अधिक लगानीले निम्त्याएको समस्या

अब लगानीका लागि हाम्रो प्राथमिकताको पहिलो क्षेत्र सूचना प्रविधि, दोस्रो अर्गानिक कृषि, तेस्रो पर्यटन र त्यसपछि जलविद्युत् हुनुपर्छ

जेष्ठ २६, २०८२

प्रवलजंग पाण्डे

Problems caused by overinvestment

जेठ १५ गते बजेट पेस गर्ने क्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको विद्यमान चुनौतीका सन्दर्भमा लगानीको विषयलाई उल्लेख गरेका छन् । उनले ‘मुलुकको कुल स्थिर पुँजी निर्माणमा निजी क्षेत्रको योगदान अपेक्षित मात्रामा बढ्न नसकेको’ बताएका थिए । लगानी जोखिम व्यवस्थापन गर्न विकसित भएका नयाँ नयाँ वित्तीय उपकरण प्रभावकारी रूपमा परिचालन गर्न नसकिएको र उत्पादनमूलक क्षेत्रमा आवश्यक मात्रामा वित्तीय साधन प्रवाह हुन नसकेको पनि उनको भनाइ थियो । पक्कै पनि पछिल्लो समय लगानी कम भएको होला । तर मुलुकमा लगानी कम भएको होइन, बढी भएर समस्या आएको हो ।

२०४६ पछि प्रजातान्त्रिक सरकारले लिएको खुला बजार अर्थतन्त्रपछि एक्कासि बन्द भएका सबै ढोका खोल्दा निजी क्षेत्रले लगानी गर्ने थुप्रै सम्भावनाका क्षेत्र पहिचान गरी लगानी बिस्तार गर्‍यो । निजी क्षेत्रले एयरलाइन्स कम्पनी, बैंक तथा बिमा कम्पनी, अस्पताल, विद्यालय, मेडिकल र इन्जिनियरिङ कलेजहरू, उद्योग, तारे होटल, यातायात, विद्युत् उत्पादन क्षेत्रमा ठूलो लगानी गर्‍यो । जसले रोजगारी बढाउनुका साथै सरकारको राजस्व वृद्धिमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो । फलस्वरूप तीन–चार वर्षमै देशको कुल अर्थतन्त्रको आकार जीडीपीको वृद्धिदर पनि निरन्तरजस्तो ७/८ प्रतिशत हाराहारीमा भइरह्यो । सो समयमा अवसर थियो । जुनसुकै क्षेत्रमा लगानी गरे पनि हुन्थ्यो । जताततै लगानीका लागि ‘भर्जिन ल्यान्ड’ थियो । सरकार निजी क्षेत्रमैत्री थियो । निजी क्षेत्रको चाहना, आवश्यकता र सुझाव अनुसार कानुनका मस्यौदा बने, त्यसलाई संसद्ले समेत झमेला नगरी पास गरिदियो । लगानी पनि भइरह्यो, नतिजा पनि चाहेअनुरूप नै आइरह्यो । 

तर, केही वर्षमै सरकार अस्थिरताको भुमरीमा फस्यो । माओवादी द्वन्द्व सुरु भयो । निजी क्षेत्रको लगानी पनि रोकियो । त्यतिबेला धेरैले उद्योगमा लगानी गरेनन्, कतिपयले जग्गामा मात्रै लगानी गरेर बसे । २०४६ पछि जुन गतिमा निजी क्षेत्रको लगानी विस्तार भएको थियो, राजनीतिक अस्थिरताले लगानी विस्तार घट्यो । तर २०६२–६३ को जनआन्दोलनपश्चात् नेपालमा शान्ति छायो । लगत्तै निजी क्षेत्रले सिमेन्ट, डन्डी, औषधि, बिमा क्षेत्र, विद्युत् उत्पादन, होटल तथा अन्य पर्यटनसम्बन्धी उद्योग, उत्पादनमूलक क्षेत्रमा फेरि थप लगानी वृद्धि गरे । लगानी यति धेरै भयो कि कतिपय क्षेत्रको मागभन्दा आपूर्ति बढी हुन थाल्यो । त्यतिबेला नै काठमाडौंदेखि मुलुकका मुख्य सहरमा जग्गाको मूल्य अकासिँदै गयो । सरकार पनि मालपोत कर बढी नै आइरहेको छ भनेर रमाएरै बस्यो । मालपोत कर अझै बढी उठाउन सरकारले जग्गाको सरकारी मूल्य बढाइरह्यो । 

सहरमा एउटा सानो घर बनाउने सपना देख्ने युवा वर्गलाई समेत त्यसको असर पर्‍यो । जग्गाको मूल्य अप्रत्याशित र अत्यधिक वृद्धि हुँदा अहिले पनि त्यस्ता युवाको सहरमा घर हुने सपना पूरा हुन सकेको छैन । अब युवा पुस्ताले नेपालमा बसेर सपना पूरा गर्न नसकिने भन्दै विदेश पलायनको विकल्प रोजे । एकातिर नयाँ लगानीले मागभन्दा आपूर्ति बढ्दै गयो, अर्कोतर्फ युवा पलायन हुँदै गर्दा माग झन् संकुचन हुँदै गयो । अचानक आएको कोभिड–१९ ले पनि माग र उत्पादनको चक्र बिग्रियो । कैयौं उद्योग, यातायात क्षेत्र तथा साना मझौला व्यवसायी पलायन भए, कैयौं बैंक कालो सूचीमा परे, बैंक तथा वित्तीय क्षेत्र पनि ऋणको साँवा–ब्याज भुक्तानी नभएर संकटग्रस्त हुँदै गए । 

वित्तीय स्रोत सबै अहिले घरजग्गामा गएर अड्किएको छ । जग्गामा अत्यधिक लगानी हुनुमा सरकारले सहकारीलाई नियमन गर्न नसक्नु र सरकारी मूल्यांकन वृद्धि भई वित्तीय संस्थाबाट अत्यधिक ऋण प्रवाह हुनु नै मुख्य कारण हुन् । अर्कोतर्फ मागभन्दा अधिक आपूर्तिले गर्दा सञ्चालनमा रहेका उद्योग व्यवसायले ३०/४० प्रतिशत हाराहारी मात्र उत्पादन गरिरहेका छन्, जसले गर्दा राम्रो प्रतिफल पाउन सकिरहेका छैनन् । घाटामा सञ्चालन हुँदा बैंकको किस्ता तिर्न सकेका छैनन् । सरकारले पनि आयकर पाउन सकेन । व्यवसाय र बैंक मात्र हैन, सरकारको राजस्व पनि प्रभावित बन्न पुग्यो ।

के अब हामीले यस्तो अवस्थामा निजी क्षेत्रसँग थप लगानी वृद्धि गरी बैंकमा थुप्रिएको रकम प्रयोग गरी अर्थतन्त्र चलायमान गर्न सक्छौं त ? लगानीको नयाँ क्षेत्र पहिचान गरी निजी क्षेत्रलाई आकर्षित गर्न सक्छौं त ? हरेक दिन निजी क्षेत्र र सरकारले यस्तै विषयमा चिन्ता गरिरहेको छ । सञ्चारमाध्यममा पनि यस्तै उपाय खोज्दै बहस तथा विचारविमर्श भइरहेका छन् । 

अब लगानी बढी भई समस्यामा परेका क्षेत्रको लगानी वृद्धिलाई प्रोत्साहित गर्ने होइन, निरुत्साहित गर्नुपर्ने बेला आएको छ । त्यसका लागि लगानीको सम्भावना भएका अन्य क्षेत्रको पहिचान गर्नु जरुरी छ । अब लगानीका लागि हाम्रो प्राथमिकताको पहिलो क्षेत्र सूचना प्रविधि, दोस्रो अर्गानिक कृषि, तेस्रो पर्यटन र त्यसपछि जलविद्युत् हुनुपर्छ ।

भर्खरै सार्वजनिक भएको बजेटले सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट हुने, नेपालमा बसेर काम गर्ने विदेशीले विदेशमा सूचना प्रविधि सेवा निर्यात गरेबापत आयकर ५ प्रतिशत मात्र लाग्ने, ५ वर्षसम्म स्टार्टअप व्यवसायलाई आयकर नलाग्ने, स्टार्टअपहरूकै लागि २ देखि २० लाखसम्म ३ प्रतिशत ब्याजमा ऋण दिइने भएको छ । बजेटको यो सकारात्मक कदम हो, तर अझै पर्याप्त भएन । हामीले यो क्षेत्रमा अझै ठूलो फड्को मार्ने हो भने सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवाको आम्दानीमा कम्तीमा ५/७ वर्ष आयकर शून्य बनाऔं । सूचना प्रविधिमा लगानी गरी विदेश निर्यात गर्ने कम्पनीलाई ५ वर्ष पूरै आयकर छुट दिऊँ । सूचना प्रविधि क्षेत्र (आईटी पार्क) निर्माण गरौं, जसले दक्ष जनशक्तिलाई नेपालमै रोक्न सकोस् । यसले लगानीका धेरैवटा ढोका खुला गर्नेछ ।

त्यसैगरी परम्परागत कृषिभन्दा व्यावसायिक कृषिमार्फत अर्गानिक खेतीलाई प्रोत्साहन गरौं । अर्गानिक फार्मिङलाई ‘ब्रान्डिङ’ गर्दा हाम्रो कृषि उत्पादनले विश्वको जुनै कुनामा पनि उचित मूल्य प्राप्त गर्न सक्नेछ । अर्कोतिर जबसम्म हामीसँग हाम्रै हवाई जहाजको सञ्जाल हुँदैन, हाम्रो पर्यटन क्षेत्र अगाडि बढ्न सक्दैन । हाल सञ्चालनमा रहेका ३ अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चलाउन, विदेशी विमान कम्पनीको मुख नताकी राष्ट्रिय ध्वजावाहकलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गरी १२–१५ वटा विमान थप्नुपर्ने आवश्यकता छ । जसले पर्यटक संख्या वार्षिक ११ लाखबाट ३०/३५ लाख पुगोस् । सीमा क्षेत्रबाट भारतीय पर्यटक भित्र्याउन नेपाल–भारत टुर अपरेटरलाई सहुलियत दिएर प्रोत्साहन गरौं । पर्यटन क्षेत्रले गाउँदेखि सहरसम्मको अर्थतन्त्र चलायमान गरी रोजगारी पनि सिर्जना गर्छ ।

ऊर्जा क्षेत्रमा निजी क्षेत्रको प्रवेशले आज हामी ऊर्जा निर्यातक राष्ट्र बनिसकेका छौं । यो हाम्रो गौरव हो । केही वर्षमै १० हजार मेगावाट बिजुली भारत र ५ हजार मेगावाट बंगलादेश निर्यात गर्ने लक्ष्य राखेका छौं । त्यसका लागि केही पूर्वाधारसमेत बनिरहेका छन् । अब निजी क्षेत्रलाई विद्युत् उत्पादन मात्र हैन, विद्युत् प्रसारण लाइन र वितरणमा पनि क्रमिक रूपमा सहभागिता गराउन नियम कानुन संशोधन गर्दै जाऔं । निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागी गरायौं भने अमेरिकाको एमसीसी परियोजना बन्द भएर पनि केही फरक पर्दैन । घरघरमा सोलार पावर जडान गरी राष्ट्रिय ग्रिडमा जोड्ने व्यवस्था गरौं । यसको सफल परीक्षण पनि भइसकेको छ । तर पूर्वाधारको भने अझै आवश्यकता छ । पुँजी भएको जोकोही व्यक्ति अहिले लगानी गर्न चाहन्छ । त्यसका लागि सम्भावित क्षेत्रहरू देखाइदिने र नीति बनाइदिने काम सरकारको हो । निजी क्षेत्र थप लगानीका लागि अब त्यसैको पर्खाइमा छ ।

प्रवलजंग पाण्डे पाण्डे सिटिजन्स बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य हुन् ।

Link copied successfully