लोकप्रियतावाद न त पूर्ण रूपमा हानिकारक हो, न यो सधैं सकारात्मक हुन्छ । कांग्रेसले लोकप्रियतावादी उभारलाई दमन होइन, अनुशासित समावेशीकरणको रणनीति अवलम्बन गर्नुपर्छ ।
अहिलेको अस्थिर राजनीतिक परिदृश्यमा लोकप्रियतावादी राजनीति एकैसाथ प्रजातान्त्रिक असफलताको प्रतिक्रिया र नयाँ चुनौतीहरूको स्रोतका रूपमा देखा परेको छ । लोकप्रियतावादको आधारभूत सिद्धान्तले पुरानोविरुद्ध नयाँको भाष्य निर्माण गर्दछ ।
जब परम्परागत संस्थाहरू समानता, भ्रष्टाचार वा सांस्कृतिक बहिष्करणको समस्या समाधान गर्न असफल हुन्छन्, त्यतिबेला लोकप्रियतावाद एक प्रकारको लोकतान्त्रिक चेतावनीको रूपमा प्रस्तुत हुन्छ । लोकप्रियतावाद केवल शैली होइन, चेतावनी हो, संस्थागत विफलताको ऐना पनि हो ।
लोकप्रियतावादी शैलीले प्रायः जटिल समस्यालाई अत्यन्त सरल बनाई राजनीतिक ध्रुवीकरण गर्ने कोसिस गर्छ । यो शैलीले हामी र उनीहरू, जनता र एलिट, शुद्ध भ्रष्टजस्ता नारा निर्माण गर्छ । यस्ता भाषाले सामाजिक ध्रुवीकरण बढाउँछ र राजनीतिक बहसलाई सतही बनाउने कोसिस गर्छ ।
विद्वान् ह्यान्स जे मर्गेन्थाउका अनुसार राजनीति शक्ति संघर्ष हो, जुन तर्क र सन्तुलनले चल्नुपर्छ । तर लोकप्रियतावाद जनअसन्तोषको जगमा जनप्रतिक्रियामा बदलिन्छ र त्यसले तर्क र सन्तुलनलाई तोड्न थाल्छ ।
सकारात्मक रूपले हेर्ने हो भने यसले संस्थाभित्र सुधारको दबाब सिर्जना गर्छ । कतिपय प्रसंगमा प्रणालीविरुद्धको गम्भीर विद्रोह या संस्थागत पतन रोक्न लोकप्रियतावाद सहयोगी बनेको छ । नेपालको उदाहरणले पनि यो तर्कको पुष्टिमा नजिकको सम्बन्ध राख्छ ।
यसको अर्को सकारात्मक पक्ष भनेको शासक र नागरिकबीचको दूरी घटाउने, प्रशासनलाई उत्तरदायी बनाउने र जनताका मुद्दाहरूलाई राष्ट्रिय एजेन्डामा ल्याउने काम गर्छ । अमेरिकाको उदाहरण लिँदा, बर्नी सान्डर्सले उठाएका सामाजिक न्यायका मुद्दाहरूले डेमोक्रेटिक पार्टीलाई नै प्रभाव पार्यो । जसले जो बाइडेनजस्ता मुख्य धारका नेताहरूलाई समेत नयाँ नीति लिन बाध्य गराएको थियो ।
तर यही लोकप्रियतावाद नकारात्मक मार्गतर्फ मोडियो भने लोकतन्त्रमा संस्थागत क्षयीकरणको कारण बन्न पुग्दछ । जब लोकप्रियतावाद संस्थागत सिमाना नाघ्दै केवल लोकप्रियतामा आधारित भावनात्मक राजनीतिमा परिणत हुन्छ, त्यसले लोकतान्त्रिक मूल्यहरूलाई नै खतरामा पार्न सक्छ । ब्राजिलका बोल्सेनारो वा फिलिपिन्सका डुटेर्टेजस्ता नेताहरूको शासनले लोकप्रियतावाद कसरी अधिनायकवादी प्रवृत्तितर्फ मोडिन सक्छ भन्ने कुराको राम्रो उदाहरण दिएका छन् ।
यसैले, हाम्रो उद्देश्य लोकप्रियतावादसँग लड्ने मात्र होइन, यसले देखाउने संकेतहरूलाई सुन्ने हुनुपर्छ । आर्थिक असमानता, भ्रष्टाचार, संस्थागत घमण्ड र सामाजिक अलगाव, निरन्तर असफल व्यक्ति सरकारमा भइरहने प्रवृत्तिजस्ता लोकप्रियतावादको उत्पत्ति गराउने जरा समाधान नगरी यसको प्रभाव रोक्न सकिँदैन । लोकप्रियतावाद न त पूर्ण समस्या हो, न यो केवल समाधान हो । यो लक्षण हो अनि चेतावनी पनि । यो कुन दिशामा जान्छ– पुनर्जागरण कि पतन, त्यो हामी कसरी उत्तर दिन्छौं भन्ने कुरामा निर्भर गर्छ ।
बुद्धिमत्ता, विनम्रता र संविधानप्रतिको प्रतिबद्धतासहितको सुधारले यसले पुनर्जागरणको मार्गप्रशस्त गर्न सक्छ तर यदि यो अनियन्त्रित महत्त्वाकांक्षामा रूपान्तरित भयो भने अनिश्चित भविष्यको माध्यम बन्न सक्छ ।
दलभित्रको लोकप्रियतावाद
लोकप्रियतावादलाई प्रायः राष्ट्रिय राजनीति सन्दर्भमा विश्लेषण गरिन्छ तर यसको हलचल राजनीतिक दलभित्र पनि गहिरोसँग महसुस गर्न सकिन्छ । पुराना र स्थिर देखिने पार्टीहरू जतिबेला समयसँगै आफूलाई बदल्न सक्दैनन् वा सामाजिक आधारसँग टाढा हुन थाल्छन् र पार्टी नेतृत्व आत्मकेन्द्रित, आत्मसन्तुष्ट र केवल हैसियत जोगाउनेमा सीमित रहन्छन्, यस्तो अवस्थामा दलभित्र नयाँ प्रकृतिको द्वन्द्व भित्रिन्छ ।
दल र जनताबीचको दूरी बढ्दै जान्छ । यस्तो बेला यदि पार्टी नेतृत्वले आन्तरिक सुधारको सबै प्रयास अस्वीकार गर्छ र बाह्य जनभावनालाई पनि बेवास्ता गर्छ भने त्यो पार्टी बिस्तारै जनताको प्राथमिकताबाट हट्दै जान्छ ।
पार्टीमा जडता देखिन्छ, यो अवस्था भनेको पार्टी पुरानो गौरव स्मृतिमा मात्र अड्किन्छ, वर्तमान यथार्थसँग अनभिज्ञ रहन्छ । कहिलेकाहीँ पार्टीभित्रको असन्तुष्टिले विभाजनको सामना गर्नुपर्ने परिस्थिति आउन सक्छ । युवाहरूमा आकर्षण घट्छ वा परिवर्तन चाहने समूहले छुट्टै आन्दोलन सुरु गर्न सक्छन् वा पार्टी त्याग्न सक्छन् । यसैगरी जनताको विश्वासमा ह्रास आउँछ ।
जनता जब पार्टीमा परिवर्तन देख्दैनन्, उनीहरू नयाँ वैकल्पिक शक्तिहरूको खोजीमा लाग्न सक्छन् । राजनीतिक शक्ति केवल इतिहासको गौरवले टिक्दैन, त्यो जनताको समर्थन र यथार्थप्रतिको बुझाइले टिक्छ ।
के लोकप्रियतावादले दललाई पुनर्जीवन दिन सक्छ ? यो प्रश्नलाई सन्तुलित र सकारात्मक रूपमा हेरियो भने– हो, दिन सक्छ । जस्तै– दलभित्र लोकतान्त्रिक अभ्यास बलियो बनाउन, एकल व्यक्ति वा केही व्यक्तिमा आश्रित संरचनालाई चुनौती दिन सक्छ । नयाँ नीति, विचार र युवा पुस्तासँग संवाद गर्ने शैली ल्याउन सक्छ । जिम्मेवारीमा बसेका नेतृत्वलाई जवाफदेही बनाउन हिम्मत दिन सक्छ । परिवर्तन प्राकृतिक नियम हो, हरेकको चाहना हो ।
यिनै परिवर्तन र सुधारका मुद्दाहरू कसरी उठाइएका छन् ? साँच्चैको रूपान्तरणका लागि हो वा व्यक्तिको निजी महत्त्वाकांक्षा प्राप्त गर्ने औजारका रूपमा उठाइएका हुन् ? यो महत्त्वपूर्ण हुन्छ । जब नेताहरू प्रतिपक्षमा वा जिम्मेवारीविहीन अवस्थामा हुन्छन्, तब उनीहरू संगठन सुदृढीकरण, नीति परिवर्तन आदिका नाममा जनताप्रति संवेदनशील देखिने अनेक मुद्दाहरू उठाउँछन् । तर जब तिनै नेताहरू जिम्मेवारीमा पुग्छन्, ती मुद्दाहरू कार्यान्वयनको स्तरमा हराउँछन् । यसको अर्थ, ती मुद्दाहरू जनहितका लागि होइन, व्यक्तिगत आकांक्षा र छवि निर्माणका लागि मात्र उठाइएका थिए भन्ने निष्कर्ष लाग्न सक्छ ।
जब कुनै व्यक्ति पार्टीभित्र उपलब्ध हैसियत वा जिम्मेवारीमा सफल हुन सक्दैन, तब त्यो व्यक्तिले नयाँ विषय उठाएर अथवा सन्दर्भ मोडेर अर्को विषय उठाउने गर्छन् । यस्तो प्रवृत्तिले संस्थागत अनुशासन र योग्यता प्रणालीलाई कमजोर बनाउँछ ।
आफू नपुगेको ठाउँमा ‘संस्थाले न्याय गरेन’ भन्नु र आफूले अवसर पाएको ठाउँमा असफल हुनु भनेको आफ्नो असक्षमताको दोष अरूमा खोज्ने प्रवृत्ति हो । यो आत्मकेन्द्रित या व्यक्तिकेन्द्रित सोचले संस्थालाई न्याय गर्दैन ।
कांग्रेसमा लोकप्रियतावाद
हालका दिनहरूमा कांग्रेस पार्टीभित्र लोकप्रियतावादी प्रवृत्ति तीव्र रूपमा देखिन थालेको छ । युवा पुस्ता र केही उदीयमान नेताहरू कार्यकर्ता, समर्थक र जनताको भावना सिधै सम्बोधन गर्ने नाममा लोकप्रियतावादी मुद्दा उठाउँदै आएका छन् ।
यी मुद्दाहरू कतिपय पार्टी सुधारमा लक्षित छन् भने कतिपय मुद्दा समकालीन राष्ट्रिय राजनीतिक मुद्दासँग सम्बन्धित छन् । पार्टीभित्र सुधारका लागि उठाइएका मुद्दा पद प्राप्तिसँगै अन्त्य भएका छन् । राष्ट्रिय रूपमा उठाएका मुद्दाले पार्टीको मौलिक विचारधारा, विशेषतः संसदीय प्रजातन्त्रमा आधारित आदर्श र सिद्धान्तलाई नै चुनौती दिइरहेको देखिन्छ ।
कांग्रेसको विश्वास संसदीय प्रजातन्त्रमा आधारित छ, जहाँ सत्ता सन्तुलन, संस्थागत संयम र विधिको शासनको प्रमुखता हुन्छ । तर हालका लोकप्रियतावादी नेताहरू प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा वकालत गर्न थालेका छन् । जसले प्रभावशाली नेताको उदयलाई सहज बनाउँछ तर संस्थागत सन्तुलनलाई कमजोर पार्न सक्छ ।
यो सोचको जरो कम्युनिस्ट रणनीतिमा देखिन्छ । जहाँ ५१ प्रतिशत बहुमतको माध्यमबाट सुनिश्चित गरिन्छ । तर कांग्रेस कहिल्यै त्यस स्तरको बहुमतको पार्टी होइन– यसको औसत मत ३७–३८ प्रतिशतमा सीमित रहेको इतिहास छ । अब ३७ बाट बढाएर ५१ प्रतिशत मत पुर्याउन यथास्थितिमा अन्य शक्तिको समर्थन आवश्यक पर्छ ।
यथास्थितिमा यो कहाँबाट पूर्ति हुन्छ वा नयाँ जनसमर्थन प्राप्त गर्ने योजना के हो ? टुटेको जनविश्वासलाई पुनः जागृत गर्दै नयाँ पुस्तालाई पार्टीमा जोड्ने रणनीति के हो ? पार्टीका सदस्य र शुभचिन्तकहरूमा उत्साह भर्ने सुधार योजना के हो ? पार्टीमा समान अवसर र न्याय हुन्छ भन्ने विश्वासको आधार के हो ? यस्ता विषयमा प्रवेश नगरी हचुवाका भरमा प्रत्यक्ष निर्वाचन प्रणालीमा जान उत्प्रेरित गर्ने भाषाहरू पार्टी हितका लागि छन् भनेर विश्वास गर्न सकिँदैन ।
पार्टीको विधान आवश्यकताअनुसार परिमार्जन गर्नु आवश्यक छ । यसमा कसैको विमति छैन । संशोधन पार्टीको आम जीवन प्रणालीलाई व्यवस्थित गर्ने सुधारका विषय व्यापक हुन सक्छन् । यसका लागि पार्टीभित्र सघन बहसको जरुरत छ । तर केही नेतालाई व्यवस्थित गर्न र कसैलाई नेता बन्नैका लागि मात्र पार्टीको निर्वाचन प्रणाली बदल्ने मनसायले संशोधनको मुद्दा बहसमा आउनु समस्याको जडमा प्रवेश गरेको मान्न सकिँदैन । विधान नेतृत्वबाटै थिचिएको छ । मिचिएको छ । अव्यवस्था माथिबाटै थुप्रिएको छ ।
नेतृत्वकै आचरण र अभ्यासमा त्रुटि छ । तर दोष विधानका अक्षरमा खोज्ने प्रयास कति तर्कसंगत हुन्छ ? अहिले पार्टीमा गुटबन्दी छ । यसको अन्त्य आम सक्रिय सदस्यबाट खुला मतदान गरी सभापति चयन गर्दा अन्त्य हुन्छ भन्ने धारणा आइरहेको छ ।
पार्टीमा पुराना क्रियाशील सदस्य नवीकरण गर्न किन रुचाइरहेका छैनन् ? नयाँ सदस्य कस्ता थप्ने हो ? कहिले थप्ने हो ? अधिवेशन कहिले गर्ने हो ? पार्टी मेरुदण्डका रूपमा रहेका भ्रातृ संस्थामा किन अधिवेशन हुन सकिरहेको छैन ? यसको समुचित उत्तर नखोजी लोकप्रिय सुधारका नाममा वैधानिक प्रक्रिया छोडेर, सिधा भीडको अनुमोदनबाट नेता खोज्न थालियो भने त्यो सुधार होइन, सत्ता प्राप्तिको नयाँ खोज हुनेछ ।
बीपीको तस्बिर नचिन्ने मतदाताबाट बीपी विचारको सिर्जनात्मक प्रयोग हुन्छ भन्ने नयाँ सम्भावनामा कति भरोसा गर्न सकिन्छ ? यो विचारणीय छ ।
पार्टीभित्र नीति, विचार र कार्यक्रमको प्रतिस्पर्धा हुन्छ र हुनुपर्छ । लोकतान्त्रिक पार्टीभित्र विचारलाई गुट मानिँदैन, विकल्प ठानिन्छ । गुटको निर्माण शक्तिको आकांक्षाको सामूहिक प्रयत्न हो । विचारको संगठनले शुद्धताको मार्ग रोज्छ । गुट जब शक्तिशाली हुन्छ, यसले पार्टीभित्र गिरोहको रूप लिन्छ । गिरोहले पार्टीको आदर्श र विचारको परित्याग गर्छ ।
त्यसैले नेतृत्व चयनमा विचारको प्रतिस्पर्धाभन्दा ‘भीडको लोकप्रियता’ हेर्ने प्रवृत्ति, सिद्धान्त, अनुभव र संगठनप्रतिको योगदानको सट्टा फेसबुक लाइक, भाषण कला वा जनप्रभाव हेरेर नेतृत्व चयन हुने हो भने कालान्तरमा दीर्घकालीन सोच राख्ने व्यक्तिहरू बाहिरिने खतरा रहन्छ ।
‘विगेन विथ द इन्डिङ माइन्ड’ भनेजस्तै आउने सम्भावित परिणामबारे सचेतना नराखी मौजुदा संस्थागत प्रक्रियाको उपेक्षा गर्दै पार्टीको आन्तरिक निर्वाचन, कार्यनीति निर्माण, अनुशासन प्रणालीलाई बेवास्ता गरिन्छ भने यसले दलभित्र अराजकता बढाउन मद्दत गर्छ ।
पार्टीमा व्यक्तिगत ब्रान्ड निर्माण गर्नु भनेको गुटको अन्त्य होइन, गुटको उत्थान हो । यसबाट नेताले गुट बनाएर संगठनलाई दबाबमा राख्न थाल्छन् । जसले गर्दा दलको एकता र रणनीतिक क्षमता घट्छ । विचारभन्दा व्यक्तिलाई प्रधानता दिने, विचारधारात्मक बहसको सट्टा, नेताको शक्ति, छवि र बोली मात्र मुख्य मानिन्छ भने यसले दलको बौद्धिक स्तर कमजोर बनाउँछ । लोकप्रियतावादले जब आत्मपरीक्षणलाई विस्थापित गर्छ, तब सुधारको नारा आत्मविनाशको अग्रदूत बन्न पुग्दछ ।
त्यसैले पार्टीभित्र लोकप्रियतावादमा आधारित उठेका कतिपय मुद्दाहरू अन्ततः पार्टीकै लोकतान्त्रिक संरचना र स्थायित्वमा आघात पुर्याउने दिशामा जान सक्छन् । यो अवस्थामा प्रश्न उठ्छ– के यो अभियान कांग्रेसको सुदृढीकरणका लागि हो ? वा व्यक्तिगत लोकप्रियता कमाउने रणनीति मात्रै ? त्यसैले दलभित्र लोकप्रियतावाद नेतृत्वमा पुग्ने अस्त्र हो कि समस्या समाधानको सूत्र हो, यसको गम्भीर बहस हुन जरुरी छ ।
पार्टीभित्र सुधारको माग गर्नु, पुराना शैलीको आलोचना गर्नु वा युवाको आवाज उठाउनु पक्कै गलत होइन । तर ती मागहरू पार्टीको विचार, आदर्श र प्रणालीभित्रै रहेर हुनुपर्छ । सुधारका नाममा लोकप्रियतावाद अपनाएर पार्टी नै क्षतविक्षत हुने स्थिति ल्याउनु न त नीतिगत दृष्टिकोण हो, न त दीर्घकालीन राजनीतिका लागि लाभदायी प्रयत्न हो ।
अन्त्यमा, लोकप्रियतावाद न त पूर्ण रूपमा हानिकारक हो, न यो सधैं सकारात्मक हुन्छ । यो जनताको असन्तोषको अभिव्यक्ति हो, यसले पार्टीको विचार, आदर्श र संस्थागत मूल्यमान्यताको परीक्षण पनि गर्छ ।कांग्रेसले लोकप्रियतावादी उभारलाई दमन होइन, अनुशासित समावेशीकरणको रणनीति अवलम्बन गर्नुपर्छ ।
सुधारका मागहरूलाई जिम्मेवारी, स्थिरता र सिद्धान्तको ढाँचाभित्र समेट्न सकिएमा मात्र, पार्टी सशक्त, समावेशी र समयानुकूल बन्न सक्छ । तर यदि व्यक्तिगत आकांक्षा, तात्कालिक लोकप्रियता र संस्थागत अनुशासनको तोडफोड नै ‘सुधार’ का नाममा अघि बढाइन्छ भने त्यसले पार्टीलाई जनताबाट टाढा त लैजान्छ नै, आफ्नै वैचारिक मेरुदण्डसमेत कमजोर बनाउँछ ।
–चालिसे कांग्रेसका महासमिति सदस्य हुन् ।
