वित्तीय साक्षरता व्यक्तिको आर्थिक कल्याण, वित्तीय सेवाको जिम्मेवार प्रयोग र नेपालको समग्र आर्थिक विकासका लागि अपरिहार्य छ
वित्तीय साक्षरता भविष्यका लागि योजना बनाउन, बुद्धिमानीपूर्वक वित्तीय निर्णयहरू लिन र सम्भावित जोखिमहरूबाट बच्न सक्ने ज्ञान र सीपको संयोजन हो । नेपालमा मानिस वित्तीय सेवामा नयाँ छन् । तिनको सही उपयोग गर्न र आर्थिक भविष्य सुरक्षित गर्न उनीहरूलाई मद्दतको खाँचो छ । वित्तीय साक्षरताले आफ्नो आर्थिक लक्ष्यहरू निर्धारण गर्न, बचत गर्न, लगानी गर्न र आवश्यकता परेको खण्डमा जिम्मेवारीपूर्वक ऋण लिन सक्षम बनाउँछ ।
यसले समग्रमा परिवारको आर्थिक स्थिरता र देशको आर्थिक विकासमा समेत महत्त्वपूर्ण भूमिका खेल्छ । वित्तीय सेवामा पहुँचका अतिरिक्त तिनको बुद्धिमानीपूर्वक प्रयोग गर्ने ज्ञान र सीप पनि चाहिन्छ । वित्तीय अवधारणा र उत्पादनको ज्ञानबिना तिनको प्रयोगमा हिचकिचाहट हुन सक्छ वा गलत प्रयोग हुन सक्छ ।
नेपाल राष्ट्र बैंकले सन् २०२२ मा गरेको आधारभूत सर्वेक्षणले नेपालको राष्ट्रिय वित्तीय साक्षरता ५७.९ प्रतिशत रहेको देखाएको छ, जुन २० मा ११.५९ अंक हो । सन् २०२० मा २६ ‘ओईसीडी’ देशहरूको औसत ६१ प्रतिशतको तुलनामा नेपालको वित्तीय साक्षरता दर केही कम देखिएको छ । यसले अन्तर्राष्ट्रिय मापदण्डमा पुग्न वित्तीय साक्षरतामा सुधारको आवश्यकता देखिन्छ ।
वित्तीय साक्षरताको समग्र स्कोरलाई तीन मुख्य भागमा विभाजन गरिएको छ : वित्तीय ज्ञान, वित्तीय व्यवहार र वित्तीय मनोवृत्ति । यी तीन भागहरूमध्ये वित्तीय ज्ञानको स्कोर सबैभन्दा कम छ, जसले आधारभूत वित्तीय अवधारणा बुझाइमै कमी रहेको संकेत गर्दछ ।
यसले सर्वेक्षणमा धेरै कलेजका विद्यार्थीहरूले क्रेडिट, कर, सेयर बजार, वित्तीय विवरण र बिमाजस्ता विषयहरू नबुझेको तथ्य पनि उजागर गरेको थियो । आधारभूत ज्ञान नहुँदा जटिल वित्तीय उत्पादन र सेवाहरूको बारेमा सूचित निर्णयहरू गर्न गाह्रो हुनेछ ।
वित्तीय व्यवहारको उच्च स्कोरले नेपालीहरूमा बचत गर्नेजस्ता सकारात्मक वित्तीय बानीहरू रहेको देखाउँछ । त्यस्तै, वित्तीय मनोवृत्तिको उच्च स्कोरले वित्तीय मामिलामा संलग्न हुन इच्छुक र बचतप्रति सकारात्मक दृष्टिकोण रहेको देखाउँछ । यसलाई ज्ञान र व्यवहार सुधार गर्न प्रयोग गर्न सकिन्छ ।
लैंगिक आधारमा विश्लेषण गर्दा, महिलाहरूको तुलनामा पुरुषहरूमा उल्लेखनीय रूपमा उच्च वित्तीय साक्षरता स्कोर (७.५ प्रतिशत बिन्दुले बढी) र वित्तीय ज्ञान स्कोर (१७.९ प्रतिशत बिन्दुले बढी) रहेको छ । यसले महिलाहरूमा वित्तीय साक्षरता सुधार गर्ने प्रभावकारी कार्यक्रमको आवश्यकता रहेको देखिन्छ ।
महिलाहरूको आर्थिक सशक्तीकरण एक प्रमुख विकास लक्ष्य भएकाले यो विशेष गरी महत्त्वपूर्ण छ । महिलामा वित्तीय साक्षरताको कमीले अर्थव्यवस्थामा पूर्ण रूपमा भाग लिने र आफ्नै र आफ्ना परिवारका लागि सूचित वित्तीय निर्णयहरू लिने क्षमतालाई सीमित गर्न सक्छ । पुरुष सदस्य वैदेशिक रोजगारीमा जाने प्रचलनका कारण पनि वित्तीय साक्षरताका सबै पक्षमा महिलाको ज्ञान वृद्धि गर्नु जरुरी भइसकेको छ ।
वित्तीय साक्षरतालाई उमेर समूह, शिक्षाको स्तर, आयको स्तर, पेसाको प्रवृत्ति र प्रकार, विकास तथा सहरीकरणले पनि प्रत्यक्ष प्रभाव पर्छ । अध्ययनले नै औपचारिक शिक्षाको स्तर बढ्दै जाँदा वित्तीय साक्षरता स्कोरमा सकारात्मक प्रभाव परेको देखाएको छ । त्यस्तै उच्च आय समूहको वित्तीय साक्षरता स्कोर न्यून आय भएका भन्दा बढी छ ।
पेसागत आधारमा हेर्दा, तलब/ज्याला कर्मचारी र स्वरोजगार व्यक्तिहरूको वित्तीय साक्षरता स्कोर गृहिणी र बेरोजगार/रोजगारी नखोजेकाको तुलनामा उच्च वित्तीय साक्षरता स्कोर (६४ प्रतिशत) रहेको छ । शिक्षा क्षेत्रमा संलग्न व्यक्तिहरूको वित्तीय साक्षरता स्कोर बढी छ भने कृषि क्षेत्रमा संलग्नहरूको कम छ । प्रदेशगत रूपमा हेर्दा, बागमती प्रदेशमा सबैभन्दा उच्च वित्तीय साक्षरता स्कोर छ भने मधेश प्रदेशमा सबैभन्दा कम छ ।
नेपालमा वित्तीय साक्षरता अभिवृद्धि गर्न विभिन्न पहलहरू जारी छन् । नेपाल राष्ट्र बैंकले समावेशी वित्तीय प्रणाली विकास गर्न र वित्तीय साक्षरता विस्तार गर्न काम गरिरहेको छ । बैंकले विद्यार्थीहरूमा वित्तीय साक्षरता बढाउन ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम सुरु गरेको छ । नेपाल राष्ट्र बैंकको रणनीतिक योजना २०१२–२०१६ ले महिला, द्वन्द्वपीडित, जातीय अल्पसंख्यक र सीमान्तकृत समूहहरूका लागि वित्तीय साक्षरता कार्यक्रमहरूमा ध्यान केन्द्रित गरेको थियो ।
सन् २०१२ देखिको मौद्रिक नीतिले वित्तीय जागरूकता कार्यक्रमहरूलाई जोड दिएको छ । बैंकले वित्तीय साक्षरता प्रयासहरूलाई व्यवस्थित गर्न २०२२ मा वित्तीय साक्षरता ढाँचा विकास गरेको छ । यसको उद्देश्य वित्तीय पहुँच बढाउनु र वित्तीय प्रणालीको स्थिरतालाई सहज बनाउनु हो । नेपाल राष्ट्र बैंकले विद्यालय पाठ्यक्रममा वित्तीय साक्षरता सामग्री समावेश गर्न पाठ्यक्रम विकास केन्द्रसँग सहकार्य गरिरहेको छ । बैंक तथा वित्तीय संस्थामार्फत वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । वित्तीय जागरुकता बढाउन ‘ग्लोबल मनी विक’ पनि मनाइन्छ ।
डिजिटल लेनदेनको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै, डिजिटल वित्तीय साक्षरता प्रवर्द्धनमा जोड दिइएको छ । वित्तीय उपभोक्ता अधिकार र गुनासो सुनुवाइ संयन्त्रबारे जागरुकता बढाउने प्रयासहरू पनि भइरहेका छन् । सीमान्तकृत समूहका लागि अनुकूलित वित्तीय उत्पादन, वित्तीय ज्ञान सुधारमा ध्यान केन्द्रित गर्नु र शिक्षामा वित्तीय साक्षरतालाई एकीकृत गर्ने निरन्तर प्रयास महत्त्वपूर्ण छन् ।
नेपालमा वित्तीय साक्षरतालाई प्रभावकारी रूपमा सुधार गर्न केन्द्रीय बैंक, सरकार, शैक्षिक संस्थाहरू, वित्तीय सेवा प्रदायकहरू र सामुदायिक संगठनहरूको संलग्नतामा बहुआयामिक दृष्टिकोण आवश्यक छ ।
समग्रमा, नेपालले वित्तीय साक्षरता बढाउन पहल गरिरहेको भए पनि यसमा प्रशस्त सुधारको आवश्यकता छ । शिक्षा, उमेर, लैंगिक, आय, पेसा, भौगोलिक स्थान र पारिवारिक प्रभावजस्ता कारणले वित्तीय साक्षरतालाई प्रभाव पार्छन् । तसर्थ सरकार र सरोकारवालाले यी क्षेत्र लक्षित कार्यक्रम गर्नुपर्छ । वित्तीय साक्षरता व्यक्तिको आर्थिक कल्याण, वित्तीय सेवाको जिम्मेवार प्रयोग र नेपालको समग्र आर्थिक विकासका लागि अपरिहार्य छ । अहिलेसम्म भएका प्रयासहरूको सिकाइ र उपलब्धि के भए, त्यसको पनि समीक्षा हुनुपर्छ ।
बैंकिङ कारोबार, बचत र पछिल्लो समय अनलाइन पेमेन्टसम्म पुगेको आम नेपालीको वित्तीय व्यवहार लगानी, वित्तीय योजना बनाउने र जोखिमको आकलनसमेत गर्न सक्ने हुनुपर्छ । यसका लागि सरकार, राष्ट्र बैंक र अन्य सरोकारवालाले वित्तीय ज्ञानको दायरा साँघुरो भएको समूह लक्षित कार्यक्रम गर्नुपर्छ । सबैलाई एउटै डालोमा राखेर गरिने कार्यक्रम प्रभावकारी हुँदैनन् । वित्तीय साक्षरतामा सुधार ल्याउनु एक दीर्घकालीन प्रक्रिया हो, जसमा समाजका सबै क्षेत्रबाट निरन्तर प्रतिबद्धता र सहकार्य आवश्यक पर्दछ ।
