विश्वका दस अग्ला हिमालहरूमध्ये आठ वटा हुनुले अतुलनीय पर्यटकीय सम्भावना बोकेको छ । नेपालले आफूलाई पर्यावरणमैत्री हिमाली पर्यटनको अगुवाका रूपमा स्थापित गर्न सक्छ ।
कुनै पनि मुलुकले शक्ति सैन्य वा आर्थिक बलमा होइन, आफ्नो संस्कृति, मूल्य र नीतिहरूमार्फत विश्वमा प्रभाव पार्ने क्षमता सफ्टपावर हो । सैन्य वा आर्थिक शक्ति सीमित रहेको नेपालले विश्वमा प्रभाव पार्ने एक मात्र उपाय भनेको सफ्टपावर सञ्चार नै हो ।
यो संस्कृति, शिक्षा, कूटनीति र मिडियामार्फत सञ्चार हुन्छ । कुनै पनि देशको सफ्टपावर उसको कूटनीतिक, सांस्कृतिक र प्राकृतिक सम्पदा भएर मात्र हुँदैन, ती सम्पदाहरूलाई विश्वमा कसरी प्रस्तुत गरिन्छ भन्नेमा निर्भर गर्छ । सफ्टपावरका थुप्रै स्रोत र सम्भावना भए पनि विश्वमा नेपाल र यहाँको कथा हामीले राम्ररी पुर्याउन सकेका छैनौं ।
नेपाल भन्नासाथ हिमाल, बुद्ध र सांस्कृतिक रङहरूको तस्बिर विश्वभरका जो कोही मानिसको आँखामा आइहाल्छ । अर्कोतर्फ, गरिबी, अस्थिरता र भ्रष्टाचारको समाचारले नेपालको छविमा नकारात्मक असर गरिरहेको छ र देशको विश्वसनीयता र आकर्षणलाई कमजोर बनाएको छ ।
लुम्बिनी, सगरमाथा र शान्तिको सन्देश नेपालको सफ्टपावरका आधार हुन् । तर सफ्टपावर सञ्चारका लागि नेपालले चलाउने अभियानहरू असंगत छन्, जसले अपेक्षित परिणाम दिएको छैन । डिजिटल सञ्चारमा उपस्थिति कमजोर छ, विश्वव्यापी दर्शकसम्म पुग्न सकेको छैन । परम्परागत मिडियामा पनि नेपालको कथा प्रभावकारी रूपमा प्रस्तुत गरिएको छैन ।
नेपालको सफ्टपावरले पनि विश्वमा प्रभाव पार्न सक्ने सम्भावना बोकेको छ । सफ्टपावर नीतिअनुसार भारतले ‘इन्क्रेडिबल इन्डिया’ अभियानबाट विश्वव्यापी पर्यटक आकर्षित गरिरहेको छ । अर्को छिमेकी चीनले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ मार्फत आर्थिक प्रभाव बढाउँदै गएको छ । नेपाल सानो भए पनि सांस्कृतिक र प्राकृतिक सम्पदाले भरिपूर्ण छ । विश्वव्यापी प्रभाव विस्तार गर्न सक्ने समृद्ध स्रोतहरूले भरिपूर्ण छ । तर सफ्टपावरका स्रोत, उपकरण र अवसरलाई हामीले सदुपयोग गर्न सकेका छैनौं ।
संयुक्त राज्य अमेरिकाको हलिउड, त्यहाँका मिडिया, फुलब्राइट कार्यक्रम, अन्तर्राष्ट्रिय सहायताजस्ता सफ्टपावर नीतिले विश्वव्यापी प्रभाव पारेको छ । बेलायतको ब्रिटिस काउन्सिल, बीबीसी र ऐतिहासिक साम्राज्यको विरासतलाई सफ्टपावरको स्रोत मानिन्छ ।
फ्रान्सेली कला र फेसन, जापानको टोक्यो ओलम्पिक र जेट कार्यक्रम, दक्षिण कोरियाको के–पप र कोरियन वेभ, चीनको कन्फुसियस इन्स्टिच्युट र बेल्ट एन्ड रोड इनिसिएटिभ, भारतको बलिउड, योग र आयुर्वेद, अस्ट्रेलियाको सिड्नी ओपेरा हाउस सफ्टपावर सञ्चारमा उदाहरणीय मानिन्छ । जसले विश्वमा ती देशहरूको छवि र प्रभावलाई बलियो बनाएको छ ।
लुम्बिनी, गौतम बुद्धको जन्मस्थल विश्व सम्पदा सूचीमा छ । यो स्थलले बौद्ध तीर्थयात्री र आध्यात्मिक खोजीमा रहनेहरूलाई आकर्षित गर्छ, जसरी चीनले सफ्टपावर नीतिमार्फत कन्फुसियस इन्स्टिच्युट विश्वभर विस्तार गरेको छ । तर हामीले विश्वका बौद्ध अनुयायीहरूका लागि नेपालप्रति आकर्षिक गर्न सकेका छैनौं । बुद्धिजमको प्रसारमा नेपालको भूमिका प्रायः भारतको छायामा पर्दै आएको छ ।
लुम्बिनीले बौद्ध तीर्थयात्रीहरूलाई आकर्षित गर्न र नेपालको आध्यात्मिक सफ्टपावरको आधार बनाउन सक्छ । पशुपतिनाथ मन्दिर हिन्दु धर्मको प्रमुख तीर्थस्थल हो, जसले हिन्दु धर्मावलम्बीहरूलाई आकर्षित गर्न सक्छ । नेपाल दक्षिण एसियामा भारतपछिको दोस्रो ठूलो जातीय तथा भाषिक विविधता भएको देश हो । यसले सांस्कृतिक विविधता र सहिष्णुताको सन्देश दिन्छ ।
नेपालको शान्ति प्रक्रिया, विशेष गरी माओवादी द्वन्द्व समाधानको विश्वव्यापी नमुना हो । नेपालले यो उपलब्धिलाई प्रभावकारी रूपमा प्रवर्द्धन गरेको छैन । यसलाई पनि हामीले नेपालको सफ्टपावरका रूपमा स्थापित गर्न सक्छौं । सन् १९५८ देखि संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सैनिकले ठूलो योगदान दिएका छन्, जसले नेपाललाई विश्वको सबैभन्दा ठूलो शान्ति सैनिक प्रदायक बनाएको छ ।
दक्षिण एसियाको सानो देश भुटानले ‘राष्ट्रिय सुख’ को देशका रूपमा विश्वमा आफ्नो पहिचान बनाउँदा बुद्धको शान्तिको सन्देश र संयुक्त राष्ट्रसंघको शान्ति मिसनमार्फत विश्वमा सबैभन्दा धेरै योगदान गर्ने देशमध्ये एक हुँदाहुँदै पनि आफूलाई ‘शान्तिको देश’ का रूपमा नेपालले अझै चिनाउन सकेको छैन ।
यस्तै, नेपालको तटस्थ र कतै नजोडिने नीतिले क्षेत्रीय कूटनीतिमा छुट्टै स्थान बनाएको छ । तर हामीले यी सफ्टपावरको उपयोग गर्न सकेका छैनौं । सानो मुलुक भए पनि नेपालका १२६ जातजाति र १२३ भाषाभाषीले सांस्कृतिक विविधता देखाउँछ । हिन्दु र बौद्ध धर्मको मिश्रणले धार्मिक सद्भावको उदाहरण दिन्छ । तर, हाम्रा यी कथा विश्वमा सञ्चार हुन सकेका छैनन् । नेपालको बहुलवाद सहिष्णुता र सहअस्तित्व शक्तिशाली सफ्टपावर हो ।
दसैं, तिहार, माघी, ल्होसारजस्ता चाडपर्वहरू मुख्य रूपमा डायस्पोराद्वारा मनाइन्छन् । तर विश्वव्यापीकरण गर्ने प्रयास गरिएको छैन । तर भारतले ‘दिवाली’ विश्वव्यापीकरण गर्न सफल भएको छ । ग्रामीण नेपालको आतिथ्य र जीवनशैली, मःम र दालभातजस्ता नेपाली खानाका परिकारहरू, परम्परागत कला, थान्का, मिथिला हस्तकला, लोकसंगीत र नृत्यहरू पनि नेपाली सफ्टपावरका स्रोतहरू हुन् ।
हिमाली सौन्दर्य हाम्रो सफ्टपावरको अर्को बलियो आधार हो । विश्वका दस अग्ला हिमालहरूमध्ये आठ वटा हुनुले अतुलनीय पर्यटकीय सम्भावना बोकेको छ । नेपालले आफूलाई पर्यावरणमैत्री हिमाली पर्यटनको अगुवाका रूपमा स्थापित गर्न सक्छ । हिमालयका आठ अग्ला शिखरहरू, चितवन र सगरमाथा राष्ट्रिय निकुञ्जजस्ता सम्पदाहरूले साहसिक र पर्यावरणीय पर्यटनलाई प्रोत्साहित गर्छ । यसले साहसिक पर्यटक र पर्वतारोहीहरूलाई आकर्षित गर्न सक्छ ।
नेपालको सफ्टपावरबारे विश्वमा अनभिज्ञता र गलत धारणाहरू पनि छन् । भारतको ठूलो सांस्कृतिक प्रभावले पनि हाम्रा कथालाई छायामा पारेको छ । हाम्रा योगदानहरू भारतीय दर्शन वा अन्य देशको छायामा परिरहेका छन्, जसरी विश्वभरका विश्वविद्यालयमा बौद्ध दर्शनलाई भारतीय दर्शन ‘इन्डियन फिलोसफी’ का रूपमा पढाइन्छ ।
उदाहरणका लागि– विश्वमा बुद्धिजम कसरी सञ्चार भयो ? भन्ने सन्दर्भमा प्राध्यापक दयाकिसन थसुको पुस्तक ‘कम्युनिकेटिङ इन्डियाज सफ्टपावर’ मा नेपालको चर्चा कहीँ कतै गरिएको छैन । सांख्य दर्शनका प्रवर्तक कपिल मुनिको सम्बन्ध नेपालसँग छ तर यसलाई पनि भारतीय दर्शन मानिन्छ । पशुपतिनाथ मन्दिर शैववादको केन्द्र हो तर शैव दर्शनलाई ‘इन्डियन फिलोसफी’ भनिन्छ । नेपालका नेवार, किरात, तामाङ र अन्य समुदायका दार्शनिक परम्पराहरू प्रकृति र सामुदायिक जीवनमा आधारित छन् ।
‘दिवाली’ र ‘योग’ विश्वव्यापी रूपमा भारतको सफ्टपावरका रूपमा स्थापित हुँदै गएको छ । तर हाम्रा तान्त्रिक परम्पराहरू र आदिवासी दर्शनहरू विश्वमा चिनिँदैनन् । भारतको सांस्कृतिक प्रभुत्व, प्राज्ञिक अनुसन्धानको कमी र नेपालको प्रचार रणनीतिको अभावले नेपालको योगदानलाई ओझेलमा पारेको छ । नेपालले आफ्ना यी विरासतहरूलाई विश्वमा प्रचार गर्न रणनीतिक कदमहरू चाल्नुपर्छ । भारतसँगको सहकार्यबाट दुवै देशको सफ्टपावर विस्तार गर्न सकिने सम्भावनाको खोजी पनि गर्नुपर्छ ।
नेपालजस्तो साना देशका लागि विश्वमा आफ्नो स्थान बनाउन सफ्टपावरले ठूलो भूमिका खेल्न सक्छ । विपन्न देशहरूले सीमित स्रोतसाधनका बाबजुद पनि सफ्टपावरमार्फत विश्वमा आफ्नो प्रभाव विस्तार गरेका उदाहरणहरू छन् । रुवान्डाको शान्ति र विकासको कथा, भियतनामको शैक्षिक कूटनीति, इथियोपियाको हरित कूटनीति, केन्याको डिजिटल कूटनीति, भुटानको सुख सूचकांक, जाम्बियाको वन्यजन्तु पर्यटन यसका उदाहरण हुन् ।
नेपालको सफ्टपावर सञ्चार सुरुवाती चरणमा छ । यसबारे धेरै अध्ययन पनि भएको छैन । नेपालले २०१९ मा ल्याएको परराष्ट्र नीतिको दस्ताबेजमा सफ्टपावरको सम्भावनाबारे उल्लेख गरेको भए पनि कार्यान्वयनको योजना अघि बढेको छैन ।
प्रभावकारी सफ्टपावर सञ्चारका लागि जनकूटनीति, सांस्कृतिक आदानप्रदान र डिजिटल मञ्चहरू आवश्यक छ । रणनीतिक प्रचार, डिजिटल उपस्थिति र सांस्कृतिक कूटनीतिमार्फत नेपालले आफ्नो सफ्टपावरलाई विश्वसामु प्रस्तुत गर्न सक्छ । साथै विश्वभरका नेपाली डायस्पोरालाई सांस्कृतिक सेतुका रूपमा उपयोग गर्न सकिन्छ ।
नेपालको सफ्टपावर स्रोतहरू विशाल छन् । नेपालले आफ्ना अद्वितीय सम्पदाहरूलाई ब्रान्ड गर्न, नियामक प्रक्रियालाई सुव्यवस्थित गर्न र डायस्पोरा तथा डिजिटल मञ्चहरूको उपयोग गर्न ढिला गर्नु हुँदैन । नेपालले आफ्नो सफ्टपावरलाई विश्वसामु पुर्याउन प्रभावकारी सञ्चार योजना बनाउनुपर्छ ।
राष्ट्रिय सफ्टपावर रणनीति बनाउने, डिजिटल पूर्वाधारमा लगानी बढाउने, सांस्कृतिक कूटनीति प्रवर्द्धन गर्ने, अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको शान्ति मिसन योगदानलाई प्रवर्द्धन गर्ने, प्रवासी नेपालीहरूलाई समेत सफ्टपावर सञ्चारमा संलग्न गर्ने र सफ्टपावरमा अध्ययन–अनुसन्धानका लागि प्रोत्साहन गर्ने नीति राज्यले लिनुपर्छ ।
– वाग्ले चीनको सञ्चार विश्वविद्यालयमा विद्यावारिधि अध्ययनरत छन्
