बजेटको एकल लक्ष्य रोजगारी सिर्जना

अनेकथरी नयाँ शीर्षकमा बजेट छर्नुभन्दा एउटा मुख्य सन्देश दिने, प्रमुख विषय र त्यसैलाई केन्द्रमा राखी योजना तथा कार्यक्रम ल्याउनुपर्छ 

जेष्ठ ५, २०८२

राजेन्द्र पण्डित

The single objective of the budget is job creation

ठोस कार्यान्वयनको आधारबिना नै अत्यधिक महत्त्वाकांक्षी योजना तथा नाराका रूपमा कार्यक्रमहरू प्रस्तुत गर्ने प्रवृत्ति बढ्दै जाँदा बजेट झनै अवास्तविक र लोकप्रियतामुखी बन्दै गएको देखिन्छ । बजेटले राखेको लक्ष्य र वास्तविक उपलब्धिबीच लामो दूरी सिर्जना भएको देखिन्छ ।

उदाहरणका लागि, विगत २ वर्षको तथ्यांक हेर्दा कुल अनुमानित खर्चभन्दा यथार्थ खर्च करिब २० प्रतिशतभन्दा बढीले कम भएको देखिन्छ । वास्तविक पुँजीगत खर्च अनुमानको दुई तिहाइमात्र हुने गरेको देखिन्छ । चालु आर्थिक वर्ष २०८१/०८२ का लागि अनुमानित बजेटको आकार, यसै वर्षको अर्धवार्षिक समीक्षामा १० प्रतिशतले घटाइएको छ । पुँजीगत खर्च १५ प्रतिशतले कम गरिएको छ ।

बजेट केवल एक वर्षका कार्यक्रमहरूको सूची मात्र नभई, यो सरकारको दीर्घकालीन सोच, रणनीति र नीति दिशानिर्देशको निरन्तरता हो । यसले सरकारको मध्यअवधिको मार्गचित्र पनि प्रस्तुत गर्छ । जसमा समावेश कार्यक्रमहरू नीतिगत स्थिरता, परिणाममुखी योजना र दिगो वित्तीय व्यवस्थापनको पक्षमा हुनुपर्छ । सिद्धान्तत: हरेक वर्षको बजेट निर्माण प्रक्रियाको सुरुआत विगत केही वर्षअघिदेखि नै गरिएको हुनुपर्छ । किनकि, यसले मुलुकको दीर्घकालीन आर्थिक लक्ष्य, संरचनागत सुधार र दिगो विकास योजनाहरूसँग समन्वय गर्न सकोस् ।

सामान्यत: बजेट वक्तव्यमा उल्लेखित एउटा कार्यक्रम वा परियोजनाले करिब २ देखि ३ वर्षको अवधि तयारीका क्रममा यसअघि पूरा गरेको हुन्छ । यसबीचमा परियोजनाको पहिचान, सम्भाव्यता अध्ययन, लागत लाभको अध्ययन इत्यादिको प्रक्रिया पूरा हुने गर्छ ।

व्यक्तिगत प्रभाव वा भावनाका आधारमा राखिने आयोजना न त समयमा सम्पन्न हुन्छन् न त्यसबाट सोचे अनुसार प्रतिफल प्राप्त हुन्छ । संघीय संरचना भएको हाम्रो जस्तो मुलुकमा समाजका सबै पक्षबीचको अन्तर्क्रिया, सरोकारवालाहरूको संलग्नता, विस्तृत वित्तीय विश्लेषण, स्थानीय निकायको संलग्नताका आधारमा आयोजना छनोट हुनु जरुरी हुन्छ । 

रोजगारीमा वृद्धि, देशको समृद्धि

नेपालमा बेरोजगारी उच्च छ । त्यसैले वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहेको छ । केन्द्रीय तथ्यांक विभागले गरेको पछिल्लो श्रमशक्ति सर्वेक्षणले बेरोजगारी दर ११.४ प्रतिशत देखाए पनि यो दर निकैमाथि रहेको अनुमान गर्न सकिन्छ । बेरोजगारी समस्या समाधानलाई प्राथमिकतामा राख्नु आवश्यक छ । रोजगारी सिर्जना केवल उत्पादन एवं आर्थिक वृद्धिको विषय मात्र होइन, अहिलेको चरम निराशा अन्त्य, शान्तिपूर्ण र स्थिर समाज निर्माणको महत्त्वपूर्ण आधार पनि हो । 

देशलाई लोकप्रियतामुखी मात्र नभई व्यावहारिक, कार्यान्वयनयोग्य र स्पष्ट उद्देश्यमा केन्द्रित बजेटको खाँचो छ । हालको युवा बेरोजगारी रं वैदेशिक रोजगारीको वृद्धिको अवस्थालाई मध्यनजर गर्दा सबैभन्दा प्राथमिकताको रूपमा रोजगारी सिर्जनामा ध्यान केन्द्रित गरिनु आवश्यक देखिन्छ ।

आवश्यकता र प्राथमिकताका सूची अरू पनि छन् तथापि अनेकथरी नयाँ शीर्षकमा बजेट छर्नुभन्दा एउटा मुख्य सन्देश दिने, प्रमुख विषय र त्यसैलाई केन्द्रमा राखी सोको वरिपरि त्यसलाई सहयोग पुग्ने योजना तथा कार्यक्रम ल्याउनु उपयुक्त हुन्छ । यद्यपि चालु रहेका योजनालाई बजेट विनियोजनको कार्य भने रोकिनु हुन्न । 

रोजगारी सिर्जनामा केन्द्रित विशेष कार्यक्रमहरूमा सीप विकास, स्वरोजगार प्रवर्द्धन, उद्यमशीलतामा सहयोग, श्रममुखी पूर्वाधार निर्माण तथा रोजगारी सिर्जना गर्ने उद्योगहरूका लागि कर तथा लगानी प्रोत्साहन पर्न सक्छन् ।

बजेटले रोजगारीका लागि निश्चित लक्ष्यहरू तोक्नुका साथै स्रोत विनियोजन पनि त्यसैअनुसार गर्न सकेमा सरकारप्रति जनविश्वाससमेत बढ्नेछ । नेपालले पनि यस्तो दूरदृष्टियुक्त बजेट ल्याएर रोजगारी सिर्जनालाई समावेशी आर्थिक वृद्धिको आधारका रूपमा लिन सक्दछ । सबल अर्थतन्त्र हुनका लागि रोजगारी सिर्जनाको दर काम गर्न सक्ने र काम गर्न चाहने उमेर समूहको जनसंख्या वृद्धिदरभन्दा बढी हुनु आवश्यक हुन्छ । 

छिमेकी मुलुक भारतले सन् २०२४–२५ को बजेटमा रोजगारीलाई मुख्य प्राथमिकतामा राखी बजेटको प्रमुख नारा नै तय गरेको थियो । ९ प्रतिशतभन्दा बढीको बेरोजगारी दर रहेको तथ्यलाई प्रमुख समस्या मानी सोको समाधानका लागि राष्ट्रिय बजेटमा स्पष्ट र एकीकृत रूपमा रोजगारी सिर्जनालाई मुख्य विषयवस्तु बनाएको थियो । सिंगापुर वैदेशिक लगानीलाई आकर्षण गर्दै, नवप्रवर्तनको प्रवर्द्धन, शिक्षा र सीप विकासमा दीर्घकालीन रूपले लगानी गर्दै सुदृढ र दिगो रोजगारीको क्षेत्र निर्माण गर्न सफल भएको छ ।

जर्मनीले बेरोजगार युवाहरूलाई व्यावसायिक तथा सेवाकालीन तालिम दिने साथै व्यवसायी, श्रमिक युनियन र सरकारबीच त्रिपक्षीय सामाजिक साझेदारी सम्झौताहरू गर्ने र सोको माध्यमबाट औद्योगिक शान्ति र स्थायित्व कायम राख्दै आयआर्जनको अवसरहरू विस्तार र उत्पादन वृद्धि गरेको थियो । आइसल्यान्डले पर्यटन क्षेत्रमा गुणस्तरीय सेवा प्रवर्द्धन, अनियमितता र ठगी नियन्त्रण गर्दै यस क्षेत्रलाई आर्थिक विकासको इन्जिन बनाएको छ । रुवान्डाले उद्यमशीलता र वैदेशिक लगानीलाई प्रोत्साहन गरेर युवा पुस्तालाई आत्मनिर्भर बनाउने बाटो र अवसर सिर्जना गरेको देखिन्छ । 

नेपाल सरकारले पनि नयाँ रोजगारी सिर्जना गर्ने नीति तथा कार्यक्रमहरू ल्याउने, कर प्रणालीमा सुधार र लगानी प्रवर्द्धनमार्फत निजी क्षेत्रसँग सहकार्य गर्दै रोजगारी वृद्धि गर्न सक्छ । उदाहरणका रूपमा तल केही नीति र कार्यक्रमहरू उल्लेख गरिएको छ, जसको कार्यान्वयनबाट स्वदेशमा रोजगारी वृद्धि गरी युवा पलायनलाई उल्लेख्य रूपमा रोक्न सकिन्छ । 

श्रमप्रधान उद्योगलाई प्राथमिकता

उच्चदरको आन्तरिक माग रोजगार वृद्धिको मुख्य स्रोत हुन सक्छ । तर हाम्रो देशमा यस्तो माग स्वदेशी उत्पादनको सट्टा प्राय: आयातबाट पूर्ति भइरहेको छ । देशभित्रका धेरै उद्योग/व्यवसायी उत्पादनभन्दा व्यापारमा बढी केन्द्रित छन्, जसले रोजगारी सिर्जनाको क्षमतामा गम्भीर असर पारिरहेको छ ।

यस प्रवृत्तिलाई उल्टाउनका लागि मूल्य अभिवृद्धि गर्ने र श्रमप्रधान उत्पादनलाई प्रोत्साहन गर्ने औद्योगिक नीति आवश्यक छ । उदाहरणको लागि कपडा, फर्निचर, खाद्य प्रशोधन र निर्माण सामग्री, जसले अल्प र आंशिक सीपयुक्त श्रमिकहरूलाई ठूलो मात्रामा समेट्न सक्छ । यस्ता बढी स्वदेशी कामदार प्रयोग गर्ने उद्योगहरूलाई कर वा अन्य गैरकरजन्य उपायबाट प्रोत्साहन गर्न सकिन्छ । 

लचिलो श्रम बजार र श्रम कानुन

कठोर श्रम कानुनहरू रोजगार वृद्धिका मुख्य अवरोध हुन् । श्रमिकको श्रमको सुरक्षा आवश्यक भए पनि, अत्यधिक कठोर श्रमिक भर्ना र निष्कासन प्रक्रियामा सुधार आवश्यक छ । सन् २००० को अन्तर्राष्ट्रिय मुद्रा कोषको अध्ययनले कम लचिलो श्रम बजार र बलियो ट्रेड युनियनले तलब र बेरोजगारी दुवै बढाउने देखाएको छ । यद्यपि, रोजगारदातासँग सहकार्य गर्ने ट्रेड युनियनहरूले उत्पादकत्व बढाउन र रोजगारी विस्तार गर्न सघाउने अध्ययनले देखाएको छ । श्रम बजारलाई बढी लचिलो बनाउन उद्योग, व्यवसायहरूले आंशिक/अर्ध रोजगारलाई समेत प्राथमिकता दिनु उपयुक्त हुन्छ 

क्षेत्रहरूको पहिचान

अर्थतन्त्रका केही क्षेत्रहरू रोजगारी सिर्जनाका लागि विशेष सम्भावनायुक्त छन् । त्यस्ता क्षेत्रहरूको पहिचान गरी बजेटले प्राथमिकता दिनुपर्दछ । उदाहरणका लागि केही कार्यक्रमहरू उल्लेख गरिएको छ । 

खुद्रा व्यापार : यो क्षेत्र रोजगारका लागि कम प्रयोगमा आएको सम्भावनायुक्त क्षेत्र हो । अमेरिका, क्यानडा र अस्ट्रेलियाजस्ता देशमा सन् १९८२ देखि १९९४ सम्मको अवधिमा खुद्रा व्यापारले लाखौं रोजगारी सिर्जना गरेको थियो ।

कम पुँजी र सीप आवश्यक हुने यस क्षेत्रमा व्यावसायिक र उद्यमशीलतासम्बन्धी तालिम र वित्तीय पहुँच उपलब्ध गराएर महिला र युवाहरूलाई समेट्दै द्रुत रूपमा रोजगारी सिर्जना गर्न सकिन्छ । विशेषगरी अर्धसहरी र उपेक्षित सहरी क्षेत्रहरूमा बढी प्रभावकारी हुने देखिन्छ । 

उद्यमशीलता प्रवर्द्धन : साना तथा मझौला उद्यमहरू रोजगारी सिर्जनाका सबैभन्दा ठूला स्रोत हुन् । विश्वमा सिर्जना हुने हरेक १० नयाँ रोजगारीमध्ये ८ वटा रोजगारी यस क्षेत्रबाट सिर्जना हुन्छ । यस्ता उद्यम नवप्रवर्तन र स्वरोजगारीका केन्द्र पनि हुन् । ऋणको पहुँच, डिजिटल उपकरणहरू र नीतिगत तथा नियमनमा सहजता, बजारसँगको सम्बन्ध बलियो बनाउँदै साना तथा मझौला उद्योगको (एसएमई) इकोसिस्टम मजबुत बनाउन नीतिगत प्राथमिकता दिनुपर्छ । साना तथा मझौला उद्योगलाई श्रमिकका लागि ज्याला भुक्तानी गर्न श्रमिक ननिकाल्ने सर्तमा निर्ब्याजी केही महिनाका लागि ऋण उपलब्ध गराउने व्यवस्था गर्न सकिन्छ । 

कृषि र सेवा क्षेत्रको मिश्रण : नेपाल औद्योगिक उत्पादनको प्रतिस्पर्धामा कमजोर हुँदै गएको अवस्था छ । यस अवस्थामा कृषि र सेवा क्षेत्रलाई प्राथमिकता दिनु उपयुक्त हुन्छ । उपयोग नभएको जमिनलाई व्यावसायिक कृषि उत्पादनमा प्रयोग गर्न सकिने सम्भावना छ । तराई, मधेश क्षेत्रका कृषियोग्य जमिनलाई आवासीय प्रयोगमा रोक लगाउने नीतिलाई निरन्तरता दिनुपर्दछ । त्यसैगरी सेवा क्षेत्र पर्यटन, ट्राभल टुर, होटल एवं प्राकृतिक स्वास्थ्य केन्द्रको सेवा विस्तार गर्ने कार्यलाई प्राथमिकता दिनु आवश्यक छ । त्यसैगरी आईटी, कम्प्युटर सफ्टवेयर उत्पादन र निर्यातमा जोड दिइनुपर्दछ । 

तलबसहितको इन्टर्नसिप : संघीय बजेटले तलबसहितको इन्टर्नसिप कार्यक्रममा बजेट छुट्याउनुपर्छ । सबै सरकारी तथा निजी संस्थाहरू (संवेदनशील क्षेत्रबाहेक) मा इन्टर्नसिप कार्यक्रम अनिवार्य गराइनुपर्दछ । रोजगारदाताले न्यूनतम भत्ता दिनुपर्ने र सरकारले त्यसको केही हिस्सा अनुदान स्वरूप उपलब्ध गराउने व्यवस्था गर्नुपर्दछ । यसले औपचारिक शिक्षाबाट रोजगारी वा कामतर्फको संक्रमणलाई सहज बनाउँछ र युवाहरूलाई व्यावहारिक अनुभव प्रदान गर्छ ।

रोजगार कार्यक्रममा सुधार : संघीय सरकारले रोजगारीसम्बन्धी विशेष कार्यक्रम र बजेटको व्यवस्था गर्ने र प्रदेश तथा स्थानीय सरकार र निजी क्षेत्रबाट सञ्चालन हुने कार्यक्रमलाई समेत सम्भव भएसम्म श्रम नै प्रधान हुने गरी सञ्चालन गर्ने र स्थानीयलाई रोजगारीमा प्राथमिकता दिने व्यवस्था गर्न सकिन्छ । यसमा विशेष गरी निर्माण क्षेत्रमा रोजगारी थप हुन सक्ने र स्थानीय रूपमा सञ्चालन गरिने केयर गिफिङ सेवा र घरेलु कामदारलाई समेत रोजगारीका रूपमा दर्ता गर्ने र श्रमिकको सुरक्षालाई प्रमुख सर्तका रूपमा राख्न सकिन्छ । 

बेरोजगारी बिमा : नेपालले बेरोजगार भत्ता जस्ता सामाजिक सुरक्षा जस्ता कार्यक्रम बजेट विनियोजन गर्न सक्ने अवस्था छैन । तर रोजगारीमा रहेको अवस्थामा श्रमिकको तलबबाट केही रकम कट्टा गरी बचत गर्ने र रोजगारी टुटेको अवस्थामा स्वरोजगारमा लगाउने प्रयोजनका लागि ब्याजसहित निजलाई नै फिर्ता दिने व्यवस्था गर्न सकिन्छ । 

हाम्रो मुलुकमा पुँजी परिचालन अर्को प्रमुख समस्याका रूपमा छ । स्वदेशी पुँजीलाई प्रोत्साहन तथा वैदेशिक लगानीलाई आकर्षण नै पुँजी परिचालनका विकल्प हुन् । नेपाली श्रमशक्ति सस्तो, साथै नेपाली युवाहरू परिश्रमी, इमानदार र लचिलो भएका कारणले नै खाडी देशहरू लगायतका देशमा नेपाली श्रमको माग बढी छ । सीप र तालिमलाई जोड दिन सकेमा हाम्रो देशको श्रम लागत तुलनात्मक रूपमा कम हुने र माथि उल्लेख गरेझैं पुँजी परिचालन गर्न सके नेपाली वस्तु तथा सेवा अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धी बन्न सक्दछ । 

–पण्डित आर्थिक तथा सार्वजनिक नीतिका अध्येता हुन् ।

राजेन्द्र पण्डित आर्थिक तथा सार्वजनिक नीतिका अध्येता हुन् ।

Link copied successfully