पछिल्ला केही वर्षमा राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा महिला सहभागिता संख्यामा बढेको पनि छ । तर, यस्तो प्रतिनिधित्वले न महिलामाथिको संरचनात्मक हिंसा कम गर्न सकेको छ, न उनीहरूबीचको असमानता नै घटेको छ ।
पछिल्ला दिनमा गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीको अभियानले निकै चर्चा बटुलेको छ । चरित्रसँग जोडेर तथानाम गालीमिश्रित आलोचना चुलिएपछि दुवै गायिका प्रतिवादमा उत्रिएका हुन् ।
आखिर किन उनीहरू यतिविधि मानसिक यातना र पीडा झेलिरहेका छन् त ? शोषणविरुद्ध बोल्नु अपराध गर्नुभन्दा ठूलो हो ? सार्वजनिक रूपमा उनीहरूको मूल्य तोकेरै समाज ‘भँडुवा’, ‘चरित्रहीन’ करार गरिरहँदा उनीहरूसँग जोडिएका पात्र भने आलोचनाभन्दा कोसौं टाढा छन् । र, उनीहरूले गरेको कृत्य समाजलाई जाती नै लागेको छ ।
उनीहरूमाथि भइरहेको प्रहारको मुख्य आधार भनेको हामी बाँचिरहेको समाज र यसको सांस्कृतिक संरचना नै हो, जहाँ महिलाले हाँसेको पितृसत्तालाई मन पर्दैन । तर, त्यही महिला उपभोक्तावादी ‘सोकेस’ मा सजिएको भने हरेक पुरुषलाई जाती लाग्छ ।
पछिल्ला दुई दशकमा नेपालको राजनीतिक इतिहासले असाधारण मोड पार गरेको छ । गणतन्त्रको घोषणा, संघीयताको कार्यान्वयन र संविधानमा समावेशिताको प्रत्याभूतिजस्ता प्रगतिशील कदमले बहिष्कृत र सीमान्तकृत समुदायलाई अवसरको ढोका खोलेको छ ।
संविधान लागू भएको १० वर्ष पुग्नै लाग्दा यसको मर्म र भावनानुसार कार्यान्वयन हुन नसके पनि संविधान निर्माणका आधार र यसले दिशानिर्देश गरेको बाटोलाई समीक्षा गर्दा थुप्रै सकारात्मक संकेत नदेखिएका होइनन् । राज्यका हरेक निकायमा पुरुषसरह महिलाको प्रतिनिधित्व सम्भव हुन्छ भन्ने तथ्य प्रमाणित गरेको छ । अवसर र नेतृत्व पाए जुनसुकै क्षेत्रमा महिला हरेक हिसाबले अब्बल छन् भन्ने यथार्थ पुष्टि भएको छ ।
पछिल्ला केही वर्षमा राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा महिला सहभागिता संख्यामा बढेको पनि छ । तर, यस्तो प्रतिनिधित्वले न महिलामाथिको संरचनात्मक हिंसा कम गर्न सकेको छ, न उनीहरूबीचको असमानता नै घटेको छ । यथास्थितिबाट पूर्ण रूपान्तरणको आह्वानसहित जारी भएको संविधानले कोरेको समानता, स्वतन्त्रता र सामाजिक न्यायको सुन्दर सपना भने व्यवहारमा अधुरो र अपुरो नै छ ।
एलिना र समीक्षाकै कुरा गरौं न ! उनीहरू संरचनात्मक हिंसा झेलिरहेका दुई प्रतिनिधि पात्र हुन् । गंगु क्षेत्रीको अश्लील भिडियो र गौशाला–२६ को आँसुलाई सेलिब्रेट गर्ने पुरुष पंक्तिका लागि एलिनाहरू अभिशाप हुन् । यस्ता अभिशापको आरोप लागेका दर्जनौं महिला यही संरचनात्मक हिंसा झेलिरहेका छन् ।
कोही बोल्छन् र झेल्न सक्छन् भने कैयौं समाजको डरले चुप लागेर आफ्नो नियति सम्झन्छन् । समीक्षा र एलिनामाथि भइरहेको प्रहार नेपाली पितृसत्तात्मक समाजको कुरूपता झल्काउने ऐना हो ।
हाम्रो समाजमा असफलता वा समस्याको दोष महिलामाथि थोपर्ने प्रवृत्ति हाबी छ । वैवाहिक सम्बन्ध असफल हुँदा पुरुषले गरेका हिंसामाथि चर्चा हुनुअघि नै महिलाको चरित्रमाथि प्रश्न उठाउँदै सामाजिक बहिष्कार सुरु हुन्छ । यो दोषारोपणको संस्कृतिले महिलाको स्वतन्त्रता र आत्मसम्मान कुण्ठित मात्र पारेको छैन, उनीहरूको सिर्जनशीलता, भविष्यप्रतिको आशालाई निमोठेको छ । एकातिर घर धान्न आर्थिक रूपमा आत्मनिर्भर बन्नैपर्ने बाध्यतामा छन् महिला भने अर्कोतिर विवाह, करियर वा शरीरसँग सम्बन्धित कुनै पनि निर्णय लिन उनीहरू स्वतन्त्र छैनन् ।
समीक्षाले बलात्कारजस्तो जघन्य अपराधविरुद्ध आवाज उठाउँदा समाजले उनलाई स्टेजमा ढुंगा र बोतल प्रहार गरेर स्वागत गर्यो । यो त केबल बाहिरी र देखिने आक्रमण थियो । अदृश्य प्रहार अझै पनि कम भएको छैन । एउटी नाबालिकाले आफू शोषणमा परेको भनेर न्याय माग्दा गालीगलौज, चरित्रहत्या र सामाजिक बहिष्कार झेल्नुपर्यो । न्यायको लडाइँमा हारेकी समीक्षाले जीवनसँग हारिनन् । बरू उनले देखाएको बाँच्ने र हाँस्ने साहस कैयौं समीक्षाहरूका लागि बुलन्द आवाज बन्यो ।
यस्तै, एलिनाले पनि वैवाहिक जीवन सहज नभएपछि सहमतिमा सम्बन्ध टुंग्याउने निधो गरिन् । समाजले उनलाई दुःखी, अबोला, पीडित र अनुशासित देख्न चाहेको थियो । सम्बन्धविच्छेदपछि स्वतन्त्रताको सास फेरेकी एलिना ‘चरित्रहीन’ ठहरिनु नौलो थिएन । उनको हाँसो र स्वतन्त्रता समाजले ‘थ्रेट’ ठान्दै आएको छ । किनभने उनको कदम पितृसत्ताको नियन्त्रणभन्दा बाहिरको कुरा थियो । यतिबेला हाँसेका एलिना र समीक्षाहरूलाई स्वीकार्न समाजलाई सकस परेको छ ।
महिला जबसम्म ‘अनुशासित र पीडित’ को भूमिकामा हुन्छन्, तबसम्म समाजले उनलाई सहानुभूति दिन्छ । जब उनीहरू हिंसा र शोषणको प्रतिरोध गर्छन्, आत्मसम्मानका साथ बोल्न थाल्छन् अनि समाज तर्सिन थाल्छ किनभने स्वतन्त्र र साहसी महिला पितृसत्ताको नियन्त्रणभन्दा बाहिर जान थाल्छन्, जुन परम्परागत सत्ताका लागि चुनौती हो ।
महिलामाथिको हिंसा सार्वजनिक भएपछि दोषीलाई कानुनी खठघरामा ल्याउनुको सट्टा पीडितकै पहिरन, हिँडाइ, बोलीचाली र अतीत खोतलिन्छ । पीडकले गरेको गम्भीर अपराधमाथि समाजले बाक्लो पर्दा हाल्छ । त्यो पर्दाभित्र मिडियाको कलम बांगिन्छ, न्यायालयको तराजु लड्खडाउँछ र कानुनका दफा भुत्ते हुन्छन् ।
सामन्तवादले महिलालाई ‘लजालु’ र ‘अनुशासन’ को प्रतिमूर्ति मान्दै आयो । महिलाको स्वतन्त्रता र आवाजलाई ‘इज्जत’ को बन्धनमा बाँधेर उनीहरूको व्यक्तिगत र सामाजिक जीवनमाथि निरन्तर निगरानी गर्दै आयो । यसले ‘लजालु’ का नाममा महिलामाथि शोषण र दमनको साम्राज्य नै खडा गर्यो ।
शोषण र दमनमा अडिएको सामन्तवाद लड्खडाउन थालेपछि पुँजीवादले सौन्दर्यको मापदण्ड निर्धारण गरी बजारका लागि आवश्यक ‘राम्री’, ‘स्लिम’, ‘स्मार्ट’, ‘युथ’ र ’फेसनयोग्य’ हुन बाध्य बनायो । हिजो घरभित्र र पर्दापछाडि हुने शोषण आज बजारले खुलमखुला गरेको छ ।
सारमा शोषणको जगमा खडा भएका सामन्तवादी र पुँजीवादी संरचनागत सोच र व्यवहारले महिलालाई सधैं दोषको केन्द्रमा राख्ने काम गर्दै आएको छन् । ‘लजालु’ र ‘अनुशासित’ बन्न नसकेका कैयौं समीक्षा र एलिनाहरू समाजका लागि ‘खतरा’ हुन्, जसले तिरष्कृत र बहिष्कृत भएरै पनि स्वतन्त्र भएर बाँच्ने र उन्मुक्त भएर हाँस्ने आँट गरे ।
