न्यायको मर्म केवल कानुनका अक्षरमा होइन, न्यायाधीशको चरित्र, विवेक र चेतनामा पनि निहित हुन्छ
कुनै पनि पेसामा दक्षता अभिवृद्धि गर्न तथा व्यावसायिक प्रभावकारिताका लागि नरम शक्तिको सीप अर्थात् ‘सफ्ट स्किल’ अत्यन्त महत्त्वपूर्ण हुन्छ । यसले शरीर, मन र आत्मा वा चेतनाको सन्तुलन कायम गरी न्यायालय र न्यायाधीशको कार्यदक्षतामा अभिवृद्धि गर्दछ । शरीर, मन र आत्माको सन्तुलनबाट न्यायालयप्रति जनविश्वास बढाउनुका साथै न्यायिक कार्यलाई प्रभावकारी बनाउन सघाउँछ ।
शरीरको स्वास्थ्य, मनको स्थिरता र आत्मा वा चेतनाको प्रज्ञाले न्यायाधीशमा निष्पक्षता र नैतिकबोध उत्पन्न गर्छ । निष्पक्ष निर्णयका लागि तथ्य र प्रमाणको विवेचना, न्यायिक सोच, समस्या समाधान क्षमता र भावनात्मक बुद्धिमत्ताको प्रयोग प्रभावकारी रूपले गरेमा न्यायप्रति आस्था बढ्छ ।
आत्मा वा चेतनाको सन्तुलनले नै न्यायाधीशलाई विवेकपूर्ण निर्णय गर्न, डररहित ढंगले काम गर्न र आन्तरिक रूपमा आत्मनिरीक्षण गर्ने सामर्थ्य दिन्छ । यही आधारमा समाजमा ‘न्यायालय भनेको मन्दिर हो’ र ‘न्यायाधीश भनेका पुजारी’ हुन् भन्ने जनविश्वास बनाएको छ ।
न्यायालय शब्द उच्चारण गर्नासाथ मनमा एक पवित्र, निष्पक्ष र विश्वसनीय संस्थाको चित्र आउँछ । विचार र भाव उत्पन्न हुन्छ, यो त्यस्तो स्थान हो– जहाँ दूधको दूध र पानीको पानी छुट्याइन्छ भन्ने विश्वास र आस्थाको दियो बल्छ । न्यायपालिका र न्यायाधीशलाई समाजले उच्च सम्मान र विश्वास दिनुको कारण पनि यही हो ।
न्यायाधीशलाई न्याय दिने बेला आफ्नो व्यक्तिगत स्वार्थ, अहंकार र घमण्डले प्रभावित पार्न नदिनु नै न्यायाधीशको सच्चा धर्म हो । न्यायको प्रक्रिया केवल कानुनी बहस र प्रमाणमा निर्भर हुँदैन, यसमा औचित्य, नैतिकता, तार्किकता, संगति, धर्म, समानता र निष्पक्षताजस्ता मूल्य पनि समावेश हुन्छन् ।
पुरानो समयमा एक ज्ञानी न्यायाधीशलाई समाजले ‘न्यायको देवता’ भनेर सम्मान गर्थ्यो । जनताको सम्मानले उनी अहंकार र घमण्डी बन्दै निष्पक्ष न्याय दिने कर्म छाड्न थाले, सम्मानले उनलाई अन्धो बनायो । एकदिन एक वृद्ध महिलाको पीडा नबुझ्दा उनले सपना देखेछन्, जहाँ साधुले भनेछन्, ‘तिमी देवता होइन, कर्मयोगी हौ । अहंकार र घमण्ड छाड्न सकेनौ भने मन अशान्त हुन्छ, शरीर थाक्छ र आत्मा झूटो हुन्छ ।’ त्यसपछि उनले अहंकार र घमण्ड त्यागेर सबैलाई समान दृष्टिले हेरे र करुणा र विवेकले न्याय दिन थाले ।
यो कथाले पनि न्यायाधीशको शरीर, मन र आत्माको सन्तुलनले अहंकार र घमण्डलाई जित्न सक्ने सामर्थ्यलाई दर्शाउँछ । न्यायको मर्म केवल कानुनका अक्षरमा होइन, न्यायाधीशको चरित्र, विवेक र चेतनामा पनि निहित हुन्छ ।
न्यायिक स्वतन्त्रता र निष्पक्षता कायम राख्न न्यायाधीशमा शरीर, मन र आत्मा वा चेतनाको सन्तुलन अनिवार्य छ । जसरी तराजु सन्तुलनमा हुँदा मात्र सही तौल देखाउँछ, त्यसैगरी न्यायाधीशको शरीरको अनुशासन, मनको स्थिरता र आत्मा वा चेतनाको सन्तुलन कायम हुन्छ, त्यतिबेला मात्र न्याय निष्पक्ष र विश्वसनीय हुन्छ ।
न्यायपालिका कुनै सामान्य संस्था होइन, यो कानुन, नैतिकता र विवेकको मिलनबिन्दु पनि हो । न्यायालयलाई ‘मन्दिर’ ठानेर त्यहाँ न्यायाधीशले आफूलाई ‘देवता’जस्तो मान्दा अहंकार र घमण्डले ग्रस्त गर्यो भने उनको मन अशान्त हुन्छ र निर्णयमा पक्षपात र अन्यायको सम्भावना र जोखिम बढ्छ ।
यसको परिणाम, न्यायाधीशको शरीर, मन र आत्माको सन्तुलन बिगार्छ । न्यायको पवित्रता धूमिल हुन्छ, न्यायाधीशहरूले गरेको निर्णयप्रति प्रश्नैप्रश्न उठ्छन् । अनि न्यायालयको पवित्रता र गरिमा जोगाउन कठिन हुन्छ । न्यायाधीशले विधिशास्त्रीय विकास अवरुद्ध गर्छन् भने विवेकशील न्यायाधीशको कोटिमा पर्ने सुअवसरसमेत गुमाउँछन् ।
न्यायाधीशको आन्तरिक सन्तुलन नै न्यायपालिकाको प्राण हो, जसले संविधानको मूल भावनालाई जीवन्तता दिन्छ । समाजले न्यायाधीशलाई उच्च आदर दिनुको केन्द्रीय कारण उनको निर्णयमा निष्पक्षता, स्वतन्त्रता र नैतिक साहस हो । आत्मिक सन्तुलन भनेको नैतिक दृढता र निर्भीकताको सार हो, जसले बाह्य दबाब, राजनीतिक प्रभाव र स्वार्थबाट मुक्त भएर न्याय दिन सहयोग गर्छ । शक्ति पृथकीकरणका सिद्धान्तले संस्थागत स्वतन्त्रता कायम गर्न मद्दत गरे पनि वास्तविक निष्पक्षता न्यायाधीशको आन्तरिक सन्तुलनबिना असम्भव छ ।
न्यायाधीशको शारीरिक स्वास्थ्य र ऊर्जा न्यायिक कामको पहिलो आधार हो । यसमा शारीरिक सन्तुलन महत्त्वपूर्ण मानिन्छ । न्याय सम्पादनमा मनको सन्तुलन अत्यन्त आवश्यक छ । न्यायाधीशले निष्पक्ष निर्णय दिन पूर्वाग्रह, आग्रह वा भावनात्मक द्वन्द्वबाट मुक्त हुनुपर्छ । मानसिक सन्तुलनले कानुनी तथ्यलाई स्पष्ट रूपमा बुझ्न, विश्लेषण गर्न र तार्किक निष्कर्षमा पुग्न मद्दत गर्छ ।
यदि मन अस्थिर भयो भने निर्णयमा त्रुटि आउन सक्छ । न्यायाधीशले बाह्य दबाबबाट मुक्त रही विवेकपूर्ण निर्णय गर्न सक्ने अवस्था मानसिक स्पष्टताबाट सम्भव हुन्छ । ‘न्यायको आँखा बन्द छ, तर मन खुल्ला र निष्पक्ष हुनुपर्छ’ भन्ने मान्यता अनुसार मनको शान्ति र स्थिरता न्यायिक स्वतन्त्रताको आधार हो । मानसिक सन्तुलनले न्याय प्रक्रियालाई विश्वसनीय बनाउँछ र जनताको आस्था बलियो बनाउँछ । न्यायाधीशको सन्तुलित मनले मात्र न्यायालयको गरिमा र ओज कायम रहन्छ ।
मानवमा आत्मा वा चेतनशक्ति रहेको हुन्छ । आत्मा वा चेतना भन्नाले मानिसको भित्री अस्तित्व, जीवनशक्ति र आत्मसाक्षात्कारलाई जनाउँछ । यो शरीर र मनभन्दा भिन्न, अमूर्त र अनन्त तत्त्व हो, जसले जीवनलाई अर्थ दिन्छ । मानव जीवनमा आत्मा वा चेतनाको सन्तुलन अत्यन्त महत्त्वपूर्ण हुन्छ । आत्मा नै विवेक, करुणा र नैतिकताको स्रोत हो, जसले सही निर्णय गर्न प्रेरित गर्छ । न्यायाधीशमा शरीर, मन र चेतनाको सन्तुलन आवश्यक छ, जसले उनीहरूलाई कानुनलाई मानवीय ढंगले बुझ्न मद्दत गर्छ । चेतनाको सन्तुलनले निष्पक्ष र निर्भीक निर्णय सम्भव बनाउँछ । न्यायाधीशको शारीरिक स्वास्थ्य (कर्मठता), मानसिक स्थिरता (निष्पक्ष विवेक) र आध्यात्मिक प्रज्ञा (नैतिक साहस) ले मात्र न्यायप्रणालीमा विश्वास बढाउँछ ।
स्वस्थ शरीरले मानसिक स्पष्टता र निर्णय क्षमतामा वृद्धि गर्छ, जसले लामो समयसम्म आफ्नो निष्पक्ष जिम्मेवारीमा र अदालतको गरिमाप्रति ध्यान केन्द्रित गर्न मद्दत पुर्याउँछ । मनको सन्तुलनले पूर्वाग्रह र भावनात्मक द्वन्द्वबाट मुक्त भएर तर्कसंगत निर्णय लिन सहयोग गर्छ । ध्यान र मेडिटेसनले मानसिक स्थिरता बढाउँछ, जसले न्यायिक स्वतन्त्रता र विश्वासलाई बलियो बनाउँछ । आत्मा वा चेतनाको सन्तुलनले नैतिक विवेक र करुणा जगाउँछ, जसले न्यायाधीशलाई निर्भीक र निष्पक्ष निर्णय गर्न सक्षम बनाउँछ । यी तीनै पक्षको सन्तुलनले मात्र न्यायप्रणालीमा जनआस्था, जनविश्वास र न्यायालयको गरिमा कायम रहन्छ ।
न्यायाधीशको शरीर, मन र आत्मा (चेतना) को सन्तुलन नै निष्पक्ष, विवेकपूर्ण र जनआस्था जगाउने न्याय प्रणालीको मूल आधार हो । राजस (क्रियाशीलता र उत्साह) र तामस (अज्ञानता र क्रोध) गुणले न्यायमा प्रभाव पार्ने भएकाले आहार, व्यायाम, आराम र निद्राजस्ता कुरामा ध्यान दिनुपर्दछ । शरीर स्वस्थ भएमा दीर्घकालीन दबाब सहन सकिन्छ, मन स्थिर भएमा भावनात्मक द्वन्द्वबाट मुक्त भई तर्कसंगत निर्णय सम्भव हुन्छ र आत्मा, विवेक तथा नैतिकताको केन्द्र बनेमा बाह्य प्रभाव र पूर्वाग्रहबाट रक्षा हुन्छ ।
शारीरिक रूपमा स्वस्थ रहन योग, नियमित व्यायाम, सुपाच्य तथा पौष्टिक आहार र पर्याप्त निद्रा आवश्यक छ । ध्यान, मेडिटेसन र माइन्डफुलनेस अभ्यासले तनाव घटाउँछ र मनलाई केन्द्रित र शान्त बनाउँछ । जब न्यायाधीशले आफूलाई ‘देवता’ होइन, ‘न्यायको सेवक’ ठानेर अहंकार र स्वार्थ त्याग्छन्, तब उनीहरू निष्पक्ष र आत्मिक रूपमा सशक्त बन्छन् । न्यायाधीशको त्रि–संयोजन (शरीर, मन र आत्मा) नै न्यायको सच्चा आधार हो, जसले न्यायालयलाई ‘न्यायको मन्दिर’ बनाउँछ र न्यायाधीशलाई ‘देवता’ समान सम्मान दिलाउँछ ।
