प्रकृति कुनै साधन होइन, यो त जीवनकै आधार हो। आज देखिएका सबै संकटहरूको मूल कारण मानव चित्तको असन्तुलन हो। बौद्ध शिक्षाले चित्तलाई शुद्ध, सजग र करुणामय बनाउने मार्ग देखाउँछ।
२१औँ शताब्दीको विश्वको सबैभन्दा ठुलो संकटमध्ये एक हो वातावरणीय विनाश । जलवायु परिवर्तन, जैविक विविधताको क्षय, वन फडानी, अनियन्त्रित औद्योगिकीकरण, प्लास्टिकजन्य वस्तुको बढ्दो प्रयोगबाट मानव अस्तित्व नै खतरामा पर्ने सम्भावनाहरू बढदै गएको छ।
विकासको नाममा भइरहेको अनियन्त्रित प्राकृतिक दोहन, अति लोभ र असंयमित उपभोगको प्रवृत्तिले आज पृथ्वी गम्भीर पर्यावरणीय संकटको गर्तमा पुगेको छ।
हाल देखा परिरहेका असामान्य मौसमी घटना, तापक्रममा द्रुततर वृद्धि, जैविक विविधताको क्षय आदि प्रस्टै देखिन थालेका वातावरणीय विनाशका सूचकहरू हुन् जसले जोखिमपूर्ण भविष्यको स्पष्ट संकेत गरिरहेका छन् ।
सन् २०२५ मा प्रवेश गर्दै गर्दा पृथ्वीको औसत तापक्रम १.५ डिग्री सेल्सियसले बढिसकेको छ। यसको परिणामस्वरूप ध्रुवीय हिउँ पग्लनु, समुद्री सतह बढ्नु, खेतीयोग्य भूमि मरुभूमिमा परिणत हुनुजस्ता घटनाहरू देखिँदै छन्। नेपालको सन्दर्भमा असामान्य खडेरी, अत्यधिक वर्षा र बाढी पहिरोले जनधनमा विनाश ल्याइरहेको छ । वायु प्रदुषण विशेष गरी सहरहरूमा क्यान्सर सरह घातक बनिरहेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष ७० लाख भन्दा बढी मानिस वायु प्रदूषणजन्य रोगका कारण अकाल मृत्युवरण गरिरहेका छन् । जलस्रोतहरूमा रासायनिक मल, उद्योगबाट निस्कने फोहर एवम् प्लास्टिकजन्य वस्तुको मिसावट अर्को गम्भीर समस्या बनेको छ ।
हाल समुद्रमा करिब १५ करोड टन प्लास्टिक फोहर थुप्रिइसकेको छ, जसले लाखौँ जलचरहरू मर्ने अवस्था सिर्जना गरेको छ । मानव केन्द्रित विकासप्रति बढ्दो निर्भरता र भोगवादी सोचले अन्य प्राणीहरूको अस्तित्व नै संकटमा पारिरहेको सन्दर्भमा, अब पूर्वीय धार्मिक तथा नैतिक मूल्यहरूको महत्त्व पुनः उजागर भइरहेको छ। विशेषतः बौद्ध दर्शन, ज्ञान र आचरणमा यस्ता संकटहरूको उत्तर खोज्ने सम्भावना देखिन्छ।
बौद्ध शिक्षाको मूल मर्ममा वातावरणप्रतिको गहिरो संवेदना, सहअस्तित्वको चेतना र जैविक–अजैविक वस्तुहरूप्रतिको आपसी निर्भरता स्पष्ट रूपमा पाइन्छ। यद्यपि 'वातावरण' भन्ने शब्द प्रत्यक्ष प्रयोग गरिएको छैन, तर चार महाभूत- पृथ्वी, आपो, तेजो, वायो- र जीवित प्राणीबीचको अन्तरसम्बन्धमार्फत वातावरणीय सन्तुलनको महत्त्वपूर्ण व्याख्या गरिएको छ ।
जब यी तत्त्वहरूको सन्तुलन बिग्रन्छ, तब रोग, दुःख र विनाश उत्पन्न हुन्छ । बौद्ध साहित्यमा मानव कर्म, लोभ, द्वेष र मोहले पृथ्वीलाई कसरी संकटमा पार्छ भन्ने विस्तृत व्याख्या पाइन्छ । यी साहित्यहरूमा पर्यावरणलाई जीव र अजीवबीचको अन्तर सम्बन्धित सहअस्तित्व को रूपमा व्याख्या गरिएको छ।
मानवको चित्त, आचरण र तृष्णाले प्रकृतिको सन्तुलनमा कसरी असर गर्छ भन्ने विषयमा विस्तृत चर्चा गरिएको छ । त्यसैले बौद्ध दृष्टिकोणमा वातावरण केवल बाह्य वस्तु मात्र होइन, चित्तको प्रतिबिम्ब पनि हो।
बौद्ध दर्शनमा करुणा, अहिंसा, र समभावको केन्द्रीय स्थान छ। यी मूल्यहरूले नै पर्यावरणीय संरक्षणको स्पष्ट मार्ग देखाउँछन्। यस दर्शन अनुसार करुणा भनेको केवल मानवप्रति मात्र देखाइने होइन, यो त सम्पूर्ण जीव र प्राकृतिक तत्त्वहरूप्रति देखाइने दया र सम्मानको अभ्यास हो।
बौद्ध अभ्यासमा सबै प्राणीप्रति असीमित मैत्री भाव विकसित गरिन्छ जसका कारण वृक्ष, वन्यजन्तु, नदी, पर्वत आदिमा पनि करुणा र समर्पणको चेतना उत्पन्न हुन्छ। बुद्धका अघिल्लो जन्मको वर्णन गर्ने जातक कथाहरूमा बोधिसत्त्वको वातावरणप्रतिको करुणा र समर्पण भाव अत्यन्त स्पष्ट रूपले देखाइएको छ । यस प्रकार बौद्ध दर्शनका आधारमा हामीले बुझ्नु पर्दछ कि वातावरणीय संरक्षण केवल वैज्ञानिक वा राजनीतिक मुद्दा मात्र होइन, यो नैतिक, आध्यात्मिक र मानवीय कर्तव्य पनि हो।
बौद्ध दर्शन अन्तर्गत प्रतीत्यसमुत्पाद सिद्धान्तले जैविक एवम् अजैविक वस्तुहरुबिचको कुशल तथा अकुशल अन्तरसम्बन्धको आधारमा पर्यावरणको चर्चा गर्दछ । यस सिद्धान्त अनुसार सबै वस्तु र प्राणीहरू परस्पर आश्रित छन् जसलाई यो हुँदा त्यो हुन्छ, यो नहुँदा त्यो हुँदैन भन्ने सूत्रमा संक्षेप गर्न सकिन्छ।
यस सिद्धान्तका अनुसार अज्ञान र अतिसय लोभ (तृष्णा) को कारण व्यक्तिले आफू प्रकृतिको अन्योन्याश्रित अंश भएको तथ्य भुल्दछ र प्रकृतिको विनाशका निम्ति उद्यत हुन्छ । त्यसकारण बौद्ध दर्शनको अन्तर निर्भरता को शिक्षाले वातावरण संरक्षणलाई एक नैतिक, आध्यात्मिक र व्यवहारिक उत्तरदायित्वको अर्थमा बुझाउँछ। जब हामी बुझ्छौँ कि हाम्रै सास र जीवन प्रकृतिमा आश्रित छ, तब प्रकृतिप्रतिको व्यवहार पनि परिवर्तन हुन्छ। यही चेतना नै वातावरणीय संकटको दिगो समाधानतर्फको पहिलो पाइला हो।
विभिन्न बौद्ध राष्ट्रहरूले सम्यक आजीविका, करुणा, अहिंसा, पर्यावरणीय सहिष्णुता एवम् प्रतित्य समुत्पाद जस्ता सिद्धान्तहरूलाई अपनाएर वातावरण संरक्षणमा प्रशंसनीय उदाहरण प्रस्तुत गरेका छन्। थाइल्याण्डको वन अभिषेक अभियानमा रुखहरूलाई भिक्षुहरूझैँ गेरुवा वस्त्रमा अभिषेक गरेर जीवित प्राणीको सम्मान दिइन्छ। थाइल्याण्डस्थित अग्रभिक्षु फ्रा प्राचक खुत्तजित्तोको अगुवाइमा सन् १९९० को दशकबाट यो परम्पराको सुरुवात भएको हो ।
यो अभियानले धार्मिक भावनालाई वातावरण संरक्षणमा जोडेर गहिरो प्रभाव पारेको छ। सन् २०१५ मा अर्का भिक्षु फ्राजेक फोमेटोले प्रस्ताव गरेको इको टेम्पल अवधारणामा प्लास्टिक फोहोरबाट मन्दिर निर्माण गरिन्छ र वन संरक्षणलाई धार्मिक अभ्यासको रूपमा अंगालिन्छ।
त्यस्तै, श्रीलङ्काको स्यान्डलवुड बोधिसत्त्व अभियानले युवा बौद्ध भिक्षुहरूको सहभागितामा वृक्षारोपण, जैविक विविधताको संरक्षण र पर्यावरणीय चेतनालाई बौद्ध चर्याको रूपमा सन् २०१० बाट अघि बढाएको छ। भुटानले अपनाएको ग्रस नेशनल ह्याप्पिनेस- राष्ट्रिय समृद्धिको सट्टा राष्ट्रिय खुसी- जस्तो अवधारणा वातावरणीय सन्तुलन र बौद्ध मूल्यहरूमा आधारित सफल प्रयोग हो, जसबाट नेपालले पनि पाठ सिक्न सक्छ।
विश्व वातावरण दिवस २०२५ ले हामीलाई पुनः स्मरण गराएको छ- प्रकृति कुनै साधन होइन, यो त जीवनकै आधार हो। आज देखिएका सबै संकटहरूको मूल कारण मानव चित्तको असन्तुलन हो। बौद्ध शिक्षाले चित्तलाई शुद्ध, सजग र करुणामय बनाउने मार्ग देखाउँछ। यदि हामीले चित्त, चेतना र चर्या तीनवटैलाई परिवर्तन गर्न सकेनौँ भने, केवल नाराले मात्र वातावरण जोगिँदैन।
अतः वातावरण संरक्षणको सन्देश नारा आधारित होइन, चेतना आधारित हुनुपर्छ। नारा यति मात्र होस्- 'सजग बनौँ, सहअस्तित्व अपनाऔँ, करुणालाई व्यवहारमा उतारौँ। यही हाम्रो साँचो धर्म हो, यही नै हाम्रो साझा भविष्य।'
