सामाजिक र संरचनागत रूपमै पछाडि पारिएका व्यक्ति र समुदायलाई हास्यव्यंग्यको विषयवस्तु बनाउनु हुन्छ कि हुँदैन भनेर अहिले खुब बहस चलेको छ । यो बहसपूर्व नेपाली फिल्म र हाम्रो कमेडी विधाले अपांगतालाई कसरी प्रस्तुत गर्दै आएको छ, यस्ता फिल्म एवं कमेडीले समाजलाई कस्तो मार्गदर्शन दिइरहेका छन् र अपांगता भएका व्यक्तिलाई यस्ता विषयवस्तुले के–कस्तो असर गरिरहेका छन् भन्नेबारे विचारविमर्श गर्नु जरुरी छ ।
नेपाली फिल्म र कमेडीले वर्षौंदेखि अपांगता भएका व्यक्ति र समुदायलाई हास्यव्यंग्यको विषयवस्तु बनाउँदा सहानुभूतिको पात्रका रूपमा उभ्याउँदै आएका छन् । सरकारलाई गाली गर्न वा समाजका नकारात्मक कुरा औंल्याउनुपर्यो भने अपांगतासँग सम्बन्धित शब्दलाई प्रयोग गर्नु, अपांगतालाई अज्ञानताको प्रतीकका रूपमा प्रस्तुत गर्नु अति सामान्य भएको छ । म आफैं दृष्टिविहीन पनि भएकाले नेपाली फिल्म र कमेडीमा अपांगताको चित्रण र यसले समुदायमा पार्ने असरबारे भलीभाँती परिचित छु ।
नेपाली फिल्मको कुरा गर्दा सन् २००८ को ‘पर्खी बसेँ’ मा मुख्य पात्र युनालाई दृष्टिविहीन पात्रका रूपमा प्रस्तुत गरिएको छ । त्यस समयमा अपांगतालाई फिल्मको मुख्य पात्रका रूपमा देखाउनु केही राम्रै मान्न सकिएला । यद्यपि, यस फिल्ममा युनालाई सशक्त पात्र नभई उनको दृष्टिविहीनतालाई कमजोर पक्षका रूपमा चित्रण गरिएको छ । फिल्ममा उनको दृष्टिविहीनता सहानुभूति उत्पन्न गर्ने माध्यमका रूपमा चित्रण छ । यस फिल्ममा एउटा यस्तोसम्म दृश्य छ कि युनाले टीका बांगो लगाएकी हुन्छिन्, उनको ब्राको लेस पनि बाहिर देखिन्छ । त्यो कुरा उनलाई अरू व्यक्तिले इंगित गरिदिनुपर्छ । यस्ता कथाले अपांगता भएका व्यक्तिलाई ड्रेसअपको चेतना नभएको, अरूको भर पर्नुपर्ने कमजोर पात्रका रूपमा देखाउँछ । वर्षौंदेखि यस्ता कथा पढ्दै र फिल्म हेर्दै आएको समाजले अपांगता भएका व्यक्तिप्रति बनाउने अवधारणा पनि सोहीअनुसारको हुने नै भयो । फिल्मले युनाको अपांगतालाई सोही अनुसार स्विकार्नूभन्दा उनको आँखा निको हुनैपर्ने कुरामा जोड दिएको छ । फिल्म धेरै समय युनाको दृष्टि फर्किने कथावस्तुमै घुमिरहन्छ र अन्त्यमा उनको आँखा निको भएको देखाइन्छ । उनले दृष्टि फर्केपछि मात्र आफूलाई अन्याय गर्ने व्यक्तिसँग बदला लिन सक्षम भएको पनि देखाइएको छ । यस्ता कथावस्तुले अपांगता भएका व्यक्तिले अपांगताका बाबजुद आफूमाथि अन्याय गर्नेविरुद्ध प्रतिकार गर्न सक्दैनन् भन्ने भाष्य निर्माण गर्दछ, जुन नितान्त गलत हो ।
२०१०–२०१८ को ‘नाइँ नभन्नू ल’ फिल्म शृंखलामा पनि दृष्टिविहीन, ह्वीलचियर प्रयोग गर्ने, बहिरा, दीर्घरोग लागेका पात्र प्रस्तुत गरिएको छ । यहाँ पनि अपांगता भएका पात्रलाई सहानुभूतिसँगै जोडिएको छ । अपांगता भएका पात्रलाई सामान्य जीवन ज्युन सक्ने सक्षम पात्रभन्दा सहानुभूतिको पात्रका रूपमा उभ्याइएको छ ।
२०१६ को ‘क्लासिक’ लाई अपांगताका दृष्टिकोणले केही प्रगतिशील मान्न सकिन्छ । फिल्मका पात्र दृष्टिविहीन रहेकाले सही भूमिका निभाउन सकियोस् भन्ने उद्देश्यले फिल्म निर्माणपूर्व वास्तविक दृष्टिविहीन व्यक्तिसँग परामर्श गरिएको थियो, जसलाई राम्रो पक्षका रूपमा हेर्नुपर्छ । फिल्मका मुख्य पात्र दृष्टि र समय दुवै दृष्टिविहीन हुन्छन् । दुवैको संगीतमा रुचि हुन्छ, एकआपसमा नजिकिन्छन् र प्रेम गर्न थाल्छन् । अपांगताका बाबजुद प्रेमसम्बन्ध अगाडि बढ्न सक्छ भन्ने देखाउन सफल यस फिल्मले पनि अपांगतालाई संघर्ष र ट्र्याजेडीका दृष्टिबाट बढी प्रस्तुत गरेको पाइन्छ । फिल्ममा दृष्टिविहीन व्यक्ति आश्रममा बस्छन् । के फिल्ममा अपांगता नभएका युवा देखाइएको थियो भने पनि उनीहरू आश्रममा नै बस्थे होला त ? पक्कै पनि कि घर नत्र डेरा वा होस्टलमा बस्थे होलान् । यस फिल्ममा पनि दृष्टिविहीनको दृष्टि फर्किन सक्ने कुरा देखाइएको छ । अपांगता निको नै पार्नुपर्छ भन्ने पुरानै मान्यताबाट यो फिल्म पनि टाढा जान सकेको छैन ।
हाम्रा फिल्म र कमेडी हिन्दीबाट धेरै हदसम्म प्रभावित छन् । हिन्दी फिल्म र टेलिफिल्म अपांगता अधिकारका दृष्टिले राम्रा र नराम्रा दुवै छन् । अपांगतालाई नकारात्मकता र दयासँग जोडेर देखाउने प्रचलन त्यहाँ पनि विद्यमान छ ।
कोरोनाको महामारीका समयमा भारत सरकारले लगाएको लकडाउनका बेला बनेको कमेडीको नै कुरा गरौं । लकडाउनको नियम उल्लंघन गर्दै कोही व्यक्ति सडकमा निस्किन्छ । प्रहरीले देखेपछि कारबाहीबाट बच्ने बहानाका रूपमा उक्त उसले आफू अपांगता भएको नाटक गर्छ । अपांगता भएको व्यक्ति भएपछि प्रहरीले पनि त्यसै छाडिदिन्छन् । कोरोनाको समयमा बनाइएका यस्ता कमेडीको त्यहाँका अपांगता समुदायले विरोध गरेका थिए । २०२३ तिर दार्जिलिङबाट प्रसारण गरिने नेपाली भाषाको एउटा कमेडी च्यानलमा दृष्टिविहीन, कान कम सुन्ने र बोल्न नसक्ने व्यक्तिको कठिन सञ्चार देखाउने नाममा अपांगतालाई निकै हास्यको विषय बनाएर प्रसारण गरिएको थियो । कमेडी नेपाली भाषाको भएकाले नेपालबाट हामीले विरोध गरेपछि उक्त भाग च्यानलबाट हटाइयो तर उनीहरूले माफी भने मागेनन् ।
हिन्दी फिल्म उद्योगमा अपांगता अधिकारका दृष्टिले सराहना गर्नुपर्ने फिल्महरू पनि बनेका छन् । २००५ को ‘ब्ल्याक’ फिल्म अपांगताको वास्तविक चित्रणका दृष्टिले धेरै यथार्थपरक छ । यस फिल्मले श्रवणदृष्टिविहीनता भएका व्यक्तिले सामना गर्ने चुनौतीलाई प्रभावकारी ढंगमा प्रस्तुत गर्दै कसरी प्रभावकारी शिक्षाले अपांगता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन सक्छ भन्ने कुरालाई चित्रण गरेको छ । २००७ को हिन्दी फिल्म ‘तारे जमिन पर’ मा इशान अवस्थी नामक डिस्लेक्सिया भएका बालकले लेख्न र पढ्न कठिनाइको सामना गर्नुपर्छ, उनको अपांगतालाई सुरुमा कसैले बुझ्दैनन् । पछि अर्को विद्यालयमा कला शिक्षकले उनको चित्रकलाको असाधारण क्षमतालाई बुझ्छन् र बालकको प्रतिभालाई उजागर गर्न मद्दत गर्छन् । यस्ता फिल्मले अपांगता भएका व्यक्तिलाई सकारात्मक रूपमा हेर्न र व्यवहार गर्न प्रेरित गर्छन् । यस्तै २०१७ को ‘काबिल’ फिल्मका रोहन र सुप्रिया दुवै मुख्य पात्र दृष्टिविहीन हुन् । फिल्ममा अपांगता भएका व्यक्तिको जीवनको रमाइलो पक्ष, उनीहरूले सामना गर्नुपर्ने संघर्ष, समाजबाट भोग्नुपर्ने विभेदलगायतका विविध पक्षलाई सन्तुलित रूपमा देखाइएको छ । त्यस्तै २०२४ को ‘श्रीकान्त’ फिल्मले भारतका दृष्टिविहीन उद्यमी श्रीकान्त बोल्लाका संघर्ष र उपलब्धिको प्रेरणादायी कथा प्रस्तुत गरेको छ ।
हो, अपांगता सामाजिक विविधताको महत्त्वपूर्ण पाटो मानिन्छ । फिल्म एवं कमेडीमा अपांगता भएका व्यक्तिको क्षमता, चुनौती र जीवनशैलीलाई अतिरञ्जित नभई यथार्थपरक रूपमा चित्रण गरिनु जरुरी छ । अपांगतालाई नेपाली फिल्म र कमेडीमा देखाउँदै नदेखाउने होइन तर तिनलाई निरीह, अतिरञ्जित र सहानुभूतिको पात्रका रूपमा मात्रै प्रस्तुत गर्नु भएन । सामाजिक अभियन्ता, उदाहरणीय व्यक्तित्व, निडर र कर्मशील पात्रका रूपमा उनीहरूले समाजमा निर्वाह गरिरहेको भूमिकालाई फिल्ममा देखाउनु पनि जरुरी भइसकेको छ ।
