यदि हामीले बुद्धिमत्ता, आलोचनात्मक सोच र स्थानीय सन्दर्भलाई आधार बनाएर अघि बढ्यौं भने एआई हाम्रो सेवक बन्न सक्छ, मालिक होइन । तर यदि हामी भ्रममा पर्यौं भने एआई हामीलाई होइन, हामी उसलाई सेवा गर्न थाल्नेछौं ।
अहिलेको युगमा कृत्रिम बुद्धिमत्ता अर्थात् एआईलाई भविष्यको मूल साँचोका रूपमा चित्रण गरिँदै छ । सरकार, उद्योग, शिक्षाविद् र मिडियाले बारम्बार भन्न थालेका छन् कि एआईले हरेक समस्या हल गर्नेछ । चिकित्सा सुधार्नेछ । विद्यालयमा पढाउनेछ, अदालतमा निष्पक्षता ल्याउनेछ । कृषि, बैंकिङ, यातायात लगायतका हरेक क्षेत्रमा क्रान्ति ल्याउनेछ ।
आज एआई शब्द ‘ट्रेन्डिङ टर्म’ बनिसकेको छ । प्रविधि सम्मेलनहरू, स्टार्टअप पिचहरू वा नीति सम्बोधनमा एआईलाई ‘जादुको छडी’ जस्तै चित्रण गरिन्छ । जसले मानव जीवनका सबै समस्याको समाधान दिनेछ भन्ने जस्तो आभास दिइन्छ । स्वास्थ्य, शिक्षा, कृषि, रोजगार इत्यादि प्रत्येक क्षेत्रमा यसको उपयोगको दाबी गरिन्छ, तर तीमध्ये धेरैजसो आधारभूत अध्ययनबिना, केवल सैद्धान्तिक आकर्षणमा आधारित हुन्छन् । यस्ता दाबीहरूले समाजलाई वास्तविक चुनौतीभन्दा पर धकेल्छन् । जसले गर्दा हामी भ्रमको भुमरीमा फस्न सक्छौं । यो प्रवृत्तिले नेपालजस्तो विकासोन्मुख राष्ट्रहरूमा थप खतरनाक असर पार्छ । जहाँ प्रविधि परीक्षणभन्दा प्रचारमा बढी विश्वास गरिन्छ ।
के एआई वास्तवमै निर्णय लिने विश्वसनीय साधन हो ? आज प्रयोग भइरहेका अधिकांश एआई प्रणालीहरू ‘प्रिडिक्टिभ’ छन् अर्थात् जसले भविष्यवाणी गर्न खोज्छन्, तर ती भविष्यवाणीहरू अधिकांश त्रुटिपूर्ण हुन्छन् । यी प्रणालीहरू पुराना तथ्यांक र ढाँचाहरूमा आधारित हुन्छन् । जसले वर्तमान समाजको जटिलता समाउन सक्दैन । जस्तै, कुनै व्यक्तिको अपराध गर्न सक्ने सम्भावना मापन गर्ने एआई प्रणाली, जसले पुराना डेटामा आधारित भएर जातीय वा सामाजिक पूर्वाग्रह बोकेको निर्णय दिन सक्छ । एआईले किन र कसरी भन्ने प्रश्नको उत्तर दिन सक्दैन, केवल के भयो भन्ने अनुमान गर्छ । त्यसैले निर्णय प्रक्रियामा यसलाई अत्यन्तै सावधानीपूर्वक प्रयोग गर्नुपर्ने हुन्छ । हाम्रो जस्तो तथ्यांक संकलनको सही पद्धति नै नबसेको प्रणालीको यसको प्रयोग र क्षमता अझै सीमित र भ्रामक हुन्छ ।
हुन त एआईले भाषा अनुवाद, अनुहार चिन्ने वा वस्तु पहिचान गर्ने क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गरिरहेको छ । यस्ता प्रणालीहरू विशेष गरी गुगल ट्रान्सलेट, फेस रिकग्निसन एप्स वा मसिन लर्निङमा आधारित बायोमेट्रिक उपकरणहरूमा देखिन्छन् । तर यिनीहरूको सीमितता पनि प्रस्ट छ, सांस्कृतिक सन्दर्भ बुझ्न नसक्ने, भाषा भिन्नता तथा न्यून प्रतिनिधित्व भएका समूहहरूमा त्रुटिपूर्ण कार्य प्रदर्शन गर्ने र अपवादलाई समात्न नसक्ने क्षमता । उदाहरणका लागि, कुनै नेपाली उखान टुक्का वा दृष्टान्त वा विशिष्ट शब्दशैलीको अर्थ अंग्रेजीमा सटीक रूपले रूपान्तरण गर्न अहिलेको एआई असक्षम देखिन्छ । यसबाट स्पष्ट हुन्छ, एआई प्रणालीहरू विशिष्ट र नियन्त्रित परिवेशमा मात्र प्रभावकारी छन्, तर खुला, जटिल र बहुआयामिक जीवनप्रसंगमा यिनको धेरै सीमितता छ ।
एआई प्रविधिको सुरुवात शुद्ध वैज्ञानिक जिज्ञासाबाट भएको हो । तर अहिले यसको दिशा बजारले निर्धारण गरिरहेको छ । आजको एआई विकासमा लगानी गर्नेहरू अनुसन्धानकर्ताभन्दा लगानीकर्ता छन् । जसले लगानीको प्रतिफल हेर्छन्, सत्य होइन । एक अध्ययनअनुसार, हालको अधिकांश एआई अनुसन्धान दोहोर्याउन सकिने अवस्थामा छैनन् । जसको अर्थ, तिनको नतिजा वैज्ञानिक प्रमाणीकरणभन्दा प्रचार सामग्रीमा आधारित छ । २०१६ मा नेचर जर्नलमा प्रकाशित एक अध्ययनमा ७० प्रतिशत वैज्ञानिकहरूले अर्काको अनुसन्धान पुनः उत्पादन गर्न सकेनन् ।
प्रायः अनुसन्धानहरूले नतिजा होइन, हेडलाइन्सका लागि लेखिन्छ । नेपालमा पनि यस्तो प्रवृत्ति बढ्दो छ । एआईका नाममा गरिने परियोजनाहरू परीक्षण, तथ्यांक वा प्रभाव विश्लेषणबिना नै कार्यक्रमका रूपमा लागू भइरहेका छन् । यस्ता कार्यक्रमहरू नीति निर्माणका आधार बनाउँदा गम्भीर भ्रम र दीर्घकालीन असर निम्त्याउन सक्छन् ।
हामीले बुझ्नुपर्छ, एआई अब केवल प्रविधिको सवाल होइन । यो अब ठूलो व्यापार हो । विश्वका ठूला प्रविधि कम्पनीहरू गुगल, माइक्रोसफ्ट, मेटा, एप्पल, ओपनएआई सबैले अर्बौं डलर एआईमा लगानी गरिरहेका छन् । यिनीहरूको उद्देश्य मानव सेवाभन्दा पनि बजारमा प्रभुत्व जमाउनु हो । स्मार्ट क्लासरुम, स्मार्ट हेल्थ, स्मार्ट सिटी जस्ता अवधारणाहरू आकर्षक छन्, तर प्रायः ती सीमित प्रयोगशालामा परीक्षण गरिएका अवधारणामा आधारित हुन्छन् । ती प्रणालीहरूले वास्तविक जीवनका जटिलता, गरिबी, जातीयता, भाषा विविधता र भौगोलिक सन्दर्भलाई समेट्दैनन् । जब हामी यस्ता प्रणालीलाई जस्तैको तस्तै नीति बनाउँछौं, तब हामी विफलता सुनिश्चित गरिरहेका हुन्छौं ।
नेपालजस्ता विकासशील राष्ट्रहरूमा जहाँ स्रोत, पहुँच र जनशक्ति सीमित छन्, त्यहाँ प्रविधिलाई अन्धविश्वासका रूपमा स्वीकार्नु गम्भीर भूल हो । कुनै प्रविधिको सफलताका लागि स्थानीय सन्दर्भ, व्यवहार र आवश्यकतालाई बुझ्न जरुरी हुन्छ । विदेशी प्रयोगशालामा बनेको एआईले नेपाली समाजको बहुरूपी चरित्र, भाषिक विविधता वा समाजशास्त्रीय भिन्नतालाई समात्न सक्दैन । त्यस्ता प्रणालीहरूको आधारमा नीति बनाउँदा गलत प्राथमिकता तोकिन सक्छ । जसको मूल्य शिक्षा, स्वास्थ्य, वा रोजगारी क्षेत्रमा महँगो साबित हुन सक्छ । त्यो निर्णय पुनः संशोधन गर्न सकिँदैन र पीडित सधैं जनता नै हुन्छन् ।
हालसालै हामीले समाचारमा हरेक दिन एआईले कविता लेख्यो, तस्बिर बनायो वा रोग पहिचान गर्यो भन्ने सुनेका छौं । यस्ता समाचारले प्रविधिप्रति आममानिसमा चमत्कारी अपेक्षा जन्माउँछन् । तर यीमध्ये कति समाचार तथ्यमा आधारित छन् र कति प्रचारमा ? मिडिया स्वयं प्रविधिको प्रयोग र प्रभावबारे गहिरो ज्ञानबिना प्रचारमुखी बन्न थालेको छ । जटिल अवधारणाहरूलाई सरल भाषामा अनुवाद गर्नुभन्दा जादुझैं प्रस्तुत गरेर ‘भविष्य यही हो’ भन्ने शैलीले पत्रकारितालाई पनि बजारको खेलमा समावेश गरिरहेको छ । यसको असर शिक्षामा पनि देखिन्छ, जहाँ विद्यार्थीले प्रविधिमा समीक्षा होइन, केवल प्रयोग मात्र सिक्छन् ।
सकारात्मक सम्भावना नभएको होइन । नेपालमा एआई कृषि, स्वास्थ्य वा प्रशासनमा उपयोगी हुन सक्छ । जस्तै ः कीरा पहिचान, सडक दुर्घटना विश्लेषण, प्राथमिक रोग निदान वा सरकारी तथ्यांक विश्लेषण इत्यादि । तर यस्ता प्रणाली सफल हुनका लागि तीन कुरा अनिवार्य छन् । पहिलो, स्थानीय डेटा र सन्दर्भप्रति समझ । दोस्रो, पारदर्शिता र जवाफदेहिता । र तेस्रो, सबै वर्गलाई प्रविधिको फाइदाबाट समावेश गर्ने सोच । प्रविधिलाई केवल सहर वा राजधानीकेन्द्रित बनाउने हो भने ग्रामीण समुदाय अझै पछाडि पर्नेछ र प्रविधिको असमान पहुँचले सामाजिक विभाजन बढाउनेछ ।
अब समय आएको छ जब हामी एआई प्रविधिलाई आँखामा पट्टी बाँधेर अनुकरण नगरी समीक्षा गर्ने अभ्यास सुरु गरौं । विज्ञानको आधार भनेको प्रश्न गर्नु हो, त्यसैले हामीले एआईप्रति पनि उही दृष्टिकोण राख्नुपर्छ । स्कुलदेखि विश्वविद्यालयसम्म, केवल ‘कसरी प्रयोग गर्ने ?’ भन्दा ‘किन प्रयोग गर्ने ? यसको असर के पर्छ ?’ भन्ने प्रश्न उठाउने अभ्यास बढाउनुपर्छ । त्यसका लागि शिक्षालाई आलोचनात्मक बनाउनु आवश्यक छ । यो पुस्तालाई केवल प्रविधिको उपभोक्ता होइन, समालोचक बनाउने दिशामा शिक्षाले काम गर्नुपर्छ ।
आज हामी एउटा निर्णायक मोडमा उभिएका छौं, जहाँ प्रविधिको गति हाम्रो चेतनाभन्दा तीव्र छ र निर्णय लिने क्षमताभन्दा तेज छ । एआई अब केवल एक उपकरण होइन, यो हाम्रो सोच, व्यवहार र समाज सञ्चालनको आधार बन्न थालेको छ । तर यो प्रविधि वास्तवमै हाम्रो हितमा प्रयोग भइरहेको छ त ? वा हामी अनजानमै यसका दास बन्दै छौं ? यस प्रश्नको उत्तर सजिलो छैन, तर अत्यन्त जरुरी छ । एआई आफैंमा न त राम्रो न नराम्रो हुन्छ । त्यसको प्रयोगले मात्र यसको मूल्य निर्धारण गर्छ । यदि हामीले एआईलाई केवल उत्पादन, नाफा र प्रचारको औजार बनायौं भने यसले मानवता र समावेशितालाई पछाडि पार्छ । हामीले सोच्नुपर्छ । के कुनै यस्तो प्रविधि उपयोगी ठहरिन सक्छ, जसले समाजका सबै वर्गलाई सुन्न सक्दैन, अल्पसंख्यकको स्वर समेट्दैन वा स्थानीय सन्दर्भलाई सम्मान गर्दैन ?
त्यसैले, हामीले प्रविधिसँगको सम्बन्ध पुनर्विचार गर्नुपर्छ । हामीले एआईलाई विचारको विस्तारको माध्यम बनाउन सक्नुपर्छ । त्यस्तो विचार, जसले समावेशिता, पारदर्शिता, र उत्तरदायित्वलाई प्राथमिकता दिन्छ । शिक्षाले प्रविधिको केवल प्रयोग होइन, त्यसको नैतिक समीक्षा पनि सिकाउनुपर्छ । नीति निर्माताहरूले निर्णय लिँदा केवल नयाँपन हेर्ने होइन, त्यसको सामाजिक प्रभाव, दीर्घकालीन परिणाम र नैतिकतासँगको सम्बन्ध पनि सोच्नुपर्छ । वैज्ञानिक र अनुसन्धानकर्ताहरूले प्रयोगशालाबाट बाहिर निस्केर समाजको आवाज सुन्नुपर्छ । अनि आम जनताले प्रविधिको उपभोक्ता मात्र होइन, सचेत नागरिक भएर प्रश्न गर्नुपर्ने समय आएको छ– के यो प्रविधिले हामीलाई स्वतन्त्र बनाइरहेको छ कि नियन्त्रित ?
यदि हामीले आज सही प्रश्न उठाउन सकेनौं भने भोलिको समाज एकदमै असंगत हुनेछ, जहाँ निर्णय मानिसले होइन, उसलाई नचिनेको प्रणालीले गर्नेछ । हामीले प्रविधिलाई सेवक बनाउन हो भने त्यसलाई प्रश्न, समीक्षा र दिशा दिन सक्ने चेतनाको विकास आजैबाट गर्नुपर्छ । किनभने एआईले आफैं निर्णय गर्दैन, हामी गर्छौं । त्यसैले हाम्रै विवेक, सोच र संवेदनशीलतामा आजको निर्णय र भोलिको भविष्य निर्भर छ । विज्ञान तबसम्म नै उपयोगी हुन्छ, जबसम्म त्यो मानवता अनुरूप रहन्छ । एआई पनि त्यस्तै हो । नत्र, त्यो केवल अर्को किसिमको ‘स्नेक ओइल’ बन्न सक्छ, जसले सपना देखाउँछ तर चेतना हराउँछ ।
हामी कुन बाटो रोज्ने ? यदि हामीले बुद्धिमत्ता, आलोचनात्मक सोच र स्थानीय सन्दर्भलाई आधार बनाएर अघि बढ्यौं भने एआई हाम्रो सेवक बन्न सक्छ, मालिक होइन । तर यदि हामी भ्रममा पर्यौं भने एआई हामीलाई होइन, हामी उसलाई सेवा गर्न थाल्नेछौं । हुन त एआईले प्रश्न गर्न सक्दैन । त्यो काम तपाईं र हामी मानवले नै गर्नुपर्छ । एआईको भविष्य हाम्रो हातमा छ, यसलाई भ्रम वा विज्ञानबाट नियन्त्रण गर्ने हाम्रो नै निर्णय हो । के एआई नेपालको विकासमा सहयोगी हुन सक्छ ? यसको उत्तर हामीले नैं खोज्नुपर्छ ।
