकारका अंगहरूले ध्यान दिनु आवश्यक छ ।

प्रारम्भिक बाल विकास लगानी

प्रारम्भिक बाल विकासमा गरिएको लगानीले जति राम्रो जनशक्ति निर्माणमा योगदान गर्न सक्छ, त्यति योगदान बालबालिकाका लागि पछिल्ला वर्षहरूमा गरिने शिक्षाको लगानीले गर्न सक्दैन । बालबालिकाको सर्वाङ्गीण विकास, मानसिक–शारीरिक र मनोवैज्ञानिक विकासका लागि तीन वर्षको उमेर हुँदासम्म गरिएको लगानी निकै महत्त्वपूर्ण मानिन्छ ।

अर्को कुरा, बच्चा आधारभूत तहको कक्षा १ मा भर्ना हुनुभन्दा अगाडि करिब दुई वर्ष जति राम्रो वातावरणमा हुर्किन पायो उति उसको सर्वाङ्गीण विकास राम्रो हुन्छ र राम्रो जनशक्तिका रूपमा रूपान्तरित हुने सम्भावना अत्यधिक हुन्छ । यो दुई वर्षको अवधिमा उसका आमाबुबा कुनै उत्पादनजन्य काममा आयआर्जनका निम्ति पनि क्रियाशील हुनुपर्ने अनिवार्य आवश्यकता बन्दै गएको छ । खासगरी हाम्रो पारिवारिक संरचना र आमाबुबाहरूको उमेरका कारण पनि ।

ठाउँठाउँमा प्रारम्भिक बाल विकासका पाठशालाहरू हुँदा आमाबुबाको उत्पादकत्व र आय पनि बढ्ने अवस्था रहन सक्छ । त्यसैले प्रारम्भिक बाल विकास कार्यक्रमहरूको भूमिका धेरै हिसाबले महत्त्वपूर्ण छ । तर दुर्भाग्य, त्यहाँ काम गर्ने शिक्षक–शिक्षिकाहरू नै राज्य र समाजबाट शोषित छन् । किनभने उनीहरू न्यूनतम ज्यालाभन्दा पनि धेरै कम तलबमा काम गरिरहेका छन् । यस्ता समस्यातर्फ बेचैनी बनेर कुनै सरकारले शिक्षा प्रणालीको विकास गर्न सक्दैन । यसतर्फ गम्भीर हुनु आवश्यक छ । 

आधारभूत शिक्षाको गुणस्तर सुधार्ने कुरा, पाठ्यक्रम समयमा पुग्ने कुरा, विद्यालयको व्यवस्थापन र प्रयोगशालाहरू व्यापक सुधार गर्नुपर्ने कुराले निकै ठूला लगानीको माग गर्दछ । कुल बजेटको झन्डै २० प्रतिशत वा सोभन्दा माथि शिक्षामा लगानी केही वर्षसम्म नगर्ने हो भने यो क्षेत्रमा राज्यले गर्न चाहेको कुरा सम्भवै छैन । त्यसैले चालु खर्च वा पुँजीगत खर्च दुवै रूपमा यस क्षेत्रमा लगानी बढाउन सक्दा मात्र निर्दिष्ट लक्ष्यहरू प्राप्ति गर्न सकिनेछ र उत्पादित जनशक्तिले राष्ट्रिय उत्पादनमा राम्रो टेवा दिन सक्नेछ ।

तर त्यसका लागि माथि उल्लेख गरिएजस्तै कस्तो खालको जनशक्ति कति संख्यामा उत्पादन गरेर कुन क्षेत्रमा रोजगार वा स्वरोजगार बनाउने हो भन्ने कुरातर्फ शिक्षा नीतिले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उद्देश्यहरू किटान गरी काम गर्नुपर्नेछ । प्रस्तावित विधेयकहरू, नियम र विनियमहरूले यी कुराहरूलाई सुनिश्चित गर्नु अपरिहार्य छ ।

उच्च शिक्षाको सन्दर्भमा पनि ठूलो मात्रामा लगानी आवश्यक छ । प्राविधिक तथा व्यावसायिक शिक्षा र अनुसन्धानमूलक शिक्षा विस्तार गर्नका लागि गुणस्तरीय दिगो पूर्वाधार परिणाममुखी ढंगले निर्माण गरिनुपर्छ । हामीले निर्माण गरिएको जनशक्ति अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको विश्वका निश्चित बजारहरूलाई लक्षित गरी निर्माण गरिएको हुनुपर्छ, जसबाट देशमा रोजगार र स्वरोजगार उत्पादन नभएको अवस्थामा पनि मनग्य विप्रेषण बढ्ने कुरामा योगदान महसुस गर्न सकियोस् । यसतर्फ पनि शिक्षा प्रणालीले गम्भीरतापूर्वक ध्यान दिनु आवश्यक छ ।

निकै लामो छलफल र अभ्यासपछि देशको १६ औं पञ्चवर्षीय योजनाले शिक्षामा विशेष प्रावधानको व्यवस्था गरेको छ । शिक्षा प्रणालीको उच्चतम विकासका लागि विकसित राष्ट्रहरूले गरेको नवीनतम पहलहरू पनि हाम्रा लागि अनुकरणीय बन्न सक्छन्, तर हाम्रो शिक्षा प्रणालीले हाम्रो देशको माटो, उत्पादन पद्धति र उपभोग प्रवृत्तिलाई राम्रोसँग बुझ्न सक्ने बन्नुपर्छ, जुन कुरा उचित नीति र प्रणालीबाट मात्रै सम्भव छ ।

रमेश

Link copied successfully